बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

टेवानबाट विपन्न महिलाको कोरोना बीमा

शुक्रबार, १२ असार २०७७, १९ : २६
शुक्रबार, १२ असार २०७७

पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले पोखरामा रहेका  विपन्न तथा असहाय महिलाको कोरोना बीमा गरेको छ । पोखराका फुटपाथ तथा डोकामा बोकेर फलफूल र तरकारी व्यापार गर्ने १९ महिलाको सामूहिक कोरोना बीमा गरिएको टेवानका महासचिव कमला गिरीले जानकारी दिए ।

 बीमा कम्पनी एनएलजी इन्स्योरेन्स कम्पनीका प्रदेश प्रमुख तेलप्रसाद अधिकारीका अनुसार सम्झौता भएको १५ दिनपछि बीमा लागु हुनेछ । आगामी चैतसम्म पिसिआर परीक्षणमार्फत पोजिटिभ नतिजा आउनेले रु एक लाख रुपैयाँ पाउनेछन् ।

“सडकमा व्यापार गर्नेहरुमा कोरोनोका सङ्क्रमण हुने सम्भावना बढी हुन्छ”, अधिकारीले भने । कमाएर परिवार पाल्नेको बीमा गर्दा पछि बिरामी भइहाले त्यसवापत पाउने रकमले केही राहत मिल्ने उनको भनाइ थियो । 

टेवान अध्यक्ष लक्की कार्की क्षेत्रीले सङ्क्रमणको उच्च जोखिममा रहेका फुटपाथ पसले महिलाको बीमासम्म पहुँच हुन नसक्ने भएकाले संस्थाले उनीहरुको बीमा गरेको बताइन् ।  पोखरा–६ का वडाध्यक्ष जगत पहारीले टेवानले फरक सोच राखेर विपन्न महिलाको कोरोना बीमा गरेकामा  सराहना गरे । 

यसैबीच गण्डकी प्रदेशको पछिल्लो विवरणानुसार आजसम्म्म १०१  जना कोरोना जितेर घर फर्केका छन् ।  गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्तिमा गोरखाको गण्डकी गाउँपालिकाका पाँच पुरुष, गोरखा नगरपालिकाका तीन पुरुष र एक महिला गरी नौ जना आज निको भएर घर फर्केको जनाइएको छ । यससँगै प्रदेशमा कोरोना जित्ने सय जना नाघेका हुन् ।

 प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगेका छन् । आज बिहान तनहुँ, स्याङ्जा ,बागलुङ र नवलपुरका २५ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार प्रदेशमा हालसम्म दुई सङ्क्रमितको मृत्यु भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप