बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेपालीले किने १५ अर्ब ७४ करोड रुपैयाँको मोबाइल, सरकारले कमायो साढे २ अर्ब

धेरैजसोले बोक्छन् चाइनिज मोबाइल सेट
सोमबार, १५ असार २०७७, १४ : २८
सोमबार, १५ असार २०७७

सूचना प्रविधिको विस्तार यतिसम्म भएको छ कि मोबाइल सेट नबोक्नेको संख्या न्यून भइसकेको छ । एक दशकअघि सम्म हुनेखाने वर्गको पहुँचमा मात्र रहेको मोवाइल फोन अहिले हुँदा खानेहरुसम्म पनि पुगिसकेको छ । 

हजार रुपैयाँदेखि लाखौं रुपैयाँसम्मको मोबाइल प्रयोगकर्ताहरु नेपाली समाजमा छन् । मोबाइलको आयातमा मात्र अर्बौँ नेपाली रुपैयाँ बाहिरिने गरेको तथ्यांक छ । कुनैबेला विलासितामा गनिने मोबाइल सेट अहिले अति आवश्यकतामा परेको छ । 

भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष (२०७६/७७) को एघार महिनामा (साउन देखि जेठसम्म) ४० लाख ७२ हजार ६ सय ९९ पिस मोबाइल सेट भित्रिएको छ । यसका लागि १५ अर्ब ७४ करोड ५४ लाख ८८ हजार रुपैयाँको नेपाली रकम बाहिरिएको छ । उसो त लकडाउनकै एक महिनालाई हेर्ने हो भने पनि सो समय लाख भन्दा बढी मोवाइल सेट भित्रिएका छन् । 

नोकिया ११ सय मोडलदेखि एप्पलका मोबाइल, धेरैजसो विभिन्न कम्पनीका एन्ड्रोइड मोबाइलका सेटहरु भित्रिएको भन्सार विभागका सूचना अधिकार विनोद घिमिरेले बताए । अष्ट्रेलिया, बहराइन, चीन,  बंगलादेश, क्यानडा, साइप्रस, डेनमार्क जर्मनी, हङकङ, इण्डिया, जापान, कुवेत, मलेसिया, म्यानमार, कतार लगायतका देशबाट मोबाइल सेटहरु भित्रिएको हो । धेरैजसो नेपालीले चिनियाँ  मोबाइल सेट  प्रयोग गर्ने गरेको तथ्यांक छ । 


चीनबाट यो एघार महिनाको अवधिमा  ३२ लाख १२ हजार १ सय ९३ सेट मोवाइल नेपाल भित्रिएको छ । यसमार्फत ८ अर्ब ४४ करोड नेपाली रुपैयाँ बराबरको रकम चीन पुगेको छ  । यस्तै भारतबाट ६ लाख ५ हजार ६ सय ४७ सेट मोबाइल नेपाल भित्रिएको छ । विभिन्न देशबाट नेपालमा मोबाइल सेट आयात हुँदा सरकारको राजस्व खातामा २ अर्ब ४९ करोड ४१ लाख ९२ हजार रुपैयाँ जम्मा भएको छ । अर्थात मोबाइल सेट आयातबाट सरकारको आम्दानी झण्डै साढे २ अर्ब भएको छ । 

जेठ महिनामा १ लाख  २१ हजार सेट मोवाइल फोन भित्रियो
कडा लकडाउन भोगेको जेठ महिनामा मात्र १ लाख २१ हजार ३ सय ९२ वटा सेट नेपाल भित्रिएको छ। बैशाख महिनासम्म ३९ लाख ५१ हजार ३ सय सात वटा मोबाइल सेट भित्रिएकोमा त्यसको सख्या बढेर जेठसम्ममा ४० लाख ७२ हजार ६ सय ९९ पिस मोवाइल भित्रिएको हो ।

 मोबाइलबाट सो महिनामा मात्र सरकारले १६ करोड ७२ लाख ९२ हजार रुपैयाँ आम्दानी गरेको छ । वैशाखसम्ममा (साउन देखि वैशाख) २ अर्ब ३२ करोड ६९ लाख  राजस्व उठेको थियो । १० महिनामा (वैशाखसम्म) मोबाइल फोनका लागि १४ अर्ब ६८ करोड ९० लाख २४ हजार रुपैयाँ बारिहरिएको थियो । 

ल्याण्डलाइन र कर्डलेस तथा अन्य फोन सेट
जेठमा ल्याण्डलाइन र कर्डलेस भित्रिएको छैन । वैशाखसम्म ल्याण्डलाइन र कर्डलेस ८५ हजार २ सय ८८ सेट भित्रिएको थियो । जेठको तथ्यांकमा पनि सोही परिणाम उल्लेख छ । 

हालसम्म यस्ताखालका फोनका लागि ५ करोड ३९ लाख ४४ हजार नेपाली रुपैयाँ बाहिरिएको छ । यसबाट सरकारको राजस्व ६९ लाख ५० हजार रुपैयाँ उठेको छ । 

अरु टेलिफोन सेट २७ हजार ३ सय ४३ वटा भित्रिएको छ । यसका लागि  ३ करोड ३० लाख ८५ हजार रपैयाँ बाहिरिएको छ ।

 यसबाट ४१ लाख १६ हजार राजस्व उठेको भन्सार विभागले जनाएको छ । बैशाखमा यस्तो फोन २६ हजार २ सय ३सेट भित्रिएको थियो ।  यसका लागि ३ करोड २० लाख ९९ हजार रुपैयाँ बाहिरिएको छ । 

बैशाखसम्ममा सरकारले अन्य टेलिफोन सेटबाट ३९ लाख ९१ हजार रुपैयाँ राजस्व उठाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप