शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एअर अरेबियाले महँगो भाडा लिएपछि यात्रुले टिकट नै काटेनन्, नेपाली दूतावासले उल्टै दबाब दियो

महँगो भाडा भएको वायुसेवा कम्पनीबाटै नेपाल जान नेपाली दूतावासको फोन
बिहीबार, ०४ असार २०७७, १५ : २२
बिहीबार, ०४ असार २०७७

अन्य कुरा यथावत रहेको थियो भने जुन १६ अर्थात् मंगलबार नेपाल एअरलाइन्सको विमानमार्फत् संयुक्त अरब इमिरेट्स (युएई)को दुबईबाट २ सय ६५ भन्दा बढी नेपाली नागरिक काठमाडौं आइसकेका हुन्थे । 

तर नेपालस्थित युएई दूतावासले जुन १५ को राति एउटा इमेल पठाएर यसअघि दिइएको उडान अनुमति ‘प्राविधिक कारणवश’ रद्ध गरिएको जानकारी दियो । त्यसपछि नेपाल एअरलाइन्स समस्यामा परेका नेपाली यात्रु लिन दुबई उड्न पाएन । 

जुन १६ गतेको त्यो ‘प्राविधिक कारण’ अरु केही नभएर युएईका वायुसेवा कम्पनीहरुलाई उडान अनुमति नदिनु नै थियो । त्यसैको बदलामा उक्त युएई सरकारले नेपाली विमान कम्पनीको उडान अनुमति पनि रद्ध गरिदिएको थियो ।


 युएईमा समस्यामा परेका नेपाली नागरिकलाई ल्याउन सुरुमा नेपाल सरकारले नेपाली वायुसेवा कम्पनीबाट मात्रै गराउने योजना बनाएको थियो । यदि त्यसो हुन सकेको थियो भने कम्तीमा पनि करिब ५ अर्ब रुपैयाँ नेपालमै रहन्थ्यो र त्यो रकम नेपाली विमान कम्पनीहरुले पाउने थिए । 

तर, जुन देशबाट उद्धार गरी नेपाली ल्याउने हो, सोही देशको वायुसेवा कम्पनीलाई पनि उडान अनुमति नदिए नेपालीलाई उद्धार गरेर ल्याउनै समस्या पर्ने देखियो । जसको कारण नेपाल सरकारले जुन देशबाट यात्रु लिएर आउने हो, त्यो देशको वायुसेवा कम्पनीलाई आधा उडान र नेपाली वायुसेवा कम्पनीलाई आधा उडान गर्न दिने गरी तयारी गर्यो र त्यसैका आधारमा सरकारले उद्धार उडानको अनुमति दिने निर्णय गर्यो । जसका लागि ४२ वटा उडानको सूची नै सरकारले सार्वजनिक गर्यो । 

सरकारले उडानको सूची मात्रै सार्वजनिक गरेन, कुन देशको कुन विमानस्थलबाट नेपाल आउँदा कति रकम लिन पाउने भन्दै मूल्य सूची नै सार्वजनिक गरिदियो । 

सुरुमा अति महँगो शुल्क राखेर सरकारले मूल्यसूची जारी गर्यो । तर त्यो मूल्यसूची महँगो भएको भन्दै चौतर्फी विरोध भएपछि सरकारले भाडा पनि घटायो । 

सरकारले सुरुमा युएईबाट नेपाल फर्कनका लागि प्रतियात्रु ५ सय अमेरिकी डलर लिन पाउने भनेर मूल्यसूची जारी गर्यो । तर त्यसको चौतर्फी विरोध भएपछि जेठ ३० गते सरकारले त्यसअघि जारी गरेको मूल्यसूची परिवर्तन गरी केही मात्रामा भाडा घटायो । 

सरकारले सुरुमा युएईको दुबई, आवुधाबी र शारजाहबाट नेपाल आउनका लागि प्रतियात्रु ५ सय अमेरिकी डलर लिन पाउने भनेको थियो । ५ सय अमेरिकी डलर भनेको ६१ हजार नेपाली रुपैयाँ पर्न जान्थ्यो ।
तर भाडा महँगो भएको भन्दै बिरोध भएपछि सरकारले जेठ ३० गते भाडादरमा केही परिवर्तन गर्यो । जस अनुसार दुबई, अवुधाबी र शारजाहको भाडा ५० डलर घटाएर ४ सय ५० अमेरिकी डलर कायम गर्यो । त्यो भनेको करिब ५५ हजार नेपाली रकम हुन्थ्यो र मात्रै ६ हजार कम गर्यो । 

तर समस्यामा परेका नेपालीहरु जसलाई उद्धार गर्नु परेको छ, ती मानिसहरुले यति धेरै भाडा तिर्न नसक्ने भन्दै विरोध भएपछि सरकारले जेठ ३२ गते पुनः भाडा घटायो । सरकारले घटाएको भाडा अनुसार अहिले युएईको  दुबईबाट नेपाल आउनका लागि सरकारले ३ सय ७२ अमेरिकी डलरको भाडा तोकेको छ । 

सरकारले ३ सय ७२ अमेरिकी डलरको भाडा तोकेपनि नेपाल वायुसेवा निगमले ३ सय ६० अमेरिकी डलरमै नेपाल ल्याउने भन्दै मूल्यसूची सार्वजनिक गर्यो भने हिमालय एअरलायन्सले ३ सय ८५ अमेरिकी डलरमा नेपाल ल्याउने भन्दै भाडा सूची सार्वजनिक गर्यो । 

तर युएईका वायुसेवा कम्पनीहरु एअर अरेबिया र फ्लाई दुबईले भने सरकारले सुरुमा तोकेको भाडा अर्थात् ५ सय अमेरिकी डलरमा उडाउने भन्दै प्रतियात्रु ५ सय अमेरिकी डलरका दरले टिकट बुकिङ गर्दै पैसा उठाउन थाल्यो । ती वायुसेवा कम्पनीहरुले नेपालबाट उडान अनुमति नपाएको भएपनि टिकट बुकिङ गर्दै पैसा भने उठाइसकेका थिए । 

तर ती दुई विमान कम्पनीहरुले महँगो भाडा लिएको भन्दै गुनासो आएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले एअर अरेबियालाई उडान अनुमति नै दिएको थिएन । युएई सरकारले नेपाल एअरलाइन्सलाई भने उद्धार उडानको अनुमति दिई जुन १६ अर्थात् गत मंगलबार नै पहिलो उडान गर्दै थियो । 

तर जब नेपाल सरकारले महँगो भाडामै उडाउने गरी एअर अरेबियालाई उडान अनुमति दिएन, युएई सरकारले पनि नेपाल एअरलाइन्सलाई दिइसकेको उडान अनुमति पनि रद्द गरिदियो । त्यसपछि बाध्य भएर नेपाल एअरलाइन्सको मंगलबार हुने भनिएको उडान रद्द भयो । 

तर नेपाल सरकारले बुधबार राति एअर अरेबिया र फ्लाई दुबईलाई ५ सय अमेरिकी डलरमै उडान भर्न पाउने गरी उडान अनुमति दिएपछि युएई सरकारले पनि नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सलाई पनि उडान अनुमति दिएको छ ।

यात्रु नपाएपछि एअर अरेबियाको उडान रद्ध
एअर अरेबियाले जुन १८ अर्थात् बिहीबार मध्यान्ह १२ बजे युएईको शारजाहबाट काठमाडौंका लागि उडान भर्दै थियो । उसले भाडा दर ५ सय अमेरिकी डलर अर्थात् युएई दिराम १ हजार ८ सय ४० नै राखेको थियो । त्यसबाहेक कोभिड १९ टेष्टका लागि भन्दै उसले थप ५ सय दिराम अर्थात् झण्डै १६ हजार नेपाली रुपैयाँ लाग्ने भन्दै दूतावासबाट प्राप्त नामावली भएकाहरुलाई सम्पर्क गरेको थियो ।

तर नेपाली यात्रुहरुले त्यति धेरै रकम तिरेर नेपाल नजाने बरु भाडा सस्तिएपछि मात्रै नेपाल फर्कने भन्दै टिकट नै नकाटेपछि आवश्यक यात्रु सङ्ख्या नै पुगेन । १ सय ६८ सिट क्षमता भएको एअर अरेबियाको विमानमा यात्रु सङ्ख्या नपुगेपछि बिहीबारको उडान नै स्थगित गरिएको छ ।

एअर अरेबियाकै टिकट काट्न दूतावास कर्मचारीको दवाव

यता युएईस्थित नेपाली दूतावासका कर्मचारीले भने नेपाली यात्रुहरुलाई सम्पर्क गरी सूची अनुसार नै वायुसेवा कम्पनी छुट्याएर पठाएको भन्दै त्यही कम्पनीबाट नेपाल जान भनेको छ ।

 युएईमा रहेका सुवास खतिवडा (नाम परिवर्तन) लाई युएईस्थित नेपाली दूतावासका कर्मचारीले फोन सम्पर्क गरी एअर अरेबियाकै टिकट काटेर नेपाल जान भनेको थियो । उक्त भाडा महँगो भएको र सस्तो भाडा भएको वायुसेवा कम्पनीमा सिफारिस गरिदिन आग्रह गर्दा दूतावासका कर्मचारीले त्यही वायुसेवामा नगए नामावाली क्यान्सिल गराइदिने धम्की दिएको खतिवडाले बताए । उनले भने, ‘मलाई एम्बेसीबाट फोन आएको थियो । एअर अरेबियाको फ्लाइटबाट जाने सूचीमा तपाईँको नाम रहेको छ । टिकट काटेर जानुहोला भनेर फोन आयो । मैले टिकट महँगो भयो र त्यति पैसा छैन भनेँ । त्यसपछि ती कर्मचारीले नगए तपाईँको क्यान्सिल हुन्छ भनेर जवाफ दिए ।’

दूतावासका कर्मचारीले अन्य यात्रुहरुलाई पनि एअर अरेबियाकै टिकट काटेर जान फोन सम्पर्क गरेको थियो । तर पहिलेदेखि नै समस्यामा परेका यात्रुहरुले महँगो टिकट काट्न नसक्ने र सस्तो टिकट भएको विमान नै जान चाहेको बताएपनि दूतावास कर्मचारीले भने एअर अरेबियाकै विमानबाट नगए नामावाली नै क्यान्सिल गराइदिने धम्की दिएका छन् ।

नेपाली यात्रु सस्तो मूल्य भएको वायुसेवाबाटै जान इच्छुक, दूतावासले समन्वय नै गरेन
यता नेपाल फर्कनका लागि आतुर रहेका यात्रुहरु भने सस्तो मूल्यको टिकट काटेर नै नेपाल फर्कन चाहेका छन् । तर दुबईस्थित नेपाली दूतावासले भने यात्रुको नाम, फोन नम्बर र कुन विमानमा कति गते जाने भनेर पहिले नै तोकेर त्यसको नामावाली सम्बन्धित विमान कम्पनीहरुलाई दिइसकेको छ ।

 जसको कारण यात्रुहरुले दूतावासले जुन वायुसेवा कम्पनीका लागि र जुन मितिका लागि उडान तय गरिदियो त्यसैमा जान बाध्य पारिएको गुनासो गरेका छन् । 

दूतावासले एअर अरेबिया र फ्लाई दुबईका लागि ५ सय अमेरिकी डलरमा जाने गरी करिब १ हजार १ सय यात्रुहरुको नामावली पठाइसकेको छ । तर ती वायुसेवा कम्पनीमा नाम परेका नेपाली यात्रु पनि सस्तो मूल्यको नेपाल एअरलाइन्स वा हिमालय एअरलाइन्सबाटै नेपाल फर्कन चाहेका छन् । 

एअर अरेबियाबत्राट आउने सूचीमा परेका यात्रुहरुले वायुसेवा कम्पनी परिवर्तन गरिदिनका लागि दूतावासमा आग्रह गरेको भएपनि दूतावासका कर्मचारीले त्यसो गर्न नसकिने र नजाने भए नामावाली नै क्यान्सिल गरिदिने धम्की दिने गरेको अर्का एक नेपाली यात्रुले रातोपाटीलाई बताए । 

नेपाली वायुसेवा कम्पनीको भाडा १४ हजारदेखि १७ हजार सस्तो
अहिले युएईबाट नेपाल आउनका लागि नेपाल एअरलाइन्स, हिमालय एअरलाइन्स, एअर अरेबिया र फ्लाई दुबईले उडान अनुमति पाएका छन् । अनुमति अनुसार हाललाई नेपाल एअरलाइन्सले दुईवटा फ्लाइट, हिमालय एअरलाइन्स, एअर अरेबिया र फ्लाई दुबईले ३–३ वटा उडान गर्ने भएका छन् । जस अनुसार नेपाल एअरलाइन्सले जुन १८ र जुन २० मा उडान गर्दैछ भने हिमालय एअरलाइन्सले जुन २०, २३ र २४ मा उडान भर्दैछ । 
दुबईबाट उडान भर्ने नेपाल एअरलाइन्सको भाडा ३ सय ६० अमेरिकी डलर अर्थात् करिब ४४ हजार नेपाली रुपैयाँ पर्छ भने त्यहीाबाट उडान भर्ने फ्लाई दुबईको भाडा ६१ हजार नेपाली रुपैयाँ छ । जसको मूल्य अन्तर १७ हजार अर्थात् नेपाल एअरलाइन्स फ्लाई दुबईभन्दा १७ हजार सस्तो रहेको छ ।

त्यसैगरी अवुधाबीबाट उडान भर्ने हिमालय एअरलाइन्सको भाडा ३ सय ८३ अमेरिकी डलर अर्थात् करिब ४७ हजार नेपाली रुपैयाा रहेको छ । अवुधाबीबाट हिमालय एअरलाइन्सले मात्रै उडान भर्नेछ । 
त्यसैगरी शारजाहबाट उडान भर्ने एअर अरेबियाको भाडा पनि ५ सय अमेरिकी डलर नै रहेको छ। शारजाहबाट एअर अरेबियाले मात्रै उडान भर्नेछ । 

यात्रुको अपीलः सस्तो भाडा भएको विमानबाटै जान दिने व्यवस्था होस्
नेपाल फर्कनका लागि लामो प्रतिक्षा गरी बसेका यात्रुहरुले भने सस्तो टिकट भएको वायुसेवा कम्पनीबाटै जान पाउनुपर्ने भन्दै त्यसको व्यवस्था गरिदिन नेपाल सरकारसँग आग्रह गरेका छन् । 

उनीहरुले १७ हजार बढी भाडा तिरेर आउन नसक्ने भन्दै सस्तो मूल्य भएको वायुसेवा कम्पनीकै टिकट उपलब्ध गराइदिन र सस्तो टिकट भएको नेपाली वायुसेवा कम्पनीकै विमानमा जान पाउने गरी व्यवस्था गरिदिन आग्रह गरेका छन् ।  

यद्यपि युएईस्थित नेपाली दूतावासले भने जुन वायुसेवा कम्पनीका लागि छुट्याइएको हो, सोही वायुसेवा कम्पनीबाट मात्रै जान पाइने भन्दै छुट्याइएको कम्पनीबाट नगए क्यान्सिल गरिदिने बताउने गरेका छन् । 
हिमालय एअरलाइन्सले थप उडान पाउन सक्ने

नेपाल सरकारले जुन देशबाट आफ्ना नागरिकको उद्धार गर्ने हो सोही देशका वायुसेवा कम्पन्ीलाई ५० प्रतिशत र नेपाली वायुसेवा कम्पनीलाई ५० प्रतिशत उडान अनुमति दिने अनौपचारिक निर्णय गरेको छ । 
कुटनीतिक नियोगहरु मार्फत् भएको सहमति पनि नेपाली र सम्बन्धित देशका वायुसेवा कम्पनीलाई आधा आधा उडान गर्न दिने भन्ने छ । 

सोही सहमतिअनुसार युएईबाट जम्मा १२ उडान हुनेछन् । जस अनुसार नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सलाई ३–३ उडान र एअर अरेबिया तथा फ्लाई दुबईलाई ३–३ गरी कुल १२ उडान अनुमति दिने निर्णय भएको थियो । तर नेपाल एअरलाइन्सले युएईको दुबईबाट जम्मा २ वटा मात्र उडान गर्ने गरी तालिका सार्वजनिक गरेकाले यात्रु बाँकी रहेको अवस्थामा हिमालय एअरलाइन्सलाई थप एक उडानको अनुमति दिन सकिने नेपाल नागरिक उड्डयन प्राधिकरणले बताएको छ । 

दूतावासले किन यात्रुहरुलाई सम्पर्क गरी तोकिएको वायुसेवा कम्पनीबाटै नेपाल जान भन्यो भनेर बुझ्नका लागि दुबईस्थित नेपाली दूतावासमा सम्पर्क गर्दा राजदूत कृष्णप्रसाद ढकाल तथा प्रवक्ता रिता धितालको फोन उठेन । म्यासेज पठाउँदा पनि त्यसको कुनै जवाफ आएन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप