बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आईपीएलका लागि एसिया कप स्थगित गर्न सकिन्न : पाकिस्तान क्रिकेट बोर्ड

बुधबार, १० असार २०७७, १३ : ०४
बुधबार, १० असार २०७७

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले इन्डियन प्रियिमर लिग (आईपीएल) का लागि एसिया कपलाई स्थगित गर्न नसकिने बताएको छ । एसिया कपलाई पाकिस्तानको साटो यूइई वा श्रीलंकामा गर्न सकिने बताउँदै पीसीबीका सीईओ वसिम खानले एसिया कपलाई रोकेर आईपीएलको लागि स्थान बनाउन नसकिने स्पष्ट पारेका हुन् ।

एसिया कप सेप्टेम्बरदेखि अक्टोबरमा हुने तय छ । यसको आयोजक पाकिस्तान रहेको छ । यता, भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले भारतीय टोली पाकिस्तान नजाने यसअघि नै बताएको थियो । त्यही भएर पाकिस्तानले प्रतियोगितालाई श्रीलंका या युएई सार्ने तयारी गरेको हो ।

२९ मार्चदेखि हुने भनिएको आईपीएल यसअघि नै अनिश्चितकालका लागि स्थगित भइसेको छ । महामारीबीच एसिया कप र अक्टुबर–नोभेम्बरमा अस्ट्रेलियामा हुने भनिएको टी–२० विश्वकप पनि हुने या नहुनेमा अन्यौलमा रहेको छ । दुई मध्ये एक प्रतियोगिता रद्द भए बीसीसीआई त्यसको स्थानमा आईपीएल आयोजना गर्न चाहन्छ । यस विकल्पमा विचार भइरहेको छ ।

वसिम खानले भने एसिया कप जसरी पनि हुने बताए । ‘पाकिस्तानको टोली इंग्ल्याण्डको भ्रमण गरेर २ सेप्टेम्बरमा फर्कने छ । यसपछि हामी सेप्टेम्बरमा या अक्टोबरमा एसिया कप गर्न सक्नेछौँ । स्थितिलाई हेरेर श्रीलंकामा पनि यो प्रतियोगिता गर्न सकिनेछ । यूएई पनि आयोजक बन्न तयार छ ।’

उनले श्रीलंकासँग प्रतियोगिता साटफेरको प्रस्ताव राखेको पनि जानकारी दिए । श्रीलंकामा सन् २०२२ मा एसिया कप हुने तय छ । यस वर्ष टी–२० विश्वकप नभए त्यसको स्थानमा एसिया कप गर्न सकिने उनले बताए ।

एसिया कपमा कूल ६ टोली भाग लिनेछन् । यसमा भारत, पाकिस्तान, श्रीलंका, अफगानिस्ता र बंगलादेश रहेका छन् । छैटौँ टिमको फैसला क्वालिफायरबाट हुनेछ ।

सन् १९८४ मा पहिलो एसिया कप यूएईमा भएको थियो । यो प्रतियोगिता हरेक दुई वर्षमा आयोजना हुन्छ । सन् २०१८ को एसिया कप पनि यूएईमा खेलिएको थियो ।

यो प्रतियोगिता भारतले सर्वाधिक ७, श्रीलंकाले ५ र पाकिस्तानले दुई पटक जितेको छ । बंगलादेशले अहिलेसम्म यो उपाधि जित्न सकेको छैन ।

स्रोत : दैनिक भास्कर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप