मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सीआईएको समर्थन अर्थात् प्रतिक्रान्ति

शुक्रबार, २३ भदौ २०७४, ११ : ००
शुक्रबार, २३ भदौ २०७४

धेरैजसो मान्छे इस्लामिक अतिवादलाई केवल ड्रोन आक्रमण र अफगानिस्तानमा नेटोको कब्जाको स्वाभाविक प्रतिक्रियाका रूपमा बुझ्दछन् । यथार्थ धेरै फरक छ । वास्तवमा शीत युद्धका बेला साम्यवादविरुद्ध लड्न सीआईए (अमेरिकी गुप्तचर निकाय) र आईएसआई (पाकिस्तानी गुप्तचर निकाय) ले नियतवश इस्लामिक अतिवादको बीउ रोपेका हुन् । सत्य के हो भने आज पाकिस्तानमा जुन हत्या र विनास भइरहेका छ, त्यसको जिम्मेवार सीआईए र आईएसआई हुन् ।

अप्रिल १९७८ मा पिपुल्स डेमोक्रेटिक पार्टी अफ अफगानिस्तान (पीडीपीए) ले अफगानिस्तानमा समाजवादी क्रान्ति गर्यो । यो क्रान्तिकारी सरकारले निम्न सुधारहरू लागू गरे :

१. सन् १९७८ मा छैठौँ आदेशले गरिब किसानहरूको ऋणको मुद्दालाई सम्बोधन गर्यो । पीडीपीएले गिर्वी (जमिनदारलाई रकम तिरेर जमिनमा खेती गर्नु) व्यवस्थाको अन्त्य गर्यो र १९७४ अघिका गिर्वी व्यवस्थाअनुसार जमिन लिएका किसानले जमिनका कुनै व्याज तिर्नुनपर्ने निर्णय गर्यो ।

२. भूमिहीन किसान र मजदुरहरूको (जमिन नभएका वा पाँच एकड जमिनभन्दा कम जमिन भएका किसान मजदुर) सबै ऋण मिनाह गरियो । यो व्यवस्थाले अनुमानित ८१ ५ किसानहरूलाई फाइदा गर्यो ।

३. सन् १९७८ अक्टुबर १७ मा  पीडीपीएले वैवाहिक कानुनसम्बन्धी सातौँ आदेश जारी गर्यो । जसअनुसार विवाहका लागि महिलाहरूको उमेर न्यूनतम १६ वर्ष र पुरुषका लागि उमेर न्यूनतम १८ वर्ष हुनैपर्ने र विवाह गर्ने महिला पुरुष दुवैको सहमति अनिवार्य हुनैपर्ने बनाइयो । अझै अघि बढेर भन्ने हो भने ३०० अफगानी (अफगानिस्तानको मुद्रा) भन्दा बढी महर (विवाह गर्दा दुलहीको घरमा दिइने नगद) राख्न नपाइने कानुन बनाइयो । यी कानुनहरूले महिलालाई उपभोग्य वस्तु बनाउने चलनलाई निरुत्साहित गर्यो ।

४. सन् १९७९ मा पीडीपीएले १५ एकड जमिनको हदबन्दी लागायो र तत्काल लागू पनि गर्यो । यो व्यवस्थाले ४०० परिवारभन्दा कम परिवारको जमिनमा कटौती भयो तर देशको करिब आधा उब्जाउयुक्त जमिन पुनः वितरण भयो । पीडीपीएको क्रान्तिले सामन्तहरूको एकाधिकार तोडेको यो नियमबाट सहजै अनुमान लगाउन सकिन्छ ।

५. आठौँ आदेशले मिराब (पानीको व्यवस्थापक सामन्त हुने व्यवस्था) चलनको खारेज गरिदियो र पानी व्यवस्थापन किसान समितिहरूको मातहतमा ल्याइयो ।

६. १० वर्षमा मुलुकमा पूर्ण साक्षरताका लागि साक्षरता अभियान चलाइयो । शिक्षालाइ सर्वव्यापी, अनिवार्य र  सबै पुरुष महिलाहरूका लागि निःशुल्क बनाइयो । पाठ्यक्रमलाई आधुनिक बनाइयो र हजारौँ विद्यार्थी समूहलाई गाउँमा साक्षरता अभियानका लागि परिचालन गरियो । असाक्षरता विरुद्धको राष्ट्रिय आयोगले पहिलो ६ महिनामा ६ हजार सेनालाई शिक्षित बनायो ।

यो क्रान्तिले कबिला प्रमुखहरू र जमिन्दारहरूको स्वार्थ र रजाइमा ठूलो धक्का ल्यायो । आफ्नो गुमेको सम्पत्ति र रजाइँ जोगाउन यी समूहहरूले ‘इस्लाम खतरामा छ’ भन्ने नारा उछाले । यथार्थमा इस्लामलाई कुनै खतरा थिएन । खतरा थियो त केवल कबिलावाद र सामन्तवादलाई खतरा थियो । तर ‘इस्लाम खतरामा छ’ भन्ने नारा प्रतिक्रान्तिको नारा बन्न पुग्यो ।

सीआईएले यो प्रतिक्रान्तिलाई समर्थन गर्न सुरु गर्यो र सन् १९९० जुलाई ३ मा तत्कालीन अमिरिकी राष्ट्रपति जिम्मी कार्टरले ‘अपरेसन साइक्लोन’ नामको सीआईए कारवाही सुरु गरे, जो पछि सीआईएको इतिहासमा सबैभन्दा ठूलो अपरेसन हुन पुग्यो । अझै बढेर भन्ने हो भने यो सीआईए हस्तक्षेप अफगानिस्तानमा सोभियत हस्तक्षेप हुनुभन्दा ६ महिना पहिल्यै भएको थियो ।

सोभियत हस्तक्षेपलाई अफगानिस्तानको क्रान्तिकारी सरकारविरुद्धको सीआईएको आक्रमणको प्रतिक्रिया रूपमा तर्क गर्न सकिन्छ । तत्कालीन अमेरिकी राष्ट्रपतिका राष्ट्रिय सुरक्षा सल्लाहकार जिबिग्निउ बजिर्निस्की यसलाई खुला रूपमा स्वीकार्छन्, अफगानिस्तानमा अमिरिकी हस्तक्षेपको स्पष्ट उद्देश्य तत्कालीन सोभियत सङ्घलाइ लडाइँका लागि उत्तेजित गरी सोभियत सङ्घलाई अफगान युद्धमा फसाउने थियो ।

सुरक्षा सल्लाहकार बजिर्निस्कीले भनेका थिए– ‘आधिकारिक विवरणअनुसार मुजाहिद्दीनलाइ सीआईएको सहयोग सन् १९८० मा सुरु भएको थियो, अर्थात सन् १९७९ डिसेम्बर २४ मा अफगानिस्तानमा सोभियत सेनाको विस्तारपछि । तर अहिलेसम्म जे देखाइएको छ वा प्रचार गरिएको छ त्यसभन्दा निकै फरक छ यथार्थ ।
वास्तवमा राष्ट्रपति कार्टरले जुलाई ३, १९७९ मा सोभियत समर्थित काबुल सत्ताको विपक्षीलाई गोप्य सहयोग गर्ने निर्देशिकामा हस्ताक्षर गरेका थिए । त्यसै दिन मैल राष्ट्रपतिलाई पत्र लेखेको थिए, यो कदमले सोभियतलाई सैन्य हस्तक्षेप गर्न उक्साउनेछ– ‘त्यो गोप्य अपरेसन एक उत्कृष्ट अवधारणा थियो ।

यस अपरेसनले रुसलाई अफगानी पासोमा पार्यो, जुन दिन सोभियत आधिकारिक रूपमा अफगानी सीमा प्रवेश गर्यो त्यस दिन मैले, हामीले अमेरिकाको जस्तै  भियतनामी युद्धको नियति सोभियत सङ्घलाई दिने मौका पायौ भनेर राष्ट्रपति कार्टरलाइ लेखे ।’ (ले नौउएल अब्जर्बेटरमा दिएको अन्तर्वार्ता, पेरिस, १५–२१ जनवरी १९९८)
सीआईएका चुहिएका दस्तावेजले विना सङ्कोच र सन्देह संयुक्त राज्य अमेरिकाले त्यहाँको क्रान्तिकारी सरकारलाई ढाल्न, लडाइँ गराउन र अन्ततोगत्वा त्यस क्षेत्रमा प्रतिक्रान्तिको फैलाउन गरेको भनी प्रमाणित भएको छ ।

(पाकिस्तानको ‘द एक्सप्रेस ट्रिब्युन’बाट अन’वाद गरिएको)
अनुवाद : दिनेश पन्त
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. तैमुर रेहमान
डा. तैमुर रेहमान
लेखकबाट थप