बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भारत र चीनबीचको तनावले नेपाल–भारत सीमा विवाद लम्बिने खतरा

बिहीबार, ०४ असार २०७७, ११ : १०
बिहीबार, ०४ असार २०७७

काठमाडौं । चीन र भारतबीच सीमा विवादका कारण पछिल्लो समय बढेको सैन्य तनावले क्षेत्रीय शान्तिमा कस्तो असर पर्ला भन्नेबारे यस क्षेत्रका विज्ञहरुले चर्चा गर्न थालेका छन् ।

दुई ठूला मुलुक चीन र भारतबीच लामो समयदेखि सीमा विवाद रहँदै आए पनि पछिल्लो पटक कम्तिमा २० भारतीय सैनिकको ज्यान जानेगरी सैन्यस्तरमा भएको झडपले तनावपूर्ण अवस्था सिर्जना गरेको छ ।

लद्दाखसँग जोगिएको गलवान उपत्यकामा गत सोमबार राति चीन र भारतका सुरक्षाकर्मीबीच झडप भएको विषयले अन्तर्राष्ट्रिय समुदायकै ध्यान केन्द्रित गरेको छ । त्यसमा पनि दुवै मुलुकबाट भौगोलिक रुपमा घेरिएको नेपालले दुवै छिमेकी मुलुक आपसमा सैन्य तनावतर्फ उन्मुख हुँदा थप सावधानी अपनाउनुपर्ने आवश्यकता नेपालका सैन्य मामलाका जानकारहरुले औंल्याएका छन् ।

भारत–चीन तनावले नेपालमा कस्तो प्रभाव पर्ला ?

भौगोलिक रुपमा विशाल दुई मुलुक चीन र भारतबाट घेरिएका कारण पनि उनीहरुबीच बढ्ने तनावबाट उत्पन्न हुने परिस्थितिको प्रभाव स्वाभाविक रुपमा नेपालमा पनि पर्ने सुरक्षा मामिला विज्ञ गेजा शर्मा वाग्ले बताउँछन् ।

खासगरी भारतका तीन छिमेकी मुलुकसँगको सम्बन्ध अहिले तनावपूर्ण बनेको उनको भनाइ छ । पाकिस्तान, चीन र नेपालसँग पछिल्लो समय भारतको सीमा विवाद बढेको उल्लेख गर्दै उनले यसले क्षेत्रीय शान्तिमा पनि प्रभाव पार्न सक्ने बताए ।

‘पाकिस्तानसँग त बारम्बार भारतको सीमा क्षेत्रमा विवाद र सैन्य कारवाहीका घटना हुँदै आएको थियो,’ उनले भने, ‘भारत र नेपालबीच पनि पछिल्लो समय सीमा विवाद चर्कियो भने वर्षौँदेखि भारत–चीन सीमा विवाद कायम रहे पनि अहिले झडपकै अवस्था सिर्जना भएपछि निश्चयनै क्षेत्रीय शान्ति प्रभावित हुन सक्ने खतरा देखिएको छ ।’

नेपाली सेनाका पूर्व जर्नेल प्रेमसिंह बस्न्यात भने भारत र चीनबीच पछिल्लो समय देखिएको तनावलाई युद्धका रुपमा बुझ्न नहुने बताउँछन् । दुवै मुलुकले युद्ध नचाहेको जिकिर गर्दै उनले भने, ‘गलवान उपत्यकामा भएको झडप परिस्थितिजन्य कारणले उत्पन्न भएको हो, यो युद्ध होइन ।’

तर दुवै मुलुकले यसलाई समझदारीपूर्वक समाधान गर्न नसकेको अवस्थामा भने परिस्थितिलाई युद्धतर्फ उन्मुख गराउन सक्ने उनले औंल्याए । त्यो अवस्थामा भने छिमेकी मुलुक भएका कारण नेपाल पनि प्रभावित हुन सक्ने उनको भनाइ छ ।

अहिलेकै परिस्थितिमा भारत र चीन युद्धतर्फ उन्मुख हुन्छन् भन्ने आफूलाई नलागेको उनले बताए । ‘चीन कम्तीमा २० वर्षसम्म युद्ध चाहँदैन, उसको उद्देश्य अरु नै छ,’ उनले भने, ‘पाकिस्तानसँग सदैव तनावपूर्ण सम्बन्ध रहेको भारतले अरु छिमेकी मुलुकसँगको सम्बन्धलाई पनि त्यो स्तरमा पु¥याउन चाहन्छ भन्ने मलाई लाग्दैन ।’

‘भारतको गलत नीतिको परिणाम’

सुरक्षा मामिला विज्ञ गेजा शर्मा वाग्ले भारत र चीनबीच सन् १९६७ यता युद्धको अवस्था नरहेको परिस्थितिमा हालै सीमा क्षेत्रमा दुई मुलुकका सैनिकबीच भएको झडपले युद्धको खतरा निम्त्याएको बताउँछन् ।

पछिल्लो घटनाक्रममा उनी भारतको गलत नीतिलाई नै दोष दिन्छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले छिमेकी मुलुकका सन्दर्भमा कुटनीतिक तथा राजनीतिक सम्बन्धलाई भन्दा पनि सैन्य नीतिलाई प्राथमिकता दिन थालेका कारण यस्ता घटना हुन मलजल पुगेको उनको विश्लेषण छ ।

पाकिस्तान, चीन, नेपालसँग भारतको सीमा विवाद चर्किदै गएको परिस्थितिमा त्यसको समाधानका लागि कुटनीतिक, राजनीतिक रुपमा पहल गर्नुको साटो मोदीले कठोर सैन्य रणनीतिलाई नै बढावा दिएका कारण सीमाका मुद्दामा भारतीय सेनाप्रमुख, अन्य सैन्य अधिकारी तथा अवकाशप्राप्त सैन्य अधिकारीले टिप्पणी गर्दै आएको उनले बताए ।

पूर्व जर्नेल प्रेमसिंह बस्न्यात पनि गलवान उपत्यकामा भारत र चीनका सुरक्षाकर्मीबीच झडप हुनुमा भारतकै कमजोरी औंल्याउँछन् । सैन्य नीतिलाई बढावा दिएकै भरमा भारतले कश्मीरलाई आफ्नो नियन्त्रणमा राखेको, नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेकमा पनि त्यही प्रयोग गरेको जिकिर गर्दै उनले चीनसँग पनि त्यस्तै प्रयास गर्न खोज्दा झडपको अवस्था निम्तिएको उनको भनाइ छ ।

भारत र चीनबीचको पछिल्लो तनावपूर्ण अवस्थाले क्षेत्रीय शान्ति खल्बलिने अवस्था भने नआउने उनको दावी छ । उनले भने, ‘चीन र भारत दुवैका लागि रुस महत्वपूर्ण मुलुक हो, रुसले पनि यो क्षेत्रमा अशान्ति भएर अरु अन्तर्राष्ट्रिय शक्तिलाई खेल्ने मौका दिनेछैन ।’

चीन र भारतले आपसमा सन् १९६२, १९६७ र १९७५ मा युद्धको अवस्था झेलिसकेको उल्लेख गर्दै उनले भने, ‘त्यतिबेलाको अवस्थालाई भारतले भुलेको छैन, डोकलाममा पनि केही वर्षअघि केही समय तनाव भएर भारत पछि हटेकै हो, अहिले पनि त्यही हुन्छ । भारत फिर्ता हुनैपर्छ ।’

नेपाल–भारत सीमा विवाद लम्बिने खतरा

भारत र चीनबीचको सीमा विवादका कारण उत्पन्न पछिल्लो परिस्थितिले नेपाल–भारत सीमा विवादलाई भने लम्बयाउन सक्ने वाग्ले र बस्न्यात बताउँछन् ।

‘भारत र चीनबीचको पछिल्लो विवादले नेपाल–भारत सीमा विवाद थप जटिल र समवेदनशील मोडतर्फ उन्मुख भएको छ,’ सुरक्षा मामिला विज्ञ वाग्ले भन्छन् ।

भारतले नेपालसँगको विवादको तुलनामा चीन र पाकिस्तानसँगको विवादलाई प्राथमिकतामा राख्ने भएका कारण पनि नेपाल–भारत सीमा विवाद तत्काल समाधान हुने अवस्था नरहेको उनको भनाइ छ ।

पूर्व जर्नेल बस्न्यात नेपालले सीमा विवाद समाधानमा जोड दिइरहनुपर्ने बताउँछन् । भारतले नेपालको तुलनामा चीन र पाकिस्तानसँगको सीमा मुद्दालाई प्राथमिकता दिए पनि कुटनीतिक तथा राजनीतिक रुपमा नेपालले सीमा समस्या समाधानमा भारतलाई घच्घच्याइरहनुपर्ने उनले बताए ।

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको अस्थायी सदस्य बन्न प्रयासरत रहेको भारतले सबै छिमेकीसँगको सम्बन्धलाई तनावमा धकेलेर त्यो उद्देश्य प्राप्त गर्न नसक्ने उनको भनाइ छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप