शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चोरी–पकेटमारीका घटनामा सिंगो गाउँ नै बद्नाम हुँदै

आइतबार, २१ असार २०७७, १२ : ०२
आइतबार, २१ असार २०७७

संजय

रौतहट । बाराको बारागढी गाउँपालिका–४ खोँपवा श्रीपुरा पछिल्लो समय बद्नाम हुन थालेको छ । यस गाउँका एक दर्जनभन्दा बढी सङ्ख्यामा किशोरहरु चोरी तथा पकेटमारीमा पक्राउ परिसकेका कारण आसपासका जिल्लामा समेत यो गाउँको बदनामी भएको छ ।

नाचगान गरेर जीविका चलाउने सन्चिरैया समुदाय बसोबास गर्दै आएको यो गाउँमा दुई दशक अघिसम्म स्थानीय बासिन्दाले नाचगानलाई नै जीविकोपार्जनको माध्यम बनाएका थिए । गाउँ गाउँमा ढोल बजाउँदै नाचगान गर्दै रकम तथा अन्नपात बटुलेर जीविका चलाउने यो समुदाय शारीरिक कलावाजी तथा सर्कस देखाएर पनि आम्दानी गर्दैआएका थिए ।

पछिल्लो समय भने यहाँका कयौं किशोर पकेटमारी तथा चोरीमा पक्राउ पर्न थालेका छन् । श्रीपुराका १५ घर परिवारमध्ये केही खेती–किसानी, ब्यापार–मजदुरी गर्दछन् भने केहीले जीविकोपार्जनका निम्ति चोरी तथा पाकेटमारीलाई नै मुख्य पेसा बनाएका छन् । चोरी तथा पाकेटमारीलाई नै मुख्य पेशा बनाएका परिवारले भने आफ्ना छोराछोरीलाई पनि यही पेशामा लगाउने गरेका छन् ।

बारागढी ईलाका प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक नरेन्द्र मरवैताले श्रीपुरामा रहेका १५ सन्चिरैया परिवारमध्ये आधाभन्दा बढी चोरी, पाकेटमारीमा आश्रित रहेको स्वीकार गरे । आसपासका क्षेत्रमा सबै मानिसले चिन्ने हुँदा उनीहरु आफनो गाउँभन्दा टाढाको बजारमा गएर पाकेटमारी गर्ने, चोरी गर्ने गरेको मरवैताको भनाइ छ ।

सन्चिरैया परिवारलाई सुधार्न प्रहरी साझेदारी अन्तर्गत तीन चारवटा कार्यक्रम श्रीपुरा गाउँलाई लक्षित गरि सञ्चालन भएको प्रहरी निरीक्षक मरवैताले जानकारी दिए ।

गत वर्ष आयोजना भएको गढीमाई पञ्चवर्षीय मेलामा पाकेटमारी गरेको आरेपमा झण्डै ५० जना नाबालक पक्राउ परेका थिए । तीमध्ये अधिकांश भारतीय थिए भने १० जनाभन्दा बढी नाबालक श्रीपुराका थिए । उनीहरुलाई उमेर कम भएकै कारण दुई–चारदिन थुनामा राखेर छोडिएको बाराका तत्कालीन प्रहरी प्रमुख एसपी विकासराज खनालले बताए ।

जनता समाजबादीका नेता दयाशंकर रायले श्रीपुराका केही परिवारको यस्तो हर्कतले आफुहरु पनि दुःखी रहेको बताए । नाबालकलाई चोरी तथा पाकेटमारी गर्न लगाउने अभिभावकलाई कानुनी कठघरमा नल्याएसम्म यो बिकृति समाप्त नहुने उनको भनाइ छ ।

शनिबारमात्र रौतहटको गुजरा नगरपालिका सिम्राभवानीपुर बजारमा एकजनाको ३८ हजार पर्ने मोबाईल चोर्दै गर्दा श्रीपुराका जनोज रायका १५ बर्षीय छोरा अमित राय पक्राउ परेका छन् । उनलाई आवश्यक कारवाहीका लागि ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा राखिएको छ ।

उनीमाथि मुद्दा चलाउने कि नचलाउने भन्नेमा प्रहरी नै अन्योलमा छ । चोरी मुद्दा चलाउँदा अदालतमा पुगेपछि नाबालक भन्दै अभिभावकको जिम्मा लगाउने परम्पराले मुद्दा चलाउने कि नचलाउने भन्नेमा प्रहरी नै दोधारमा रहेको हो ।

नाबालक भन्दै कानुनी रुपमा मिल्ने छुटकै कारण पनि यो गाउँका बालबालिका चोरी तथा पकेटमारीमा पेशेवर रुपमै सक्रिय भइरहेको कतिपयको ठम्याइ छ ।

पक्राउ परेका अमित केहीदिन अघिमात्रै रौतहटको कटहरिया बजारमा योगेन्द्र साह नाम गरे ब्यापारीले लगाएको दुुई तोलाको सुनको सिक्री चोर्दा चोर्दै पक्राउ परेका थिए । अमितलाई कारवाहीको लागि ईलाका प्रहरी कार्यालय गरुडामा लैजाँदा नाबालकमाथि मुद्दा नचल्ने भनेर प्रहरीले छोडेको ब्यापारी साहले बताए । कसैको लाखौंको क्षति गर्दा पनि नाबालक भनेर कारवाही नहुुनुले उसको मनोबल बढ्ने र भविष्यमा ठुलो अपराधी बन्ने प्रवल सम्भावना रहेको उनको धारणा छ ।

रौतहटका जिल्ला न्यायधिवक्ता सुभाष भट्टराईले पटके चोर नाबालक भए पनि घटनाको प्रकृतिका आधारमा चोरी मुद्दामा बालिगको हकमा हुने सजायको आधा अथवा एक तिहाई सजाय हुनसक्ने बताए ।

रौतहट प्रहरी प्रमुख एसपी रबीराज खड्काले अपराधमा संलग्न बालिग अथवा नाबालिग जो होस्, अदालतसम्म पु¥याउने प्रहरीको दायित्व भएको बताए । दण्ड–जरिवाना हुने या नहुने भन्ने फैसला गर्ने अधिकार अदालतको रहेकाले प्रहरीले आफनो काम गर्नुपर्ने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप