केन्द्रीय संस्करण

म पनि मधेशी

person explore access_timeअसार १४, २०७७ chat_bubble_outline0

‘मधेशी’- अर्थात् ‘मधेश’ शब्दको विशेषण। यानि कि मधेशमा जन्मेको, बसेको मान्छे अथवा मधेशमा बोलिने बोली। म पश्चिम नेपालको मधेशमा जन्मेको हुँ। त्यसैले जन्मको आधारमा म पनि मधेशी नै भएँ।

म मधेशमा जन्मे पनि आजभोलि सबैले भन्ने गरेको ‘खस’ परिवारमा जन्मेँ। तर नेपाली भाषासँगै मैले सानैदेखि नै थारु भाषा पनि सँगै बोल्न शुरु गरेको हुँ। मेरो बाल्यकाल ‘महेन्द्र माला’ पढेर र ‘श्रीमान गम्भीर’ गाएर बितेको थियो। एकल भाषा, एकल धर्म र एकल संस्कृति थोपरिएको शासन व्यवस्थामा हुर्केकोले मेरो दिमागमा पनि अन्य भाषा, संस्कृति र धर्मप्रति अलि हेपाहापन हुनु स्वाभाविकै थियो। 

तर पनि मैले बच्चादेखि नै थारु भाषा र संस्कृतिलाई निकै प्रेम गर्थें र अहिले झन् त्यो बढी प्रेम गर्छु। थारु संस्कृति मेरो जीवनको अभिन्न अंग पनि हो। मलाई माघी चाड दशैँ जत्तिकै रमाइलो र महत्त्वपूर्ण लाग्छ। 
पहाडेहरुले राज्यसत्ता सञ्चालन गरेकोले मधेशका जनतालाई पहिलेदेखि नै योजनावद्ध रुपमा पाखा लगाइयो र मधेश भनेको छुट्टै संसार हो कि जस्तो गरेर हामी पहाडे केटाकेटीहरुलाई पढाइयो र हुर्काइयो। अनि हाम्रो मष्तिष्कमा छाप पर्योु- नेपाली भाषा बोल्नेहरु बाहेक अरु मात्र मधेशी हुन् र मधेशीहरुले नेपालको भन्दा भारतको हितको लागि सोच्छन् र त्यही अनुरुप काम गर्छन्, त्यसैले उनीहरुको राष्ट्रियता र देशभक्तिमा निगरानी गर्नुपर्छ।

अहिले पनि अधिकांश नेपालीहरुको बुझाइमा नेपाली भाषा बोल्नेहरु मधेशमै जन्मे पनि मधेशी हैनन्। खस, आर्य भन्ने शब्द अहिले घृणित र शोषणसँग जोडिएको जस्तो शब्द भएको छ। त्यसैले मैले पनि आफूलाई खस आर्य नभनेर मधेशी भनाउन खोज्ने प्रयास गरिरहेको छु। तर पनि मलाई कसैले मधेशी मान्दै मान्दैनन्। मधेशी भनेको त हिन्दी जस्तो सुनिने भाषा बोल्ने, अलि कालो वर्णको, गम्छा भिरेको अनि सम्भवत नेपालको भन्दा भारतको भलो चाहने व्यक्ति हुनुपर्छ भन्ने गलत बुझाइ समाजमा अहिले पनि छ। मधेशी भन्ने वित्तिकै उसको राष्ट्रियता र देशभक्तिमा शंकाको दृष्टिले हेरिन्छ।

तर मैले आफूलाई मधेशी हुँ भन्दा पनि मेरो राष्ट्रियता र देशभक्तिमा कसैले पनि शंकाको दृष्टिले हेर्दैनन् किनभने म खस परिवारमा जन्मेको हुँ र मेरो मातृभाषा नेपाली हो। नेपाली मात्र हैन मगर, गुरुङ, तामाङ, शेर्पा, नेवार, राई, लिम्बु जस्ता ‘पहाडे’ भाषा बोल्नेहरुलाई अन्य अधिकारहरुमा विभेद गरिए पनि राष्ट्रियताको मामलामा चाहिँ शंका गरिँदैन। हामीकहाँ धेरै पहिलेदेखि नै नागरिकले बोल्ने भाषा नै राष्ट्रियता मापन गर्ने कडी बनिरहेको छ। तर इतिहास केलाउँदा देशको लागि गद्दारी गर्नेहरु म जस्तै नेपाली भाषा बोल्ने ‘खस’हरु नै बढी भेटिएलान् र अहिले पनि राष्ट्रियता बेच्नेहरुमा तिनै ‘खस आर्य’ हरुको बाहूल्यता होला l तैपनि पहाडे भाषा बोल्नेबित्तिकै उसको राष्ट्रियतामा कसैले शंका गर्दैनन् तर मधेशमा बोलिने मैथली, भोजपुरी, थारु र अवधी जस्ता भाषा बोल्नेहरुको राष्ट्रियतामा प्रश्न चिन्ह खडा गरिन्छ।

स्पष्ट छ, हिन्दीसँग मिल्ने भाषा बोल्ने, उत्तर भारतको संस्कृतिसँग मिल्ने चाडपर्व मनाउने र भारतका नागरिकहरुसँग वैवाहिक सम्बन्ध भएको हुनाले भारतको सीमा नजिक बस्ने ‘मधेशी’हरुलाई पहाडेहरुले शंका गरेका हुन्। मैथली, भोजपुरी, थारु र अवधी जे भाषा बोले पनि पहाडमा बस्नेहरुका लागि ती सबै हिन्दी जस्तै सुनिन्छन् र हो न हो ती भाषा बोल्नेहरु त भारतबाटै आएका मान्छेहरु हुन् अथवा नेपालको हितभन्दा भारतको हित सोच्ने मान्छे हुन् भन्ने भ्रम छ।

 नेपालभन्दा धेरै गुणा ठूलो र जहिले पनि नेपाललाई आफ्नो कब्जामा राखिरहन खोज्ने भारतको नीतिले पनि हिन्दी भाषासँग मिल्ने मधेशका भाषा बोल्नेहरुलाई पहाडे नेपालीहरुले शंकाको दृष्टिले हेरेका हुन्।
तर थारु भाषाको ज्ञान भएको हुनाले मलाई थाहा छ, थारु भाषा हिन्दीसँग केही मिल्ने भए पनि यो नितान्त फरक भाषा हो। थारु समाजमा हुर्केकोले म यकिनका साथ भन्न सक्छु, फरक भाषा बोल्दैमा थारुहरुलाई मधेशी भनेर उनीहरुको राष्ट्रियता र देश भक्तिमा शंका गर्नु भुल मात्र हैन, पाप पनि हो। 

पूर्वी तराईका मधेशीहरुसँग मेरो त्यति धेरै संगत नभएपनि आज भन्दा लगभग २५ वर्ष अगाडि काठमाण्डौमा डेरा गरे बस्दा एउटै विषय पढ्ने भएकोले म एक जना दास थरका साथीसँग सँगै खाना पकाएर खान्थें। हुन त मलाई पहिले पनि शंका थिएन तर त्यो बेला ती साथीसँग संगत गरेपछि नेपाली मधेशीहरुको राष्ट्रियता र देशभक्तिको बारेमा मैले शंका गर्ने कुनै कुरा नै भेटाइनँ। त्यस्तै मलाई क्याम्पसमा गणित विषय पढाउने शिक्षक निशार अहमदले मातृभाषाको रुपमा अवधी बोले पनि उहाँ देशभक्त हुनुहुन्थ्यो। त्यसैले मेरो व्यक्तिगत अनुभवको आधारमा भाषाको कारणले गर्दा कसैको राष्ट्रियता र देशभक्तिमा शंका गर्नु अवश्य पनि गलत कुरो हो।

अहिले देशभरि नै नयाँ नागरिकताको विधेयकको चर्चा चुलिएको छ। पक्ष विपक्षमा चर्चा र वादविवादहरु भैरहेका छन्। जसको तर्क सुन्यो उसकै कुरा ठिक लाग्छ। तर तटस्थ भएर भन्नु पर्दा पहाडे बाहेकका नेपालीहरुलाई पैसा नखुवाई नागरिकता लिन अहिले पनि त्यति सजिलो छैन। सयौं वर्षसम्म मधेशमा बसेका शुद्ध नेपाली वंशज नागरिकहरुलाई पनि विभिन्न बहानामा उनीहरुलाई नागरिकता दिन आनाकानी गरिन्छ। तर अर्को तर्फ तिनै कर्मचारीहरुले ( हाम्रो प्रशासन यन्त्रमा 'खस आर्य' समुदायको बाहूल्यता छ ) भारतीयलाई नेपाली नागरिकता बेच्छन् अनि पैसा कुम्ल्याए पछि ‘नागरिकता जथाभावी बाँड्नु हुँदैन’ भनेर ठूलो स्वरमा कराउँछन्। अनि त स्वतः प्रश्न उठ्छ- आफ्नै देशमा नागरिकता नपाएको नेपाली मधेशी देशभक्त कि भारतीयलाई नागरिकता बेच्ने पहाडे कर्मचारी देशभक्त? त्यति मात्र हैन, देशभक्तिको कुरा गर्दा ज्यानको बाजी लगाएर देशको सिमाना रक्षा गर्ने देव नारायण यादव देशभक्त कि भारत सरकारको तलब खाएर नेपाल र नेपालीप्रति सुराकी गर्ने, गद्दारी गर्ने र लुसुक्क लैनचौर दरबार धाउने 'खस आर्य' नेताहरु देशभक्त? त्यसैले कुनै पनि व्यक्तिको देशभक्ति भाषामा हैन, उसको आचरणमा लुकेको हुन्छ भन्ने कुरा सबैले बुझ्नु जरुरी छ। 

अरुले माने पनि नमाने पनि, म आफूलाई मधेशी भन्न रुचाउँछु र स्पष्ट भन्न सक्छु- सच्चा नेपाली मधेशीको राष्ट्रियतामा कसैले कुनै शंका नगरे हुन्छ। सयौं वर्षदेखि मधेशमा बसेका धर्तीपुत्र मधेशीहरुले नेपाल र नेपालीको लागि कहिले पनि गद्दारी गर्ने छैनन्। तर आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न मधेशीको खोल ओढेर देश बाहिरबाट भित्रेका सरिता गिरी जस्ता नक्कली मधेशीहरुसँग र तिनलाई प्रयोग गरेर आफ्नो राजनीतिक भविष्य सुनिश्चित गर्न चाहने मुठ्ठी भरका कथित मधेशी नेताहरुसँग भने हामी सबै सचेत हुनैपर्छ र त्यसैलाई ध्यानमा राखेर नागरिकता ऐन पारित हुनुपर्छ। 

सूचनाको सहज पहुँचसँगै सबै नेपालीको सोच पनि समय अनुसार बदलिँदै गएको छ। हामीले मधेशी मूलका राष्ट्रपति, मधेशी मूलका प्रधानन्यायाधीश, मधेशी मूलका उपप्रधानमन्त्री देखिसकेका छौं। नेपाली माटोमै जन्मेहुर्केको शुद्ध नेपाली मन भएको मधेशी मूलका प्रधानमन्त्री, मधेशी मूलका सेना प्रमुख पनि सबै नेपालीहरुले सजिलै स्वीकार्ने छन्।

समग्रमा भन्दा नेपाली धर्तीका छोराछोरी शुद्ध मधेशीहरुले भाषाको कारणले गर्दा कुनै पनि विभेद या दु:ख बेहोर्नु नपरोस् र उनीहरुलाई सजिलै नागरिकता प्रदान गरियोस् तर मधेशीको खोलमा विदेशीहरुलाई पैसा खाएर अन्धाधुन्ध नागरिकता बाँडेर भित्र्याउने काम तुरुन्त बन्द गरियोस्। 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.