बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस बैठक बस्दै, ओलीसँगको भेटवार्ताबारे देउवासँग जवाफ मागिने

आइतबार, २१ असार २०७७, ११ : ०१
आइतबार, २१ असार २०७७

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै छ ।

मंगलबार सुरु भएर केही दिन स्थगित भएको बैठक आइतबार दिउँसो २ बजे फेरि पार्टी कार्यालय सानेपामा पुनः बस्न लागेको हो ।

सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित भएर बुधबारको बैठक सकिएपछि मंगलबारको बैठकमा प्रस्तुत महाधिवेशन कार्यतालिका परिमार्जनमाथिको छलफल रोकिएको थियो । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार आजको बैठकले उक्त प्रस्ताव केही परिमार्जन गरि अनुमोदन गर्ने तयारी छ । 

विशेषतः हिमाली जिल्लामा पुसमा अधिवेशन गर्न व्यवहारिक कठिनाइ हुने भएकाले त्यसबारे बैठकले पुनर्विचार गर्ने बुझिएको छ ।

मंगबारको बैठकमा नेताहरुले निर्धारित मितिमा महाधिवेशन गर्न प्रस्तावको स्वागत गर्दै व्यवहारिक कठिनाइलाई ध्यानमा राखेर कार्यतालिकामा पुनर्विचार गर्नुपर्नेमा जोड दिएका थिए ।

बैठकमा प्रस्तुत परिमार्जित तालिकामा असार मसान्तभित्र अन्तरिम पार्र्टी संरचना समायोजन गरी साउन मसान्तभित्र क्रियाशील सदस्यता वितरण र नवीकरण सक्ने उल्लेख छ । 

भदौ मसान्तभित्र क्रियाशील सदस्यताको सूची केन्द्रमा पठाउने, असोज मसान्तभित्र क्रियाशील सदस्यतामाथि उजुरी र कात्तिक मसान्तभित्र क्रियाशील सदस्यतामाथि पुनरावेदन दिन सकिने उल्लेख छ । यस्तै मङ्सिर २५ भित्र क्रियाशील सदस्यताको विवाद टुंयाउने र मङ्सिर मसान्तभित्र क्रियाशील सदस्यताको सूची निर्वाचन समितिलाई बुझाउने भनिएको छ । 

७७ पुस ६ मा वडा अधिवेशन, पुस ८ मा गाउँ र नगरपालिका अधिवेशन, पुस ११ मा प्रदेश सभा क्षेत्रीय अधिवेशन, पुस १३ मा  प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन) एक मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेकामा जिल्ला अधिवेशनको मिति तोकिएको छ ।

यस्तै एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेका जिल्लाको अधिवेशन पुस १६ गते र प्रदेश अधिवेशन माघ ६ गते गर्नेगरी परिमार्जन प्रस्ताव ल्याइएको छ । फागुन ७, ८,९ र १० का लागि पूर्व निधारित महाधिवेशनको मिति भने यथावत राखिएको छ ।

ओलीसँगको भेटबारे देउवासँग जवाफ मागिने
आजको बैठकमा आसार १७ गते प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीच भएको छलफलबारे बैठकमा जानकारी मागिने छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले प्रधानमन्त्री ओलीसँगको छलफलबारे सभापतिसँग जानकारी माग्ने मनसाय बनाएको छ । 

वरिष्ठ नेता पौडेलले भने, ‘यस विषयमा सभापतिजीले जानकारी दिनुनै हुन्छ होला । कुरा उठी पनि हाल्छ ।’ नेकपा विभाजनको संघारमा पुगेका बेला ओली र देउवाबीचको छलफललाई संशयका साथ हेरिएको छ । यस्तै ओली निकट नेताहरुले बजेट अधिवेशन अन्त्यको निर्णय देउवासँगको परामर्शपछि लिएको दाबी गरिरहेका छन् । यद्यपि यस विषयमा काँग्रेस प्रवक्ता शर्माले विज्ञप्ति जारी गरी काँग्रेससँग कुनै परामर्श नगरिएको जानकारी दिएका थिए ।

कोरोना, सलह, बाढी पहिरो सृजित चुनौति सामना गर्न प्रस्तुत संकल्प प्रस्ताव, एमसीसी, नागरिकता विधेयक, निजामती कर्मचारीको सेवा शर्तसम्बन्धी विधेयक र नेपाल विशेष सेवा विधेयकबारे निश्चित टुङ्गोमा नपुगी अधिवेशन अन्त्य गरिएकोमा काँग्रेस विरोध जनाएको थियो ।

यसबारे पनि आजको बैठकमा छलफल हुने शर्माले जानकारी दिए । यस्तै बैठकमा सरकार जनताको जीवनको रक्षा गर्नेबेला  सत्ताको खेलमा रुमलिएको विषयमा गम्भीर छलफल गरिने उनले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप