शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बालिकालाई बलात्कारपछि हत्या गरेको आशंकामा १ जना पक्राउ

शुक्रबार, १९ असार २०७७, १६ : ५२
शुक्रबार, १९ असार २०७७

जनकपुर । धनुषामा दुई दिनदेखि बेपत्ता एक १० वर्षीया बालिका मृतावस्थामा फेला परेकी छिन् । जनकपुर उपमहानगरपालिका वडा नम्बर २१ स्थित कुर्थास्थित दुधमति नदीको किनारामा १० वर्षीया बालिका कन्चनकुमारी पजियार शुक्रबार बिहान मृतावस्थामा फेला परेकी हुन् । ती बालिकाको बलात्कारपछि हत्या भएको हुनसक्ने आशंका गरिएको छ । अहिले घटनास्थलमा प्रहरीले तारबार गरी सिल गरेको छ ।

खेतमा धानको विउ रोपिरहेका एक किसानले शुरुमा बालिकाको शव भेटेका थिए । उनले दुधमति नदीको किनारा तर्फबाट गन्ध आएपछि हेर्दा ती बालिकाको शव देखेर प्रहरी र स्थानीवासीलाई जानकारी गराएका थिए । बुधबार दिउँसो भैंसी चराउन गएकी बालिका राती अबेरसम्म गाउँ नफर्किपछि खोजविन सुरु भएको थियो । त्यसलगत्तै उनका आफन्तले बिहीबार बिहान अस्थायी प्रहरी चौकी कुर्थामा उजुरी दिएका थिए ।

यता, प्रहरीले घटनाबारे अनुसन्धान गर्ने क्रममा एकजना अघोरी बाबा हुँ भन्दै हिड्ने व्यक्तिलाई नियन्त्रणमा लिएको छ । मृतक बालिकाका काका विजय पजियारले बुधबार दिउँसो बालिका भैंसी चराउन चौरतर्फ गएको बताउदैँ भने– ‘बुधबार १२ बजेतिर भैंसी चराउन गएकी बालिका अबेर साँझसम्म घर आइनन् । त्यसबेला आफन्तकहाँ भोज थियो, त्यहीँ गएको हुनुपर्ने आशंका गर्यौँ र चौरमा गएर उनका बुवा उमेश पजियारले भैसी ल्याए, अबेर रातिसम्म पनि सबै ठाउँमा खोजविन गर्यौँ । तर कतै नभेटिएपछि बिहिबार बिहान प्रहरीमा उजुरी गर्यौँ र खोजविन पनि जारी नै राख्यौँ ’ उनले भने ।

उनका अनुसार एकाएक आज बिहान एक किसानले घरमा आएर नदीको किनारामा फ्यालिएको अवस्थामा छोरीलाई देखिएको बताएका थिए । अहिले घरमा बालिकाकी आमा र बुवा शोकमा छन् । उनले छोरीको खोजविन गर्ने क्रममा पानी परेको र ओत लाग्न कुटीभित्र पस्न खोज्दा अघोरीले आफुहरुलाई भित्र छिर्न नदिएको बताए । बाबाको गतिविधि शंकाष्पद रहेको बताउँदै उनले छोरीको शव हेर्दा हत्यापूर्व बलात्कार गरिएको आशंका व्यक्त गरे ।

स्थानीय दिनेश शाहले बालिकाले लगाएको लुगामध्ये जिउमा गञ्जी मात्रै भएको र शरीरभरी रगताम्य रहेको शव नदी किनारमा देखिएकाले बलात्कार गरी हत्या गरेको आशंका व्यक्त गरे । साहले लकडाउन अवधिदेखि गाउँ वरिपरि रहेका चौर र आमगाछीमा गाउँ बाहिरका युवाहरु आएर मादक तथा लागू पद्धार्थ सेवन गर्नेहरुले पनि यस्तो गलत कार्य गरेको हुनसक्ने आशंका व्यक्त गरे ।  

अघोरी बाबामाथि आशंका लागेपछि स्थानीयवासीले उनलाई प्रहरीसमक्ष बुझाएका छन् । यता, प्रहरी नायब उपरिक्षक रामेश्वर कार्कीले यसबारे थप अनुसन्धान भैरहेको बताउँदै प्रारम्भिक अनुसन्धानका लागि एक अघोरी बाबालाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप