शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोना र सलहको त्रासबीच यसरी मनाइयो धान दिवस

सोमबार, १५ असार २०७७, १३ : ०२
सोमबार, १५ असार २०७७

आज असार १५, विविध कार्यक्रम गरी देशैभर धान दिवस मनाइदैछ । ललितपुरको खुमलटारमा पनि कृषि विभाग, कृषि अनुसन्धान परिषद्ले औपचारिक कार्यक्रम आयोजना गरी रोपाइँ महोत्सब मनाएको छ । कोरोना भाइरसको महामारी र सलह किराको त्रासका बीच पनि किसानलाई प्रोत्साहन गर्न कार्यक्रम आयोजना गरिएको आयोजकले बताएका छन् । कार्यक्रममा उपस्थित भएका राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले धान खेतिको विकासका लागि उन्नत जातको धानको बीउ प्रयोग गर्ने वातावरण अझै पनि बन्न नसकेको बताए । उनले अझै पनि तराईको ८० प्रतिशत भूभागमा पुराना जातहरुको रोपाइँ भइरहेको बताए । उनले कृषि अनुसन्धान र किसानको बीचमा ठूलो खाडल रहेकाले उन्नत जातको बीउ किसानले पाउन नसकेको उनले बताए ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव राजेन्द्र प्रसाद भारीले कृषिमा अनुदानको मोडालिटी परिवर्तन गरी बैंकबाट ५ प्रतिशत ब्याजमा ऋण पाउने, मल तथा बीउमा अनुदान दिने व्यवस्था गरिएको बताए । उनले जोखिम न्यूनीकरणका लागि बाली तथा पशुपन्छी बीमा प्रिमियममा ७५ प्रतिशत अनुदान दिइएको बताए । उनले कोरोना भाइरसको महामारी र सलह किराको त्रासका बीच पनि कृषि उत्पादनमा लाग्न किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले खेतमै पुगेर कार्यक्रम गरिनु उचित भएको बताए ।

नेपाल कृषि अनुसन्धान परिषद्का कायएकारी निर्देशक दिपक भण्डारीले नेपालमा विकास भएका धानको बीउको प्रयोग बढाउनुपर्ने बताए । नेपालमा हर्दिनाथ हाइब्रिड एक र हर्दिनाथ हाइब्रिड तीन जातको धान विकास भइसकेकाले यसको प्रयोग बढाउनुपर्ने बताए । उनले परम्परागत रुपमा धान दिवस मनाउँदै आएको र यसले किसानहरुको आत्मबल बढाउने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप