मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

सेयर बजारमा राजनीतिभन्दा ब्याजदरको प्रभाव

मङ्गलबार, ०६ असार २०७४, ११ : ५१
मङ्गलबार, ०६ असार २०७४

सेयर बजारमा पछिल्लो समय देखिएको घट्दो प्रवृत्ति तीव्र बन्दै गइरहेको छ । साताको पहिलो दिन आइतबार दोहोरो अङ्कले गिरावट आएको बजारमा सोमबार पनि २० अङ्कको भारी गिरावट आएसँगै लगानीकर्ताले एकै दिनमा समग्र पुँजीकणको करिब २५ अर्ब गुमाए । विगतको नजिरलाई हेर्दा देशमा चुनावको माहोलसँगै पुँजी बजारमा पनि भारी मात्रामा वृद्धि आउने गरेको भए पनि यसपालि भने बजारमा चुनावको प्रभाव त्यति देखिएको छैन ।

पहिलो चरणको निर्वाचनमा केही उत्साहित देखिएको पुँजी बजारमा दोस्रो चरणको निर्वाचन नजिकिँदै गर्दासमेत रौनकता छाउन सकेको छैन । त्यसैगरी पुँजी बजारप्रति उदार नेपाली काङ्ग्रेसको नेतृत्वमा सरकार बने पनि पुँजी बजारप्रति राज्यको स्पष्ट दृष्टिकोण नआउँदा यसप्रति लगानीकर्ताको आत्मविश्वास माथि उठ्न सकेको छैन ।

सेयर बजारका लागि सिजन मानिने वर्तमान दिनहरुमा पनि बजार माथि जान नसक्नुमा प्रदेश २ मा निर्वाचन स्थगनपछिको राजनीतिक अन्यौलता मुख्य कारण रहेको चर्चा चले पनि समग्र रुपमा राजनीतिक कारणले मात्र बजार नघटेको देखिन्छ । केही वर्ष अघि सम्म राजनीतिमा बढिनै प्रतिक्रिया जनाउने बजारको मनोबिज्ञान पछिल्लो समय केही संयम देखिन थालेको छ। त्यसैले पनि पछिल्लो समय घटेको बजारमा राजनीतिको रंग फिका मात्र रहेको अनुमान गर्न सकिन्छ।बजार घट्नुमा मुख्य कारण बैङ्कहरुले सेयर कर्जामा लिएको चर्को ब्याजदरलाइ लिन सकिन्छ। तरलता अभाव समाधान हुन सकिरहेको छैन भने राष्ट्र बैङ्कले पनि मार्जिन ल्यान्डिङ कर्जामा निकै कडाइ गरेपछि बैङ्कहरु पनि सेयर कर्जाप्रति उदार देखिएका छैनन् ।

यसको प्रत्यक्ष असर बजारमा देखिएको छ । जसले गर्दा बिक्री चाप बढेको छ भने कम्पनीहरुको मूल्यमा समेत गिरावट आइरहेको छ । त्यस्तै बैङ्कहरुले निक्षेपमा समेत आकर्षक ब्याज दिन थालेपछि केही लगानीकर्ताहरु सोतर्फ पनि आकर्षित देखिएका छ । बजारमा आईपीओ, हकप्रदलगायतका सार्वजनिक निष्काशनहरु आएकाले पनि त्यसको स्रोत जुटाउन लगानीकर्ताहरु दोस्रो बजारमा सेयर बेचिरहेको देखिन्छ । एनएमबी बैङ्कले सोमबार प्रकाशित गरेको व्याजदर मार्जिन ल्यान्डिङको व्याज १८.९५ प्रतिशत तोकिएको छ ।


केन्द्रीय बैङ्कले नै सेयर कर्जामा प्रवाह हुने कर्जालाई नेगेटिभ लिस्टमा राख्ने पोलिसी लिएपछि एनएमबी जस्तै अरुक बैङ्कले पनि सेयरकर्जा प्रवाहमा निकै कडाइ गरेको छन् । 


सेयर कर्जाको व्याज आकाशिएपछि बजारमा सेयरको बिक्री चाप बढेको छ र मूल्य निरन्तर घट्दै गएको छ । एनएमबी बैङ्कले घर जग्गा कर्जामा पनि १७ देखि १९ प्रतिशतसम्म व्याज लाग्ने जनाएको छ । लगानी योग्य पुँजीको अभावमा बैङ्कहरुले १५ प्रतिशतसम्म व्याज तिरेर निक्षेप लिएको छन् । असार मसान्त नजिकिँदै गरेको र सूचीकृत कम्पनीहरुका पनि अन्तिम वित्तीय विवरणहरु आउने क्रममा रहेकाले लगानीकर्ताहरु पर्ख र हेरको स्थितिमा रहेको अनुमान गर्न सकिन्छ । तरलता अभावलाई समाधान गर्ने उद्देश्य स्वरुप बैङ्कर्स एसोसिएसनले केन्द्रीय बैङ्कलाई सीसीडी रेसियोमा नीतिगत सहुलियत दिन आग्रह गरिसकेका छन् । आर्थिक वर्षको अन्त्यतिर विकास खर्चमा आउने तीव्रता र चुनावी खर्चले तरलता अभावको समस्या केही सहज हुने पनि आशा गर्न सकिन्छ । समग्र रुपमा हेर्दा पुँजी बजारको यो प्रवृत्ति लामो समय नटिक्ने सम्भावना देखिन्छ । किनकि बजारको विकास विस्तार र विविधीकरणमा देखिएको उत्साह र कम्पनीहरुको नाफामा आइरहेको वृद्धिले यस तथ्यलाई आधार प्रदान गर्न सक्छ ।                             
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र चुदाली
नरेन्द्र चुदाली
लेखकबाट थप