शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोना रोकथामसँगै अर्थतन्त्र माथि ल्याउनसमेत काम गरिरहेको छ : परराष्ट्रमन्त्री

शनिबार, २० असार २०७७, २१ : ०४
शनिबार, २० असार २०७७

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाली जनतालाई कोरोना सङ्क्रमणबाट जोगाउन  र कोरोनाका कारण गिरेको अर्थतन्त्रलाई पुरानो लयमा फर्काउन सरकारले काम गरिरहेको बताएका छन्। सरकारले कोरानाको कहरबाट देशलाई सुरक्षित राख्नका लागि निरन्तर कार्य गरिरहेको उल्लेख गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले कोरोनाको कारण गिरेको अर्थतन्त्रलाई पुनर्ताजगी गर्ने कार्यलाई  पनि सरकारले गम्भीरतापूर्वक लिएको बताए । 

    गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको नवौँ वार्षिक साधारण तथा राष्ट्रिय ज्ञान सम्मेलनलाई आज अनलाइन सम्बोधन गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले कोरोनाको यो महामारीबाट विश्व नै प्रभावित भएको र विश्वकै अर्थतन्त्र नै गिरेको अवस्थामा नेपालको अर्थतन्त्र उकास्न सरकारको एकल प्रयास मात्रै पर्याप्त नहुने भएकाले देशभित्र र देशबाहिर रहेका सबै नेपालीको सहकार्य जरुरी रहेको बताए । 

    सो अवसरमा नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले कोरोनापछिको नेपालका बारेमा समेत बहस र छलफल हुनुपर्ने बताए । स्वदेश फर्किएका नेपालीहरुलाई नेपालमै रोजगारी कसरी दिने भन्ने सन्दर्भमा अब हामी सबैको ध्यान केन्द्रित हुनुपर्ने नेता कोइरालाको भनाइ थियो । एक अर्को प्रसङ्गमा नेता कोइरालाले गैरआवासीय नेपालीलाई नागरिकता दिने विषय अब विवाद वा छलफलको विषय नभएको बताउँदै संविधानले सुनिश्चित गरिसकेकाले अब त्यसको कार्यान्वयनमात्र बाँकी रहेको उल्लेख गरे । 

    यस्तै पूर्वपरराष्ट्रमन्त्री डा प्रकाशशरण महतले कोरोनाका कारण मानवीय क्षतिसँगै मुलुकको आर्थिक तथा सामाजिक पक्षमा समेत असर पुगेको बताए । उनले भविष्यमा आउन सक्ने खाद्यसङ्कटदेखि आर्थिक समस्याप्रति गम्भीर भई काम गर्नुपर्नेमा वर्तमान सरकार यस्तो विषम परिस्थितिमा पनि सत्ता सङ्घर्षमा नै केन्द्रित रहेको आरोप लगाए । 
    एनआरएनए अमेरिकाका अध्यक्ष सुनील साहको अध्यक्षता र महासचिव पशुपति पाण्डेको सञ्चालनमा भएको साधारणसभा उद्घाटनमा बोल्दै अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुनकुमार कार्कीले विदेशमा रहेका नेपाली स्थायी रुपमै नेपालका दूत भएको बताए । 

    यसैगरी, गैरआवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष कुमार पन्तले एनआरएनएले सरकारसँग मिलेर काम गरिरहेको बताउँदै आगामी दिनमा समेत सरकारसँग सहकार्य गरी काम गरिने उल्लेख गरे । 
    यस्तै, अमेरिकाको मेरिल्यान्ड राज्यको तल्लो सदनका हाउस अफ डेलिगेट्स ह्यारी भण्डारीले गैरआवासीय नेपालीहरु जुन देशमा बसेका छन् त्यो देशको राजनीतिमा पनि पाइला अघि बढाउनुपर्नेमा जोड दिए । साधारणसभा सँगै राष्ट्रिय ज्ञान सम्मेलनमा विभिन्न शीर्षकमा गोष्ठीको आयोजन गरिएको र विषयगत विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नुहुने साधारणसभा तथा सम्मेलनका संयोजक एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष डा अर्जुन बञ्जाडेले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप