शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

युरोपमा कोरोनासंक्रमित बढ्न थालेपछि डब्लूएचओको चेतावनी

शुक्रबार, १२ असार २०७७, ०८ : ४४
शुक्रबार, १२ असार २०७७

लकडाउनका उपायहरु खुकुलो पार्न सुरु गरेपछि युरोपमा महिनौँपछि पहिलोपटक कोभिड–१९ का संक्रमितको संख्यामा तीव्र गतिमा वृद्धि हुन थालेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ । अर्मेनिया, स्वीडेन, मोल्डोभा लगायत ११ देशमा संक्रमणको गति अत्यधिक बढेको क्षेत्रीय निर्देशक डा. हान्स हेनरी क्लुगले जानकारी दिए ।

आफूले यसबारे पहिले नै जानकारी दिएको  र आफ्नो चेतावनीले मूर्त रुप पाएको उनले बताए ।

यसलाई वेवास्ता गरिए स्वास्थ्य क्षेत्र अत्यधिक धराशयी हुनेसमेत उनले चेतावनी दिए ।

विश्व स्वास्थ्य संगठनको युरोपेली क्षेत्रमा मात्रै २० लाख ६० हजार कोभिड–१९ का संक्रमित छन् भने यहाँ १ लाख ९५ हजारको मृत्यु भइसकेको छ । यसमा ५४ देश, सात युरोपेली क्षेत्र, मध्य पूर्व र मध्य एसिया रहेका छन् ।

दैनिक करिब २० हजार नयाँ संक्रमित थपिएका छन् भने सात सयको मृत्यु भइरहेको छ ।

‘मैले पछिल्लो थुप्रै हप्तादेखि कोरोनाको संक्रमण पुनः फैलन सक्ने बारे कुरा गरिरहेको थिएँ,’ डा. क्लुगले भर्चुअल पत्रकार सम्मेलनमा बिहिबार भने ।

‘युरोपका थुप्रै देशमा यस्तो खतरा वास्तविकतामा परिणत भइसकेको छ । पछिल्लो दुई हप्तामा ३० देशमा संक्रमितको संख्यामा ह्वात्तै वृद्धि भएको छ ।’

‘तीमध्ये ११ देशमा संक्रमितको संख्या यति तीब्र गतिले बढिरहेको छ कि यसमा ध्यान नदिए त्यहाँका स्वास्थ्य क्षेत्र पुनः अत्यन्त धराशायी बन्नेछन् ।’

विश्व स्वास्थ्य संगठनका अनुसार ती ११ देश र क्षेत्रको पहिचान अर्मेनिया, स्विडेन, मोल्डोभा, उत्तर मेसेडोनिया, अजरबैजान, काजकस्तान, अल्बानिया, बोस्निा हर्जगोभिना, किर्गिस्तान, युक्रेन र कोसोभोको रुपमा भएको छ ।

डा. क्लुगका अनुसार पोल्याण्ड, जर्मनी, स्पेन र इजराइलले स्कूल, कोइला खानी र खाद्य सामग्री उत्पादनमार्फत् हुने यसको बढ्दो जोखिमलाई मध्यनजर गर्दै तत्काल उचित कदम उठाएका कारण यहाँ संक्रमण नियन्त्रणमा छ ।

संक्रमण पुनः बढ्ने चेतावनी दिएतापनि विश्व स्वास्थ्य संगठनले गर्मीयाममा थुप्रै देशमा स्थिती साम्य हुने अनुमान गरेको थियो ।

‘तर हामीले चिसो मौसमका लागि योजना बनाउनुपर्छ किनभने कोभिड–१९ मौसमी इन्फ्लूएन्जा, निमोनियालगायतका अन्य रोगसँग पनि मिल्न सक्छ किनभने भाइरस अहिले पनि सक्रिय रुपमा हाम्रो समुदायमा फैलिरहेको छ र यसको कुनै प्रभावकारी उपचार र हालसम्म कुनै खोप बन्न सकेको छैन ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप