शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सन् २०११ को क्रिकेट विश्वकप फाइनलमा फिक्सिङ भएको श्रीलङ्काली मन्त्रीको आरोप, छानबिन गर्न माग

सोमबार, ०८ असार २०७७, १६ : ५०
सोमबार, ०८ असार २०७७

श्रीलंकाका महान् खेलाडी अरविन्दा डि सिल्भाले सन् २०११ को विश्वकप फाइनलमा म्याच फिक्सिङ भएको मन्त्री महिन्दानन्दा अलुथगामागेको दाबीलाई अस्वीकार गरेका छन् । उनले उक्त ‘झुट’ बारे अनुसन्धान गर्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी), भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) र श्रीलंकाली क्रिकेट बोर्ड (एसएलसी) लाई माग पनि गरेका छन् ।

स्थानीय टेलिभिजन ‘सिरासा’ लाई अन्तरवार्ता दिँदै तत्कालिन खेलकुद मन्त्री अलुथगामागेले श्रीलंका र भारतबीच खेलिएको सन् २०११ को विश्वकप फाइनलमा फिक्सिङ भएको दाबी गरेका थिए । ‘म आज तपाईंहरुलाई यो भन्दै छु कि हामीले सन् २०११ विश्वकप बेच्यौँ । म त्यतिबेलाको खेलकुद मन्त्री भएर यो भन्दैछु ।’

आरोपबारे बोल्दै त्यतिबेलाको प्रमुख चयनकर्ता रहेका डि सिल्भाले श्रीलंकाली पत्रिका सन्डे टाइम्ससँगको कुराकानीमा भनेका छन्, ‘झुट बोल्ने मानिसलाई सधैँ त्यतिकै छाड्न सकिन्न । म आईसीसी, बीसीसीआई र एसएलसीलाई यसबारे तत्काल छानबिन गर्न आग्रह गर्दछु ।’

डि सिल्भाले लामो प्रयासपछि विश्वकप जितेका सचिन तेन्दुलकरले जीतपछि सम्मान पाउनुपर्ने बताए । ‘जसरी हामीले विश्वकप जितेपछि त्यसको खुसियाली जीवनभर मनाउन पायौँ, मलाई लाग्छ सचिन र भारतका क्रिकेट फ्यानहरुले पनि त्यही सम्मान पाउनुपर्छ । त्यसैले भारतीय सरकारले फिक्सिङ गरिएको विश्वकप जितेको हो कि होइन भन्नेबारे तत्काल अनुसन्धान सुरु गर्नुपर्छ,’ उनले भने ।

‘यस्तो गम्भीर आरोप लगाइदा यसले धेरैलाई प्रभाव पार्छ । श्रीलंकाका खेलाडीमात्र नभएर चयनकर्ता, टोलीको व्यवस्थापन र विश्वकप जितेको भारतीय टोलीमा पनि यसको प्रभाव पर्छ । त्यही भएर यसबारे सत्यतथ्य आउन जरुरी छ,’ उनले थपे ।

सो खेलमा कप्तानी गरेका कुमार संगाकारा र महेला जयावर्दनेले पनि उक्त दाबीलाई खारेज गरेका छन् । सन् २०११ को विश्वकप फाइनलमा श्रीलंकाका कप्तान संगाकाराले टस जितेर पहिलो ब्याटिङ गर्ने फैसला लिएका थिए । जयवर्दनेको शतकको मद्दतले श्रीलंकाले २ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । गौतम गम्भीरको ९७ तथा कप्तान धोनीको ९१ रनको मद्दतले उक्त लक्ष्य पछ्याउँदै सन् १९८३ पछि दोस्रो पटक उपाधिमा कब्जा जमाउन सफल भएको थियो ।

स्रोत : हिन्दुस्तान टाइम्स

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप