शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अपार्टमेन्ट मन्थन

शनिबार, २४ भदौ २०७४, १० : ३०
शनिबार, २४ भदौ २०७४

मिलन बगाले


अपार्टमेन्ट किन्नुभएको छ ? 
हजुर । किनेको छु ।
अपार्टमेन्ट भवन भत्कियो भने ?
अलच्छिन नलगाउनुस् न । त्यत्रो डेढ करोड हालेर तीन कोठा किनेको छु । सर्नसमेत पाएको छैन ।
अलच्छिन लगाउन खोजेको हैन । भवन भत्कियो भने जग्गा कसको हुन्छ, थाहा छ कि छैन, जान्न खोजेको ।
थाहा छैन । लौ भन्दिनुपर्यो ।
लौ सुन्नुस् । अपार्टमेन्ट भवन आगलागी, भुइँचालो या यस्तै प्राकृतिक विपत्ले भत्क्यो या नष्ट भयो भने भवनले चर्चेको जग्गा सोसाइटीको हुन्छ ।
सोसाइटीको ? हाम्रो हुन्न र ?
सोसाइटी भन्या तपार्इंहरू नै हो । अपार्टमेन्ट किन्नेहरूको समूह या त्यो घरभित्र बस्नेहरूको समाज ।
ए १ म कहिल्यै मिटिङमा गएको छैन । यस्ता कुरा कसरी थाहा पाउनु ? ए साँच्चै, मेरो भागमा कति जग्गा पर्ने रै’छ ? कति पैसा आउने रै’छ ?
तपाईंको अपार्टमेन्ट कति जग्गाामा फैलिएको छ ? त्योभित्र कति युनिट छन् ? कुन ठाउँ हो ?
सानेपामा हो । तीन रोपनी जग्गामा बनेको छ । ३२ युनिट छन् ।
तपार्इंले डेढ आना जग्गा पाउनुहुन्छ । आनाको १५ लाखको दरले करिब २२—२३ लाखजति पाउनुहुन्छ । 
राम, राम, राम । डेढ करोडमा किनेको । भत्क्यो भने जम्मा २२ लाख ?

नआत्तिनुस् । अपार्टमेन्ट भवन निकै बलियोसँग बनाइएको हुन्छ । तासको घरझैं सजिलै कहाँ भत्कन्छ ? बरु बीमा गर्नुस् । भवनको जतन गर्नुस् । है ?
तपार्इंको अपार्टमेन्ट कहाँ छ ?
सातदोबाटोनजिकै ।
खानेपानी, पोख्नेपानी मज्जाले पुग्छ ?
कता पुग्नुको कुरा, एकथोपो पानी छैन ।
एक थोपो पानी छैन रे ? कति परिवार बस्नुहुन्छ ? कतिवटा बिल्डिङ छन् ? कसरी चल्छ जिन्दगी ?
१४९ परिवार बस्छाैं । पाँचवटा बिल्डिङ छ । बोरिङ, डिप बोरिङ, इनार सप्पै पाँच वर्षमा सुकेर मरे । एकथोपो पानी निस्कन छोडेको एक वर्षजति भयो । ट्याङ्करको पानीले चल्छ जिन्दगी ।
कत्रा छन् पानीका ट्याङ्की ? ट्याङकर हात्तीको मुखमा जिरा हुन्न ?
हुन्छ । हरेक भवनको भुइँतलामा ५०—५० हजार लिटर अट्ने दुईवटा र माथि छानामा २५—२५ हजार लिटर अट्ने दुईवटा ट्याङ्की छन् । १—२ ट्याङ्कर पानी त पिँधमै बिलाउँछ ।

आकाशेपानी संकलन, ग्राउन्ड रिचार्ज, पानी फारो, अपार्टमेन्टवरिपरि हरियोपरियो बगैंचा क्यै गरिएन ? 
अहँ । क्यै गरिएन । खोलो बगेझैं पानी आउँथ्यो बोरिङबाट । मेलम्ची भन्ठानेर ह्वालह्वाल पोखियो । दिनकै ३०—४० हजार लिटर तान्थे । अहिले दुःखको सीमा छैन । पानीविनाको जिन्दगी नर्कसमान भएको छ ।
यसरी कहिलेसम्म बस्ने अपार्टमेन्टमा ?

आफ्नै चार आना जग्गामा घर बनाउँदै छु । त्यो बनिसक्नासाथ सरिहाल्ने । यसलाई पाए भाडामा दिन्छु । नत्र त्यसै छोडिदिन्छु । जमिनको पानी बचाउन नसकेपछि मान्छे काकाकुल बन्दोरै’छ । चेतेका छौं ।
धर्तीको अचाक्ली दोहन गरेर ठूलो गल्ती गर्नुभएछ ।
हजुर । गल्ती गरियो । पश्चाताप छ ।

किन घर बेच्ने ग्राहक खोज्दै हिँड्नुभएको ? आडैमा यति राम्रा÷राम्रा र भव्य अपार्टमेन्ट बनेछन् । भाउ बेस्सरी बढ्यो भनेर त्यही मेसोमा बेचिहाल्न खोज्नुभएको ?

कहाँ सर, अपार्टमेन्टले जिउँदै गाड्यो मलाई । खाल्डामा हाल्यो । त्यहीभएर भौंतारिँदै बेच्न हिँडेको ।
कसरी हाल्यो खाल्डोमा ?

पहिला त मख्खै परियो । बडेबडे अपार्टमेन्ट घर आडैमा बनेपछि वरिपरि विकास हुन्छ, बाटो पिच हुन्छ, ढल राम्रो बन्छ, बाटामा बत्ती हाल्छन्, घर÷जग्गाको भाउ बढ्छ भन्ठानियो । आखिर क्यैजात भएन । उल्टो घरै बिग्रियो ।
कसरी बिग्रियो ?

मेरो घर दक्षिणतिर फर्केको छ । दिनभरि घाम लाग्थ्यो, न्यानो थ्यो । अहिले सामुन्नेमा १५ तले अपार्टमेन्ट बनेपछि घाम दुर्लभ भो । हिउँचुचुरो भा’छ घर ।
छोड्नुपर्ने जग्गा छोड्या छैनन् र ? सरकारी नियम कानुन त पालना गरेको हुनुपर्ने ?
त्यही नियमले त मार्यो नि । अगाडि ६ मिटर, पछाडि, दायाँ र बायाँ चार मिटर छोडे पुग्ने रै’छ । त्यति जाबो छोडेर के हुने ? अनि अपार्टमेन्टले मेरो इनार पनि खाइदियो ।
कसरी खायो ?

बडेमाको बोरिङ गाडिदिए मेरो साँधनेर । अपार्टमेन्टले दिनको २५ हजार लिटर पानी तान्छ भन्दैथ्यो, त्यहाँको इन्जिनियर भाइले । हाम्रो वरिपरिको इनारको पानी त्यतै बगेर गयो । कम्पाउन्डबाहिरको बाटो पिच पनि गरेनन्, बत्ती पनि हालेनन् । भित्र युरोपजस्तै झिलिमिली छ । बाहिर हामीलाई बिजोग पारे । अपार्टमेन्टको छिमेकी हुनु भन्या दुःख पाउनुमात्रै रै’छ ।

ललितपुर जिल्लाभरिका अपार्टमेन्ट भवनहरूको दुईमहिने अनुगमन र मूल्यांकन भ्रमणका क्रममा टिपिएका प्रतिनिधि समस्या हुन् यी । अपार्टमेन्ट संस्कृति नराम्रो हुँदै हैन । काठमाडौंको मलिलो माटो बचाउन, एउटै घरमा धेरै परिवार राखेर सहरलाई जथाभावी भरिन नदिन र सुरक्षाका हिसाबले अपार्टमेन्ट उपयोगी छ । सरकारले संयुक्त आवाससम्बन्धी मापदण्ड बनाएको छ र २०६२ फागुन २२ गते राजपत्रमा छापिएर लागूसमेत भएको छ ।

आफ्नै कम्पाउन्ड भएको निजी घरसँग जोडिएको आत्मीयताका कारण अपार्टमेन्ट बसाइ धेरैलाई सहज लागेको छैन । सानो जग्गामा अपार्टमेन्ट बनेका कारण आकाशको पानी जमिनभित्र पस्न सकेको छैन, आकाशेपानी संग्रह गर्ने चलन छैन र बोरिङ सुकेर अपार्टमेन्ट काकाकुल बन्न थालेको छ । बस्तीहरूको बीचमा बहुतले भयंकर भवन उभिदिँदा छिमेकीले सहज महसुस गर्न सकेका छ्रैनन्, इनारको पानी अपार्टमेन्टको बोरिङले सुकाइदिने समस्या त छँदै छ । भूकम्पीय सुरक्षा, भवन निर्माणसंहिताको पालना, भवन निर्माण मापदण्डको पालनाबाहेक योसँग जोडिएका माथि उल्लिखित सामाजिक सांस्कृतिक आयामलाई पनि आत्मसात् गरेर अपार्टमेन्ट बनाउने हो भने अझ उत्तम हुनेछ ।

सहर भनेको सिमेन्ट संरचनामात्र हैन । हामीले आत्मासहितको संरचना डिजाइन गर्न सक्यांै भनेमात्र त्यहाँभित्र बस्ने र वरिपरि बस्नेले पनि सुख र शान्तिको महसुस गर्छन् । सामाजिक र सांस्कृतिक मूल्यमान्यतासहितको व्यवस्थित आवासको कल्पना गर्ने र व्यवहारमै उतार्नेको जय होस् ।


(मिलन बगालेको किताब ‘देशदृष्टि’ अाज शनिवार, नेपाल पर्यटन बोर्डको सभाकक्ष, भृकुटीमण्डपमा दिउँसो ३ बजे सार्वजनिक हुँदै छ ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप