शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चीन र भारत : कसको सैन्य शक्ति कति ?

मङ्गलबार, १६ असार २०७७, ०७ : १३
मङ्गलबार, १६ असार २०७७

चीन र भारतबीच तनाव चर्कंदै र युद्धको खतरा मडारिँदै गइरहेको छ । यस स्थितिमा स्वभाविक रुपमा दुई देशका सैनिक शक्तिको चर्चा पनि चल्ने गर्छ । यहाँ हामीले दुई देशको पछिल्लो सामरिक क्षमताको तुलनात्मक तथ्यहरु प्रस्तुत गरेका छौं ।

सन् २०२० मा चीनसँग सबै ठूलो सक्रिय सैन्य जनशक्ति रहेको छ । चीनमा २१ लाख ८३ हजार सक्रिय सैन्य जनशक्ति छ । चीनपछि भारत, अमेरिका, उत्तर कोरिया र रुससँग सबैभन्दा धेरै सक्रिय सैन्य जनशक्ति छ । स्टाटिस्टाका अनुसार भारतसँग १४ लाख ४४ हजार, अमेरिकासँग १४ लाख, उत्तरकोरियासँग १२ लाख ८० हजार र रुससँग १० लाख १३ हजार ६ सय २८ जना सक्रिय सैन्य जनशक्ति छन् ।

सन् २००८ देखि नै चीनले सैन्य बजेटको आकार बढाउँदै आएको छ । २०१९ को तथ्यांकअनुसार संसारकै सबैभन्दा ठूलो सैन्य शक्तिमा पहिलोमा अमेरिका र दोस्रोमा रुस पर्दछ । तर सामरिक खर्चको हिसाबले चीन रुसलाई पनि जितेर दोस्रो नम्बरमा आउँछ । स्टकहोल्म इन्टरनेशनल पीस रिसर्च इन्स्टिच्यूटका अनुसार चीनको वार्षिक सैन्य बजेट २ खरब ६१ अरब (२६१ विलियन अमेरिकी डलर) छ । चीनको तुलनामा भारतको वार्षिक सैन्य बजेट ७१ अरब १० करोड (७१.१ विलियन अमेरिकी डलर) रहेको छ । पहिलो नम्बरमा आउने अमेरिकाको सैन्य बजेट ७ खरब ३२ अरब (७३२ विलियन)  रहेको छ ।

ग्लोबल फायरपावरका अनुसार हवाइ क्षमतामा चीन तेस्रो नम्बरमा आउँछ । चीनसँग ३२१० वटा एयरक्राफ्ट छन् । चीनपछि चौथो नम्बरमा भारतको नाम आउँछ । भारतसँग २,१२३ वटा एयरक्राफ्ट छन् । ध्यानयोग्य कुरा के छ भने चीनसँग भारतको तुलनामा दुई गुनाबढी फाइटर र इन्टरसेप्टरहरु छन् । चीनसँग ५०७ वटा उडानयोग्य एयरपोर्टहरु छन् भने भारतसँग ३४६ वटा छन् ।

ग्लोबल फायरपावरका अनुसार ट्यांक शक्तिमा चीनले भारतलाई पछि पार्छ । चीनको ट्यांक क्षमता ३२०० जति छन् भने भारतको ४२०० । तर चीनसँग बख्तरबन्द लडाकु गाडीहरुको संख्या ३३ हजार छन् भने भारतसँग ८६०० मात्रै ।

पछिल्लो तथ्यांकअनुसार चीनसँग २६५० वटा रकेट प्रोजेक्टरहरु छन् भने भारतसँग २६६ वटा । चीनसँग ७७७ वटा लडाकु पानीजहाज छन् जसमा ७४ वटा पनडुब्बीहरु पनि पर्दछन् । उता भारतसँग १६ वटा पनडुब्बीसहित गरेर २८५ वटा लडाकु पानीजहाज छन् । चीनसँग ३६ वटा विध्वंशक छन् भने भारतसँग ११ वटा ।

भारतले १५० किलोमिटर क्षमताको पृथ्वी १, २५० किलोमिटर क्षमताको पृथ्वी २ जस्ता क्षेप्यास्त्रहरु परीक्षण गरेको छ । यसबोहक ऊसँग अग्नी १, २, ३ जस्ता २००० किलोमिटर परसम्म मार हान्न सक्ने लामा दुरीका क्षेप्यास्त्रहरु पनि छन् । अहिले भारतले ३५०० किलोमिटरसम्म मार हान्न स्क्ने अग्नी ४ क्षेप्यास्त्रको पनि विकास गरिरहेको छ । उता चीनसँग छोटो दूरीदेखि अन्तरमहादेशीय क्षमताका थुप्रै क्षेप्यास्त्रहरु (Intercontinental Ballistic Missiles)   छन् ।

दुवै मुलुक आणविक हतियारसम्पन्न छन् । यी दुई मुलुकसँग भएका आणविक हतियारले संसारलाई थुप्रै पटक ध्वस्त बनाउन सक्ने क्षमता राख्छ ।

स्टकहोल्म इन्टरनेशनल पीस रिसर्च इन्स्टिच्यूटका अनुसार चीनसँग भारतको भन्दा दोब्बर आणविक हतियार छ । सन् २०२० को जनवरीसम्मको तथ्यांकअनुसार भारतसँग १५० वटा वारहेडहरु छन् भने भारतसँग ३२० वटा ।

स्रोतः विजिनेस इन्साइडर

 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप