मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

इतिहासमा आज – बेलायतद्वारा चीनलाई हङकङ हस्तान्तरण

बुधबार, १७ असार २०७७, ११ : ३९
बुधबार, १७ असार २०७७

आज १ जुलाई । सन् १९९७ को मध्यराती बेलायती प्रधानमन्त्री टोनी ब्लेयर, राजकुमार चार्ल्स, चिनियाँ राष्ट्रपति जियाङ जेमिन र अमेरिकी विदेशमन्त्री मडेलेइन अलब्राइटको उपस्थितीमा एक हस्ताक्षर समारोह भयो, जसअनुसार बेलायतको अधिनमा रहेको हङकङ चीनलाई फिर्ता गरियो ।

यस सम्झौतापछि केही हजार हङकङवासीले विरोध जनाएपनि अधिकांशले खुसीयाली नै मनाएका थिए । १८३९ मा चीनको आर्थिक, सामाजिक र राजनीतिक मामिलामा हस्तक्षेप गर्नेगरी बेलायत आक्रमक भयो ।  उसको पहिलो कदम थोरै जनसंख्या बसोबास गर्ने दक्षिणपूर्वी चीनदेखि बाहिरको हङकङ टापूमाथिको कब्जा थियो ।

सन् १८४१ मा चुएनपीमा भएको सम्झौताअनुसार चीनले यो टापू बेलायतलाई छाडिदियो र सन् १८४२ मा पहिलो अफिम युद्धको औपचारिक अन्त्य गर्नेगरी नानकिङ्ग सम्झौता भयो ।

बेलायतको नयाँ उपनिवेश हङकङ पूर्व–पश्चिम व्यापार केन्द्र र व्यवसायिक गेटवेका रुपमा फक्रियो । १८९८ मा पेइकिङमा भएको दोस्रो सम्मेलनको निर्णयअनुसार बेलायतले थप ९९ वर्ष यस टापूमा शासन गर्न पाउने सुनिश्चित भयो ।

सेप्टेम्बर १९८४ मा वर्षौँको सहमतिपछि बेलायती र चिनियाँहरु सम्झौता भयो, यस सम्झौताअनुसार सन् १९९७ मा बेलायतले हङकङ टापू फिर्ता गर्ने र बदलामा चिनियाँ पक्षले हङकङको पुँजीवादी व्यवस्थालाई संरक्षण गर्ने उल्लेख थियो । जुलाई १, १९९७ मा चिनियाँ, बेलायती र अन्य अन्तर्राष्ट्रिय प्रतिनिधिहरु समेतको उपस्थितीमा एक समारोह आयोजना गरी शान्तिपूर्ण रुपमा हङकङलाई चीनको जिम्मा लगाइयो ।

नयाँ हङकङ सरकारका प्रमुख कार्यकारी तुङ ची ह्वाले एशियाको पुँजीवादी केन्द्रका रुपमा हङकङको भूमिका संरक्षण गर्नेगरी ‘एक देश दुई प्रणाली’ को अवधारणा ल्याए । अहिले हङकङ यही नीतिअन्तर्गत चलिरहेको छ चीनको विशेष प्रशासनिक क्षेत्रका रुपमा उच्च स्वायत्तता उपभोग गरेको छ । हङकङमा मेनल्यान्ड चीनभन्दा फरक कानून, सरकार छ । हङकङवासीसँग पासपोर्ट पनि अलग छ र आफ्नो बेग्लै झन्डा र राष्ट्रिय गान पनि ।

अन्य घटनाक्रम

सन् १९६०– अफ्रिकी देश घानामा गणतन्त्र घोषणा ।

सन् १९६८– अमेरिका, बेलायत, रुस र ५९ अन्य देशद्वारा परमाणु हतियारको प्रसार रोक्नका लागि परमाणु अप्रसार सन्धीमा हस्ताक्षर ।

सन् १९९६– विश्वमा पहिलोपटक अस्ट्रेलियाको उत्तरी प्रान्तमा इच्छा मृत्यु कानून लागु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप