बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बालुवाटारमा नेकपाको निर्णायक वार्ता सुरु, टोलीमा थपिए पोखरेल र पुन

आइतबार, २१ असार २०७७, १२ : १४
आइतबार, २१ असार २०७७

काठमाडौं । सत्तारुढ दलभित्रको आन्तरिक कहल साम्य पार्ने प्रयासस्वरुप आइतबार दुई पक्षबीच वार्ता हुन लागेको छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वार्ता हुन लागेको हो । ओलीसँगको वार्ता अघि प्रचण्डसहित वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल राष्ट्रपति भवन शीतलनिवास पुगेर राष्ट्रपतिसँग भटसकेलगत्तै प्रचण्ड बालुवाटार छिरेका हुन् ।  

उनीहरुसँगै दुवै पक्षबाट अरु चार जना दोस्रो तहका नेताहरुपनि साक्षीका रुपमा सहभागी छन् । साक्षीका रुपमा ओलीका तर्फबाट महासचिव विष्णु पौडेल र शंकर पोखरेल तथा प्रचण्डपक्षबाट जनार्दन शर्मा र वर्षमान पुन सहभागी रहेका छन् ।

गत शुक्रबार अध्यक्ष ओली र प्रचण्डबीच भएको संवादमा पौडेल र शर्मा सहभागी भएका थिए । 

त्यसक्रममा प्रधानमन्त्री ओलीले आफू पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा नदिने र त्यसो गर्दा पार्टी फुटे फुटोस् भन्ने अभिव्यक्ति दिएका थिए । 

उनले पार्टी एक हुने अवस्था नरहेकाले बरु प्रचण्डलाई पनि माधव नेपाल समूहमा जाने या आफ्नो कित्तामा आउने निर्णय गर्न आग्रह गरेका थिए । तर प्रचण्डले पार्टी फुटाउने भन्दा पनि जुटाउनेतर्फ लाग्नुपर्ने भन्दै संवादलाई अघि बढाउन जोड दिएका थिए । 

त्यसपछि ओलीले ‘गरौँला न त !’ भन्ने जवाफ दिएका थिए । शुक्रबारको सहमति अनुसार शनिबार नेताहरुबीच छलफल गर्ने भनेपनि नेताहरु आ आफ्ना पक्षका नेताहरुसँग छलफलमा लागेपछि वार्ता हुन सकेको थिएन । आजको बालुवाटार वार्तापछि नेकपा फुट्ने वा जुट्ने निक्र्योल हुने नेताहरुले बताएका छन् । 

ओली र प्रचण्डबीचको आइतबारको वार्ताअघि दुवै पक्षले आफू निकटका नेताहरुसँग परामर्श गरेका थिए । 

त्यसक्रममा ओलीले ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, शंकर पोखरेल लगायतका नेताहरुसँग समाधानको उपायबारे छलफल गरेका थिए भने प्रचण्डले नेता नेपाल र खनालसँग परामर्श गरेका थिए । 

यता पार्टीभित्र बढेको कलह साम्य हुनुको साटो बढ्दै गएपछि दोस्रो तहका नेताहरु शुक्रबारबाटै पार्टी कार्यालय धुम्वराहीमा धर्नामा बसेका थिए ।

 सोही अभियान अन्तर्गत सोमबार केन्द्रीय सदस्यहरुको भेला बोलाइएको छ । पार्टी कुनै हालतमा फुट्न नहुने र त्यसमा नेतृत्वले गर्नुपर्ने त्याग गर्नुपर्ने भन्दै दुवै पक्षका युवा नेता तथा सांसदहरुले दवावस्वरुप धर्ना भेला गर्नुपरेको बताएका छन् । केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले सोमबार पार्टी कार्यालय धुम्वाराहीमा केन्द्रीय सदस्यहरुको भेला बोलाइएको र उक्त भेलाले थप रणनीति तय गर्ने जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप