बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

क्रसर उद्योगको आतङ्क, तर ललितपुरका सीडीओलाई थाहा छैन !

मङ्गलबार, ०६ असार २०७४, ११ : ०४
मङ्गलबार, ०६ असार २०७४

एसके लामा


काठमाडौँ– कुनै बेला उपत्यकाका ढुङ्गे धारा, साना–ठूला पोखरीमा पानी भर्न र उपत्यकाभरका खेतबारीमा सिंचाइका लागि समेत राजकुलो मार्फत टीकाभैरव नल्लु खोलाबाट पानी जान्थ्यो ।


बाह्रै महिना पानी सञ्चालन हुने राजकुलो बाह्रै महिना अवरुद्ध हुनुपरेको छ । यो अवस्था विगत १२ वर्षदेखि निरन्तर छ । यस विषयमा कसैले पनि चासो नदेखाएको स्थानीय कुमार नगरकोटीले बताए । राज्य यस विषयमा मौन बसेको उनको आरोप छ । साथै यस विषयसँग जोडिनेले समेत चुइँक्क बोलेका छैनन् ।
दक्षिण–पूर्वी दिशा हुँदै उत्तर–पश्चिमतर्फ बग्ने खोलामा दशकौँदेखि सङ्लो पानी बगेको देख्नसमेत मुस्किल छ । बगे धमिलो पानी, नभए त्यो पनि देख्न मुस्किल छ यहाँ । खोलामा पानी बग्नुको साटो कीरा कमिलाको ताँती हिँडेको भने प्रष्टै देख्न सकिन्छ ।


यस खोलाको रुप नाम मात्रैको छ । त्यसकारण यस खोला पानी बग्ने खोला हैन ढुङ्गा झिक्ने खोला बनेको छ । खोलाको अवस्था किन यस्तो भयो त ?

कारण ?


कारण हो, ललितपुरस्थित गोदावरी नगरपालिका–६, नल्लुखोलामा अवैध रुपमा सञ्चालित क्रसर उद्योगको ज्यादतीले गर्दा खोलामा सङ्लो पानी देख्न मुस्किल परेको हो ।


खोला छेउमै सडक छ । खोलासँग ढुङ्गा गिट्टी पेल्ने क्रसर निर्वाध रुपमा चलिरहेको छ । यहाँ १ दर्जनभन्दा बढी क्रसर उद्योग सञ्चालनमा छ । क्रसर उद्योगबाट निस्केका धूलो सीधै खोलामा फाल्नाले खोलाको यस्तो रुप देखिएको हो ।


खोलालाई मिचेर उद्योग सञ्चालन गर्ने, खोलाको संरचनाको समेत नाम निसान मेट्ने गरी यहाँ अवैध क्रसर उद्योग तथा ढुङ्गा खानी उद्योग सञ्चालित छ । जसले गर्दा खोलाको पानी सुकेको स्थानीयहरुको दाबी छ ।

अवैध क्रसरको असर : खेतबारीको उर्भर भूमिदेखि स्कुल पढ्ने नानीहरुसम्म


उद्योगीहरुले क्रसर उद्योगबाट निस्केका धुलोलाई सीधै खोलामा फालिएको पाइयो । यस्तो कार्यलाई उद्योगीको चरम लापारवाही र आफूहरु माथि खुल्लम खुल्ला रुपमा ज्यादती गरेको आरोप स्थानीयले लगाएका छन् ।


यसले गर्दा स्थानीयको खेतमा सीधै धुलो पुगेको, तरकारी बालीमा धुलोले ढाग्ने, खेतबारीको उर्भर भूमि नास भएकोले उत्पादनमा कमी आउने गरेको, धुलोकै कारण घरमा बस्न नसकिने स्थिति देखिएको, स्कुल जाने नानीहरुलाई सोही टिप्पर हुँइकिने सडक हुँदै लान पुर्याउन असहज हुने, खाने पानी सधैँ फोहोर मिसिएर आउने गरेको स्थानीयले दुखेसो पोखे ।


खानी तथा क्रसरसँगै टीकाभैरव, रानागाउँ, सिखर्पा, जुरेडाँडा, गैरीगाउँ, सिमलटार, कालिटार, लप्से, सलिनटार जस्ता हजारौँ जना बस्ने बस्ती छ । त्यहाँका स्थानीय र वातावरणलाई त्यहाँ सञ्चालित उद्योगले प्रत्यक्ष असर पुर्याउँदो रहेछ ।


यी बस्तीहरु क्रसर तथा ढुङ्गा उद्योगले गर्दा थप जोखिममा पारेका छन् । असार महिनामा हरियाली देखिनुपर्ने त्यहाँका बस्तीहरु मरुभूमि जस्तो उराँठ देखिन्छ ।

२० वर्षदेखि यस्तै छ स्थानीयको पीडा, विरोध गरे मार्नेदेखि जेलनेलसम्मको धम्की


यहाँका स्थानीय यतिसम्मको ज्यादती भोग्नु परे पनि उद्योगीका विरुद्ध कहिल्यै पनि विरोधमा उत्रिने आँट देखाएनन् ।


स्थानीयले क्रसर उद्योगीको यस्ता खालका ज्यादतीको विरोध गरेमा उद्योगीले गुण्डा लगाएर मार्ने, पुलिस लगाएर मुद्दा हाल्दै जेलमा सडाउने लगायतका धम्की दिई आफूहरुलाई दुःख दिँदै आएकाले आफूहरु सुरक्षाको हिसाबले पनि विरोधमा आउन नचाहेको भनाइ स्थानीयको छ ।


एक स्थानीय पीडितले २० वर्षदेखि उद्योगीको यस्तै नियति भोग्दै आइरहेको सुनाए । उनले भने, ‘हामीलाई यहाँ बाँचेर बस्नै गाह्रो छ, बाध्य भएर बस्नु परेको छ ।’
खुल्लम खुला रुपमा उद्योगीका ज्यादती झेल्दै आएका स्थानीयले सहनै नसकेर पटक पटक विरोध नगरेको भने होइन । जति विरोध गरे पनि अवस्था जहाँको त्यहीँ भएको उनले बताए ।


उनले भने, ‘हामीले विरोध नगरेको होइनौँ, गरेकै हो । जति विरोध गरे पनि सुनिदिने कोही हुँदैन । उल्टै हाम्रो विरोध गर्ने भनेर दुःख दिन्छन् । हामीलाई उनीहरुले गुण्डा लगाएर मार्नेदेखि नक्कली मुद्दा हालेर जेलनेल गरिदिनेसम्मको धम्की दिएका छन् ।’

कमाउने ध्याउन्नमा जथाभावी सञ्चालनमा क्रसर उद्योग


यहाँका क्रसर उद्योगहरु खोलाको छेउमै छन् । नियमअनुसार खोलाको छेउमा यस्ता वातावरणलाई प्रत्यक्ष असर पुग्ने खालको उद्योगहरु स्थापना गर्न पाइँदैन । तर यहाँ त्यस नियमका बर्खिलाप क्रसर उद्योगको स्थापना भएको छ । जुन टीकाभैरव प्रहरी चौकीदेखि ५० मिटर परको दूरीमा पर्छ र प्रहरी चौकीसम्म क्रसरबाट निस्केको आवाज स्पष्ट सुन्न सकिन्छ ।


नियमको बर्खिलाप त गरेको छ नै, यहाँ स्थापना गरेका क्रसरहरु कमभन्दा कम वातावरणलाई प्रतिकूल असर पुर्याउने, आवाज कम गर्ने खालको आधुनिक प्रविधिको समेत प्रयोग गरेको पाइँदैन । अवैध भएकैले गर्दा उनीहरुको ध्यान वातावरणलाई जोगाउनेतिर भन्दा कमाउनेतिर रहेको स्पष्ट देखिन्छ ।


ठूल्ठूला आवाज साथै क्रसरबाट निस्केका धुलोले आसपासका बस्तीहरु ढाक्ने गरेको छ । सडकमा टिप्पर गुड्दा उठ्ने धुलोलाई न्यूनीकरण गर्न कमसे कम खानेपानी ट्याङ्करको व्यवस्था गरेर पानी हाल्ने सकिन्थ्यो तर योसमेत गर्न खोजिएको देखिँदैन ।


क्रसर सञ्चालन हुने कुनै समय तालिका छैन । कहिले बिहानै ३ बजेदेखि बेलुका १० बजेसम्म चलाउँछन् भने कुनै बेला बिहान ५ बजेदेखि ८ बजेसम्म ।

टिप्पर दादागिरी


सडकमा मालबाहक टिप्परहरु मात्रै हुँइकने रहेछ । जसले गर्दा सडकका लिग गहिरिएर खाल्ड खुल्डी परेर पानी जम्दै आहाल बनेको सजिलै देख्न सकिन्छ । त्यहाँ बाटो पर्नेहरुका लागि पैडल गर्न भने सम्भव छैन ।


क्रसर उद्योगको ठूला आवाज, धूलो त्यसमा टिप्परको प्रेसर हर्न बजाउँदै हुइँकिने नल्लुखोलामा देख्न पाइने विशेषता नै रहेछ । सयौँको टिप्परले नल्लुखोला, टीकाभैरव बजार, नख्खु करिडोर हुँदै उपत्यकाका विभिन्न ठाउँमा गिट्टी ढुङ्गा ओसार्छ ।
टिप्पर हिँड्ने समय बजारलगायतका स्थानमा जाम बढ्ने हुँदा एम्बुलेन्स, स्कुल बस, भ्यान, दूध र तरकारीको सवारी घण्टौँसम्म जाममा बस्नुपर्ने बाध्यता रहेको स्थानीयले बताएका छन् ।

खोला र वनमै ढुङ्गाखानी : डोजर चल्दा पानीको मुहान सुक्नेदेखि घर हल्लिनेसम्म


खोला र वन कसैको निजी हुन सक्दैन । यी त राज्यको स्वामित्वमा रहने हुन् । तर नल्लुखोलामा भने खोला र वनलाई निजी सम्पत्ति झैँ गरी ठूल्ठूला स्काभेटर (हेभी इक्युप्मेन्ट)को प्रयोग गरी ढुङ्गा उत्खनन् गरिरहेको छ । यो अवैध भएको स्थानीयले बताएको छ ।


त्यहाँबाट दैनिक सयौँ टिप्पर माटो, ढुङ्गा र ग्राभेल पैठारी हुने गरेको प्रत्यक्षदर्शी स्थानीयहरुले सुनाए । ‘यहाँ दिनमा एउटा गाडीले ६ ट्रिपसम्म ढुङ्गा ओसार्छन् ।’, एक स्थानीले भने, ‘यहाँ सयौँ टिप्परले ढुङ्गा, माटो र ग्राभेल ओसार्छन् ।’


वनमा स्काभेटर, भ्रेकर (भाइब्रेसनका मद्दतले ठूल्ठूला ढुङ्गा फोर्ने मेसिन) चलाएर खानेपानीको मुहान सुकेको जुरेडाँडाकी एक पीडितले आफ्नो दुखेसो सुनाइन । मुहान सुकेपछि अन्तै मुहानको पानी खाइरहेको उनले बताइन् । उनकाअनुसार खानीमा जब डोजर चल्न थाल्छ तब घर हल्लिएर बस्नै नहुने गरेको छ ।
‘डोजर चल्दा हामी कि खाली ठाउँमा कि त बारीतिर काम गर्न जान्छौँ ।’ उनले भनिन्, ‘नत्र त घर हल्लेर बस्नै सक्दैनौँ । डाँडै थर्केर हल्लिन्छ । घरमा के बस्न सकिएला र ?’

असार महिना : वनको ढुङ्गा नाइकेको भकारी भर्ने महिना


वनको ढुङ्गा पैठारी गर्ने नाइकेहरुका लागि असार महिना महत्वपूर्ण महिना रहेछ । अरु महिना खानीबाटै ढुङ्गा बिक्री गरे पनि यो महिना सहित ३ महिनाअघिदेखि बिक्री नगरी भण्डारण गरी राख्ने चलन रहेछ ।


असारपछि नियममा कडाइ भयो वा केही कारणले खानी बन्द गर्नुपर्यो भने स्टक भन्दै क्रसरमा ढुङ्गा पेल्न पाइयोस् कि भनेर । ढुङ्गाको भण्डारण गर्ने क्रममा १ व्यक्तिले २ देखि ३ स्थानमा भण्डारण गर्ने गरेको भेटियो ।


भण्डारण गर्ने नाइकेहरुले खानी छेउदेखि क्रसर छेउसम्म र आवश्यकता अनुसार उपत्यकाको विभिन्न ठाउँसम्मसमेत भण्डारण क्षमता विस्तार गरेर ढुङ्गा डिपो राखिएको पाइएको छ ।

सम्बन्धित निकायको एउटै आवाज : गुनासो आए कार्वाही गर्छौँ


क्रसर तथा ढुङ्गा खानी उद्योगको नियमन गर्ने निकाय पनि छ । खानीलाई नियमन गर्न नेपाल सरकारले २०६८ मा देशको ७५ वटै जिल्लामा लागू हुने गरी अनुगमन समिति प्रमुख जिल्ला अधिकारीको संयोजकसहित ८ सदस्यीय ढुङ्गा गिट्टी बालुवा व्यवस्थापन जिल्ला स्तरीय अनुगमन समन्वय समिति गठन गरिएको छ ।


समितिले अनुगमन गरी नियम र मापदण्ड नअपनाएकालाई मापदण्डमा ल्याउने र नटेर्नेलाई कार्वाहीको दायरामा ल्याउनतिर ध्यान गएको देखिँदैन । समितिका संयोजक प्रजिअ राजकुमार श्रेष्ठले आफूमाझ अवैध क्रसर उद्योग र ढुङ्गा खानी उद्योग सञ्चालनमा आएको र त्यसले स्थानीयलाई असर गरेको गुनासो नआएको भन्दै गुनासो आए कारवाही गर्ने बताए ।


त्यस्तैगरी, जिल्ला वन कार्यालय ललितपुरका प्रमुख प्रेमकुमार शाहले वन मिचेर ढुङ्गा उत्खनन् भएको गुनासो पाए कार्वाही गर्ने सुनाए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप