शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

थाहा

सोमबार, ०८ असार २०७७, १० : ३७
सोमबार, ०८ असार २०७७

थाहा पाएर पनि
म कहिल्यै थाहा नपाएजस्तो छु !
र थाहा नपाएर पनि
म सँधैसँधै थाहा पाएजस्तो छु !
कसरी हराइरहेछ
देशको सिमानाभित्रै एउटा सिङ्गो देश ?
र किन गीर खेलिरहेछन्
हाम्रो शिरमाथि यी सत्ताका सिकारीहरू  ?
ठिक यो बेला
तलाउको डिलमा बसेर
एउटा 'थाहा' हेरिरहेछ - समयको कुरूप अनुहार !

°°°
तिम्रो आप्पाको घेवा सकेर
फर्किदै गर्दा
कसरी झम्टेथ्यो बाघले पालुङे होलिमा ?
र उत्तिसको लाथ्रो भाँचेर
कसरी बचाएथ्यो
त्यो हिंस्रक पञ्जाबाट एउटा पर्वतेले ?
थाहा छ कि छैन
म त्यहि पर्वते 'थाहा' हुँ, मैच्याङ !
हलुङ्गेको पुरानो तपेसमा
आफ्नै वैंस मुछेर
तिमीले पारेको त्यो तमतमाइलो जाँड
घुटुक्क घुट्क्याएर लठ्ठिन
यतिखेर,
म तिम्रै आँगनको डिलमा उभिएको छु !

°°°
यो इतिहासको अँध्यारो जङ्गलभित्र
मान्छेले गोढ्दै गरेका
कति सिर्जनाहरू पोचिएर गए होलान् ?
तरवारले खिपेर
चोयाझैँ रेटिएको सूचनापाटीबाट
कसरी मेटिए होलान्
यो देशका अनगिन्ति श्रमिक अक्षरहरू ?
ढाडमा दु:खको ढाकर बोकेर
कहाँ हराए होलान्
कोदोका बालासँगै सेलो गाउँदै हिँड्ने डोल्माहरू ?
र यो पृथ्वीको निधारभरि
आतङ्कको डढेलो सल्किएपछि
कसरी अस्ताए होलान्
रङ नभरिँदै जीवनका कलिला इन्द्रेणीहरू ?

°°°
थाहा छ कि छैन, च्याङबा !
अँध्यारो ओढेर
वर्षौँदेखि निदाइरहेको बस्ति ब्यूँझाउन
साँझ झरेको बेला,
म डम्फुको धुन बनेर
तिम्रै खोरियाहरूमा 'थाहा' आएको छु !

°°°
तिमीले देख्न नभ्याएका सपनाहरू
पुरिएको ठाउँ
ऊ त्यहि नदीको सुत्केरी बगर हो !
तिमीले भेट्न नसकेका खुसीहरू
लडेको ठाउँ
ऊ त्यहि बतासे डाँडाको भिर हो !
तिमीले ढाल्न नसकेको लिङ्गो
ठडिएको ठाउँ
ऊ त्यहि सिस्नेरीपारिको खाल्डो हो !
र तिम्रो आँसुको निलो तलाउमा
डुङ्गा चलाउने माझी
ऊ त्यहि सेतो दरबारको मालिक हो !

°°°
हो, च्याङ्बा !
आँखेले बाँझो फुटाएर
पल्टिएका चपरीबाट बनेका हुन्
तिमीजस्तै यी उदास पहाडका लस्करहरू !
यो झण्डाको किनारा पनि
तिम्रै पसिनाको रङले रङ्गिएको हो !
विफरले खाएर
गलेको तिम्रो वाटुलो अनुहार
र यो देशको नागरिक बढापत्र उस्तै-उस्तै हुन् !
विचारको घाम डुबेपछि
आफ्नै रगतले कोरेको थाङ्काबाट
भित्ताको कमेरोझैँ झरिरहेछ - तिम्रो प्रिय नाम !
नियालेर हेर त,
ऊ त्यो दारिमको झिक्रे डालीमा
तुर्लुङ्ङ झुर्ण्डिएको मैच्याङको सम्झना हुनसक्छ !

°°°
थाहा छ कि छैन, मैच्याङ !
जीवनको मूल्य हराएर
सदियौंदेखि शरणार्थी बाँचेको शिविरमा
यो समय म,
सेलोको सुरिलो लय बनेर
तिम्रै वनेली पाखाहरूमा 'थाहा' आएको छु !

°°°
हो मैच्याङ !
तिमीले सिउँदा सिउँदै
सिलाइनसकेको फाटेको मन यहिँ छ !
तिमीले पढ्दा पढ्दै
पढिनसकेको दु:खको बाह्रखरी यहिँ छ !
तिमीले हिँड्दा हिँड्दै
हिँडिनसकेको पीडाको क्षितिज यहिँ छ !
तिमीले रूँदा रूँदै
रोइनसकेको आँसुको गहिराई यहिँ छ !
र तिमीले बुन्दा बुन्दै
बुनिनसकेको च्याङबाको जाली-रूमाल पनि यहिँ छ !

°°°
साँच्ची मैच्याङ !
सरकारी भारी बोकेर
जुन दिनदेखि तिम्रो आँखे उक्लिन थालेथे
सिस्नेरी डाँडाको अक्करे भीर
त्यहि दिनदेखि,
बग्न थालेको हुनुपर्दछ
यो दोभाने खोलामा नीलो पानी !
सायद,
यहि खोलाको वेगसँगै बगिरहेछन्
तिम्रो ठेगानामा च्याङबाले पठाएका चिठीहरू पनि !

°°°
जीवनको टुकी निभेर
निस्लोट कालिमा मडारिन थालेपछि
पिसाको लालटिन बोकेर
भर्खरै एउटा 'थाहा' छिरेको छ - तिम्रो शहरमा !
सक्छौ भने गिरप्तार गर
ओ शासकहरू हो !
तिम्रो लङ्काको बैकुण्ठ जलाउन
यी विचारका काँटीहरू सबैभन्दा खतरनाक हुनसक्छन् !

प्रथा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा