केन्द्रीय संस्करण
सन्दर्भः धान दिवस

चुलिँदै परनिर्भरताको ग्राफ, ११ महिनामा ३० अर्बको चामल आयात

person explore access_timeअसार १५, २०७७ chat_bubble_outline0

काठमाडौं । आज १५ असार । नेपालीहरुका लागि विशेष दिन । आजकै दिनबाट नेपाली समानमा चाडबाडको सुरुवात हुन्छ । आजबाट सुरु भएको यो चाडबाडको माहौल हरिबोधनी एकादशीको दिन गएर सकिने विश्वास गरिन्छ । तर, यीमध्ये सबैभन्दा महत्वपूर्ण चाहिँ आज राष्ट्रिय धान दिवस हो । २०६२ सालदेखि असार १५ लाई राष्ट्रिय दिवसको मनाउन थालिएको हो । हिलोदेखि ‘घृणा’ गर्नेहरुलाई हिलोसँग साक्षात्कार गराउने र कृषिप्रधान देशको झल्को दिने दिवसको रुपमा यो दिनलाई मनाइन्छ । अर्थतन्त्रमा सबैभन्दा ठूलो योगदान दिने र अधिकांश रोजगारीको स्रोत मानिने कृषि क्षेत्रलाई महत्व दिनु आफैंमा सान्दर्भिक पनि हो । तर धान दिवस मनाउन सुरु गर्दैगर्दा वर्षैपपिच्छे हामी कृषिजन्य वस्तुमा परनिर्भर भइरहेका छौँ । धान त्यसको एउटा गतिलो उदाहरण हो ।

चालु आर्थिक वर्षको ११ महिनामा मात्रै नेपालले ३० अर्ब रुपैयाँ बराबरको धान र चामल आयात गरेको छ । आर्थिक वर्ष २०७५/७६ को १२ महिनामा करिब ३२ अर्बको धान र चामल आयात भएको थियो । यो वर्ष भएको कुल आयातमा ९ अर्ब रुपैयाँ बराबरको धान आयात भएको छ भने २० अर्ब रुपैयाँ बढीको चामल रहेको छ । बीउबीजनको पयोजनको लागि पनि केही धान आयात भएको देखिएको छ । यो वर्ष समग्र आयात घटेको देखिए पनि धान र चामलको आयात भने घटेको देखिएको छैन । यसले कोरोनाभाइरसको प्रकोपबीच कृषिमा हाम्रो परनिर्भरता बढ्दै गएको देखिएको छ ।

किन बढ्दैछ परनिर्भरता ?

कृषिमा हाम्रो परनिर्भरता बढ्दै जानुको कारण माग र आपूिर्त दुवै रहेको विज्ञहरु बताउँछन् । यसको अर्थ नेपालमा खाद्यान्नका लागि चामलको माग बढेर एकातर्फ आयात बढेको छ भने मागअनुसार वृद्धि हुनुपर्ने उत्पादन बढ्न नसकेर पनि हामी चामलमा परनिर्भर भइरहेका छौँ । त्यसबाहेक मौसमको साथको कारणले पनि हाम्रो आयात प्रभावित भइरहेको बताइन्छ ।

गत आर्थिक वर्षमा मौसममा भएको प्रतिकुलताको कारण धानको उत्पादन कम भएको कृषि विकास मन्त्रालयको तथ्याङ्क छ । सोही कारण धानको आयात यो वर्ष बढ्न सक्ने प्रक्षेपण गरिएको थियो । अघिल्लो वर्ष १२ महिनामा ३२ अर्ब रुपैयाँको आयात भएको धान यो वर्ष ११ महिनामै ३० अर्ब भन्दा माथि पुगेको छ । सामान्य हिसाबले पनि १२ महिनाको आयातले अघिल्लो वर्षको आयातलाई उछिन्ने देखिन्छ । अझै असार महिना सबैभन्दा धेरै धान र चामल आयात गर्ने समय रहेको तथा यो समयमा मूल्य समेत बढेर आउने भएकोल परनिर्भरताको ग्राफ थप बढ्नसक्ने विज्ञहरुको अनुमान छ ।

प्रत्येक वर्ष कृषिजन्य आयात बढ्दै जानुको कारणबारे भने सबै एकमत छैनन् । कृषिमन्त्री घनश्याम भुसाल बढ्दै गएको कृषिको परनिर्भरतामा बजार संयन्त्र नै दोषी रहेको बताउँछन् । पञ्चायतको अन्तिम कालखण्डमा कृषिको संरचना बिग्रिन सुरु भएको र उदारवाद र बजारमा आधारित हाम्रो अर्थव्यवस्थाले गर्दा पछिल्लो ३० वर्षमा कृषिको संरचना ध्वस्त भएको उनको भनाइ छ । 

आफू मन्त्रालयमा आएपछि कृषिको त्यो संरचनालाई पुनस्र्थापित गर्ने प्रयास गरेको भन्दै ध्वस्त भएको संरचनालाई पुनर्जीवन दिन २/३ वर्ष लाग्ने उनको भनाइ छ । उनका अनुसार सरकारले कृषिलाई कहिलै पनि बजारमा छोड्नुहुन्न । किनकी कृषि सँधैं संरक्षित पेशा नै हुन्छ, हुनुपर्छ । कृषिलाई बजारमा छाडिदिएका कारण किसानले कृषि पेशाबाट बचत गर्न नसकेको र सोही कारण उनीहरु कृषिबाट पलायन भएको भन्दै सरकारले कृषकलाई कृषिमा टिकिरहने वातावरण बनाउनुपर्ने र उत्पादन तथा एक तहको प्रशोधनमा निरन्तर सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

आर्थिक वर्ष २०३५/३६ मा नेपालले करिब २५ करोडको धानको खुद निर्यात गरेको थियो । अहिले पनि नेपालले धानको निर्यात गर्ने गरेको छ । तर निर्यातको तुलनामा आयात निकै धेरै हुँदा नेपाल धान र चामलको खुद आयातकर्ता मुलुक बनेको छ । यो प्रत्येक वर्ष बढ्दै गएको छ । कृषिमन्त्रीले भनेजस्तै नेपालको आत्मनिर्भरता घटेको त्यही समयदेखि हो ।

मनसुन र जनशक्ति हुँदा रोपाइँ बढी

असार १५ सम्म आइपुग्दा यो वर्ष रोपाइँमा निकै उत्साह देखिएको छ । अघिल्लो वर्ष ११ प्रतिशतमा सीमति रहेको रोपाइँ यो वर्ष २० प्रतिशत नाघिसकेको कृषि विभागले जनाएको छ । यो असार १० गतेसम्मको तथ्यांक हो । मनसुन समयमै सक्रिय भएपछि यो वर्ष छिटै धान रोपाइँको क्रम बढेको कृषि विभागले भनाई छ । विभागका प्रवक्तासमेत रहेका वरिष्ठ कृषिविद् महादेव पौडेल भन्छन्, अघिल्लो वर्ष असारको दोस्रो सातासम्म ११.६४ प्रतिशत मात्रै रोपाइँ भएको थियो । यो वर्ष यो अवधिसम्म २०.०५ प्रतिशत रोपाइँ भइसकेको छ । यो १० गतेसम्मको तथ्याङ्क हो । ४ दिनमा अझै धेरै रोपाइँ भइसकेको हुनसक्छ ।’

कृषि विभागले प्रदेशको कृषि मन्त्रालयबाट यस्तो तथ्याङ्क लिने गरेको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रबाट प्रत्येक साता कृषिसम्बन्धी सूचना प्रदेशको कृषि विभागले प्राप्त गर्ने र प्रदेशले केन्द्रलाई पठाउने गरिन्छ । यो हिसाबले शुक्रबारसम्म सातै प्रदेशमा औसत २०.०५ प्रतिशत रोपाइँ भएको हो । यसमध्ये सबैभन्दा बढी रोपाइँ प्रदेश ५ मा भएको छ भने सबैभन्दा कम रोपाइँ प्रदेश १ मा भएको कृषि विभागले जनाएको छ । प्रदेश ५ मा ३६.२६ प्रतिशत रोपाइँ हुँदा प्रदेश १ मा भने १०.४१ प्रतिशत रोपाइँ भएको जनाइएको छ । यद्यपि गण्डकी र कर्णाली प्रदेशमा भने अघिल्लो वर्षभन्दा यो वर्ष रोपाइँ घटेको छ ।

यो वर्ष धान रोपाइँ हुनुको कारण मनसुन सक्रिय मात्रै नभएर श्रमिकको उपलब्धता समेत भएको विज्ञहरुको भनाइ छ । कोरोनाभाइरसको महामारीका कारण भएको लकडाउनमा गाउँ गएकाहरु अझै शहर फर्की नसकेकोले उनीहरुले छिटो रोपाइँ गरेको कारण यो वर्ष बाँझो जमीनको मात्रा घट्न सक्नेसमेत कृषि विज्ञहरु बताउँछन् । यसले गर्दा धानको उत्पादनमा सकारात्मक प्रभाव पर्नसक्ने कृषिविद् पौडेल बताउँछन् ।

हाल देशभर १३ लाख ७१ हजार हेक्टर जमीनमा धान खेती हुने गरेको छ । यसमध्ये १७ प्रतिशत जमीनमा उन्नत तथा हाइब्रिड जातको धानको प्रयोग हुने गरेको पौडेल बताउँछन् । बाँकी क्षेत्रमा भने सामान्य जातकै धानहरु लगाइँदै आएको उनको भनाई छ । हाल नेपालमा १३० जातको धानका बीउहरु सिफारिस गरिएको छ । उक्त जातहरु माटो र सिँचाईको उपलब्धताको आधारमा सिफारिस गरिएको विभागको भनाई छ । तर एउटै माटो र क्षेत्रको लागि सिफारिस गरिएको जातलाई ३/३ वर्षमा प्रतिस्थापन (एसएसआर) गर्न सके कृषि उत्पादन बढ्ने कृषिविद् पौडेल बताउँछन् । सिफारिस नगरिएका बीउलाई जथाभाबी प्रयोग नगर्न समेत उनको सुझाव छ । पौडेल भन्छन्, ‘पोहोर हामीले गरिमा धानको समस्या भोग्यौं, यो वर्ष त्यही समस्या नदोहोरियोस् भन्नेमा सचेत बन्नुपर्छ, मौसमले साथ दिएको छ, यो वर्ष उत्पादन बढाउनुपर्छ । हाम्रो लक्ष्य पनि त्यही छ ।’

मल अभाव कायमै

मौसमले साथ दिए पनि यो वर्ष मलको अभाव भने हटेको छैन । बर्खा लागेपछि सँधै चर्चामा आउने मलको अभावको समस्या यो वर्ष पनि दोहोरिएको हो । लकडाउनका कारण सप्लाई चेन प्रभावित हुँदा यो वर्ष पनि मल अभाव देखिएको कृषि सामाग्री केन्द्रले जनाएको छ । यो वर्ष युरिया मलको चरम अभाव देखिएको छ भने डीएपी र पोटास पनि मागअनुसार आपूर्ति हुन सकिरहेको छैन ।

लकडाउन खुकुलो भएसँगै अहिले कोलकत्ता बन्दरगाहमा रोकिएको २५ हजार मेट्रिकटन डीएपी मल आयात भइरहेकोले डीएपी भने पाउनै नसक्ने अवस्था नभएको केन्द्रका प्रबन्ध निर्देशक नेत्र भण्डारीको भनाई छ । युरिया भने चीनबाट ल्याउने क्रम सुरु भएको भन्दै टप ट्रेसिङ (धान रोपेपछि छरिने) को लागि मल आइपुग्नेगरी तयारी थालेको उनको भनाई छ । तर, बेसल डोज (धान रोप्नुअघि हालिने) मलका लागि भने अहिले अभावकै अवस्था रहेको भण्डारीको स्वीकारोक्ति छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.