शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अन्ततः जसपाको कार्यसमितिमा हुने भयो हेरफेर

कार्यसमितिबाट हट्नेले दिए विद्रोहको चेतावनी
आइतबार, १४ असार २०७७, ११ : ५४
आइतबार, १४ असार २०७७

अन्ततः जनता समाजवादी पार्टी नेपालको नव गठित कार्यसमिति संशोधन भएको छ । कार्यसमिति समावेशी नभएको तथा एकजना नेताले मात्र आफ्ना पक्षमा व्यक्ति राखेको आरोप लगाउँदै जसपा नेपालमा असन्तुष्टि बढ्दै गइरहेको थियो । खासगरि, तत्कालिन राजपा नेपाल अध्यक्षमण्डलका दुईजना सदस्य अनिलकुमार झा र राजकिशोर यादव पक्षका एकजना पनि मान्छे कार्यसमितिमा नपर्नुले पनि असन्तुष्टि बढ्दै गइरहेको थियो । त्यसैगरी, तत्कालिन राजपा नेपालसँग एकीकरण गरेको जनमुक्ति मुक्ति पार्टीबाट पनि एकजना मान्छे कार्यसमितिमा नराखिएकोमा पनि जसपा नेपालमा असन्तुष्टि बढेको थियो ।

तत्कालिन समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरण भइ जसपा नेपाल गठन भएको थियो । जसपा नेपालले ५१ सदस्यीय कार्यसमिति बनाएर निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दर्ता गराएको छ । दर्ता गराएकै दिनदेखि विवाद शुरु भएपछि तत्कालिन राजपा नेपालले आफ्नो पक्षबाट दुईजनाको नाम कार्यसमितिबाट हटाएको छ । स्रोतका अनुसार राजपा नेपालबाट कार्यसमितिमा राखिएको डा.विजयकुमार सिंह र रामकुमार ओझाको नाम हटाइएको छ ।

त्यो दुईजनाको ठाउँमा राजकिशोर यादव र अनिलकुमार झाको एक–एकजना मान्छे राख्ने तयारी भइरहेको छ । तर त्यो ठाउँमा कसलाई राख्ने त्यसको नाम उनी दुईजनाले तय गरेका छैनन् । कार्यसमितिको नाम निर्वाचन आयोगमा गइसकेको छ । पार्टीले चाहँदैमा त्यो नाम झिक्न सक्दैन । त्यसका लागि सम्बन्धित व्यक्तिको सहमति चाहिन्छ । उनले निर्वाचन आयोगमा गएर निवेदन दिएपछि मात्र नाम फेरबदल गर्न सकिन्छ ।

स्रोतका अनुसार जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले डा.विजय सिंहसँग कुराका गरिसकेका छन् । उनले पनि महन्थ ठाकुर समक्ष आफ्नो सहमति जनाइसकेका छन् । उनले रातोपाटीसँग कुरा गर्दै भने, ‘यदि पार्टीलाई एकीकरणमा सहजताका लागि म त्यहाँबाट हट्नुपर्छ भने त्यसका लागि तयार छु । यो कुरा मैले अध्यक्षज्युहरुलाई भनि सकेको छु । मेरो त्यसमा सहमति छ ।’

त्यस्तै, रामकुमार ओझा आफ्नो जनता पार्टी लिएर राजपा नेपालसँग एकीकरण गरेका थिए । तत्कालिन जनता पार्टीको चुनाव चिन्ह पनि छाता छापा रहेकाले राजपा नेपाललाई त्यतिबेला सो चुनाव चिन्ह लिनका लागि गाह्रो भएको थियो । त्यतिबेला छलफल गरेर जनता पार्टीलाई नै राजपा नेपालमा विलय गराइएको थियो ।

उनै जनता पार्टीका अध्यक्ष रामकुमार ओझालाई जसपाको केन्द्रीय समितिमा राखिएको थियो । तर अहिले पार्टीमा विवाद भएपछि त्यसलाई मिलाउनका लागि त्यहाँबाट ओझालाई हटाएर अरुको नाम राख्न लागिएको छ ।

तर ओझा भने यसमा सहमत छैनन् । ओझाले भने, ‘मेरो सहमति बिना मलाई त्यहाँबाट हटायो भने जसपा नेपालामा अर्को विद्रोह हुन्छ । म महन्थ ठाकुर, राजेन्द्र महतोलगायतका नेताहरुको कार्यकर्ता होइन, मैले मेरो पार्टीलाई राजपा नेपालसँग एकीकरण गरेको हुँ । त्यसैले कार्यसमितिबाट हटाउने गल्ती पार्टील नगरोस् ।’

‘पार्टी एकीकरणका लागि तपाईंले त्याग गर्नुपर्ने हुनसक्छ । साथीहरुको असन्तुष्टिका कारणले एकीकरण नहुँदै पार्टी विभाजन हुने अवस्था सृजना हुन लागेको छ । यदि आवश्यकता पर्यो भने तपाईं केन्द्रीय समितिबाट हट्नुपर्ने हुन्छ’ भन्दै महन्थ ठाकुरले आफूलाई बोलाएर आग्रह गरेको तर आफूले नमानेको उनले बताए ।

राजपा नेपालका अध्यक्षमण्डलका अन्य सबै सदस्यसँग यस विषयमा आफूले कुरा गरिसकेको र उनीहरुले पनि ठाकुरले त्यस्तो गर्न नहुने भनेको ओझाले बताए । उनले भने, ‘प्रदेश प्रमुख भइसकेका, मुख्यमन्त्रीलाई सपथ खुवाई सकेका आफ्ना सम्धी उमाकान्त झालाई महन्थ ठाकुरले किन राख्नुभएको हो बुझ्न सकिएको छैन । महन्थ ठाकुर आफ्नो परिवारभन्दा बाहिर जान नचाहेको कारणले यो समस्या भइरहेको छ ।’

समाजवादी पार्टीको अडान

कार्यसमिति सदस्य संख्या वृद्धि गर्दा जसपा नेपालको समस्या धेरै हदसम्म समाधान हुन्छ । तत्कालिन राजपा नेपालका अधिकांश नेताको जोड अहिलेको कार्यसमितिको संख्या बढाउनुमा हो तर तत्कालिन समाजवादी पार्टीले त्यो मानिरहेको छैन । समाजवादी पार्टीले संख्या बढाउन नमानेपछि राजपा नेपाललाई थप सकस भएको छ ।

राजकिशोर यादव र अनिलकुमार झाको मान्छे राख्नुपर्ने देखिएको छ तर दुईजना मान्छे राख्नलाई अर्को दुई जनालाई हटाउनुपर्ने हुन्छ । अहिले कसलाई हटाउने समस्या भइरहेको छ । राजेन्द्र महतो पनि आफ्नो मान्छे हटाउने पक्षमा छैनन् । त्यही भएर महन्थ ठाकुरले आफ्नो पक्षबाट एकजना र अर्को रामकुमार ओझालाई हटाउन लागेका लागेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप