बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय प्रधानमन्त्री मोदीले दिएको अभिव्यक्ति विवादमा, आयो यस्तो स्पष्टीकरण

शनिबार, ०६ असार २०७७, २३ : ४२
शनिबार, ०६ असार २०७७

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत–चीन सीमा विवादका विषयमा दिएको अभिव्यक्ति विवादास्पद भएपछि भारतीय प्रधानमन्त्रीको कार्यालयले स्पष्टीकरण दिनुपरेको छ । प्रधानमन्त्री कार्यालयले मोदीको भनाईलाई गलत अर्थ लगाएर अनावश्यक विवाद उत्पन्न गर्न खोजिएको आरोप लगाएको छ ।

प्रधानमन्त्री मोदीले शुक्रबारको सर्वदलीय बैठकमा लद्दाखस्थित (गल्वान)भारततर्फको सीमाभित्र ‘न कसैको प्रवेश भएको छ, न कसैले हाम्रा पोष्टहरु कब्जा गरेका छन्’ भन्ने अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्तिलाई लिएर भारतीय राजनीतिक वृत्तमा विपक्षीहरुले मोदीको कडा आलोचना गरिरहेका छन् । मोदीको अभिव्यक्तिले चीनलाई सपोर्ट गर्दै आत्मसमर्पण गरेको भन्ने अर्थ समेत विपक्षीहरुले लगाएका छन् । 

काँग्रेस नेता पी चिदम्बरमले सोधेका छन्– ‘यदि प्रधानमन्त्रीको कुरालाई सही मान्ने हो र भारतीय सीमानामा चिनियाँ सैनिक आएका थिएनन् भने झगडा किन भयो ? २० सैनिक शहिद किन भए ?  दुई देशबीचको के कुराकानी भैरहेको थियो ?’
उता काँग्रेस नेता राहुल गान्धीले त लद्दाख घटनापछि लगातार प्रधानमन्त्री मोदीको कडा आलोचना गर्दै आएका छन् । उनले शुक्रबार मोदीले दिएको अभिव्यक्तिलाई चिनियाँ आक्रमणका अघि आत्मसमर्पण गरेको प्रतिक्रिया दिएका छन् ।
त्यस्तै, इन्डियन एक्सप्रेसका सुशान्तसिंहले ट्वीटमार्फत भनेका छन्ः ‘त्यसो हो भने २० सैनिक मारिए, ७६ जना घाइते भए, १० जनालाई चिनियाँ सेनाले नियन्त्रणमा लियो, यो कसरी भयो त ?’  त्यसैगरी सामरिक मामलाका जानकार ब्रम्हा चेल्लानीले पनि प्रधानमन्त्रीतर्फ प्रश्न गरेका छन्– ‘के मोदीको यो भनाईले भारतले गल्वान उपत्यकामा चीनको यथास्थितिमा भएको परिवर्तनलाई जबर्जस्ती स्वीकारेको संकेत हो ?’ 

यद्यपि प्रधानमन्त्री कार्यालयले भने मोदीको अभिव्यक्तिका सन्दर्भमा स्पष्टीकरण दिँदै मोदीले जुन १५ तारिखको झडपका सन्दर्भमा बोल्नुभएको स्पष्ट पारेको छ । शनिबार स्पष्टीकरण दिँदै कार्यालयले प्रधानमन्त्री मोदीले आफ्ना सैनिकहरुको बहादुरीका कारण कुनै चिनियाँ सेना त्यसदिन भारतीय सीमाभित्र प्रवेश गर्न नपाएको भन्ने विषयलाई अनर्थ लगाउन खोजिएको बताएको छ । मोदीले भारतीय सैनिकहरु शहिद भएर पनि चिनियाँ सैनिकहरुको घुसपैठलाई विफल पारिदिएको भन्न खोज्नुभएको कार्यालयले स्पष्ट पारेको छ ।  

प्रधानमन्त्री मोदीले शुक्रबार लद्दाख झडप (गल्वान)को विषयमा केन्द्रीत रहँदै सर्वदलीय बैठक बोलाएका थिए । उक्त बैठकमा अलग अलग पार्टीका नेताहरु अनलाइनमार्फत बैठकमा सहभागी भएका थिए । उनले भारतले शान्ति र मित्रता चाहने तर सार्वभौमिकताका विषयमा सम्झौता नगर्ने बताएका थिए ।

बैठकमा रक्षामन्त्री राजनाथसिंह, काँग्रेस अध्यक्ष सोनिया गान्धी लगायतका २० दलका प्रतिनिधिहरु सहभागी रहेका थिए । चिनियाँ र भारतीय सैनिक बीच झडपको घटनामा गान्धीले गुप्तचरहरुको भूमिकामाथि प्रश्न उठाएकी थिइन् । गान्धीले एलएसीको विषयमा कुराकानी गर्ने सबै अवसरहरु प्रयोग गर्न असफल भइएको र त्यसैको परिणामस्वरुप २० जनाको ज्यान गएको बताएकी थिइन् ।

जुन १५ मा लद्दाखस्थित गल्वान उपत्यकामा दुई देशका सैनिकबीच भएको झडपमा भारतीय सेनाका कर्णेलसहित २० जना मारिएका थिए । चिनियाँ सेनातर्फको क्षति विवरण भने अहिलेसम्म सार्वजनिक भएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप