बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा स्थायी समिति बैठक : रणनीति बनाउन दुवै पक्ष गृहकार्यमा व्यस्त

कमजोरी स्वीकार गर्दैनन् ओली
बिहीबार, ११ असार २०७७, १४ : ०३
बिहीबार, ११ असार २०७७

काठमाडौँ । ‘चुनावी घोषणापत्रअनुसार आधारभूत रूपमा देश र जनताको हितका लागि सरकारले अधिकतम प्रयासका साथ काम गरिरहेको छ । तर सरकारले गरेको राम्रा कामको पार्टीभित्रैबाट प्रतिरक्षा हुन सकेन, यो मैले बोल्नै पर्छ’, बुधबारबाट जारी नेकपाको पाँचौँ स्थायी समिति बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीले गरेको सम्बोधनको एक अंश हो यो । 

प्रधानमन्त्री ओलीकोे यो भनाइबाट सरकारले धेरै राम्रा काम गरेको तर पार्टी नेताहरुबाटै राम्रा कामको समेत प्रशंसा नभएको र असहयोग भएको प्रस्ट सङ्केत गरे । ओली प्रधानमन्त्री मात्रै होइनन् उनी सत्तारुढ दल नेकपाका अध्यक्ष पनि हुन् । हुन त दुई अध्यक्ष रहेको नेकपामा एकले पार्टी र अर्कोले सरकार सञ्चालनको नेतृत्व गर्ने सहमति नभएको पनि होइन् तर त्यो सहमति व्यवहारमा कार्यान्वयन भएन । यसमा ओलीलाई कुनै पछुतो छैन । बरु आफूले गरेका कामलाई अरूले आँखा चिम्लेर सहयोग र समर्थन नगरेकोमा भने उनमा ठूलै गुनासो रहेको अन्यबेला मात्रै होइन पार्टी बैठकमै पोखिएको छ । 

ओलीको यस्तो गुनासो सुनेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि ओलीलाई जवाफी शैलीमा आफूले पनि आलोपालो सरकारको नेतृत्व गर्ने कुरा छाडेर गल्ती महसुस हुन थालेको बताए बैठकमा । 

‘मैले आफैँले सरकार आलोपालो नगर्ने हो भने पार्टी एउटा र सरकार एउटा अध्यक्षले चलाएर जाऔँ भनेको हो । म आफैँले छोडेको हो । म अचेलभरि फर्केर यसो गमेर सोच्दा त्यति बेला त्यो गल्ती गरेछु जस्तो फिल भइरहेको छ । मिस्टेक गरेछु भन्ने लागेको छ,’ प्रचण्डको भनाइ थियो । 

नेकपाका दुई अध्यक्ष ओली र प्रचण्डका यी भनाइबाट एकले अर्कोलाई सहयोग नगरेको भन्ने प्रस्टै बुझिन्छ तर किन ? यसका केही कारणहरु छन् । सो पार्टीका नेताहरुका अनुसार दुई अध्यक्ष जसले समग्र पार्टी, सरकार र नेता कार्यकर्तालाई एकढिक्का बनाएर लैजानुपर्नेमा आफैँ गुनासो गर्दै हिँड्नुमा मुख्य कमजोरी उनीहरुमै छ । तर सरकार र पार्टी दुवैको नेतृत्व गरेकाले त्यसको धेरै जिम्मा ओलीले लिनुपर्ने मत बलियो बन्दै गएको छ ।  

ओलीलाई सहयोग नभएकै हो ? 
प्रधानमन्त्री समेत रहेका ओलीले स्थायी कमिटी बैठकमा जेजति गुनासो गरे त्यो केही हदसम्म सत्य नजिक थियो । तर आफ्नै पार्टी नेतृत्वको सरकारले सहयोग नपाउनु र नदिनुमा अरू बाह्य कुनै कारण छैन, त्यसको एउटै मात्र कारण हो ओलीको एक्लै हिँड्ने चाहना । 


‘उहाँले आफ्नै पार्टी र नेताले सहयोग गरेन भन्नुभयो, त्यो उहाँले भन्ने कुरा हो । तर उहाँले पार्टीको सहयोग नै लिन उचित नठानेपछि पार्टी र नेताले कसरी सहयोग गर्छन् र ?’, स्थायी समिति सदस्य अष्टलक्ष्मी शक्यको प्रश्न छ । उनका अनुसार पार्टी नेताहरुले सरकार र प्रधानमन्त्रीलाई सहयोग गर्ने वातावरण नै बनेन, जसका कारण चाहना हुँदाहुँदै पनि केही गर्न सकिएन । शाक्य भन्छिन्, ‘पार्टी र नेताको सहयोग पाउन समयमा पार्टी बैठक राख्नुपर्यो, छलफल गर्नुपर्यो, कमीकमजोरीको स्वस्थ आलोचना गर्ने वातावरण बन्नुपर्यो । त्यसपछि सहयोग भएन भने भन्न मिल्छ ।’

कमजोरी स्वीकार गर्दैनन् ओली
ओलीले सरकारको नेतृत्व गरेको साढे दुई वर्ष हुन लागेको छ । यो बीचमा धेरै भ्रष्टाचारका मुद्दा उठे । दर्जनौँ नियुक्ति भए, केही विवादित पनि बने । तर ओलीले त्यसबारेमा कहिल्यै आफ्नो कमजोरी भएको भनेर स्वीकार गरेनन् । बरु उल्टै राम्रो काम गरिरहे पनि नेताहरुले धेराबन्दी गरेर आफूलाई सरकारबाट हटाउन खोजेको र पार्टी नै फुटाउन खोजेको आरोप लगाए । ‘वैचारिक सङ्घर्ष नै हुन सकेन । आलोचना गर्नै नहुने, यदि कसैले आलोचना गर्यो भने त्यसलाई भित्तामा पुर्याउने खालको व्यवहारले गाह्रो भएको हो’, शाक्यको अनुभव छ ।

गल्ती आफूबाट पनि भएको छ भन्ने अध्यक्ष ओलीबाट स्वीकार नभएसम्म समस्या रहिरहने उनको बुझाइ छ । ‘कमजोरी सबैले स्वीकार गर्नुपर्छ अनि मात्रै सच्चिने ठाउँ हुन्छ र सच्चिन्छ । उहाँ आफै पार्टीसँग सहयोग लिन चाहनुहुन्न । परपर सर्नुहुन्छ । गुट चलाए भनेर अरूलाई भन्ने तर आफै गुट चलाउने गर्नुभएको छ । यदि पार्टीसँग सहयोग लिन चाहाने हो भने त समयमा पार्टी बैठकहरु बोलाइदिएको भने उहाँलाई सल्लाह र सुझाव सबैले नदिएर सुखै पाउँदैनथिए’, नेतृ शाक्यको ठहर छ । 
शाक्यले भनेजस्तै ओलीको विगतको व्यवहार पनि त्यस्तै देखिएको छ । बैठक नै नराख्ने, आफूअनुकुल निर्णय नआउने जस्तो देखे विभिन्न बहाना बनाएर टार्ने प्रवृत्ति ओलीमा देखिँदै आएको छ । 

दुवै पक्ष रणनीति बनाउन व्यस्त 
बुधबारको बैठकले स्थायी कमिटीमा छलफल गर्ने सातवटा एजेन्डा तय गरेको छ । सुरुमा ५ वटा एजेन्डा तय गरिए पनि सदस्यहरुले थप दुई एजेन्डा कार्यसूचीमा राख्न दबाब दिएपछि दुई एजेन्डा थपिएका छन् । तीमध्ये अध्यक्षद्वयको मन्तव्य, कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचार, नेपालको सीमा समस्या र समाधान, सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र सङ्गठनात्मक एकताका बाँकी कामहरू सम्पन्न गर्ने सम्बन्धमा, एमसीसीका सम्बन्धमा र विविध छन् ।

विविधमा रूकुम चौरजहारी घटना, नागरिकता विधेयक र सङ्घ र प्रदेश सभाका सदस्यहरूको बैठक भत्ता कटौती रहेका छन् । यीनै एजेन्डाका आधारमा सदस्यहरुले शुक्रबारको बैठकमा आफ्ना धारणा खुलेर राख्ने तयारी गरेका छन् । त्यसका लागि ओलीपक्षधर र प्रचण्ड माधव नेपाल पक्षका नेताहरु आ आफ्नै रणनीति बनाउन व्यस्त बनेका छन् । प्रचण्ड नेपाल पक्षका केही नेताहरु बिहीबार बिहानै प्रचण्ड निवास खुमलटारमा पुगेर छलफल गरेका छन् भने ओलीपक्षधर केही नेताहरु बालुुवाटार पुगेर छलफल गरेका छन् । खासगरी ओली पक्षधरले सरकारको समर्थन र बचाउमा आफ्ना धारणा राख्ने तयारी गरेका छन् भने अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर नेताहरुले सरकारको कार्यशैलीको आलोचना गर्ने तयारी गरेका छन् । 

सरकारका कामकारवाहीप्रति अधिकांश स्थायी समिति सदस्य सन्तुष्ट छैनन् । यस्तो अवस्थामा उनीहरुका धारणा पनि त्यसैमा केन्द्रित हुनेछन् । ‘कोरोना मात्रै होइन पार्टीभित्र र सरकारभित्र धेरै बेथिति छन् । देश भ्रष्टाचारमा चुर्लुम्म डुबेको कुरा आइरहेको छ । हामी त्यसको जवाफ माग्छौँ’, शाक्यको भनाइ छ । त्यस्तै विभिन्न ठाउँका नियुक्तिका विषयमा पनि उनीहरुले कुरा उठाउने तयारी गरेका छन् । ‘यति धेरै नियुक्तिहरु भएका छन् । ती नियुक्तिहरु कोसँग सल्लाह गरेर भएको हो ? कुन प्रक्रियाबाट भयो केही थाहा छैन । त्यसको जवाफ आउनुपर्छ हामी खोेज्छौँ’, शाक्यको भनाइ छ । 

ओलीपक्षधर भनेर चिनिएका स्थायी समिति सदस्य सत्यनारायण मण्डल सरकारलाई चारैतिरबाट घेरिएको दाबी गर्छन् । 

‘सरकारलाई चारैतिरबाट घेरिएको छ । सरकारले सबै काम नराम्रो नै गरेको छ भन्ने होइन तर राम्रो कामलाई त राम्रो भन्न सक्नुपर्छ । हामी राम्रोलाई राम्रो नै भन्छौँ’, उनले रातोपाटीसँग भने, ‘नागरिक समाज, प्रमुख प्रतिपक्ष र सञ्चारकर्मीले आलोचना गर्नुसम्म ठिकै छ तर पार्टीभित्रैबाट समाप्त भयो, खत्तम भयो भन्नुलाई त जायज मान्न सकिँदैन ।’ उनले पार्टीभित्र त्यति धेरै र ठूला नेताहरु भए पनि पार्टीभित्र छलफल नगरे आफै विधान उल्लङ्घन गरिरहेको आरोप लगाए । ‘आफूले विधान उल्लङ्घन गरेको थाहा छैन, अरूले सानो कमा, फुलिस्टप मेन्टेन भएन भनेर जथाभावी कुरा गरेर हुँदैन । यस्तो प्रवृत्तिको हामी खुलेर विरोध गर्छौं ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप