केन्द्रीय संस्करण
अन्तरवार्ता

अहिलेको विषम अवस्थामा योग–ध्यानलाई व्यापक गराउने हो भने आत्महत्यादर घटाउन सकिन्छ

​आध्यात्मिक गुरु रमेश नेपालसँगको अन्तरवार्ता

person explore access_timeअसार १८, २०७७ chat_bubble_outline0

यतिबेला विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको प्रकोपका कारण संसारका धेरै मानिसहरु प्रताडित बन्न पुगेका छन् । अहिले संसारमा १ करोड बढी संक्रमित भएको, लाखौँले ज्यान गुमाउनु परेको तथा अर्थतन्त्र तहसनहस हुँदा धेरैले रोजीरोटीको बाटो पनि गुमाउनुपरेको अवस्था छ । यो संकटको बेलामा धेरै मानिसहरुमा चिन्ता, तनाव जस्ता मानसिक समस्याहरु देखापरेको छ । आज हामीले यिनै समसामयिक विषयमा जीवन विज्ञान प्रतिष्ठानका संंस्थापक तथा जीवन विकास विशेषज्ञ रमेश नेपालसँग यो विषम परिस्थितिमा कसरी तनाव हटाउन र आफूभित्रको खुसीलाई कसरी जगाउन सकिन्छ भन्ने बारेमा कुराकानी गरेका छौँ । काठमाडौंको चावेलमा रहेको जीवन विज्ञान केन्द्रका संस्थापक समेत रहेका नेपाल योग र ध्यानको प्रशिक्षणमा निकै लोकप्रिय व्यक्तित्व हुन् । प्रस्तुत छ जीवन विकास विशेषज्ञ रमेश नेपालसँग गरिएको यो कुराकानीः

अहिले विश्वव्यापी रूपमा कोरोना भाइरसको सङ्क्रमण फैलिरहेको छ । विभिन्न देशमा लकडाउन  गरिएको छ । यसबाट मान्छेको जनजीवनमा प्रत्यक्ष प्रभाव परेको छ । धेरैले रोजगारी गुमाएका छन् । धेरै मानिस मानसिक समस्याबाट गुज्रिएका पनि छन् । यो जटिल अवस्थामा मानसिक स्वास्थ्य सबल राख्न के गर्नुपर्ला ?

अहिले यो जटिल अवस्थामा मानसिक समस्या हुनु स्वाभाविक हो । कोरोना सङ्क्रमणले जति प्रभाव पारेको छ, त्योभन्दा धेरै गुणा त्यसबाट उब्जिएको डरबाट भएका छन् । त्यो भयका कारणले धेरै मानिसको सामाजिक आर्थिक अवस्था खलबलिएको छ । यसबाट सिधासिधाका मनमा प्रभाव पार्छ  । यतिखेर मानसिक समस्या धेरै ठूलो रूपमा देखिएको छ ।

लकडाउनभन्दा पहिले पनि मानसिक समस्या   थियो । त्यतिबेला पनि दिनमा दस बाह्र जना यस्ता बिरामीलाई म हेर्थें तर अहिले लकडाउनपछिको अवस्थामा मैले दिनमा दैनिक तीस पैतिस जनासँग फोन, सामाजिक सञ्जालबाट कुरा गरिहेको हुन्छु । मलाई यस्तो समस्या छ, के गर्नु पर्ला ? भनेर विभिन्न तरिकाबाट उहाँहरु सल्लाह लिनुहुन्छ । सल्लाह लिने मानिसको सङ्ख्या बढेको छ । यसको आधारमा के भन्न सकिन्छ भने अहिले मानसिक समस्या हामीले कल्पना गरेभन्दा धेरै नै भयावह भएर आएको छ । त्यसैले हामीले यसलाई बेलैमा यसको रोकथाम गर्न सकेनौँ भने विकाराल हुने अवस्था छ ।

मान्छेमा कसरी मानसिक समस्या आउने गर्छ, यसको कारण के होला ?

पहिलो कुरा, जस्तो परिस्थिति छ, त्यो परिस्थितिसँग हामी सहमत हुन सकैनौँ भने हाम्रो मन विचलित हुन्छ, खलबलिन्छ । धेरै परिस्थिति मानिसले मिलाएको हुन्छ, आफैले आफ्नो मनलाई आफै मिलाउँछ । तर अहिले स्थिति मिलाउन अत्यन्त कठिन छ । मान्छेको रोजगारी गुमेको छ । यो परिस्थितिमा परिवार कसरी पाल्ने भन्ने समस्या छ । मान्छेलाई कसरी जीवन गुजारा गर्ने भन्ने ठूलो समस्या छ । अहिलेको अवस्थामा जीवन कसरी परिचालित गर्ने भनेर डराइरहेको अवस्था छ ।

एकातिर रोग लाग्ला कि भन्ने डर त छँदैछ, लाग्यो भने स्थितिके होला ? मरिन्छ कि भन्ने डर छ । अर्कोतिर, अब मेरो जीवन निर्वाह कसरी गर्ने भन्ने छ । परिवार कसरी बचाउने ? खर्च कहाँबाट कसरी जुटाउने भन्ने छ । प्रत्यक्ष समस्या देखिएको छ, मन मात्रै मिलाउँछु भनेर हुन्छ र ? यी समस्याले व्यक्तिलाई एकदमै कडा रूपमा मनभित्र हानेको छ । त्यसकारण मान्छे स्वतः असन्तुष्ट छ ।

अहिलेसम्म नेपालमा १४ हजारभन्दा बढीलाई कोरोना सङ्क्रमण भएको छ । झण्डै ३० जनाको सङ्क्रमणबाट मृत्यु भएको छ । अर्कोतर्फ १२ सयभन्दा धेरै मान्छेले यो ३ महिनाको अवधिमा आत्महत्या गरिकेका छन्, के यसलाई मानसिक समस्याको कारण भन्न सकिन्छ ?

आत्महत्या त मानसिक समस्याका कारणले नै हुन्छ । मानसिक समस्या नभएको भए, मानसिक रूपमा स्वास्थ भएको व्यक्तिले आत्महत्या गर्नै सक्दैन । त्यो असम्भव हुन्छ । मानसिक समस्याको उत्कर्षको रूप आत्महत्या हो । उसले केही बाटो नै देखेन, उसको मनले कुनै ठाउँ नै देखेन भने अन्तिम हतियार प्रयोग गरेको हो त्यो ।

त्यो अवस्था मानसिक समस्या हो । मैले सुने अनुसार तपाईंले भन्नुभएको सङ्ख्या बढेर आत्महत्या गर्नेको सङ्ख्या करिब १८ सय २ हजार पुगिसक्यो, लकडाउन सुरु भएदेखि अहिलेसम्मको अवधिमा । यो धेरै ठूलो सङ्ख्या हो । यता कोरोनाबाट भने चाहिँ २५ जना मरे उता आत्महत्याबाट करिब २ हजार, २५ सय मरे । यो त धेरै ठूलो सङ्ख्या देखिन्छ । आत्महत्या अहिलेको मात्रै समस्या हैन, पहिला पनि मानसिक समस्या थियो । आत्महत्या त सधैँ हुन्थ्यो । मैले सुनेको नेपालमा सरदर ८ देखि १० जनाले प्रतिदिन आत्महत्या गर्थे ।

यसको अर्थ पहिलेदेखि नै मानसिक समस्या थियो तर अहिले लकडाउनपछि त्यो सङ्ख्या बढेर सरदर  १८ देखि २० पुग्यो भन्ने मैले सुनेको छु । मृत्युदर अप्रत्यासित रूपमा अहिले बढेको छ । अहिले जुन प्रकारको समस्या, परिस्थिति बाहिर देखिरहेको छ त्यसका कारण यो बढ्नु स्वाभाविक नै हो ।

हामीले के पनि हेर्नुपर्छ भने अहिलेको सङ्क्रमणबाट जति मानिसलाई प्रभाव परेको छ, यसलाई नियन्त्रण गर्न चालिएका कदमबाट अरूकति मान्छे मरे त्यसको हामीले लेखाजोखा नै राखेनौँ । त्यो पनि हिसाब राखेको भए, हामीले के गर्न सक्थ्यौँ भने, लकडाउन गर्दागर्दै पनि, सङ्क्रमण नियन्त्रणको उपाय गर्दागर्दै पनि, मानिसलाई कम प्रभाव परेर पनि यसलाई नियन्त्रण गर्न सकिन्थ्यो कि ? विकल्प खोजिन्थ्यो कि भन्ने हो । तर त्यो बाटो खोजिएन । करिब करिब लकडाउनलाई हामीले औषधिको रूपमा लिएका छौँ । त्यसैले पनि अहिले अवस्था समस्यापूर्ण देखियो ।

असहज परिस्थितिलाई स्वीकार्न नसक्नु नै मानसिक समस्या भनेर यहाँले भन्नुभयो ? यो अवस्थामा सहजता कसरी ल्याउने त ? संसारभर कोरोनाको सङ्क्रमण छ ? मानिसले कसरी सहज परिस्थितिलाई स्वीकार गर्न सक्छन् ?

यो असहज अवस्थाको अर्को औषधि अध्यात्ममा छ । आध्यात्मको अर्थ हुन्छ, आफूभित्रको चेतनालाई समग्रताको साथमा जान्नु । जबसम्म आफ्नो चैतन्यलाई जान्नका लागि बीचमा मन बाधक भएर बसेको हुन्छ । मन शान्त नभई, मन स्थिर नभई त्यो गहिरो शान्ति, आनन्दको अनुभूति गर्न सकिँदैन । जुन शान्ति र आनन्द पाउनु मान्छेको अन्तिम लक्ष्य हो किनकि मान्छेको अन्तिम खोज नै सुख हो । मानिसको मूल खोज नै सुख हो ।

मान्छे मरेपछि पनि सुखको आसमा छ । मानिसको एउटै मात्रै खोज हो सुख । त्यो सुख, शान्ति आफैभित्र छ । कहाँ छ भने मनको स्थिरतामा छ, जहाँ गएर मन शान्त हुन्छ, त्यहाँ मात्रै त्यो वास्तविक सुख र शान्ति पाइन्छ । किनभने अशान्ति बाहिर हँुदैन, अशान्ति मनमा हुन्छ । शान्त अशान्त बाहिरको कारणले हँुदैन मानिसको मनस्थितिको कारणले हुन्छ । त्यसैले हामी परिस्थिति मिलाउन खोज्छौँ, परिस्थिति मिलाउनुभन्दा मनस्थिति मिलाउनु महत्त्वपूर्ण हुन्छ । मनस्थिति मिलायो भने त्यसले बरु परिस्थिति मिलाउन सकिन्छ । त्यसैले पहिलो काम मन मिलाउनुपर्ने हुन्छ ।

जबसम्म मन शान्त हँुदैन त्यो गहिरो शान्ति र सुखको अनुभव गर्न सक्दैनौँ जसलाई आत्मतत्व भनिन्छ र त्यहाँ पुग्नका लागि महर्षी पतञ्जली भन्नुहुन्छ, योग चित्तवृत्ति निरोध, चित्तमा उठ्ने, मनमा उठ्ने विभिन्न प्रकारका विचार, भाव जबसम्म शान्त हँुदैनन् तबसम्म योग बन्दैन । आफैसँग रहेको अथाह शान्तिसँग जोड्नका लागि मनको अशान्ति हट्नुपर्छ । अध्यात्मको त काम नै मन शान्त गराउनु हो, त्यसकारण अहिले अलिकति अशान्ति भए पनि मान्छेमा के धारणा बन्यो भने, ध्यान गर्यो भने ठीक हुन्छ ।

किनकि यहाँ पहिलो काम नै मन शान्त गराउने गरिन्छ । किनकि मन शान्त नभई आफूभित्रको शान्तिमा प्रवेश गर्न सकिँदैन । मन शान्त रहने वित्तिकै मनको बिरामी निको हुन्छ । त्यसकारण मनको बिरामी तबसम्म रहन्छ जबसम्म मन चञ्चल रहन्छ । जहाँ गएर मन स्थिर रहन्छ तब मनमा रहेका सबै बिकारको अन्त्य हुन्छ । त्यसैले कोभिड–१९ बाट जुन मानसिक समस्या देखापरेका छन्, यसको निर्विकल्प निदान चाहिँ ध्यान नै हो । अरू कुरा पनि छन् । जस्तै यसको औषधिहरु हुन सक्छन्, मनोविज्ञानले खोजी गरेको छ, यसले पनि आफ्नो काम गरेको छ । यसका डाक्टरहरु छन्, विज्ञहरु छन् । त्यो पनि बाटो हो तर औषधिरुको साइड इफेक्टहरु छ तर ध्यानको कुनै साइड इफेक्ट छैन् । त्यसैले ध्यानबाट सजिल्यैसँग मनको व्यवस्थापन गर्न सकिन्छ ।

कोरोना सङ्क्रमणपछि ठूला लगानीकर्ताहरु डुबेका छन् । कतिपय बेरोजगार भएका छन् । धेरै किसिमका मानसिक समस्या झेलिरहेको छन् । अहिलेको यो परिस्थितिमा  घरभित्रै बसेर कस्ता कस्ता विधि अपनाए भने मानसिक रूपमा स्वस्थ रहन सक्नेछन् ? कसरी आध्यात्मिकतातर्फ लाग्न सक्छन् ? तपाईंको यसबारे के सुझाव छ ?

मैले पहिले पनि उल्लेख गरेँ, अहिले धेरै ठूला समस्या आएका छन् । त्यो बेला मन शान्त गरेर बस भनेर हुन्छ र ? कसरी मन शान्त गरेर बस्ने ? भन्नलाई त सजिलो छ, गर्नलाई गाह्रो छ । कसलाई चाहिँ अशान्त भएर बस्न मन छ र ? कतिपय मान्छे भन्छन्– ‘रिसले आफूलाई खान्छ नरिसा’ अब के गर्नु रिस उठेपछि यतिछिटो उठ्छ, कसलाई नरिसा भनेको याद त आँउदैन । रिस उठेपछि जे हुनु भइहाल्छ ।

यो भनाइ काम नलाग्ने रहेछ । त्यसैगरी चिन्ता नलिई भन्छन्, चिन्ता र चिता एउटै हो रे । चिताले त बरु एकपटक जलाउँछ तर चिन्ताले सधैँ जलाइरहन्छ । कसलाई रहर हुन्छ र चिन्ता लिएर बस्न ? त्यसकारण उपदेशको मात्रै काम लाग्दैन । जति उपदेश दिए पनि मान्छेले आफ्नो आदत अनुसारको काम गरिहाल्छ ।  आआफ्ना समस्या सबैको छ, यसको समस्या हरेकलाई परेको छ । यो प्रभावलाई धान्न सक्नुपर्यो नि मान्छेले । त्यसको लागि ३ वटा कुरालाई साथमा लियौँ भने हामी कुनै प्रभावबाट आफूलाई मुक्त राख्नुसक्छौँ । हामीसँग मन छ, शरीर छ, भावना छ । मन, शरीर र भावनालाई तालमेल गर्न सक्नुपर्छ । यी तिनै पक्षलाई तालमेल गरी बनाइएका विशेष विधिहरु छन् ।

त्यो विधिको अनुसरण गरी हामी आफ्नो मनलाई आफ्नो पक्षमा राख्न सक्छौँ । जस्तो कति ध्यान विधिहरु छन् । हरेक शनिबार ५ बजे ध्यान विज्ञान कार्यक्रम हुन्छ, त्यसको फेसबुक लाइभ हुन्छ, युट्युबमा पनि जीवन विज्ञान खोजी गरी हेर्न सकिन्छ । त्यसमा मैले एउटा ध्यान विधि सिकाउने गरेको छु । केही दिनअघि बक्र दृष्टि ध्यान विधि सिकाएको थिएँ । सामान्य तरिका छ । यसले हाम्रो दायाँ बायाँ दुवै ब्रेन क्रियाशील हुन्छ,  दुवै ब्रेन एकैपटक क्रियाशील हुन्छ, त्यहाँ मन टक्क अडिन्छ । तपाईं एक घण्टा चाहनुहोस् २ घण्टा चहानुहोस्, आफ्नो मनलाई रोक्न सक्नुहुन्छ । अर्को गन्ने विधि छ, तपाईं अङ्क गन्न सक्नुहुन्छ । गन्ने तरिका छन्, त्यो अङ्क गन्दागन्दै तपाईं आफ्नो मनलाई नियन्त्रणमा राख्न सक्नुहुन्छ । यस्ता विधिबाट मनलाई समाउने अभ्यास गर्नुपर्छ । अर्को विधि छ– मनप्रति सजग रहने । मनप्रति सजग रहने विधिहरु हुन्छन् । त्यस्ता विधिको मार्फत हामी चञ्चल मनलाई एक ठाउँमा केन्द्रित गर्छाैं, जसलाई एकाग्रता भनिन्छ । त्यसपछि बल्ल सुरु हुन्छ ध्यान । ध्यानमा चाहिँ मनलाई पूरै आराम दिनु, केही पनि नगर्नु । यसरी मनलाई स्थिर राख्ने अभ्यास, स्वासलाई समातेर बनाइएका विशिष्ट प्रकारका विधिहरुको प्रयोग गर्यौं भने हामी जहाँसुकै रहेर पनि अशान्तिबाट मुक्त हुन सक्छौँ । त्यसका लागि केही विधि चाहिँ सिक्नुपर्छ ।

मानसिक स्वास्थ्यलाई मजबुद बनाउनका लागि हामीले दैनिक गर्ने आहारको पनि भूमिका छ कि ? यसमा कस्ता कस्ता आहारको आवश्यक पर्छ ?

धेरै ठूलो महत्त्व छ । हाम्रो मनलाई ससाना कुराले प्रभाव पर्छ । जस्तो छ्याङ्ग आकाश खुल्यो भने मन अर्कै हुन्छ । मन पनि खुलेको जस्तो हुन्छ । आकाशमा बादल लाग्यो धुम्म हुन्छ, हाम्रो मन पनि भारी हुन्छ । अकाशमा बादल लाग्नु र नलाग्नुले त हाम्रो मनलाई प्रभाव पार्दछन् भने खानाबाट झन् प्रभाव नपर्ने त कुरै आउँदैन । त्यसकारणले आफ्नो मनलाई व्यवस्थित बनाउन चाहनेहरुले उत्तेजनायुक्त खानाहरु, पचाउन नसक्ने खानाहरु, हिंसाजन्य खानाहरु, जसले सुरुमा त उत्तेजना बढाउँछन् तर एकैछिनपछि झन दलदलमा पार्छन् । यस्तो कुराले मनलाई विचलित बनाउँछन् । अत्यन्तै गहिरो मानसिक दलदलमा पार्छन् । यस्ता खानेकुराहरुले मनलाई विचलित पार्ने गर्छन् । हामी माछा, मासु खान्छौँ, त्यसको फाइदा बेफाइदाबारे शरीर विज्ञानलाई थाहा होला । यसबारेमा डाक्टरहरुले भन्नुहोला । तर मलाई के थाहा छ भने जस्तो खायो त्यसको प्रभाव त्यस्तै पर्छ ।

म शान्त, आनन्दित हुन चाहन्छु तर पीडा खान्छु भने कसरी म आनन्दित हुन सकुँला ? हामी जनावरलाई मारेर मासु खान्छौँ । तर हामी मासु मात्र कहाँ खान्छौँ र ? त्यो जनावरलाई मार्दाखेरी त्यो जसरी छटपटिन्छ, त्यो डाहा, त्यो पीडा, मार्दाखेरी बाँच्नका लागि जति सङ्घर्ष गर्छ, जति डराउँछ, त्यो बेला विज्ञानले भन्छ उसको शरीरले कर्टिसर भन्ने रसायन निकाल्छ, जुन चाहि बिष नै हो । कर्टिसर भन्ने रसायनको मात्रा नबढी हामी स्ट्रेसमा जाँदैनौँ । मान्छे तनावमा छ कि छैन भन्ने जान्नका लागि रगत जाँच गरे हुन्छ । रगतमा त्यसको मात्रा कति छ, त्यसबाट थाहा हुन्छ ।

कर्टिसोलको मात्रा जति धेरै हुन्छ हामी त्यति धेरै तनावमा हुन्छौँ । हामी अत्यन्तै डराएको चिन्ताको बेला त्यो कर्टिसर रसायन बढ्छ । जब जनावरको हत्या गरिन्छ उसले पनि त्यो रसायन निकाल्छ । त्यो रसायन मासुमा मिसिन्छ । अनि त्यो रसायन मिसिएको मासु खाएपछि मन शान्त भएन भन्न कहाँ पाइयो र ? हामीले जे खायो त्यसको प्रभाव त पर्छ ।

तर म कसैलाई यो खाऊ त्यो नखाऊ भन्दिनँ ।  आफ्नो खुसीको कुरा हो तर कसैको पीडा नखानुस्, कसैको दुःख नखानुस्, कोही पनि व्यक्तिलाई दुःख दिएर आएको आर्जन, कसैलाई दुःख दिएर जे पनि प्राप्त हुन्छ, त्यसले हामीलाई पनि दुःखी बनाउँछ ।

अब अलिकति हामी जीवन विज्ञान आश्रमको बारेमा पनि कुरा गराँै । जीवन विज्ञान आश्रममा  मानसिक स्वास्थ्यको क्षेत्रमा केकस्ता काम गरिन्छन् ? यसको बारेमा जानकारी दिनोस् न ।

पहिलो कुरा हामी मानसिक समस्या समाधान गर्नका लागि काम गर्दैनौ । हाम्रो त्यो काम नै हैन । हामी डाक्टर पनि हैनौँ, हामीलाई त्यो थाहा पनि छैन् । मानसिक समस्या कहाँबाट सुरु हुन्छ,  कहाँबाट आउँछ ? कसरी समाधान हुन्छ त्यो डाक्टरहरु जान्दछन्, हामीले यहाँ ध्यान गराउँछौँ । ध्यान गराउँदा मन शान्त नगराई ध्यान हुँदैन । मन शान्त गराएपछि मनको बिमारी सबै निको हुँदो रहेछ ।

ध्यानले मानिसलाई ऊर्जा दिने रहेछ । हामी मानसिक स्वास्थ्य समाधान गर्नेभन्दा पनि आफैभित्र रहेको आनन्दलाई कसरी उजागर गर्न सकिन्छ, त्यो काम गर्छौं । आफैभित्र शान्ति क्षेत्र छ, आनन्द क्षेत्र छ, त्यसलाई कसरी जोड्न सकिन्छ । हामी त्यसमा केन्द्रित हुन्छौँ । हामी खुसीमा स्वनिर्भर हुन चाहन्छौँ । जीवन विज्ञान केन्द्रको मात्र नभएर सम्पूर्ण आध्यात्मिक केन्द्रको एउटै मुख्य उद्देश्य नै आफूभित्रको शान्ति र खुसी उजागर गर्ने हो । उमङ्गका लागि, उत्साहका लागि आत्मनिर्भर हुनु ।

सामान्यतया हामीलाई खुसी बनाउन अर्को मान्छे चाहिन्छ, दुःखी बनाउन पनि अर्को मान्छे चाहिन्छ । हाँसो पनि हाम्रो आफ्नो हातमा छैन, अरूले हँसाइदिनुपर्छ, दुःख पनि हाम्रो हातमा छैन । अरूले रुवाइदिनुपर्छ । मलाई खुसी हुनका लागि म स्वयं काफी छु । स्वनिर्भरता । आफ्नो भरमा खुसी हुनु शान्त हुनु यो हाम्रो उद्देश्य हो । हरेक व्यक्तिलाई आफूभित्रको शान्तिलाई उजागर गर्नु, आफूभित्रको आनन्दलाई उजागर गर्नु गराउनु हाम्रो मूल उद्देश्य हो । यसरी खुसी हुँदा भएभरका तनावहरु उढेर जान्छन् ।

आजभोलि मानिसहरुमा आध्यात्म–ध्यानतिर मानिसको रुचि कतिको बढेको पाउनुभएको छ ?

हामी मानिसहरुको बुझाइमा अलिकति कमी हो कि जस्तो लाग्छ । हामीले के भन्यौँ भने सम्पत्ति सर्वेसर्वा हो । मान्छेले के बुझ्यो भने सम्पत्ति भयो भने खुसी पाइन्छ, पद प्रतिष्ठा पाइयो भने खुसी पाइन्छ । मान्छेले खोजेको त खुसी आनन्द नै हो । कसैले दुःख खोज्न त निस्कँदैन । कोही बिहान काममा जान लागेको छ भने बाबु कहाँ जान लागेको हो भन्दा दुःख कमाउन जान लागेको त कोही पनि भन्दैन । सबैले सुख भनेकै पैसा कमाउनु हो भन्ने बुझे । हुन पनि हो पैसाबाट सबैकुरा आउँछ, त्यसैले मान्छेले पैसालाई सबैथोक मान्यो । तर जीवनलाई गहिरिएर हेर्ने हो भने सम्पत्ति भएका मान्छेहरु खुसी छन् त ? आनन्दित छन् त ? मान प्रतिष्ठा पाएका मान्छे सुखी छन् त ? तनाव सबैलाई समान हुने रहेछ । हामी के भन्छौँ भने जो मान्छेले आज कमाएर आजै खानुपर्छ, जोसँग सम्पत्ति छैन, त्यसलाई दुःखी गरिब भन्छौँ । जो पैसा कमाउने मान्छे छ, त्यो सुखी छ । यहाँ त पैसा कमाउने मान्छे बरु दुःखी छ, त्यहाँ कलह छ । बुझ्नुपर्ने कुरा के हो भने सम्पत्तिले सुविधा दिन्छ शान्ति दिँदैन । आवश्यकता पूरा गर्न सम्पत्ति चाहिन्छ तर त्योभन्दा पनि ठूलो कुरा मनको शान्ति प्राप्त गर्नु हो ।

त्यसकारण हामीले दिनको २४ घण्टालाई विभाजन गर्नुपर्छ । कति समय मनको आनन्दका लागि दिने, कति समय सम्पत्ति आर्जनका लागि दिने दुइटै हामीलाई चाहिन्छ त्यसका लागि समय व्यवस्थापन हामीले गर्नुपर्ने हुन्छ । यति ग¥यौँ भने हाम्रो जीवन पूर्ण हुन्छ ।

शरीर स्वस्थ भएर मात्र के गर्नु मन बिरामी भयो भने भोलि शरीर पनि बिरामी हुन्छ । मनको बलभन्दा ठूलो शरीलाई मान्नु हुँदैन । भौतिक सुखले मात्र म खुसी हुन्छु भन्ने हैन, सुविधाको साथसाथमा मानसिक सन्तुलन, मानसिक स्वास्थ्यले मात्रै म खुसी हुन सक्छु भन्ने कुरामा पनि ध्यान दिनुपर्छ ।

कोभिड–१९ कै प्रसङ्ग जोड्न चाहन्छु, अहिले क्वारेन्टिन व्यवस्थित नभएका कारण मानिसले मानसिक समस्या झेल्नुपर्ने समस्या पनि छ, मानिसमा निराशा पनि छाइरहेको छ, यस्तो बेलामा आम मानिसको मानसिक स्वास्थ्य राम्रो बनाउन सरकारले कस्तो काम गर्न सक्छ ? यसबारेमा तपाईंको के सुझाव छ ?

सरकार भनेको हामी सबैको अभिभावक हो । आफ्नो अभिभावकले भनेको हामी सबै मान्छौँ । सरकारको नियम, कानुन, आदेश हामी सबैले अनुशरण गर्नुपर्छ । कोही पनि तलमाथि गर्नुहुँदैन । अहिले यो सङ्कटको बेलामा त सरकारको आदेशमा धेरै प्रश्न उठाउन पनि आवश्यक छैन । हामी सबै मिलेर मात्रै यो सङ्कटबाट पार पाउन सक्छौँ । कसैले कसैलाई दोषारोपण गर्नु उपयुक्त हैन ।

यस्तो बेलामा सरकारले के गर्नुपर्छ भने क्वारेन्टिन राम्रो नभएका कारणले सङ्क्रमण बढ्यो भन्ने हल्ला पनि सुनिन्छ । यसमा के गर्नुपर्छ भने व्यक्तिलाई क्वारेन्टिनमा राखेर मात्र पनि हुँदैन । आइसोलेसनमा १४ दिन चुप लागेर खाएर बस भनेर मात्र हुँदैन । उसको आफ्नो रोग प्रतिरोधी क्षमता बढाउने काम गर्नुप¥यो । कोरोनाको उपचारका लागि औषधि त बनेको छैन । औषधि भनेको उही रोग प्रतिरोधी क्षमता हो । मान्छेलाई रोग प्रतिरोधी शक्तिको अलवा बचाउने अरू कुने शक्ति नै छैन ।

त्यो शक्तिलाई बढाउनका लागि के गर्ने ? त्यो आयुर्वेदमा पनि औषधिहरु होला, जडीबुटीहरु होला, उहाँहरुसँग सम्पर्क राखेर कस्तो खालका जडीबुटीहरु, कस्तो प्रकारका खानेकुराले हाम्रो रोग प्रतिरोधी क्षमता बढ्छ, जडीबुटीको औषधिले साइड इफेक्ट अरु केही पनि गर्दैन । त्यस्ता औषधि व्यवस्था गर्न सरकारले वातावरण बनाइदिए सबैको कल्याण हुन्छ ।

अर्को कुरा, रोग प्रतिरोधी क्षमता केले उत्पन्न गर्छ ? मानिसभित्रको खुसीले । जो मानिस खुसी प्रसन्न छ त्यसलाई रोग लाग्ने सम्भावना अत्यन्तै कम हुन्छ । रोग लाग्नलाई दुःखमा, तनावमा, पीडामा जानुपर्ने हुन्छ । उभित्रको खुसी प्रकट गराउने, आफूलाई शान्त गराउने जुन विधि छन्, ती विधि क्वारेन्टाइनमा मात्र नभएर प्रत्येक घरघरमा मानिसले गर्न सक्छन् । त्यसको लागि सरकारले व्यवस्था गरिदिनुपर्ने हुन्छ । धेरै मान्छेले योग ध्यान सिकाइरहेका छन् । सिकाउनका लागि हामीसँग प्रशिक्षकहरुको कमी छैन ।

हजारौँ हजार प्रशिक्षक छन् । हरेक प्रशिक्षकलाई परिचालित गरेर यही बेलामा गर्नुपर्छ । योग सिकाउने प्रशिक्षक कति प्यारा हुन्छन्, उनीहरुले निःशुल्क सिकाउन तयार छन् । त्यस्ता व्यक्तिहरुलाई प्रयोग गर्न खर्च पनि हुँदैन, मात्रै बोलिदिए पुग्छ । सरकारले योग अनिवार्य गरिदिनुहोला है भनेर बोलिदिए मात्रै पुग्छ । योग, ध्यान र प्राणायाम यी ३ कुरा अपरिहार्य रूपमा हरेक दिन सबैले गर्नुपर्छ भनेर उहाँहरुलाई सल्लाह दिने भनेर सरकारले बोल्यो भने सबैले सुन्छन् । हामीले बोल्यो भने कसले सुन्छ र ?

योगको फाइदा देखेर त अहिले संयुक्त राष्ट्रसङ्घले योग दिवसको सुरुवात ग¥यो । हामीले पनि राष्ट्रिय योग दिवस भनेर मनाइरहेका छौँ । योग सिकाउने जति हाम्रो सामथ्र्य छ, ती प्रशिक्षकहरुलाई पूरा परिचालित गरेर योग ध्यान र विशेष प्रकारको खानपानमा ध्यान पु¥याउँदा रोग प्रतिरोधी क्षमतामा वृद्धि हुन्छ । अहिले हजारौँ योग प्रशिक्षक चुप लागेर बसेको अवस्था छ, बाहिर गएर सिकाऔँ भने दुईजना भन्दा बढी नभेट्नु भनेको छ । यस्तो बेला टेलिभिजनबाट हुन्छ कि सामाजिक सञ्जालबाट हुन्छ कि अरू कुनै विकल्पबाट परिचालित गर्नुपर्छ । अहिलेको यो अवस्थामा बढीभन्दा बढी मान्छेले योग सिकून्, यतिखेर यो काम गर्नु नै सरकारको सबैभन्दा ठूलो दायित्व हो जस्तो लाग्छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.