शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सतीदेवीलाई चिठ्ठी

शनिबार, २४ भदौ २०७४, १० : १५
शनिबार, २४ भदौ २०७४

कविता:
-मनोज विश्वकर्मा

डियर सतीदेवी !
मेरो आधापन तिमीभित्रै आत्महत्या गर्न चाहान्छ
मेरो इन्द्रिय चाहन्छ तिमीलाई नै महसुस गर्न ।

मलाई तिम्रो छातीको न्यानोमै सेकिएर बाँच्नु छ
एक जन्म
मलाई तिम्रो काखमै पल्टिएर निदाउनु छ
एक जन्म

डियर सतीदेवी
लाग्छ
जुन दिन तिमी जन्मिएकी थियौ
त्यही दिन पहिलोपल्ट मुस्कुरायो ब्रह्माण्ड
त्यही दिन नै पूर्णता पायो यो सृष्टिले
बनेँ
हिमाल, हिउँ धरतीमा
तारा, जुन आकाशमा
र यो पृथ्वी
पृथ्वी जस्तो भयो ।

तिमीलाई थाहा छ सतीदेवी
म महादेव
त्यही दिनदेखि त शिरमा बोकिहिँड्छु
धरतिको गङ्गा
आकाशको जून

डियर गौरा !
तिमी जुन नदी किनारमा कुरिरहन्थ्यौ मलाई
बालुवामा बनाएर मेरै प्रतिमा
तर म
आउनै सक्दिनथेँ, त्यहाँ
यदि आउथेँ भनेँ
मेरो छातीमा रोपिन्थ्यो मैले नै बनाएको त्रिशूल ।

हो सतीदेवी !
दुनियाँले जान्दै जान्दैन कि म कति पल्ट
श्मशान घाट पुगेँ
आफ्नै हत्या गर्न
तिमीलाई पनि थाहा नहुन सक्छ
तिम्रा यादहरूको डोज कालकुट बनेपछि
म वर्षौँ वर्ष जम्थेँ कैलाशमा अनि पग्लिएर
बग्थेँ तिमीले पुज्ने नदीको किनारै किनार
र खस्थेँ तिम्रै अञ्जुलीबाट उचालिएर ।

प्रिय दक्ष प्रजापति पुत्री !
जुन दिन थाहा पाएँ
तिम्रा पिताले कि म त्रिशूल बनाउँछु
र मैले छोएँ तिम्रा “अञ्जुलीका औँलाहरू”
केही थान राक्षसजस्ता भगवानहरूले
तिम्रो भगवानको
निधारमै रोपिदिएँ त्रिशूल
जसलाई दुनियाँले
त्रिशूलको ‘शूल’ हटाएर ‘नेत्र’ भन्छ ।

जुन दिन थाहा पाएँ
तिम्रो पिताले दैलोमा बस्न नदिएको मान्छे
दिलमा बस्यो भनेर
धर्मशास्त्र
र कानुन
दुई
याँमानको तुनाले
मेरो शरीरलाई डमरु बनाएर बजाइरहे नथाकुञ्जेल
र कैद गरिदिएँ
बासुकीहरूको सहरमा !
त्यही बेलादेखि मलाई लागेको हो
पशुहरू मानिसभन्दा जाति हुदाँरहेछन् ।

डियर गौरा !
म त्यही कैदबाट
लेखिरहेछु यो पत्र
पुग्छ पुग्दैन तिमी सामु
तर सुन्नु तिमीले बतासको धुकधुकी ।

डियर सतीदेवी !
म यो कैदबाट
भनिरहेछु
आऊ
अब यस्तो एउटा प्रण गरौँ ता कि
कुनै पनि सतीदेवीले
कुनै पनि युगमा
चुकाउनु नपरोस् प्रेमको मूल्य– आत्मदाह ।

डियर सतीदेवी आऊ
अब यस्तो एउटा प्रण गरौँ ता कि
तिम्रो शव हैन
म बोकेर हिँडु
यो सारा जगतमा
हाम्रो प्रेम
र जहाँजहाँ खस्छन् हाम्रो प्रेम
त्यहाँ त्यहाँ उत्पत्ति होस् धर्तीकै सुगन्धित फूलहरू ।

-चपुर–५, रौतहट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप