बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेकपा जोगाउन शीर्ष नेताको दौडधुप

शुक्रबार, १९ असार २०७७, ०६ : ३४
शुक्रबार, १९ असार २०७७

काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा गम्भीर संकट उत्पन्न भएपछि शीर्ष नेताहरूले पार्टी जोगाउन दौडधुपलाई तीव्र पारेका छन् । पार्टीको जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामाको माग उठेपछि त्यसले नेकपामा तरंग सिर्जना भएको छ ।

प्रम ओलीको राजीनामा मागसँगै पार्टीमा देखिएको संकट समाधानका लागि नेताहरू प्रधानमन्त्री निवास बालुवाटार र पुष्पकमल दाहाल निवास खुमलटारमा जम्मा भई पटक पटक संवाद र वार्ता गर्ने प्रयास गरिरहेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निवास शीतल निवास पुगेर पनि नेताहरू समाधानका उपाय खोजिरहेका छन् ।

ओलीले पार्टी र सरकारको नेतृत्वबाट राजीनामा दिनैपर्ने दाहाल र नेपाल समूहको अडान र राजीनामा दिन नहुने ओली समूहको अडानले नेकपाको जारी स्थायी कमिटी बैठकसमेत प्रभावित भएको छ । बैठक चल्दै गर्दा बीच बीचमै रोक्ने र एकले अर्काप्रति आशंका गर्ने कारणले पार्टी फुटको संघारमा पुग्न सक्ने संकेत देखिएको स्थायी कमिटीका सदस्यले बताएका छन् ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीमा गम्भीर संकट उत्पन्न भएको बताए । स्थायी कमिटीको बैठकले पार्टी एकतामा गम्भीर संकट पैदा गरेको निष्कर्ष निकालेको श्रेष्ठले बताए । पार्टीमा देखिएको संकट समाधान गर्ने उद्देश्यले स्थायी शनिबार कमिटीको अर्काे बैठक बस्नेछ । त्यसयता अध्यक्षद्वय ओली र दाहालका साथै सचिवालयका नेताहरूका बीचमा छलफल गरेर समाधानको उपाय खोजिने श्रेष्ठले बताए ।

‘पार्टी एकतामा गम्भीर संकट देखा परेको छ,’ श्रेष्ठले भने, ‘संकट समाधानका लागि अध्यक्षद्वयका साथै सचिवालय स्तरका नेताका बीच छलफल गर्ने उद्देश्यले शनिबारसम्मका लागि बैठक स्थगित गरिएको छ ।’ यो समाचार आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप