बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्षका उम्मेदवार गुरुङ भन्छन् : अब पुराना ढर्राबाट सङ्घ चल्दैन

मङ्गलबार, ०६ असार २०७४, ११ : १०
मङ्गलबार, ०६ असार २०७४

वैदेशिक रोजगार व्यवसायीमाझ रोहन गुरुङ परिचित नाम हो । अध्ययन र वैदेशिक रोजगारीकै सिलसिलामा लामो समय जापान बसेर फर्किएका गुरुङ विगत ११ वर्षदेखि वैदेशिक रोजगार व्यवसायीका रुपमा परिचित छन् । करिब १० वर्ष अध्ययन र वैदेशिक रोजगारीमा समय विताएर फर्किएका उनी विदेशी भूमिमा नेपाली कामदारको अवस्था, उनीहरुका समस्या देखेपछि त्यसको अन्त्य गर्दै मुलुकमा रोजगार व्यवसायलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने परिकल्पनाका साथ यो क्षेत्रमा आबद्ध भएका हुन् । काठमाडौँको बसुन्धारमा टप जब्स प्रालि नामको म्यानपावर कम्पनी सञ्चालन गरिरहेका गुरुङ यही सिलिसिलामा वैदेशिक रोजगार व्यवसायी सङ्घमा आबद्ध भएका थिए । वैदेशिक रोजगार व्यवसायी तमुधीको अध्यक्षसमेत भइसकेका उनी अहिले वैदेशिक रोजगार व्यवसायी सङ्घको महासचिव छन् । कामप्रति जवाफदेही, इमानदारिता र मिहिनेतलाई विश्वास गर्ने युवा व्यवसायी गुरुङले यो कार्यकालमा निक्कै प्रशंसासमेत पाएका छन् । व्यवसायी र कामदारका पक्षमा खरो रुपमा वकालत गर्ने उनी सङ्घको आगामी अधिवेशनमा अध्यक्षको प्रत्यासी बनेका छन् । रोजगार व्यवसायीमाझ कुशल छवि बनाएका गुरुङ अध्यक्षको उम्मेदवार भएपछि उनले यस क्षेत्रको विकास तथा व्यवस्थापनमा पक्षमा केही धारणा पनि सार्वजनिक गरेका छन् । आफूलाई आगामी कार्यकालका लागि अध्यक्षको मैदानमा प्रस्तुत गरेपछि गुरुङसँग रातोपाटीका किरण ढकालले यसरी कुराकानी गरेका छन् :

सङ्घको भावी अध्यक्ष पदका लागि उम्मेदवारी प्रस्तुत गर्नुभएको छ, तपाईंको उम्मेदवारी किन ?


म विगत ११ वर्षदेखि यो व्यवसायमा आबद्ध छु । यतिका वर्ष वैदेशिक रोजगार क्षेत्रमा आबद्ध हुँदा यो क्षेत्रमा कसरी अघि बढिरहेको छ भन्ने राम्रोसँग ज्ञान हासिल भएको छ । मैले यो कार्यकालमा सङ्घको महासचिव भएर काम गर्दा पनि थुप्रै कुरा बुझेको, भोगेको छु । अहिले मैले जुन जिम्मेवारी लिइरहेको छु, त्यसमा रहँदा कामदार र व्यवसायीबीचका समस्यामा सहजकर्ताको भूमिका निर्वाह गर्ने, नीतिगत समस्यालाई सामाधान गर्न पहल गर्ने, सरकारी पक्षसँग वार्ता, गोष्ठीमा सहभागी हुँदै वैदेशिक रोजगार क्षेत्रको समग्र विकासमा कसरी अघि बढ्न सकिन्छ भन्नेमा विचार विमर्श गर्ने काम गरेको छु । यी कामहरु गरिरहँदा मैले सङ्घलाई थप मजबुत बनाउनुपर्ने, सचिवालयदेखि सङ्घ सञ्चालनको सिस्टम र सम्पूर्ण व्यवसायीलाई एकीकृत गर्ने रणनीतिक योजना बनाउनुपर्ने आवश्यकता महसुस गरेँ । अर्को कुरा सङ्घ अब पुराना ढर्राबाट चल्दैन भन्ने सबैको बुझाइ भइसकेको छ । सङ्घले अब नयाँ र गतिशील कार्यक्रम लिएर व्यवसायी र कामदारको हितमा अघि बढ्न सकिएन भने त्यसको अर्थ रहँदैन । यसैले पनि मैले यी सबै काम गर्न म योग्य छु, सक्षम छु र सबैको साथ समर्थन पाउँछु भनेर उम्मेदवारी दिएको हो । 

अध्यक्षको उम्मेदवार भइरहँदा तपार्इंका प्रमुख प्राथमिकताका एजेन्डा के हुन् ?


पहिलो कुरा त मैले निर्वाचित भएपछि व्यवसायीहरुबीच एकता र भाइचारको अवस्था सृजना गर्दै सङ्घमा सबैको प्रतिनिधित्व हुने गरी काम गर्ने योजनामा छु । अर्को कुरा अहिले पनि कतिपय नीतिगत समस्याले गर्दा कामदार–व्यवसायीले थुप्रै अफ्ट्यारो बेहोर्नु परेको छ । त्यसको अन्त्य गर्ने हो । अर्को अहिले हाम्रो रोजगारीको अवस्था खाडी र मलेसियामा मात्र केन्द्रित छ, त्यसलाई आकर्षक गन्तव्य मुलुकमा विस्तार गर्ने, नयाँ गन्तव्य मुलुक खोजी गर्ने र भएका मुलुकमा कसरी राम्रो भन्दाराम्रो काममा कामदार पठाउन सकिन्छ भनेर योजनाबद्ध रुपमा अध्ययन मेरो योजना हो । सधैँ सरकारको मात्र मुख ताक्ने प्रवृत्तिको अन्त्य गरेर व्यवसायीलाई रिक्रुट सिस्टममा व्यवस्थित बनाउन पहल गर्ने, व्यवसायी भलाई कोष स्थापना गर्ने, वैदेशिक रोजगार जीवनबीमा व्यवस्थापन गर्ने, मेडिकल, ओरेन्टेसनमा सङ्घले पहल कदमी लिएर तिनको व्यवस्थापन गर्ने सोच बनाएको छु । सङ्घीय संरचनामा सङ्घको विकास, सुरक्षित वैदेशिक रोजगारीका लागि नेतृत्वदायी भूमिका निवार्ह गर्ने जस्ता कामकै लागि मैले अबको नेतृत्वको दाबी गरेको हुँ ।

सधैँभरि सङ्घले व्यवसायीको मात्रै मुद्दा उठाउँछ, कामदारको उठाउँदैन भन्ने आरोप छ, तपाईंले यसलाई कसरी लिनुभएको छ ?


म आफू पनि लामो समय वैदेशिक रोजगारीका सिलिसिलामा काम गरेर स्वदेश फर्किएको मानिस हुँ । अहिले म अरुलाई रोजगारीमा पठाउने काम गरिहरेको छु । त्यसैले जब कामदार सक्षम भएनन् भने हाम्रो कुनै केही चल्दैन । हामीले व्यवसायीका मुद्दा जति उठाउँछौँ, त्यति नै कामदारका पक्षमा पनि जोडदार आवाज उठाउनुपर्छ । जतिसक्दो कामदारलाई राम्रो काम र पारिश्रमिक मात्र होइन, उनीहरुको सुरक्षा, सामाजिक जीवन र भोगाइलाई समेत आत्मसाथ गर्न सक्ने बनाउनुपर्छ । यही भएर यी विषयमा राज्य पक्षसँग बलियो धारणा बनाएर अघि बढ्न सङ्घमा सक्षम नेतृत्वको खाँचो परिरहेको छ । सङ्घले हरेक प्रदेशमा आफ्ना शाखा स्थापना गरेर व्यवसायी र कामदारको वृहत्तर हितमा काम गर्नुपर्छ, सुरक्षित वैदेशिक रोजगारीका पक्षमा जनचेलना फैलाउनुपर्छ भन्ने मेरो एजेन्डा हो । अहिलेसम्म सङ्घको नेतृत्व पुराना व्यक्तिको एउटा झुण्डले गरिरह्यो । त्यसले गर्दा युगान्तकारी परिवर्तनसहित सङ्घले आधुनिक जमाना अनुसार काम गर्न सकिरहेको छैन । यसले गर्दा अबको नेतृत्व प्रविधि, सञ्चार र युगअनुसार आकर्षक गन्तव्य मुलुकमा सक्षम र दक्ष कामदारलाई रोजगारीमा पठाउन उत्प्रेरित गर्ने खालको हुनुपर्छ भनेर मैले आफूलाई अघि बढाएको हुँ । 

वैदेशिक रोजगार व्यवसायीबीच एकता छैन भन्ने आरोप सधैँ लाग्ने गरेको छ नि ?


हो, यो आरोप सत्य हो । सङ्घको नेतृत्व अघि पनि मैले भने पुराना व्यक्तिको झुण्डले चलाएका छन् । उनीहरुको तजबिजमा सङ्घका गतिविधिहरु अघि बढ्छन् । उनीहरुको पक्षमा काम भएन, अलिकति अघि बढेर सबैको पक्षमा आम नागरिकले पनि यो क्षेत्रलाई राम्रोसँग हेरुन् भन्ने उद्देश्यले काम गर्यो भने त्यहाँ खुट्टा तान्ने काम सुरु भइहाल्छ । यसैले यी सबैलाई निरुत्साहित गर्न सबै व्यवसायीको साथ लिएर सङ्घलाई एउटा नमुनाका रुपमा स्थापित गर्न म सक्षम छु भनेर नै उम्मेदवारी दिएको हुँ । 


सबैलाई अटाएर लैजाने भन्नुभयो, त्यो कसरी सम्भव छ ?


म सबै व्यवसायीलाई व्यावसायिक मर्यादा, व्यावसायिक हित र कामदार–व्यवसायी दुवैको पक्षमा डटेर लड्ने गरी सङ्घको नयाँ संरचना विकास गर्ने सोचमा छु । यसमा सबै खालका व्यवसायीलाई समेट्ने मेरो सोच हो । जस्तो, राजनीतिक दलसँगको संवादको कुरामा होस् या सरकार पक्षसँगको संवादका कुरामा होस् । ती विषयमा जानकार र लामो समय यो क्षेत्रमा विताएका व्यक्तिहरुलाई सहभागिता गराएर समग्रमा यो क्षेत्रको दिगो विकास, व्यवसायको स्थायित्वका पक्षमा काम गर्नेछु । यस्तै, व्यवसायलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउन पनि उनीहरुको सहयोग लिने छु । यसका लागि विषयगत समितिहरु गठन गर्ने काम हुनेछ । जस्तो राजनीतिक संवादका लागि छुट्टै समिति, कूटनीतिक पहलका लागि छुट्टै समिति बनाइने छ । यसबाट सबैको प्रतिनिधित्व हुने गरी समावेशी ढङ्गले सबै व्यवसायीको आवाज बुलन्द हुनेमा विश्वस्त छु । सबैलाई जिम्मेवारी बाँडेर सङ्घको काम अघि बढाउने छु । 

तपाईंले अघि हामी मलेसिया र खाडीमा मात्र केन्द्रित भयौँ भन्नुभयो, अहिले खाडीमा आएको एउटा कूटनीतिक विवादले कतार एक्लो भएको छ । यो अवस्थामा नेपाली कामदारको अवस्था कस्तो होला ?


अत्यन्त महत्वपूर्ण विषय हो । खाडीमा आएको कूटनीतिक समस्याले गर्दा कतार एक्लो भएको छ । अरु राष्ट्रबाट आउने खाद्यन्यलगायतको प्रतिबन्ध, उडान र जलमार्ग बन्द हुँदा स्वाभाविक रुपमा असर परेको छ । तर, अहिले नै कतारमा रहेका नेपाली कामदारको रोजगारीमा समस्या आउँछ भन्न सकिने अवस्था छैन । यसमा हामी व्यवसायीले नजिकबाट हेरिरहेका छौँ । यो विषयमा सेप्टेम्बरसम्म केही भन्न सकिने अवस्था रहँदैन । युद्ध विमान र युद्ध सामग्री खरिदका कारण केही त्रास भएको छ । तर यो कूटनीतिक समस्यामा कतारलाई मात्र होइन, अरुलाई पनि असर पर्छ । अन्य राष्ट्रबाट ४० प्रतिशत खाद्यान्य कतार आउँथ्यो । त्यो कतारले खरिद नगरेपछि ती मुलुकहरुलाई पनि आर्थिक मन्दीको समस्या हुँदैन भन्न सकिन्न । तिनका पनि उद्योग धन्दा बन्द हुन्छन् । यद्यपि, कतारको समस्या सरकारले पनि बहुत चनाखो भएर समाधान खोज्न सक्नुपर्छ । व्यवसायीलाई पनि हामीले भनेका छौँ । तपाईंले पठाएका कामदारलाई कुनै समस्या भएको जानकारी आएमा सङ्घलाई भनिदिनु होला भनेर । यसबाट अहिले नै आत्तिनुपर्ने कारण केही छैन । जहाँसम्म श्रम स्वीकृति घटेको भन्ने कुरा छ, त्यो अहिले रमजानका कारण पनि घटेको हो । यसलाई एकतर्फी रुपमा लिनुपर्ने अवस्था छैन । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण ढकाल
किरण ढकाल

किरण ढकाल रातोपाटीका लागि आर्थिक क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप