शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अर्बौं पाउने लोभमा प्रहरीले नै गुमाए २० लाख !

सहसचिवलाई १० तोला सुन परेको भन्दै म्यासेज आएपछि...
शुक्रबार, १२ असार २०७७, ०० : २२
शुक्रबार, १२ असार २०७७

इलाका प्रहरी कार्यालय, बुटवलमा कार्यरत प्रहरी जवान सुभाष थारु सामाजिक सञ्जाल भाइबरमार्फत ठगिन पुगेका छन् । भाइबरमा आएको भिडियो कलको विश्वासमा परेर उनी २० लाख ४६ हजार ६ सय रुपैयाँ ठगिएका हुन् ।

जेठ १ गते पैसा–पैसाको बिटो देखाउँदै भाइबरमा एउटा भिडियो आयो । भिडियोमा भनिएको थियो, ‘यो जुन पैसा देखाइएको छ, यो तपाईंको पैसा हो ।’ अर्बौं पाउने लोभमा थारुको ती अपरिचित व्यक्तिसँग कुरा हुन थाल्यो ।

रातोपाटीलाई प्राप्त भिडियोमा अन्जना जोशीको नाम लिइएको छ । प्रहरीका अनुसार यही भिडियो ज–जसलाई पठाउनुपर्ने त्यही व्यक्तिको नाम भन्दै पठाइएको छ । यही भिडियो थारुलाई पनि पठाइएको प्रहरीको दावी छ ।

भिडियोमा १ हजारको बिटैबिटा देख्न सकिन्छ । पैसा नै पैसा देखेपछि थारु खुसी हुन्छन् । भन्सारमा यो पैसा रोकिएको भन्दै भाइबरमार्फत सुरुमा १० लाख पैसा मागियो । बैंक खातामा डिपोजिट गर्न भनियो ।

थारुले ६ जेठमा आफूसँग बैंक खातामा भएको ४ लाख २७ हजार निकालेर नविन भण्डारीको नाममा डिपोजिट गरे । थारुले भाइबरमार्फत पैसा डिपोजिट गरेको स्लिप पठाए । यतिले नपुग्ने भन्दै थारुलाई म्यासेज आयो ।

श्रीमतीको बैंक खातामा रहेको ३ लाख ३ हजार पनि निकालेर पुकार बर्माको नाममा डिपोजिट गरे । अर्बौंको लोभमा त्यसरी नै थारुले श्रीमतीको गरगहना र जग्गा समेत बैंकमा धरौटी राखेर २० लाखभन्दा बढी नगद अपरिचित व्यक्तिको खातामा डिपोजिट गरिरहे ।

ती अपरिचित व्यक्तिले थारुसँग थप पैसा मागे । थारुले अब माग्ने ठाउँ कतै नभएको बताएपछि ती अपरिचित व्यक्तिले भाइबरबाट ब्लक गर्दिए । २, ३ दिनसम्म सम्पर्क नभएपछि थारुले आफू ठगिएको थाहा पाए ।

झन्डै रोजे ‘आत्महत्या’को बाटो

श्रीमतीको गरगहना र जग्गा धरौटीमा राखेर २० लाखभन्दा बढी ठगिएको थाहा पाएपछि थारुले आत्महत्याको बाटो रोज्न खोजेका सँगै काम गर्ने एक प्रहरी जवानले रातोपाटीलाई बताए ।

उनले भने, ‘२० लाखभन्दा ठगिएपछि उनले मर्नुको विकल्प नभएको भन्दै आत्महत्याको बाटो रोज्न खोजे । तर, मैले आत्महत्या गर्नु हुँदैन, बरु घटनाबारे जाहेरी दिन आग्रह गरे ।’

त्यसपछि थारुले आफू कार्यरत प्रहरीमा जाहेरी दिए । प्रहरीमा जाहेरी दिएसँगै घटनामा संलग्न २ जनालाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नविन भण्डारी र पुकार बर्मा रहेको महाशाखाका प्रमुख एसएसपी दीपक थापाले बताए ।

सहसचिवलाई १० तोला सुन परेको भन्दै म्यासेज आएपछि...

नेपाल सरकारका सहसचिव लक्ष्मी शर्मा गौतम पनि सामाजिक सञ्जाल भाइबरमार्फत ठगिन पुगेकी छन् । २७ जेठमा गौतमको भाइबरमा ९८२९२४९५०८ नम्बरबाट चिठ्ठा र १० तोला सुन परेको भन्दै म्यासेज आयो ।

गौतमले तत्कालै जवाफ लेखिन्, ‘धन्यवाद’ । गौतमलाई नागरिकताको फोटोकपी पठाउनुस्, भन्दै बैंकको खाता नम्बर समेत मागियो । सहसचिवले गौतमले अर्बौं पाउने लोभमा खाता नम्बर पठाइन् ।

श्रीमान त्रिभुवन युनिभर्सिटीका प्रोफेसर हुन् । श्रीमानलाई समेत चिठ्ठा परेको खबर समेत उनले लुकाइन् । उनी चिठ्ठा र १० लाख परेको सुनेपछि खुसी थिइन् । सन्देश पठाउनेसँग उनको कुराकानी भइरह्यो ।

सबै कुराकानी भइसकेपछि सोे पैसा प्राप्त गर्न केही कर पठाइदिन भनेपछि गौतमले विश्वास गरी आइएमइमार्फत ६० हजार पठाइदिइन् । उक्त पैसा वीरगञ्जबाट कृष्ण प्रसाद साहले निकाले ।

चिठ्ठामा जितेको रकम पाउन प्रोसेसिङ चार्ज नपुगेको भन्दै उनलाई भाइबरमार्फत थप ९० हजार मागियो । अपरिचित व्यक्तिले दोस्रोपटक एनआईसी एसिया बैंकको खातामा डिपोजिट गर्न भने ।

फेरि पैसा पठाउन भनेपछि उनी दोधारमा परिन् । घटनाबारे विदेशमा रहेकी छोरीलाई तत्कालै सुनाइन् । उनले छोरीलाई सो कुरा बताएपछि आफू ठगिएको थाहा पाइन् ।

छोरीले पैसा नपठाउन आग्रह गरे । पहिला आफू ठगिएको थाहा पाएपछि जेठ ३० गते गौतमले श्रीमानलाई लिएर महानगरीय अपराध महाशाखा टेकु पुगिन् । घटनाबारे अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापालाई सुनाए ।

त्यसपछि गौतमले कुरा गर्दै आएको भाइबरमा प्रहरीले कुरा गर्न थाल्यो । ती अपरिचित व्यक्तिले छिटोभन्दा छिटो ९० हजार पठाउन भनिरहे । अपराध महाशाखाले तत्कालै एनआईसी बैंकलाई घटनाबारे जानकारी गरायो ।

एसएसपी थापाले भने, ‘बैंकलाई पैसा रोक्का गर्दिन भनिसकेका थियौं । र, रिक्स लिएर हामी आफैंले ९० हजार डिपोजिट गरेपछि पीडितको भेषमा कुरा गर्यौं ।’

गौतमको भाइबरमा फेरि म्यासेज आयो, ‘९० हजार डिपोजिट भएको थाहा पाएँ, थप एक लाख पनि पठाउनु ।’ पीडितको भेषमा कुरा गरेको प्रहरीले हुन्छ भने ।

असार ७ गते बिहान कृष्ण साह ९० हजार निकाल्न वीरगञ्ज नगरपालिका–२९ स्थित मुसैली टोलमा रहेको एनआईसी एसिया बैंक पुगे । 

६० हजार निकाल्दा कृष्ण साहले आईएमईमा आफ्नो नागरिकताको फोटोकपी पेश गरेकाबारे प्रहरी पहिले नै जानकार थियो । बिहान ११ बजेतिर बैंक पुगेका कृष्णलाई प्रहरीले नियन्त्रणमा लियो ।

आइएमईबाट ६० हजार निकाल्ने कृष्णलाई वीरगञ्जबाट र  घटनामा प्रत्यक्ष संलग्न रहेका उनका साथी सुनील साहलाई बाराबाट पक्राउ गरिएको अपराध महाशाखाका प्रमुख थापाले बताए ।

त्यस्तै कञ्चना भण्डारीलाई ९८२९२५४६३७ नम्बरबाट भाइबरमा १० लाख परेको भन्दै म्यासेज आयो । उनलाई पनि सुरुमा ६५ हजार मागियो । आइएमईमार्फत पैसा पठाइन् । कञ्चनालाई पनि कृष्ण साहले नै भाइबरमा १० लाख परेको भन्दै म्यासेज पठाएका थिए ।

यसरी नै नेपाल आर्मीका एक जवान पनि २५ लाख ५५ हजारसहित ठगिएको एसएसपी थापाले बताए । उनले भने, ‘घटनामा संलग्नको खोजीकार्य भइरहेको छ ।’

यसरी नै बुधबार मात्रै एक बैंकको निवर्तमान म्यानेजरको फेसबुक आईडी ह्याक गरेर पैसा मागिएको अपराध महाशाखाका एसपी होविन्द्र बोगटीले बताए । घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।

३५ वर्षदेखि ६० वर्षसम्मका महिला बढी इमो, भाइबरबाट ठगिएको एसपी बोगटीको भनाइ छ । उनी भन्छन्, ‘अन्योन नम्बरमा आएको फोन र म्यासेजको रिप्लाई नगर्नुहोला ।’

सामाजिक संजालहरु प्रयोग गरी ‘लाखौं रकम ठगी गर्ने गिरोह’

अपराध महाशाखाले भाइबर ह्वाट्सएप र इमोमार्फत लाखौं रकम ठगी गर्ने गिरोहका ७ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाई जिल्ला अदालतबाट म्याथ थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

महानगरीय अपराध शाखा टेकुले   सोसल मिडियाहरूको दुरूपयोग गरी अनलाइनको माध्यमबाट रू.४० लाख  चिठ्ठा परेको छ भनी प्रलोभन पारी ठगी गरेको अभियोगमा पक्राउ परेकाहरुको नाम र तस्विर पनि सार्वजनिक गरेको छ ।

शाखाका अनुसार पक्राउ पर्नेहरुमा  निम्नानुसारका व्यक्तिहरु छन् :


१.    नामः पुकार बर्मा, २४ वर्ष । ठेगानाः जि.झापा,भद्रपुर न.पा. हाल का.जि.का.म.न.पा.वडा नं.२१ कोहिटी
 २.    नामः नविन भण्डारी, २२ वर्ष । ठेगानाः जि.काभ्रे, सिम्थली गा.वि.स.वडा नं.०२ हाल का.जि.टेकु
३.    नामः आकास अग्रवाल, १९ वर्ष । ठेगानाः जि.रौतहट, गौर न.पा.वडा नं.१ हाल का.जि.छाउनी
४.    नामः एमडी सर्फराज, २२ वर्ष । ठेगानाः सेनवरिया, पश्चिमी चम्पारण विहार, भारत, हाल का.जि.टंकेश्वर
५.    नामः एस अग्रवाल, १८ वर्ष । ठेगानाः जि.रौतहट, गौर न.पा.वडा नं.१ हाल का.जि.छाउनी
६.    नामः कृष्ण प्रसाद साह, ३० वर्ष।  ठेगानाः जि.पर्सा, विरगंज म.न.पा.वडा नं.२९
७.    नामः सुनिल साह, २० वर्ष । ठेगानाः जि.पर्सा, विरगंज म.न.पा.वडा नं.३२

नेपाल सरकारका उच्च पदस्त अधिकृत लगायत सर्वसाधारण व्यक्तिहरू समेतबाट करोडौं रकम ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोेगमा उनीहरुलाई नगद सहित  अपराध महाशाखाको विशेष अनुसन्धान टोलीले उपत्यकाका विभिन्न स्थानहरूबाट पक्राउ गरेको हो । हाल आवश्यक अनुसन्धानको लागि उनीहरुलाई महानगरिय प्रहरी परिसर, काठमाण्डौ पठाइएको जनाइएको छ।

Title Photo: https://economictimes.indiatimes.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप