बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

शेयर बजार : भोलि उठी कहाँ जाने केही थाहा छैन...

लगानीकर्ताले कारोबार गर्नै पाएनन्, बजारको घटबढ किन ?
शनिबार, २० असार २०७७, १३ : २६
शनिबार, २० असार २०७७

काठमाडौं । लकडाउनपछि शेयर बजारमा नियमित रुपमा कारोबार भएको ४ दिन मात्रै भयो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को निर्णय अनुसार दैनिक ४ घण्टा बजार कारोबार हुँदा यो अवधिमा १६ घण्टा कारोबार हुनुपथ्र्यो ।

 तर ४ दिनको अवधिमा मुस्किलले एक तिहाई अवधि मात्रै कारोबार हुन सकेको छ । ४ दिनको अवधिमा कुल ५ घण्टा ४६ मिनेट मात्रै कारोबार हुन सकेको हो । पर्याप्त समय कारोबार हुन नसकेकोले कारोबार भएकोले यो अवधिमा कुल १ अर्ब ५९ करोड बराबरको ४० लाख ९ हजार कित्ता शेयर कारोबार मात्रै हुन सक्यो । 

सोमबार बजार खुलेदेखि नै बजारमा बिक्रीको चाप निकै बढ्यो । सोही कारण पहिलो ४० मिनेटमै नेप्से परिसूचकमा ४८ अंकको गिरावट आएपछि नेगेटिभ सर्किट लागेर २० मिनेटका लागि स्थगित भएको थियो । 

नयाँ सर्किट ब्रोकर प्रणाली अनुसार शेयर बजारमा कारोबार खुलेको पहिलो १ घण्टाभित्र ४ प्रतिशतले बजार बढ्यो भने पहिलो सर्किट ब्रेकर लगाइन्छ । पहिलोपटक सर्किट ब्रेकर लाग्दा २० मिनेटका लागि कारोबार स्थगित हुन्छ । 
त्यस्तै, ५ प्रतिशतले बजार घटबढ हुँदा ४० मिनेट र ६ प्रतिशत बजार घटबढ हुँदा दिनभरका लागि कारोबार स्थगित हुन्छ । सोही प्रणाली अनुसार नेप्सेमा २० मिनेट कारोबार स्थगित भएको थियो । 

तर पहिलो सर्किट ब्रेकरपछि त्यो दिन बजार सम्हालियो । कारोबार सुरु भएपछि बजार बढ्दै जाँदा गिरावट शून्यनजिक पुगेको थियो । तर अन्तिम घण्टामा फेरि शेयर बजार घट्न थाल्यो र करिब १२ अंकको गिरावटमै बजार थामियो । यो हिसाबले सोमबार ३ घण्टा ४० मिनेट बजारमा कारोबार हुन सक्यो । 

मंगलबार, बुधबार र बिहीबार भने अवस्था निकै फरक रह्यो ।  

मंगलबार खुलेको बजारमा पहिलो ४८ मिनेटमा परिसूचक ४ प्रतिशतले बजार बढेर पहिलो सर्किट लाग्यो । कारोबार खुलेको करिब ९ मिनेटमा बजार परिसूचकको वृद्धि ५ प्रतिशत पुगेर ४० मिनेट कारोबार रोकियोे । ४० मिनेटपछि खुलेको कारोबार पनि करिब ७ मिनेट मात्रै टिक्न सक्यो ।  सो अवधिमा बजार थप १ प्रतिशतले बढेपछि कारोबार सो दिनको लागि स्थगित भएको थियो । यसप्रकार मंगलबार कूल १ घण्टा ४ मिनेट मात्रै कारोबार हुन सक्यो । 

बुधबार बजार खुलेको पहिलो १३ मिनेटमा नै बजार ४ प्रतिशत पहिलो सर्किट लाग्यो । त्यसपछि खुलेको बजारमा पहिलो २ मिनेटमै दोस्रो सर्किट र त्यसपछि खुलेको बजारमा ७ मिनेटमै तेस्रो सर्किट ब्रेकर लागेर बजार बन्द भएको थियो । यसप्रकार बुत्रबार नेप्से परिसूचक बढ्न करिब २२ मिनेट मात्रै लाग्यो । 

बिहीबार भने नेप्से नकारात्मक दिशातिर उन्मुख भयो । त्यो दिन पहिलो २३ मिनेटमा पहिलो नकारात्मक सर्किट ब्रेकर लाग्यो । बजार खुलेको ४ मिनेटमै दोस्रो र फेरि बजार खुलेको १३ मिनेटमा तेस्रो सर्किट ब्रेकर लागेर बजार बन्द भएको थियो । यो हिसाबले सो दिन करिब ४० मिनेट मात्रै कारोबार हुन सक्यो । 

बजारको घटबढ किन ? 
सोमबारको कारोबारमा पहिलोपटक करिब ४८ अंकको गिरावट आउनुलाई सामान्य मानिएको थियो । लगानीकर्तामा कोरोना महामारीको ह्याङओभर नहटेकोले यस्तो अवस्था आएको अनुमान विश्लेषकहरुले गरेका थिए । 

पहिलो सर्किट ब्रेकरपछिको बढेको बजारलाई लगातारको गिरावटको बाउन्स ब्याकको रुपमा अथ्र्याइएको थियो । लकडाउनअघि १२५१ अंकमा रहेको बजार परिसूचक सोबीचमा २ दिन खुलेको बजारमा करिब ५० अंकको गिरावट आइसकेको थियो । सोमबार फेरि ५० अंकले बजार घटेपछि लगानीकर्ताहरुले खरिद बढाउन थालेको विश्लेषण गरिएको थियो । 

सोमबार नै बजारमा अर्थतन्त्र सकारात्मक अवस्थामा रहेका खबरहरु आए । अर्थमन्त्री डा. युवराज खतिवडा आफैंले विदेशबाट फर्कने क्रम रोकिएको, रेमिट्यान्स, वैदेशिक व्यापार र राजश्व समेत बढ्न थालेको भन्दै सकारात्मक सन्देश प्रवाह गरेका थिए । उनको त्यस्तो सन्देशले सोमबार र मंगलबारको बजारलाई सकारात्मक बनाएको हुनसक्ने समेत विश्लेषकहरुको अनुमान थियो । 

तर मंगलबारदेखि सत्तापलटको चर्चा सुरु भयो । नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति बैठकमा भएको सरकारको आलोचना र प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा प्रकरणले बजारलाई सुधार गराएको विश्लेषण समेत गरियो । बुधबार पनि त्यही क्रम रोकिएन । 

तर बिहीबारको कारोबारलाई भने विश्लेषकहरुले शंकास्पद रुपमा हेरेका छन् । दुईदिन लगातार पोजेटिभ सर्किट लागेर बन्द भएको कारोबार बिहीबार एकाएक नेगेटिभ सर्किट लाग्नुलाई अघिल्लो दिनको उच्च वृद्धिको करेक्सनको रुपमा मात्रै हर्ने अवस्था नभएको उनीहरु बताउँछन् । यसका बजारमा ठूला कारोबारीहरुले अनावश्यक माग र आपूर्तिको सिर्जना गरेको हुनसक्ने आशंका समेत विश्लेषकहरु बताउँछन् ।

 

लगानीकर्ताले कारोबार गर्नै पाएनन् 
पहिलो दिन २० मिनेटमात्रै बजार बन्द भएकोले लगानीकर्ताहरुले तुलनात्मक रुपमा कारोबार गर्ने धेरै समय पाएका थिए । तर त्यो दिन किन्न कोही पनि तयार भएनन् । सर्किट ब्रेकरपछि बढ्न थालेको बजारमा खरिदकर्ताहरु सक्रिय हुन थाले पनि ‘प्राइस बार्गेनिङ’ भने निकै चलेको देखिन्थ्यो । 

मंगलबार पनि पहिलो ४८ मिनेट त्यसरी नै वित्यो । तर त्यसपछि बजारमा तीव्र उछालको तरंगमा लगानीकर्ताहरु परे । उनीहरुले विवेकशील ढंगबाट लगानी गर्नै पाइरहेका छैनन् । दुई दिनको कारोबारबाट कन्फिडेन्स केही बढे पनि आफूले किन्न चाहेको मूल्यमा निकै उतारचढाव हुन थालेपछि लगानीकर्ताहरु तत्कालै किनबेच गर्ने निर्णयबाट पछि हटेको जस्तो समेत देखिन्छ । 

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार बजारमा नियमित रुपमा कारोबार हुन नसक्नु दुःखद भएको बताउँछन् । सर्किट ब्रेकर प्रणाली ठीक भए पनि बजारमा अनावश्यक उतारचढाव भएर सर्किट ब्रेकर लाग्दा लगानीकर्ताको आत्मविश्वास कमजोर बन्दै जाने उनको तर्क छ । 

बजार घटबढका केही आधारहरु
अहिले बजार अनियन्त्रित बनेको छ । केही कृतिम कारणले भइरहेका अस्वाभाविक उतारचढावलाई छाड्ने हो भने बजार घट्न वा बढ्नसक्ने दुवै कारणहरु प्रशस्त छन् । 

खासगरी अर्थातन्त्रमा पछिल्लो समय देखिएको सकारात्मक संकेतहरुले ‘चाँदीको घेरा’को रुपमा काम गरिरहेका छन् । त्यसमाथि शेयर कर्जाको धितोको मार्जिन बढाउने सम्बन्धमा राष्ट्र बैंक सकारात्मक रहेको विषय, अनलाइन कारोबारका लागि बढ्दै गएका पूर्वाधारहरु लगायतले यसमा थप सकारात्मक संकेत देखाएका छन् । त्यसमाथि शेयर बजारले नरुचाएको सरकार परिवर्तनको हल्ला पनि बजारको वृद्धिको कारण रहेको बताइन्छ । 

अहिले बैंकिङ क्षेत्र उच्च तरलताको अवस्थामा छ । बैंकहरुले आफूसँग भएको पैसा ऋण लगानी गर्न समेत सकिरहेका छैनन् । यस्तो अवस्थामा छिटै माग हुने शेयर कर्जा तथा अन्य उपभोग्य कर्जासँग सम्बन्धित प्रोडक्टहरु समेत उनीहरुले सार्वजनिक गर्न थालिसकेका छन् । उता तरलता घट्दै जाँदा बैंकिङ निक्षेपको ब्याजदर थप कम गर्ने तयारी समेत बैंकरहरुले गरेका छन् । यसले शेयर बजारलाई सकारात्मक रुपमा दोहोरो प्रभाव पार्छ । यी क्षेत्रको सकारात्मक परिबर्तनले शेयर बजारलाई छिटै माथि पुर्याउने सम्भावना देखिन्छ ।

तर, ‘कालो बादल’ अझै हटेको छैन । लकडाउन खुकुलो भएपछि अहिले कोरोनाभाइरसको महामारी बढ्दै गएको छ । काठमाडौंंमा पनि संक्रमितको संख्या बढ्दै जानु र त्यसमा लोकल ट्रान्समिसनको समेत आशंका गरिनुले शेयर भोलिका दिनमा बजार अझै तल झर्ने सम्भावना समेत देखिन्छ । त्यसमाथि राजनीतिक संकट गहिरिने हो भने आइपर्ने संकट समेत शेयर बजारको लागि हितकर हुँदैन । 

अर्कोतर्फ अर्थतन्त्रमा अहिले देखिएको सकारात्मक अवस्था दीर्घकालीन नहुन पनि सक्छ । चैत र बैशाखको कठोर लकडाउनले गर्दा जेठमा रेमिट्यान्स बढ्यो भन्दैमा रेमिट्यान्स सँधैं बढ्छ भन्ने पनि नहुन सक्छ । अहिले देखिएको अधिक तरलता पनि त्योसँगै कम भएर जान पनि सक्छ । त्यसैले बजारको लगानी अहिले नै सुरक्षित होला भनेर ढुृक्क हुने अवस्थामा लगानीकर्ताहरु अझै छैनन् । 

त्यसो त बजारको आफ्नै सिस्टममा पनि अहिले समस्या देखिएको छ । अहिले पनि बजार कारोबार देखाउने ‘स्टकलाइभ’मा रियल टाइम अपडेट दिन नेप्से चुकिरहेको छ । बजार परिसूचक र पुँजीकरणको सूचना समेत नियमित भएको पाइँदैन । नेप्सेको अनलाइन ट्रेडिङ सिस्टममा देखिएका समस्या अझै उस्तै रहेको लगानीकर्ताहरुको गुनासो छ । 

यिनै आन्तरिक र बाह्य कारणले भोलि खुल्ने बजारको गति के होला भन्ने अनुमान समेत गर्न नसक्ने अवस्था देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप