शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

औँला काटिएका प्रहरी काठमाडौँ रिफर

शनिबार, ०६ असार २०७७, १९ : २७
शनिबार, ०६ असार २०७७

डोटी । सुदूरपश्चिम प्रदेश प्रहरी तालीम केन्द्र दिपायलमा रहेका प्रशिक्षकले व्यक्तिगत मोटरसाइकल धुन लगाउँदा दाहिने हातको औँला काटिएका बैतडी जिल्ला घर भएका २२ वर्षीय तालिमे प्रहरी जीतेन्द्र चन्दलाई  काठमाडौँ सिफारिश गरिएको छ । 

आज बिहान प्रशिक्षकले मोटरसाइकल धुन लगाएका कारण उनको दाहिने हातको औँला छिनेपछि दिपायलमा रहेको शैलेश्वरी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उक्त अस्पतालमा उनको काटिएको औँला जोड्न नसकिएपछि  प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीको आदेशमा उनलाई थप उपचारका लागि काठमाडौँ लगिएको हो ।

चन्दको काटिएको औँला  बरफमा राखेर २४ घण्टाभित्र सुविधासम्पन्न अस्पतालमा पु¥याउन सकिए जोडिन सक्ने चिकित्सकको सल्लाहबमोजिम उनलाई काठमाडौँ लगिएको सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलले जनाएको छ । उनलाई सुदूरपश्चिम क्षेत्रीय प्रहरी अस्पताल दिपायलको एम्बुलेन्समा काठमाडौँ लगिएको छ ।

चन्दलाई तालीम केन्द्रमा कार्यरत प्रशिक्षकले आफ्नो निजी मोटरसाइकल धुन लगाउँदा मोटरसाइकिलको जञ्जीरमा दाहिने हातको औँला परेपछि छिनेको थियो । दाहिने हातको औँला प्रहरीको सलामी दिने तथा फायरिङ गर्नेदेखि अन्य काममा बढी प्रयोग हुन्छ ।  उनलाई भविष्यमा बढुवादेखि अन्य तालीम, मिसनमा जानेलगायत कुरामा समस्या उत्पन्न हुने भएकाले औंला जोड्नका लागि काठमाडौँ लगिएको प्रदेश प्रहरी तालीम केन्द्र दिपायलले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप