शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरी महानिरीक्षक ज्ञवालीले अब १५ दिनभित्र निर्मलाको परिवारलाई न्याय दिन सक्लान् ?

सोमबार, ०८ असार २०७७, १३ : ०२
सोमबार, ०८ असार २०७७

कञ्चनपुरको भीमदत्तनगर–२, उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज ६९७ दिन अर्थात्, करिब २ वर्ष पुग्यो । निर्मला २०७५ साउन ११ गते घर नजिकैको उखु बारीमा मृत अवस्थामा भेटिएकी थिइन् ।
साउन १० गते साथीको घर जान निस्किएकी निर्मला अर्को दिन घरजाने बाटोमा पर्ने उखुबारीमा मृत अवस्थामा फेला परेकी हुन् । त्यतिबेला प्रहरी अनुसन्धानबाट निर्मलाको बलात्कारपछि हत्या भएको खुले पनि उनको बलात्कार र हत्यामा को संलग्न छ भन्ने अहिलेसम्म खुल्न सकेको छैन ।

निर्मलाको बलात्कार एवं हत्यामा संलग्न व्यक्ति पत्ता लगाउने सिलसिलामा अनुसन्धानका लागि आधा दर्जन समिति बने । शंकास्पद भनिएका ५ सयभन्दा बढीसँग बयान लिइयो । १०० भन्दा बढीको डीएनए परीक्षण नै भयो । तर २ वर्षसम्म पनि अभियुक्त पक्राउ नपर्दा प्रहरीको साखमाथि प्रश्न उब्जिएको छ । 

लकडाउनको कारण निर्मला प्रकरणको चर्चा सेलाए पनि प्रहरीका लागि यो घटनाको दोषी पत्ता लगाउन चुनौती बनिरहेको छ । अहिलेसम्म अभियुक्त समात्नु त के, पहिचानसमेत हुन सकेको छैन ।

घटनाले अनुसन्धानका क्रममा प्रहरीबाट हुने लापरबाही र पीडित परिवारलाई विश्वासमा लिन नसक्दा कसरी अनुसन्धान जटिल बन्दै जान्छ भन्ने तथ्यलाई सतहमा उतारिदिएको छ ।

तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले अवकाश हुनुभन्दा अघि कञ्चनपुरकी किशोरी निर्मलाको बलात्कारपछि हत्यामा संलग्नलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउने दावी गरेका थिए । निर्मलाको हत्यारालाई कानुनी दायरामा ल्याउन उनी कुनै समय कञ्चनपुर पनि पुगे तर, हात लाग्यो शून्य । 

खनालको कार्यकालमा पन्तको परिवारले न्याय पाउन सकेन । अन्ततः खनालले २८ माघमा ३० वर्षे सेवा अवधीको कारण प्रहरी संगठनबाट अवकाश पाए ।

त्यतिबेला केन्द्रीय अनुसन्धान ब्यूरोको नेतृत्व गर्दै निर्मला पन्तको घटनामा अनुसन्धानसमेत गरेका ठाकुर ज्ञवाली हालका प्रहरी प्रमुख हुन् । निर्मला हत्याको अनुसन्धानका लागि ज्ञवाली त्यतिबेला १० दिनसम्म कञ्चनपुर समेत बसे । 

निर्मलाको हत्यामा संलग्न व्यक्ति कुनै पनि हालतमा उम्कन नसक्ने ज्ञवालीको भनाइ थियो । विभिन्न सञ्चारमाध्यमलाई अन्तरर्वाता दिने क्रममा आईजीपी ज्ञवालीले आफ्नै कार्यकालमा निर्मला पन्तको घटना टुंगो लाग्ने बताएका थिए । 

तत्कालीन समयमा टोलीमै रहेका एक प्रहरीका अनुसार ज्ञवालीकै टोली कञ्चनपुर रहेका बेला अन्य शंकास्पद व्यक्तिको डीएनए परीक्षण सुरु भएको थियो । त्यसयता १ सय बढीको डीएनए परीक्षण गरिए पनि निर्मलाको शरीरबाट निकालिएको स्वावसँग मेल खाएन । 

‘लो प्रोफाइल’ रहेर उत्कृष्ट काम गर्ने अधिकृतका रुपमा पहिचान बनाएका ज्ञवालीले थालेको अनुसन्धान उनकै पालामा टुंगोमा पुग्नसक्ने सबैले अनुमान गरेका थिए । तर, आईजीपी भएपछि ज्ञवालीले निर्मला हत्याकाण्डको फाइल नै नपल्टाएको सचिवालयमा कार्यरत एक प्रहरीले बताए । 

जबकि, प्रहरी प्रमुख भएपछि ज्ञवालीले निर्मला केसको फाइल पल्टाएर यसतर्फ गहिरो अनुसन्धान सुरु गर्लान् भन्ने संगठनभित्रै पनि धेरै प्रहरीहरुको अनुमान थियो । उनले के कारणले निर्मला केसको फाइल पल्टाएनन् ? चासोको विषय बनेको छ । 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चासोको घटनालाई सुल्झाउन सक्दा एकातिर प्रहरीको छवि सुधारिने, अर्कोतिर संगठनको नेतृत्वकर्ताका रुपमा आइजीपीले पनि जस पाउने अवस्था हुन्छ । तर आईजीपी ज्ञवाली उक्त घटनाप्रति मौन बस्नुले पनि घटनालाई लुकाउन खोजेको हुनसक्ने आरोप लाग्न थालेको छ ।

घटना छानविनका लागि गठित समितिले अनुसन्धान जारी राखे पनि आईजीपी ज्ञवालीले एकपटक पनि निर्मला घटनाबारे चासो नदिएको स्रोतको दावी छ । 

आईजी भएयता ज्ञवालीले एकपटक पनि निर्मलाको हत्या घटनामा बोलेका समेत छैनन् । आईजीपी ज्ञवालीले निर्मलाका हत्यारा पत्ता लगाउन प्रहरीले ‘इमान्दार प्रयास’ गरिरहेको छ भनेर औपचारिकतासमेत निर्वाह गर्न नसकेको एक प्रहरी अधिकृतले बताए । 

आईजीपी ज्ञवालीले २५ असारबाट ३० वर्षे सेवाअवधीको कारण अवकाश पाउँदैछन् । आज असार ८ गते भइसक्यो । बाँकी १५ दिनमा आईजीपी ज्ञवालीले के निर्मलाको परिवारलाई न्याय दिन सक्छन् ? निर्मलाको फाइल पल्टाएर अभियुक्तलाई कानुनी दायरामा ल्याउन सक्छन् ? सबैको एउटै प्रश्न छ । 

कोरोना भाइरस (कोभिड–१९) ले विश्वलाई आतंकित बनाइरहेको छ । नेपालमा पनि कोरोना रोकथाम तथा नियन्त्रणको लागि सरकारले लकडाउन गरेको छ । ‘लकडाउनको कारण व्यस्त भएर आईजीपी ज्ञवालीले निर्मलाको फाइल पल्टाएनन् या अन्य कारण ?’ एक पूर्वआईजीले प्रश्न समेत गरे । 

डीएनए परीक्षणबाट अभियुक्त पहिचान हुने बाटो करिब–करिब बन्द भएको प्रहरीको भनाइ छ । अब सुराकी नै अनुसन्धानको मुख्य कडी हुनसक्ने एक बहालवाला एसएसपी बताउँछन् । तर यसका लागि पनि प्रहरीले इमानदार प्रयास जारी राख्नुपर्ने उनको भनाइ छ ।

प्रहरीले भदौ ४ मा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा घटनाका मुख्य अभियुक्त भन्दै दिलीपसिंह विष्टलाई सार्वजनिक गर्यो । तर मानसिक सन्तुलन कमजोर रहेका विष्टको संलग्नता डीएनए परीक्षणपछि पुष्टि हुन सकेन । र, उनी छुटे ।

निर्दोष मान्छेलाई प्रहरीले दोषी करार गर्न खोजेको भन्दै यो घटनापछि प्रहरीप्रतिको स्थानीय विश्वास झनै खस्कियो । त्यसपछि प्रहरी निरन्तर दबाबमा परिरह्यो । जसले अनुसन्धानलाई झनै प्रभावित पार्यो ।

तर प्रहरीले दीलिप विष्ट नै मुख्य अभियुक्त भएको निष्कर्ष निकालेपछि अभियुक्तको विषयलाई लिएर जिल्ला सरकारी वकिलको कार्यालय र प्रहरीबीच दुरी बढ्दो छ । निर्मला हत्या अनुसन्धान निकै पेचिलो बन्दै गएको छ ।

त्यतिबेला अनुसन्धानमा संलग्न प्रहरी अधिकारी बर्खास्तदेखि निलम्बनसम्म परे । निर्मला हत्याको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली अहिले पनि कञ्चनपुरमै छ । निर्मला पन्तको हत्याबारे भइरहेको अनुसन्धान उपलब्धिमूलक हुँदै गएको छ ? यसबारे जानकारी लिनका लागि आईजीपी ज्ञवाली र नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता निरजबहादुर शाहीलाई सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप