आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

महिना दिनसम्म रिपोर्ट नआएपछि क्वारेन्टाइनमा बसेकाहरु आन्दोलित

शनिबार, ०६ असार २०७७, १८ : ४१
शनिबार, ०६ असार २०७७

तुलसीपुर । महिना दिनसम्म पिसीआर रिपोर्ट नआएपछि तुलसीपुरको अश्वारा माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेकाहरु आन्दोलित भएका छन् । क्वारेन्टाइनमा बसेकाहरुले हो–हल्ला गर्दै बाहिर निस्कने प्रयास गरेपछि रोक्नका लागि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक झलक प्रसाद शर्माको नेतृत्वमा दुई गाडी प्रहरी पठाइएको थियो । 

भोली–भोली भन्दै एक महिना पुग्दासम्म पनि पिसीआर रिपोर्ट नआएपछि आफूहरु बस्न नसक्ने भन्दै तोडफोड गरेर बाहिर निस्कने प्रयास गरेपछि थप प्रहरी बल पठाइएको हो ।

यसैबिच क्वारेन्टाइनमा बसेका, प्रहरी, स्वास्थ्यकर्मी  र वडाध्यक्ष बिच ३ दिनभित्र पिसीआर रिपोर्ट नआएपनि छोड्ने सहमतिमा उनीहरुलाई रोकिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी शिव बहादुर सिंहले जानकारी दिए । 

‘महिना दिन भयो रिपोर्ट आएको छैन । मान्छेहरु आत्तिरहेका छन् । कहिले मेसिन छैन । कहिले किट छैन भनेर कति दिन रोक्न सकिन्छ,’ डीएसपी सिंहले भने, ‘मान्छेलाई सधैभरी राख्न पनि त गाह्रो हुन्छ नि ।’ रिपोर्ट नआएमा पनि होम क्वारेन्टाइनमा बस्नेगरी छाड्ने सहमति भएको डीएसपी सिंहले बताए ।

अध्यक्षले भने, ‘अब म सक्दिन’ 
यता तुलसीपुर उपमहागनरपालिका–८ का वडाध्यक्ष वेदबहादुर केसीले पनि मान्छेहरुलाई लामो समयसम्म रोक्न नसकिने बताएका छन् । ‘किन रिपोर्ट आउन ढिला भइरहेको छ । यसको जवाफ सरकारले दिनुपर्छ,’ उनले भने, ‘मैले व्यवस्थापन मात्रै गरेको हो । रातदिन डिउटी गर्ने जिम्मा त हैन । अब म सक्दिन ।’

यदि रिपोर्ट नआए पत्रकार सम्मेलन गरेर यसको जवाफ खोज्ने अध्यक्ष केसीले बताए । 

यता क्वारेन्टाइनमा बसेकाहरुले निरोगी मान्छेलाई पनि रोगी हुने गरी स्कुलमा हुलेको भन्दै तिब्र आलोचना र विरोध गरेका छन् ।  तीन दिनभित्र पनि रिपोर्ट नआए आफूहरु जसरी पनि घरमा जाने उनीहरुले चेतावनी दिएका छन् । अहिले  उक्त क्वारेन्टाइनमा ६७ जना बस्दै आएका छन् । 

१० वटा क्वारेन्टाइनमा ६ सय ९ जना 
तुलसीपुर उपमहानगरपालिकाका अनुसार ५ सय १३ पुरुष, ८३ जना महिला र १३ जना बालबालिका विभिन्न क्वारेन्टाइनमा बस्दै आएका छन् ।  क्वारेन्टाइनको मापदण्ड अनुसार १४ दिन बस्नुपर्ने भएपनि २५ दिन नाघेका करिब ३ सय ५० छन् भने अन्य १४ दिन पार गरेका छन् । 
 
‘भिटिएमको पनि अभाव भयो । संकलन गरेर पठाएको स्वाबको रिपोर्ट आउन पनि ढिला भयो,’ तुलसीपुर उपमहागनरपालिका स्वास्थ्य महाशाखा प्रमुख ओम प्रसाद न्यौपानेले भने, ‘खेतिपातीको समयमा मान्छेहरु पनि आतिएका छन् । एउटा ठाउँको मात्रै हैन सबै क्वारेन्टाइनमा बस्दै आएका आक्रोशित छन् ।’

अश्वारा क्वारेन्टाइनबाट २५ गते ५७ जना र ३ गते १० जनाको कोरोना परीक्षण स्वाब संकलन गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप