केन्द्रीय संस्करण

एउटा अनन्त विद्रोहीको सम्झना

person explore access_timeअसार ७, २०७७ chat_bubble_outline0

उनी कसका थिए ? रुपचन्द्र वास्तविक कम्युनिष्ट थिए । तर उनलाई कम्युनिष्टहरुले कहिल्यै आफ्नो ठानेन । बरु उनको लासमाथि रातो झण्डा बोकेर भ्रमको खेती गर्न आनन्द मान्यो । कांग्रेस हुने उनको चरित्र थिएन । पञ्चायती व्यवस्थामा दुईपटक राष्ट्रिय पञ्चायतको सदस्य भए । तर पञ्चहरुको मण्डलेतन्त्र विरुद्ध निरन्तर विद्रोह गरिरहे । उनको स्वभाव, चिन्तन र कार्यशैली कांग्रेस वा पञ्चसँग नमिलेपछि तिनीहरुको हुने कुरै थिएन । उनले विद्रोह बोले, विद्रोह खाए, विद्रोह पिए र मृत्युसँग पनि विद्रोह गरिरहे । त्यसैले उनी इतिहास निर्माण गर्ने विद्रोहीहरुका थिए ।

उनी के थिए ? एउटा दार्शनिक, साहित्यकार, राजनैतिककर्मी, समाजसुधारक, विकासप्रेमी, खगोलशास्त्री, शिक्षाविद र एउटा अनन्त विद्रोही । एउटा हेडमास्टर, किसान, बाख्रा गोठाला, ज्यामी, काठमिस्त्री, योगी र एउटा निरन्तर विद्रोही । हो, नेपालको राजनैतिक इतिहासमा एउटा पृथक छवि बनाएका रुपचन्द्र विष्ट समग्रमा एउटा सशक्त विद्रोही थिए । वडास्तरीय संरचनाबाट राजनीति सुरु गरेका उनी विद्रोही प्रधानपञ्च हुँदै विकास समितिको अध्यक्ष र दुईपटक राष्ट्रिय पञ्चायतको सदस्य निर्वाचित भए । तर उनले आफ्नो विद्रोही चेत छाडेनन् । राष्ट्रिय पञ्चायतको सदस्य हुँदा उनले पञ्चायतसँग नै लाप्पा खेले । एक प्रकारले भन्ने हो भने उनले बाघको खोरभित्र पसेर बाघसँग नै लडाई लडे । प्रधानपञ्च हुँदा नै उनले मकवानपुर जिल्लामा नयाँ राजनैतिक धार सुरु गरे । हेडमास्टरको भूमिकामा रहेर मकवानपुरको शिक्षा क्षेत्रमा नयाँ जग बसाले । किसान, गोठाला, ज्यामी र काठमिस्त्रीको रुपमा उनले श्रमसंस्कृतिको मूल्यबोध मात्र गरेनन्, श्रम शोषण र त्यसका विरुद्ध प्रतिरोधका थुप्रै उपाएहरुको खोजी गरे । योगीको रुपधारण गरेर पूर्वीय दर्शनको विराट सारतत्वको आत्मबोध गर्न पुगे । यसरी अनुभव र जीवन व्यवहारबाट पैदा भएका ज्ञानलाई उनले प्राज्ञिक बहसका विषय मात्र बनाएनन् । बरु समाजको अग्रगामी परिवर्तनका लागि यो ज्ञानको व्यवहारिक प्रयोग र अभ्यास  मृत्युपर्यन्त गरिरहे । वास्तवमा नेपाली राजनीतिमा सम्पूर्ण मानवजीवन बाँच्न सक्ने एकमात्र योद्धा थिए रुपचन्द्र विष्ट ।

उनी कसका थिए ? रुपचन्द्र वास्तविक कम्युनिष्ट थिए । तर उनलाई कम्युनिष्टहरुले कहिल्यै आफ्नो ठानेन । बरु उनको लासमाथि रातो झण्डा बोकेर भ्रमको खेती गर्न आनन्द मान्यो । कांग्रेस हुने उनको चरित्र थिएन । पञ्चायती व्यवस्थामा दुईपटक राष्ट्रिय पञ्चायतको सदस्य भए । तर पञ्चहरुको मण्डलेतन्त्र विरुद्ध निरन्तर विद्रोह गरिरहे । उनको स्वभाव, चिन्तन र कार्यशैली कांग्रेस वा पञ्चसँग नमिलेपछि तिनीहरुको हुने कुरै थिएन । उनले विद्रोह बोले, विद्रोह खाए, विद्रोह पिए र मृत्युसँग पनि विद्रोह गरिरहे । त्यसैले उनी इतिहास निर्माण गर्ने विद्रोहीहरुका थिए । उनको जीवन नै एउटा विद्रोहको गाथा थियो । उनी छाप्रेहरुका थिए, त्यसैले उनी छाप्रोमा बाँचे, छाप्रोमा हाँसे र छाप्रेहरुले जस्तै मृत्यवरण गरे । रातो झण्डा बोकेर नक्कली कम्युनिष्ट हुने पाखण्डलाई उनले अस्वीकार गरे । तर कम्युनिष्टहरुले भन्ने आदर्शलाई आफ्नो जीवन–व्यवहारमा उतार्न कोशिस गरिरहे । त्यसैले उनी सच्चा कम्युनिष्टहरुको मान्छे थिए । उनको सार्वजनिक कार्यक्रमहरुमा कुनै योजनावद्ध सभापति हुँदैनथे । जहाँ कार्यक्रम गरिन्थ्यो त्यहाँ सबैभन्दा पाको महिलाको खोजी हुन्थ्यो सभापतित्वको लागि । अझ त्यसमा दलीत र एकल महिलाहरु प्राथमिकतामा पर्दथे । त्यसैले उनी तिनै दलित र एकल महिलाहरुका थिए । उनी हली–गोठालाहरुका थिए । समग्रतामा सम्पूर्ण मानवजातिको मुक्तिको लागि लड्ने जोदाहाहरुको आफ्नो मान्छे थिए ।

‘सप्रिनलाई थाहा चाहिन्छ, विग्रनलाई भ्रम चाहिन्छ’ – उनी मान्छेहरुलाई सम्झाउने गर्थे । बाँच्न मात्र खोजिरहेका मान्छेको मनस्थितिमा विद्रोहचेत भर्नु नै उनको ‘थाहा’ आन्दोलनको अभिष्ट थियो । अत्याचारको जाँतोमा पिल्सिरहेकाहरुलाई उनी झकझकाउँथे । उनले त्यस्तो राजनीतिलाई ‘जनमुखी’ नाम दिएका थिए । ‘प्रत्येक गरीवले जम्मै गरीवको हित खोज्नु, हातमा ठेला बसेका छाप्रेहरुलाई जगाउनु, जनताको शक्ति जनताको हितका निम्ति प्रयोग गर्नु, उनको ‘जनमुखी’ राजनीतिको सार थियो । मान्छेहरुको दिमागमा विद्रोहका मशाल जलाउने उनको ‘थाहा’ आन्दोलन यतिबेला इतिहासको कुडाकर्कटमा मिल्काइएको छ । निरन्तर जनता विरोधी सत्ताको विरुद्ध लड्ने एउटा योद्धालाई र उनको विचारलाई शासकहरुले त्यस्तै बनाउन चाहन्थे । यदि रुपचन्द्रले सत्तासँग पौठेजोरी नखेलेर सम्झौता गरिदिएको भए उनको चौतर्फी महिमागान सुनिन्थ्यो । दुःखलाग्दो कुरो रुपचन्द्रले जगाउँदै हिँडेका तिनै छाप्रेहरुको वर्तमान सरकारले पनि उनलाई सम्झन सकेको छैन । उनी भन्थे –‘चेत नखुन्जेल मान्छे र पशु एकै लाग्छ ।’ सायद, उनले जगाउन खोजेको वर्गको पनि अझै चेत खुलेको छैन । त्यसैले शासकहरुको निर्दयी बुटले इतिहासमा उनको गौरवगाथा थिचिएको थिचिएकै छ । तर, जुन दिन उनले भनेझै मान्छेहरुको चेत खुलेर पशुत्व हट्नेछ, त्यसदिन जरुर इतिहासमा पुरिएका विद्रोहको मशाल कहिल्यै ननिभ्ने गरेर बल्न सुरु गर्नेछ  र चिहानबाट ब्यँुझेर रुपचन्द्रको गौरवगाथा सच्चा मानिसहरुको जीवनगाथा बन्नेछ ।

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.