बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

गण्डकी प्रदेश : बजेटमाथिको छलफलमा सांसदबीच जुहारी

शुक्रबार, ०५ असार २०७७, २१ : ४०
शुक्रबार, ०५ असार २०७७

कानुन बनाउने ठाउँ हो संसद । संसदमा वैचारिक विमर्श त हुन्छ नै । यद्यपि, वैचारिक बहस छोडेर गण्डकी सरकारले ल्याएको छलफलमा सत्तापक्ष र विपक्षी दलका सांसदहरु एकअर्काप्रति छेडछाडमै बढी उत्रिएका छन् । 

बजेटमाथि तेस्रो दिनको छलफलमा सांसदहरुले अघिल्ला दिनहरुमा झै सत्तापक्षले बजेटको महिमा गाए । विपक्षीले खोट लगाउने ठाउँ गनि गनि खोट लाए । 

त्यतिमात्रै कहाँ हो र ! बजेटमाथिको वादविवादले सांसदहरुलाई कवि पनि बनाउन भ्याएछ, सत्तापक्षका सांसद राजीव पहारीले संसदमा कविता नै सुनाए ।

कविता यस्तो छ :

हामी एउटा कुरा सिक्यौं विरोध गर्नुपर्छ यहाँ 

मौका यहीं हो सकेसम्म जनतालाई भ्रम छर्नुपर्छ यहाँ 

ठिक र बेठीक छुट्याउने त हाम्रो धर्म नै होइन । 

भ्रम र निरासाको जालो थापी सत्यलाई छोप्नुपर्छ यहाँ 

सांसद पहारीले झुट र भ्रमको कपोकल्पित तथ्यद्वारा स्थापित सत्यलाई समाप्त पार्ने पर्यत्न संसदमा भएको आरोल लगाउँदै कड्किए । उनले प्रदेशलाई समृद्ध बनाउन बजेटले कुनै कसुर बाँकी नछाडेको धाराणा राखे । 
अर्की सांसद गायत्री गुरुङले पनि प्रतिपक्षप्रति कडा कटाक्ष गर्दै सरकारको बचाउमा उत्रिन । सर्टको उदाहारण दिँदै गुरुङले प्रतिपक्षले राम्रोलाई राम्रो भन्न पनि नसकेको आरोप लगाइन् ।

‘यो सदनमा आफ्नो मत राख्दा सेतो सर्टलाई सेतो भन्न नसकेको देखियो । यो सेतो हो कि होइन भनेर सोध्दा सेतो हो कि कालो चश्मा ल्याउनै बिर्सेछु भनेर तर्किने गरेको पाइयो,’ उनले भनिन् । बजेटमाथि अधिकांश सांसदले पराम्परागत शैलीमा आएको आरोप लगाए पनि, उच्च जनवादको आधारमा बजेट आएको उनले बताइन् । बरु, आफ्नो धर्म निभाउँदा परम्परावादी त भएनौं ?भन्दै प्रतिपक्षमाथि प्रतिप्रश्न गर्न भ्याइन् । ‘यसरी जनताले इमानदार भन्लान त ?’, उनले प्रतिप्रश्न गरिन् ।

प्रदेशलाइ समृद्ध बनाउन इमानदारी पूर्वक छलफल गर्नुपर्ने उनको राय थियो । बजेटले अहिलेसम्मको उपलब्धि संस्थागत गरेको उनको भनाई छ । बजेटमा धेरै कुरा समेटेर प्रदेश सरकारले अभिभावकको भुमिका निभाएको उनले जिकिर गरिन् । बजेटमाथि आपत्ति मान्नु पर्ने विषय नै नभएको उल्लेख गर्दै उनले इमानदारी पूर्वक बजेट बोलेको बताइन् ।

अर्का सांसद मनबहादुर गुरुङले बजेटमाथि शंका मान्नु पर्ने ठाउँ नै नभएको जिकिर गरे । विधिसंवत ढंगले बजेट आएको उनले तर्क राखे । स्वदेश तथा विदेशमा रोजगारी गुमाउनेलाई रोजगार तथा उत्पादनमा 
जोड दिनु बजेटको सबल पक्ष रहेको उनले तर्क राखे । ‘यहाँ भन्दा बजेट कति राम्रो हुन्छ ? यो बजेटको पक्षमा नबोले म अन्यथा ठहरिन्छु,’ उनले भने । 

विपक्षी दलका सांसद विष्णुप्रसाद लामिछानेले किताब हेर्दा सानो देखिए पनि बजेटले प्रदेशबासीकोभविष्य समेटेको जिकिर गरें । बजेटमाथि टिप्पणी गर्न रोस्टममा उभिएका उनी निकै सजग देखिन्थे । 

‘प्रतिपक्षले दिए पनि विपक्षीले दिए पनि सुझाव लिन हुन्छ । किताब भित्र प्रदेशबासीले आफ्नो भविष्य खोजी रहेको छ । प्रतिपक्ष उभियो विरोध गर्न उभियो भन्ने जस्तो लाग्छ । तर होइन,’ उनले भने, ‘जनतालाई बचाउ । आरडिटी काम लागेन । पिसिआर गरिनुपर्छ । विदेशबाट दाजुभाइ आए तिनको उचित व्यवस्थापन गरौं भन्नु पनि विरोध गरेको हो र ? प्रदेशलाई आत्मनिर्भर बनाउ भनेको छौं पर्दैन र ? कोरोनाले परिस्थिति बने पनि प्रदेशलाई आत्मनिर्भर बनाउन मिल्दैन र ? जसको आडमा यहाँ छौं ? तिनको भनाई नसमेटिने ? हामीले दिएका सुझाव रद्दिको टोकरीमा फाल्ने लायकका थिए र ? छातीमा हात राखेर सोचनुस् प्रतिपक्षले विरोधका लागि मात्रै विरोध गरेको हो त ?’

सांसद दिलमाया रोकामगरले बजेट सुन्दर भाषा शैलीमा सबै क्षेत्रलाई समेट्ने गरि आएको तर्क राखिन् । बजेट नागरिकको आवाजको प्रतिबिम्ब भएको हुनाले पनि बजेटमाथि नागरिकको अपेक्षा रहने उनको भनाइै थियो । उनले  परिस्थिति बजेट आफैंमा सुन्दर आए पनि यसको कार्यान्वयनका लागि अर्थमन्त्री मात्र होइन सबैले दायित्व बहन गर्नुपर्ने जिकिरि गरिन् ।
सांसद इन्द्रधारा विष्टले बजेट नीलो आकाश जस्तै विशाल आएको तर्क राखे । नीलो आकाशलाई सबैले अनुभुत गर्न मिल्ने उनको तर्क छ ।

 ‘यो नीलो किताब नीलो आकाश झैं सफा छ । संघ र गण्डकी प्रदेश सरकारको कानुन । दिगो विकासको लक्ष सहित पञ्चवर्षिय योजना । मध्यकालिन खर्च संरचना,’ उनले भने, ‘प्रदेश सरकारको नीति तथा कार्यक्रम विनियोजन विधेयक सांसदका सुझाव र प्रदेशबासि नागरिककको आवश्यकतालाई मध्यनजर गरेर बजेट आएको छ ।’

बजेटले बुँदा बुँदामा प्रदेश बासिलाई सम्बोधन गरेको उनले जिकिर गरे । बजेटको बचाउ गर्दै सांसद विष्टले प्रदेश सरकार च्यात्ने कैंची हैन, सिलाउने सियो बनेको तर्क गरे ।

विपक्षी दलका सांसदहरुले छलफलमा यो भएन त्यो भएन भन्दा छक्क परेको उनले प्रतिक्रिया दिए । बजेटमाथि प्रतिपक्षको टिप्पणीलाई व्यंग्य गर्दै उनले, बजेट बाटो हेरेर हिंडेको ढुकुटी हेरेर खर्चको अनुमान गरेको तर्क राखे ।

 प्रदेशको साधन स्रोतअनुसार घाँटी हेरेर बजेट आएको उनले जिकिर गरे । दुई तीन वर्ष अघि खाल्डाखुल्डीमा हिडेको हुनाले पनि ग्राभेल बाटोमा हिड्दा हल्लाए जस्तो लाग्न सक्ने उनले बताए । सरकारको गति हेर्दा अबको दुई तीन वर्षपछि रेलमा सलल हिड्ने समेत उनले दाबी गरे । 
सांसद कुमार खड्काले बजेटको आकार सकारात्मक रहेको टिप्पणी गरे । 

चालु आर्थिक वर्षमा आन्तरिक आम्दानी पौने दुई अर्ब मात्र भए पनि लकडाउन खुल्दै गएर आंशिक आर्थिक गतिविधि हुन पायो भने ४० अर्ब ६० करोडको आन्तरिक राजश्व लक्ष सम्भव हुने उनको जिकिर छ ।

चालु आवमा एक अर्ब ९८ करोड आन्तरिक ऋणको लक्ष भए पनि एक पैसा पनि चलाउनु नपर्ने, दु्ई अर्बको ऋण पनि प्रयोग गर्नु नपर्ने उनले सुनाए । घाटा बजेट आयो भन्दैमा आत्तिई हाल्नुपर्ने अवस्था नरहेको उनको धारणा छ । 

यस्तै, व्यवसाय जीवन रक्षा कोषको लागि सरकारले ल्याएको बजेट पनि सर्वाधिक सकारात्मक पक्षमध्येको एक रहेको उनले बताए । कृषि र होमस्टेमा जस्तै इच्छाएको व्यक्तिलाई दिने गरि कार्यविधि बनाउनु भने नहुने उनले जिकिर गरे ।

बजेटमा नयाँ ३ बुँदा मात्रै आएको उनले बताए । यसलाई सरकारको बाध्यताको रुपमा बुझ्न सकिने उनले सुनाए । बजेटका अन्य पाटो भने तथ्यांक भन्दा मिथ्यांक बढी आएको उनको भनाई थियो । 

यस्तै, सांसद मणिभद्र शर्माले सोच राम्रा भएका धेरै योजनालाई बजेटले भने उपहास गरेको सुनाए । बजेटले लक्ष पूरा गर्न अपर्याप्त रहेको उनको जिकिर छ । ‘गाउँले भाषामा झरो ओराली भन्ने जस्तो बजेट आएको छ,’ उनले भने ।

 बजेटले संघीयतालाई उपहास गर्न खोजेको उनको आरोप छ । केही बुँदा मितव्ययीताको नारा धेरै चर्र्काए पनि संरचनामाथि संरचना मितव्ययीतासँग मेल नखाने उनको जिकिर छ । 

सांसद कृष्ण थापाले कौवा जस्तो बजेट आएको बताए । सांसदमा बजेटमाथिको छलफलभन्दा बढी एक अर्कालाई कटाक्ष गरेर स्वास्थानी पढिएको उनको जिकिर छ ।‘गाउँमा के भन्ने चलन छ, धेरै घिउ खाए पनि कौवा त त्यही छ नि, संघीय व्यवस्थामा प्रदेशलाई राम्रो बनाउने भनेर फुबुट्टा हाले पनि बजेट त यहीं हो नि त,’ उनले भने, ‘४५ प्रतिशत ह्रस्व दिर्घ केही चेञ्ज गर्न नमिल्ने । बाँकी रहेको ४६ पुर्ति गर्न चालु आवमा फर्केर आउला भनेर ७ अर्ब अनुमान गरेर बजेट ल्याएको । सबै कुरा कौवा जस्तो छ ।’ 

यति सानो बजेटले प्रदेश समृद्ध बन्नेमा आफू विश्वस्त नरहेको उनले धारणा राखे । अर्का सांसद हरिशरण आचार्यले चालु वर्षको बजेट खर्च गर्दा प्रतिपक्ष नै छैन जस्तै गरि सत्ताको उन्मादमा सरकारले ढुकुटी रित्याएको आरोप लगाए । चैत र वैशाखमा कार्यकर्ता बोलाएर आफै अंशबण्डा गरेका उनको आरोप छ ।

 ‘बजेट पोका÷पोका बनाएर राख्ने भोलिपल्ट कार्यकर्तालाई बाड्ने ? यही होइन त भ्रष्टाचार शुन्य सहनशिलता ? कोभिडलाई लुट्ने बहानाको रुपमा लिइएको छ,’ उनले भने ।  

सांसद सावित्रा रानाले जनतालाई उत्तरदायि बनाउने गरि बजेट आएको जिकिर गरिन् । पञ्चर्षिय योजना आत्मसात गर्र्दै बजेट आएको उनको भनार्य छ । अर्का सांसद मीनप्रसाद गुरुङले सिमित स्रोत साधन बाबजुद क्षेत्रगत रुपमा समेट्ने गरि बजेट आएको बताए ।

अर्की सांसदजुनादेवी नेपालीले उपलब्ध स्रोत र साधनको उच्चतम प्रयोग गर्न बजेट कोसे ढुंगा साबित हुने विश्वास लिइन् । सांसद दीपक थापाले आ–आफ्नो ठाउँबाट बजेटको आलोचना गरे पनि बजेट सही आएको जिकिर गरें । उनले बजेट सही ढंगले निर्धारित गरेको दाबी गरे ।

अर्की सांसद मित्रकुमारी गुरुङ सुवेदीले सन्तुलित र समाजवाद उन्मुख बजेट आएको बताइन् । सांसद आशा कोइरालाले बजेटले कोभिडको रोकथामलाई उच्च प्राथमिकता दिएको साथै वर्तमान भुत र भविष्याको स्पष्ट ढंगले सम्बोधन गरेर बजेट आएको जिकिर गरिन् । सभाको अर्को बैठक असार ७ गते दिनको १२ बजे बस्ने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्याम राना मगर
श्याम राना मगर

राना गण्डकी प्रदेशका विशेष प्रतिनिधि हुन् । 

लेखकबाट थप