बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नगरपालिकालाई खरको छानामुक्त बनाइने

शुक्रबार, १९ असार २०७७, ०८ : १०
शुक्रबार, १९ असार २०७७

खोटाङ –  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई खरको छानामुक्त बनाउने अभियान शुरु गरिएको छ । करिब ९०० घर गरिब परिवार रहेको सो नगरपालिकालाई आगामी दुई वर्षभित्र खरको छानामुक्त बनाउने अभियानअन्तर्गत बिहीबार ४५ घर गरिब परिवारलाई जस्तापाताको छाना हाल्नका लागि पहिलो किस्ताबापतको रकम प्रदान गरिएको छ ।

सङ्घीय सरकारबाट प्राप्त २० तथा नगरपालिकाको तर्फबाट २५ गरी ४५ घर गरिब परिवारलाई रु ५० हजारका दरले जस्तापाता खरिदका लागि रकम उपलब्ध गराइएको नगर उपप्रमुख विणादेवी राईले बताए । “नगरपालिकाभित्र करिब ९०० को हाराहारीमा गरिब घर परिवार रहेका छन्”, उनले भने, “आर्थिक वर्ष २०७७÷०७८ मा ३३८ घर परिवारमा उक्त कार्यक्रम लागू हुनेछ ।”

प्रतिगरिब घर परिवारलाई रु ५० हजार उपलब्ध गराउने कार्यक्रमअन्तर्गत पहिलो किस्ताबापतको रु २५ हजारका दरले उपलब्ध गराइएको रकमको चेक प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले हस्तान्तरण गरे । बाँकी रु २५ हजार रकम लक्षित परिवारले घरमा छाना लगाइसकेपछि मात्र प्रदान गरिने जनाइएको छ । दश हजार ५० घरधुरी रहेको नगरपालिकालाई खरको छानामुक्त अभियान शुरु गरेपछि गरिब घर परिवार पनि हर्षित बनेका छन् । नगरपालिकाले तेस्रो नगर दिवसको अवसर पारेर खरको छानामुक्त अभियान शुरु गरेपछि आर्थिक अभावमा जस्तापाताको छाना लगाउन नसकेका गरिब घर परिवार हर्षित भएका हुन् ।

नगरपालिकालाई आफ्नै कार्यकालमा खरको छानामुक्त बनाउने गरी काम शुरु गरिएको नगप्रमुख दीपनारायण रिजालले बताए । “हामी निर्वाचित भएर आउनासाथ पहिलो नगरसभाबाट गरिबका लागि छानो कार्यक्रम पारित गरिएको थियो”, उनले भने, “विभिन्न कारणले शुरुआत गर्न सकिएको थिएन । बिहीबारबाट औपचारिक रुपमा शुरुआत गरिएको छ । यो कार्यक्रम हाम्रै कार्यकालमा सम्पन्न गरिनेछ ।”

नगरपालिकाले शुरु गरेको गरिबका लागि छाना कार्यक्रम प्रभावकारी रहेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यसमेत रहेका सांसद भट्टराईले प्रतिक्रिया दिए । “जिल्लाका दशवटै स्थानीय तहमा गरी करिब २३ हजार घरधुरी स्थानीय बासिन्दा खरको छाना भएको घरमा बसिरहेको तथ्याङ्क छ”, उनले भने, “सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत दुई वर्षभित्र सबै गरिब परिवारको घरमा छाना उपलब्ध गराउने सरकारको लक्ष्य छ ।”

पन्ध्र वटा वडा रहेको सो नगरपालिकामा यसअघि जनता आवास कार्यक्रमअन्तर्गत नयाँ आवास निर्माण सम्पन्न गरेर प्रयोगमा ल्याएका आठ घर गरिब परिवारलाई रकम उपलब्ध गराइएको थियो । प्रदेश सरकारद्वारा सञ्चालित जनता आवास परियोजनाअन्तर्गत नगरपालिकाभित्र बसोबास गर्ने १४ घर गरिब परिवार छनोट गरिएकामा नयाँ घर निर्माण सम्पन्न गर्ने आठ घर गरिब परिवारलाई एकमुस्ट रु तीन लाख पाँच हजारका दरले रकम प्रदान गरिएको हो ।

प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण कार्यालय ओखलढुङ्गा फिल्ड युनिट खोटाङमार्फत जिल्लाका दशवटै स्थानीय तहमा आवास निर्माण कार्यक्रम सञ्चालनमा छ । गरिबीका कारण ओत लाग्ने घर अभावमा छाप्रोमा बस्दै आएका नागरिकलाई प्रदेश सरकारले उपलब्ध गराएको रकमबाट नयाँ घर निर्माण गर्न पाएपछि उनीहरु हर्षित भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप