शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘निरन्तर सर्किट ब्रेक लाग्नु ठीक होइन, लगातार कारोबार हुनुपर्थ्यो’

बिहीबार, १८ असार २०७७, १५ : १४
बिहीबार, १८ असार २०७७

लकडाउन पछि खुलेको सेयर बजारमा व्यापक उतारचढाव देखिएको छ । दुईदिन तीन पटकसम्म सकारात्मक सर्किट ब्रेक लागेको बजारमा साताको कारोबारको अन्तिम दिन (बिहीबार) एक्कासी नकारात्मक सर्किट ब्रेकर लागेको छ । सकारात्मक वा नकारात्मक जुनसुकै सर्किट ब्रेक लागेपनि तीन पटकसम्म लाग्दा सेयर कारोबार निर्धारित समयभरि (११ बजेदेखि ३ बजेसम्म) हुन पाएन । लगानीकर्ता आफै निरन्तरको सर्किट ब्रेकबाट अचम्मित बनेका छन् ।

अहिले लगानीकर्ताको मनस्थितीकै कारण कहिले सकारात्मक त कहिले नकारात्मक सर्किट ब्रेक लागेको जानकारहरु बताउँछन् । सेयर बजारमा लगानीकर्ताको मनोविज्ञान सबैभन्दा प्रमुख पक्ष हो । अहिले बजारमा लगातार सर्किट ब्रेक लागेपछि पुरा समय कारोबार नहुँदा किन्नेले किन्न र बेच्नेले बेच्न सहजै पाएका छैनन ।

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार निरन्तर सर्किट ब्रेकर लाग्नुभन्दा पुरै समय कारोबार भएको भए टिकाउ हुने बताउँछन् । सर्किट एकैपटक पोजेटिभ र एकैपटक नेगेटिभ लाग्नु अनौठो भएको बताउँछन् । उनले भने, ‘बजार निरन्तर चलिरहनुपथ्र्यो । यस्तो फल्कचुएसन हुनु नपर्ने हो’ ।

अहिले बैंकमा प्रशस्त तरलता (लगानी योग्य रकम) छ । बैंकहरुबाट ऋण प्रवाह पनि न्युन भएको छ । नयाँ ऋणको माग नै न्युन भएको नेपाल बैंकर्स एसोसियसनको तथ्यांकले देखाउँछ । लगानी गर्ने ठाउँ खुम्चिएपछि सेयर बजारतिर लगानी डाइभर्ट भएको अनुमान छ ।

पुँजीगत लाभकरको सन्दर्भ पनि ५ प्रतिशतमा टंङ्गिएको छ । यता बैंकको ब्याजदर समेत घटेको सन्दर्भ सबै पक्षबाट बजार सकारात्मक देखिएको रौनियार बताउँछन् ।  अहिले  सेयर बजारमा लगानी गर्ने उपयूक्त समय भएको बताउँदै उनी भन्छन्, ‘बजार बढिरहेकै थियो । ४ घण्टासम्म कारोबार भएको भए हुन्थ्यो । लकडाउन अघि १६६८ अंकबाट घटेको बाट १२८० मा आइसकेको थियो । बढ्ने बाहेकको अबको विकल्पै नभएको अवस्थामा सर्किट ब्रेक नलागी पुरै समय कारोबार हुनुपथ्र्यो । बरु ५०/६० अंक नै बढोस् । पुरा समयम कारोबार हुँदा सेयर किन्नेले किन्न र बेच्नेले बेच्न पाउँथे ।’

अहिले बैङ्कमा भएको पैसा अरु क्षेत्रमा लगानी गर्ने ठाउँ नदेखिदा सो लगानी सेयर बजारमा आउने सम्भावना बढेर गएको र धेरै जसो सुधारका कारणले पनि बजार सकारात्मक तर्फ धेकलिएको उनले भने ।

यता, लगानीकर्ता तारा फुलेल सेयर बजार बढ्नु र घट्नु स्वभाविक भएको बताउँछन् । सेयरमा सधैँ सर्किट ब्रेकमात्र लाग्दैन अब पुरै समय कारोबार हुने अवस्था पनि आउने उनले जिकिर गरे । बजारमा हिजो किन्नेहरु बढी भएर सर्किट ब्रेक लाग्यो, आज बेच्नेहरु बढी भए सर्किट ब्रेक लाग्यो । यसमा लगानीकर्ताको मनोविज्ञान हाबी भएको उनको तर्क छ । उनले भने, ‘गत वर्ष भरिमा जम्मा ३/४ पटक ब्रेक लागेको थियो तर लकडाउन पछि खुलेको बजारमा लगातार ब्रेक लागेको छ । अब पूर्ण कारोबार हुन्छ ।’ 

कारोबार खुलेको पहिलो घण्टामा ४ प्रतिशतले बजार बढ्दा÷घट्दा सर्किट ब्रेक लाग्छ । यसमा २० मिनेटका लागि कारोबार स्थगन हुन्छ । यस्तै दोस्रो घण्टामा  ५ प्रतिशतले बजार बढ्दा÷घट्दा ४० मिनेटका लागि सेयर कारोबार स्थगन गरिन्छ भने तेस्रो पटक ६ प्रतिशतभन्दा माथि बजार बढ्दा÷घट्दा सो दिनका लागि कारोबार बन्द हुने प्रावधान छ ।

लकडाउन पछि खुलेको बजार यस्तो देखियो

असार १५ देखि खुलेको सेयर बजारमा  सर्किट ब्रेकर लाग्ने क्रमले आज पनि निरन्तरता पायो । बजार खुलेको दिन पहिलो ४० मिनेटमै ४ प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको थियो ।  यद्यपि लगानीकर्ताले सेयर विक्री गर्न छाडेर माग बढाउँदा बजारमा विस्तारै सुधार देखियो । 

सोमबार नेप्से सूचक १२.८७ अंकले घटेर ११८८.७० विन्दुमा आइपुग्यो । सो दिन बजार घट्नुमा लगानीकर्तामा आत्मविश्वास कम देखिएको विज्ञहरु बताउँछन् । लगानीकर्ताहरु डगमगाउँदा बजार डगमगाउँने र लगानीकर्ताको आत्मविश्वास बढ्दा बजारमा सकारात्मक भाइब्स देखिने गरेको विगतदेखिकै ट्रेण्ड (लहर) हो । बजार खुलेको दोस्रो दिन भने रौनक देखियो । सो दिन पनि सर्किट ब्रेक लाग्यो तर सकारात्मक सर्किट ब्रेक । यसले आम लगानीकर्ताको हौसला झनै बढायो । मंगलबार सूचक ७२.०५ अंकले बढेको थियो ।

सकारात्मक सर्किट ब्रेकले बुधबार पनि निरन्तरता पायो । लगातार तीन पटक सर्किट ब्रेक लागेपछि सो दिन पुरा समय सेयर कारोबार हुन पाएन । यता, लक डाउनका कारण अन्य क्षेत्रमा लगानीका अवसर खुम्चिएको छ । यसले लगानी सेयर बजारतिर डाइभर्ट भएको विश्लेषण हुन थालेको छ । सो दिन बजार खुलेको १३ मिनेटमै सर्किट ब्रेक लागेको थियो । तीन पटकसम्म सर्किट ब्रेक लागेको बजार सो दिन पनि  पुरा कारोबार नभइ बन्द भयो ।

आज साताको सेयर कारोबार हुने अन्तिम दिन (बिहिबार) पनि पुरा समय कारोबार नभइ बजार बन्द भएको छ । आज तिन पटक नकारात्मक सर्किट ब्रेक लागेको हो । बजार खुलेको २३ मिनेटमै पहिलो सर्किट ब्रेक लागेको थियो ।  आजको कारोबार घट्नुमा राजनीति अस्थिरता हुने संकेत देखिएकोले बजार घटेको केही लगानीकर्ता बताउँछन् । अहिले प्रधानमन्त्री केपी ओलीको राजीनामाको विषय चर्चामा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप