केन्द्रीय संस्करण
अर्थतन्त्र

भारुको विनिमयदर परिवर्तन : नेपालसँग चार विकल्प, कुन फाइदाजनक ?

person explore access_timeअसार ५, २०७७ chat_bubble_outline0

काठमाडौं । अतिक्रमित भूमिउपर नेपालको दाबीलाई संवैधानिक रुपमा मान्यता दिएपछि यतिबेला नेपाल र भारतबीचको सम्बन्ध चिसिएको छ । नेपालले आफ्नो दाबी गरेर पनि भारतको नियन्त्रणमा रहेको लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रलाई आफ्नो नक्सामा राख्नेगरी नेपालले चालेको कदमपछि सीमा विवादको सम्बन्धमा नेपालसँग वार्ता गर्ने सम्भावना सकिएको धम्कीसमेत भारतले दिएको छ । नेपालले भने अब भारतसँग सार्थक वार्ता हुने जनाएको छ ।

नेपाल र भारतबीचको कुटनीतिक चिसोपनसँगै सन् १९५० को नेपाल भारत सन्धी पुनरावलोकन गरेर खुला सीमाना बन्द गर्नुपर्ने तथा भारतीय मुद्रासँग नेपाली मुद्राको स्थिर विनिमयलाई समेत अन्त्य गर्नुपर्ने माग समेत उठ्न थालेको छ । अहिले भारुसँगको विनिमयलाई अरु मुद्राजस्तै गतिशील बनाएर भारतसँगको विशेष सम्बन्ध तोड्नुपर्ने माग समेत उठ्ने गरेको छ । 

अहिले भारतसँग नेपालको विनिमयदर १.६० रुपैयाँ छ । अर्थात् १ रुपैयाँ भारु किन्न नेपालीले १.६ रुपैयाँ नेपाली रुपैयाँ तिर्नुपर्छ । नेपालले सबैजसो विदेशी व्यापारमा सम्बन्धित देशको नोट वा डलर तिरेर कारोबार गर्छ । जस्तै, नेपालले भारतसँग नेपाली १० खर्ब रुपैयाँको सामान आयात गर्छ भने त्यसबापत हुने ६ खर्ब २५ अर्ब भारतीय रुपैयाँ दिनुपर्छ ।

नेपालसँग भारतीय रुपैयाँ प्राप्त गर्ने स्रोत हुन्छन् । पहिलो, नेपालले भारतमा गरेको निर्यातबाट त्यस्तो रकम प्राप्त गर्न सक्छ । दोस्रो, भारतीय लगानीकर्ताले नेपालमा लगानी गर्दा सटही गर्ने मुद्राबाट त्यस्तो रकमको जोहो हुन सक्छ । र, तेस्रो भारतमा बस्ने नेपाली श्रमिक वा लगानीकर्ताले भारतमा कमाएर नेपाल पठाएको रकम पनि सो प्रयोजनको लागि प्रयोग गर्न सकिन्छ । तर, त्यतिले पनि पुगेन भने नेपालले अन्य डलर वा विदेशी मुद्रासँग भारतीय रुपैयाँ किनेर भुक्तानी गर्ने विकल्प पनि हुन्छ । नेपालले अर्बौँ डलर बेचेर वार्षिक रुपमा भारु किनिरहेको हुन्छ ।


नेपालको कुल व्यापारमा अहिले भारतको हिस्सा करिब ६० प्रतिशत छ । यो करिब १० खर्ब रुपैयाँ बराबरको हो । तर, यसरी आउने १० खर्ब रुपैयाँ बराबरको सामानको भुक्तानीका लागि यसरी नै स्रोत जुटाउँदै आएको छ ।

यो अवस्थामा अहिलेको विनिमयदरलाई तलमाथि गर्दा के फरक होला ? यो व्याख्या गर्नुअघि नेपालले परिवर्तन गर्नसक्ने विनिमयदरको विकल्पबारे सोचौं । नेपालसँग विनिमयदर परिवर्तन गर्ने ४ वटा विकल्प हुन्छ । बिनिमयदरलाई अहिलेकै अवस्थामा स्थिर राख्ने, मुद्राको अवमूल्यन गरेर मूल्यलाई १.६० भन्दा माथि पुर्याउने, मूल्यलाई अधिमुल्यन गरेर १.६० भन्दा कम गर्ने र गतिशील विनिमयदर कायम गर्ने ।

कुन विकल्प रोज्दा के हुन्छ ?

१. अहिलेकै विनिमयदर कायम राख्दा

अहिलेकै विनिमयदर कायम राख्दा नेपाल–भारतको अहिले जस्तो व्यापार र भुक्तानी सन्तुलनको अवस्था छ, त्यसमा विनिमयदरकै कारण केही परिवर्तन हुने छैन । यो जोखिमरहित अवस्था हो । नेपाल राष्ट्र बैंकको विनिमयदर पुनरावलोकनले पार्ने प्रभावका सम्बन्धमा अध्ययन गरिरहेको टीममा सदस्यसमेत रहेका राष्ट्र बैंकका उपनिर्देशक सिद्धराज भट्ट भन्छन्, ‘यही जोखिम नलिने व्यवहारका कारण हामीले सन् १९९३ देखि आजसम्म विनिमयदरलाई स्थिर नै राख्दै आएका छौँ । यो २८ वर्ष भइसकेको छ ।’

अहिलेको समस्या भनेको भारतसँगको उच्च परनिर्भरता हो । राष्ट्रवादको आवाज बढ्दै जाँदा आर्थिक राष्ट्रवाद अगाडि आउने सम्बन्धमा नेपालको परनिर्भरता अन्त्य गर्ने हिसाबले यो माग उठेको हो । तर, यही विनिमयदर कायम गर्दा हामीले मौद्रिक प्रयासबाट यसतर्फ अघि बढ्न नचाहेको जस्तो देखिन्छ । यो अवस्थामा अहिलेको व्यापार घाटा, भुक्तानी सन्तुलन, कामदारहरुको इन्फ्लो र आउटफ्लो जस्ता विषयहरु पनि उस्तै रहन्छन् ।

२. विनिमयदरलाई अधिमूल्यन गर्दा

विनिमयदर अधिमूल्यन गर्नु भनेको अहिले भएको १.६० विनिमयदरलाई घटाउनु हो । अर्थात् त्योभन्दा कम १.४० वा १.३० तर्फ उन्मुख गराउने हो । यसो गर्दा नेपाली उपभेक्ताले भारतीय सामान सस्तो दरमा किन्न पाउँछन् । यसले गर्दा मुद्रास्फीति पनि कम हुन्छ । भारतबाट नेपालमा सामान ल्याएर उद्योग चलाउनेको लागत कम हुन्छ । नेपालमा सञ्चालित जलविद्युत् आयोजना वा अन्य पुँजी निर्माणको लागत पनि कम हुन्छ ।

तर यसको फाइदाभन्दा धेरै बेफाइदा छ । यसले गर्दा देशमा भारतीय सामानको उपयोग बढ्छ । यसले गर्दा व्यापार घाटा बढाउन मद्दत पनि गर्छ । त्यतिमात्रे होइन, भारतमा गएर नेपालमा काम गर्नेले कमाएर ल्याएको पैसा घट्छ । नेपालमा उत्पादन हुने वस्तुभन्दा भारतमा उत्पादन हुने वस्तु सस्तो पार्दा स्थानीय उद्योगको प्रतिस्पर्धात्मक लाभ कम हुन्छ ।

३. मुद्राको अवमूल्यन गर्दा

अधिमूल्यनको ठीक उल्टो विनिमयदरको अवमूल्यन गर्नु भनेको अहिले भएको १.६० विनिमयदरलाई बढाउनु हो । अहिलेको दरभन्दा बढी  अर्थात् १.८० वा २.०० तर्फ उन्मुख गराउने हो । यसो गर्दा नेपाली उपभोक्तालाई भारतीय सामान महँगो पर्न जान्छ । यसले गर्दा निकै मुद्रास्फीति बढ्छ ।

सन् १९९३ अघिका ३/४ वर्षसम्म नेपालले भारतीय रुपैयाँको विनिमयदर परिवर्तन गर्दै आएको थियो । त्योबेला भएको अवमूल्यनका कारण त्यतिबेला नेपालको मुद्रास्फीतिदर २० प्रतिशतभन्दा पनि माथि रहेको भट्टको भनाइ छ । अहिलेको अवस्थामा पनि अवमूल्यनले ‘हाइपर इन्फ्लेसन’को अवस्थामा पुर्याउनसक्ने उनको भनाई छ ।

भारतबाट नेपालमा सामान ल्याएर उद्योग चलाउनेको लागत बढी हुन्छ । यसले गर्दा नेपालको खाद्यान्न उद्योग, दाना उद्योगदेखि नेपालको पुँजी निर्माणका क्षेत्रहरु हाइड्रोपावर, सडक तथा अन्य आयोजनामा समेत नकारात्मक असर पार्न थाल्छ ।

अर्कोतिर, मुद्राको अवमूल्यन गर्दा नेपाली व्यवसायीहरुको प्रतिस्पर्धात्मक क्षमता बढ्छ । यसले गर्दा भारतीय वस्तुहरुसँग स्थानीय उत्पादनले प्रतिस्पर्धा गर्नसक्ने वातावरण भने बन्छ । त्यसैले मुद्राको अवमूल्यनलाई ‘अवमूल्यन कर’को रुपमा समेत व्याख्या गरिन्छ । नेपाल र भारतबीचको सन्धीका कारण भन्सार दरलाई धेरै घटबढ गर्न नसक्ने अवस्थामा यसको महत्व रहेको तर्क पनि गरिन्छ ।

त्यस्तै, अवमूल्यनका कारणले भारतमा काम गरेर नेपालमा पैसा पठाउनेले लाभ प्राप्त गर्छन् । उता, नेपालमा काम गर्ने भारतीयहरुले कमाएको पैसा भारत पठाउँदा यसको मूल्य कम हुने भएकोले उनीहरु नेपालबाट पलायन हुने सम्भावना हुन्छ । यसले गर्दा नेपालीले त्यो कामको प्रतिस्थापन गर्ने वातावरण समेत बन्छ । तर, नेपालमा उपलब्ध नभएका दक्ष श्रमिकलाई टिकाउन भने नेपाली व्यवसायीलेले ठूलो रकम खर्च गर्नुपर्ने अवस्था आउँछ ।

४. गतिशील विनिमयदर

अर्को विकल्प भनेको स्थिर विनिमयदरको अन्त्य हो । यो अवस्था रह्यो भने डलर वा अन्य मुद्राजस्तै भारतीय मुद्राको मूल्य समेत दिनदिनै तलमाथि हुन्छ । यसरी परिवर्तनशील मुल्यनिर्धारण हुँदा जनजीवन र व्यापार प्रभावित हुन्छ । राष्ट्र बैंकका उपनिर्देशक भट्ट भन्छन्, ‘कुनै व्यापारीले १५० रुपैयाँमा सामान किनेको छ र त्यो बाटोमा आउँदा आउँदै १६० रुपैयाँ पुग्यो भने त्यस्तो व्यापारबाट नाफा हुन सक्दैन । त्यसैले आपसी व्यापारलाई जोगाउन धेरै व्यापार हुने देशसँग स्थिर विनिमयदर कायम गर्नुपर्छ भन्ने मान्यता राखिन्छ ।’

स्थिर विनिमयदरको अर्को कारण भनेको खुला सीमाना पनि हो । खुला सीमानाका कारण दुई देशबीचमा नागरिकहरुको  आवतजावत निकै बाक्लो हुन्छ । उनीहरुले गर्ने कारोबार पनि निकै धेरै हुन्छ । यस्तो अवस्थामा दिनप्रतिदिन हुने विनिमयदर परिवर्तनले दैनिक कारोबारलाई समेत असहज बनाउँछ । त्यसैले खुला सीमाना भएका मुलुकहरुले स्थिर विनिमयलाई नै आत्मसात गरेका हुन्छन् ।

अहिलेको अवस्थामा गतिशील मुद्राप्रणाली कायम गर्ने हो भने नेपाली मुद्राको ठूलो अवमूल्यन हुन्छ । सन् १९९३ देखि नेपालको भन्दा भारतको आर्थिक वृद्धि बढी र मुद्रास्फीति कम भएका कारण यस्तो मूल्य २०० भन्दा बढी पुग्ने अनुमान विज्ञहरुको छ । त्यसैले मूल्य गतिशील बनाउनु भनेको अवमूल्यन गर्नुजस्तै हो ।

नेपालले चाहँदैमा परिवर्तन हुन्छ ?

सामान्यतया नेपाली मुद्रासँग अन्य मुद्राको विनिमयदर कति राख्ने भन्ने निर्णय नेपाल राष्ट्र बैंक आफैले गर्न सक्छ । यसमा भारतीय पक्षसँग सोधपुछ गरिराख्नु पर्दैन । किनकी नेपालले अहिले पनि भारतसँग भारतीय रुपैयाँमै सामान किन्ने हो । भोलि पनि त्यही हो ।

त्यसो भन्दै गर्दा यसमा भारत वा अरु देशहरुको कुनै चासो नरहने भन्ने चाहिँ होइन । अन्तर्राष्ट्रिय मुद्रा कोषले प्रत्येक वर्षको रिपोर्टमा नेपालले मुद्राको अवमूल्यन गर्नुपर्ने सुझाव दिइरहेको छ । वर्षौंदेखि नेपालले यो सुझाव कार्यान्वयन नगरिरहेको अवस्थामा नेपालले सुझाव विपरित मुद्राको अधिमूल्यन गर्न सक्दैन ।

उता, खुला सीमा कायम रहुञ्जेल र व्यापारको विविधिकरण नभएसम्म र नेपालको अर्थतन्त्र मजबुत नभएसम्म गतिशील विनिमयदरलाई आत्मसात गर्न समेत नहुने सुझाव विज्ञहरुले दिएका छन् । यस्तो अवस्थामा अहिलेको दुई विकल्प भनेको विनिमयदर स्थिर राख्ने कि मुद्राको अवमूल्यन गर्ने भन्ने मात्रै हो ।

अहिलेको आवश्यकता के हो ? 

विनिमयदर परिवर्तनको विषयमा विज्ञहरु एकमत छैनन् । मुद्राको अवमूलयन गर्ने कि नगर्ने ? भन्नेमै उनीहरुको बहस बढी केन्द्रित भएको देखिन्छ । तर धेरैजसो अर्थशास्त्रीहरु विनिमयदर परिवर्तन गर्नुअघि धेरै सोचविचार गरेर मात्रै निर्णय लिनुपर्नेमा सहमत छन् । कोरोनाभाइरसको अहिलेको अवस्थामा चलेको विनिमयदर परिवर्तनको बहस थप घातक हुने उनीहरुको भनाइ छ ।

अहिलेको अवस्थामा मुद्राको अवमूल्यनले आयात घटाउनसक्ने अवस्था देखिँदैन । नेपालमा आयात हुने वस्तुहरुमध्ये पेट्रोलियम पदार्थ, फलाम, आइरन, मेसिनरी अटोमोबाइल्स जस्ता वस्तुहरुको हिस्सा बढी छ । विकास निर्माणका लागि अत्यावश्यक मानिने ती वस्तुहरु तत्कालै नेपालमै उत्पादन गर्नसक्ने खालको नभएकोले यसले मुद्रास्फीतिमा निकै नै चाप पर्ने अवस्था रहेको उनीहरुको भनाई छ ।

अवस्था सहज भएपछि नेपालमा उद्यामशीलताको विकास गर्ने ठोस प्रतिवद्धतासहित हुने विनिमयदरले भने दीर्घकालमा राम्रो नतिजा दिन सक्नेमा भने विज्ञहरु सहमत छन् । तर, हचुवाको भरा गरिने निर्णयले भने अर्थतन्त्रलाई सही दिशामा लैजान नसक्ने उनीहरुको भनाई छ । अहिले नेपाल राष्ट्र बैंकले विनिमयदर परिवर्तनको आवश्यकता र प्रभावबारे अध्ययन गरिरहेको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.