शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विदेशमा अलपत्र गर्भवती नेपालीको व्यथा

रोजगारी गुम्यो, नेपाल फर्कने भाडादर सुन्दा रिंगटा नै लाग्यो
बिहीबार, ०४ असार २०७७, १० : ०१
बिहीबार, ०४ असार २०७७

‘अप्रिलमा स्वास्थ्य बीमा गरेपछि रेगुलर चेकजाँचलाई सहज हुनेछ अनि डेलिभरीको समयमा त आफ्नै घर पुग्ने नै छु,’ यही आशामा थिइन् अनिता कुमाल (नाम परिवर्तन) । वैदेशिक रोजगारीका क्रममा सात वर्षअघि आबुधावीमा पुगेकी उनी झण्डै चार महिनादेखि घर फर्कने दिनको प्रतीक्षामा छिन् उनी ।

सात महिनाको गर्भ, परिवार अनि आफन्तको हेरविचार र स्याहारमा रहनुपर्ने समय । तर, ‘यो विदेशी भूमिमा धन्न बस्नेसम्मको ठाउँ पाएकी छु,’ मुस्कुराउने प्रयास गर्दै आफ्नो व्यथा सुनाउँछिन् उनी ।

आमालाई पर्ने शारीरिक र मानसिक असरको प्रभाव बच्चामा सिधै पर्छ भन्छन्, तपाई आफ्नो स्वस्थ्य अनि गर्भको शिशुको स्वास्थ्यप्रति कति सचेत हुनुहुन्छ ? अनि त्यसको लागि के नियमित चेकजाँच गरिरहनु भएको छ त ? भन्ने हाम्रो प्रश्न झर्न नपाउँदै उनले भनिन्, ‘आजसम्म ठिकै छु, तनाव त कति कति कुरा नगर्नु ! अस्पताल जान कति समस्या भयो, अलिअलि कमाएको पनि सकियो, बस्ने ठाउँ पाए पनि खान आफ्नै हो । महिनैपिच्छे चेकअपमा जानुपर्ने । गत महिना भने नेपाली श्रमिकहरुको समूह ‘श्रमिक सञ्जाल’ले सहयोग ग¥यो र अस्पताल गएर जाँच गरेँ । कति महँगो छ यहाँ अस्पताल ।’

अनिताको पीडा बुझ्न गाह्रो भएन हामीलाई । उनलाई आफ्नोभन्दा बढी आफ्नो गर्भमा हुर्कदै गरेको शिशुको माया छ । उसलाई यो संसारमा सुरक्षित अवतरण गराउन चाहन्छिन् उनी, त्यो पनि आफ्नै भूमिमा । ‘तर खै के हुने हो !’ मन्द आवाजमा उनको सुस्केरा सुनियो ।

स्वास्थ्य बीमा नहुँदा थपियो समस्या

आबुधावीमा स्वास्थ्य परीक्षण सम्वन्धी कुनै पनि प्रकृयाका लागि बीमा अनिवार्य चाहिन्छ । बीमा नहुनेले महँगो शुल्कमा परीक्षण गराउनुपर्ने हुन्छ । नेपाल फर्कन पाइएन भने डेलिभरी कसरी गर्ने भन्ने ठूलो चिन्ताको विषय बनेको छ उनलाई ।

अनिता पेशाले ब्यूटीसियन हुन् । आबुधावीस्थित एक पार्लर (सलुन)मा कार्यरत उनलाई सोही पार्लरकी संचालिकाले अप्रिलमा हेल्थ इन्स्योरेन्स गरिदिने आश्वासन दिएकी त थिइन् तर मार्चबाटै पार्लर बन्द भयो । लकडाउनको समय बढ्दै जाँदा अनिताको हेल्थ इन्स्योरेन्सको कुरा पनि सेलाउँदै गयो । पहिला रोजगारी हुँदा चेकजाँचको लागि ठूलै रकम तिरेर भए पनि जाने गरेकी उनी अब भने कसरी जाने ? अहिले त सामान्य चेकअप पनि गर्न नपाएको दुखेसो पोख्छिन् । थाइराइड समस्या पनि छ अनितालाई । यसको असर बच्चामा पर्ने हो कि भन्ने चिन्ता पनि थपिएको छ ।

अनितालाई यही लकडाउनको अवधिमा ढुंगा खोज्दा देउता मिल्यो । गत महिना नेपाली श्रमिकहरुको समूह ‘श्रमिक सञ्जाल’ले चेकअपका लागि सहयोग ग-यो । तर अब कोसँग सहयोग माग्ने ? चिन्ता कायमै रह्यो ।

डेलिभरीको लागि स्वदेश फर्कने भन्दै उनले अस्पतालसँग आफ्नो स्वास्थ्य अवस्थाबारे चिठ्ठी तयार गर्न लगाएकी थिइन् । त्यतिबेला सम्म स्वास्थ्य अवस्था ठिक भएकाले ट्राभल गर्न सक्ने व्यहोराको चिठ्ठी उनलाई अस्पतालले दिएको थियो । तर अहिलेको अवस्थामा कोभिड परीक्षण पनि गर्न सम्भव नभएको उनी बताउँछिन् । भन्छिन्, ‘हुन त नेपाल फर्कदा एयरपोर्टमा नै परीक्षण गर्छ भन्ने सुनेकी छु, हेरौं के हुन्छ !’

यदि युएईमै डेलिभरी गर्नुपर्ने अवस्था आयो भने लगभग नेपाली ८ लाख रुपैयाँ खर्च लाग्छ । त्यतिका पैसा कहाँबाट ल्याउनु ? ४ महिनादेखि बेरोजगार छिन् उनी । श्रीमान् पनि आबुधावीमै छन् उनको । तर यसबीचमै उनका श्रीमान्को पनि तलब कटौती भएकाले यत्रो खर्च जुटाउने हिम्मत नै छैन उनीहरुसँग । त्यसैले, उनी जतिसक्दो छिटो स्वदेश फर्कन चाहन्छिन् र आफ्नो बच्चालाई आफ्नै भूमिमा स्वागत गर्न चाहन्छिन् ।

रोजगारी गुम्यो, आफ्नै देशले वास्ता गरेन

वैदेशिक रोजगारमा गएर धन कमाउने अनि फर्केर आफ्नै देशमा सुखी जीवन व्यथित गर्ने सपना बोकेर सात वर्ष अगाडि उनी आबुधावी पुगेकी थिइन् । ब्यूटीपार्लरसम्बन्धी तालिम लिएकी उनले नेपालबाट म्यानपावरले भनेजस्तै पार्लरमै जागिर पाइन् । सुरुदेखि नै एकै पार्लरमा काम गर्दै आइरहेकी अनिताको सपनामा कोरोनाभाइरस र यसको रोकथामका लागि भएको लकडाउनले ब्रेक लगाइदियो ।

श्रीमानसँगै बस्दै आएकी अनिता लकडाउनको एकमहिना पछि छुट्टिएर बस्नु प¥यो । कारण थियो श्रीमान् कार्यरत लुलु मार्केटले काम सुरु ग¥यो तर अनिता कार्यरत पार्लर मार्चदेखि नै बन्द थियो । श्रीमान् काममा आउजाउ गर्दा जोखिम पनि बढ्ने हुँदा छुट्टिएर बस्ने निधो गरे उनीहरुले ।

लकडाउन अवधिमा श्रीमानले पाउने पारिश्रमिकमा ३० प्रतिशतको कटौती हुने भयो । अतः श्रीमान लुलु मार्केटले नै व्यवस्था गरिदिएको स्थानमा बसे भने अनिता छिट्टै घर फर्कने आशामा पार्लर सञ्चालकले व्यवस्था गरिदिएको क्वारेन्टिनस्थलमा केही समयको लागि भन्दै बस्न थालिन् । कोठा भाडामात्रै तिर्न नपर्दा पनि अलि सहज भयो उनलाई ।

भनिन्छ नि, ‘मर्नुभन्दा बौलाउनु निको’ । हो, यही सोचेर केही समय यसरी नै बस्ने अनि त आफ्नो देश जान पाइहालिन्छ नि भन्ने लाग्यो उनलाई । नेपाल सरकारले रोजगारी गुमाएकाहरुलाई उद्धार गर्छ भन्ने सुनेकी थिइन् अनिताले । तर त्यो दिन चार महिना बितिसक्दा पनि नआउँदा भने विरक्त लागेको छ उनलाई ।

विगत चार महिनादेखि रोजगारबिहीन बनेकी अनिता अझै पनि स्वदेश फर्कने आशामा छिन् । सुरुमा त खासै समस्या भएन । खानको व्यवस्था आफैले गर्नुपरे पनि कोठा भाडा तिर्नु नपर्दामात्रै पनि केही सहज भएको थियो तर अब त हात फैलाउनु पर्ने दिन सुरु भएका छन् । गर्भ जाँचका लागि र खानका लागि पनि सहयोग माग्दै बस्नुपर्दा पीडाको पहाडले थिचेको छ अनितालाई ।

काठमाडौंमै रहेका आफ्ना माइतीसँग छिट्टै भेट्ने र आमाले पकाएको मिठो खाएर खुसीसाथ बस्ने उनको सपनामा फेरि ब्रेक लाग्यो जब सरकारले उद्धारका लागि गर्ने भनेको चार्टर्ड उडान नै रद्द भयो ।

नेपाल फर्कन भाडा कसरी तिर्ने ? भाडादर सुन्दा रिंगटा

कोरोना महामारीले आक्रान्त पारेपछि अस्तव्यस्त बनेका लाखौं नेपालीहरुको भीडमा छिन् सात महिने गर्भवती अनिता ।

नेपाल फर्कन पाइने भइयो भनेर दङ्ग परेका अनिताजस्तै नेपालीहरुको उत्सुकता एकाएक शून्यमा झ¥यो, कारण थियो भाडादर । ‘आबुधावीका लागि ३ सय ६० डलरभन्दा माथि भाडा तोकिएको रहेछ, त्यत्रो पैसा कहाँबाट ल्याएर तिर्ने ? रिंगटा नै चल्यो,’ अनिता भन्छिन्, ‘के विदेशमा पैसाको बोट छ र ? जति पनि भन्ने ! यहाँ कुन दुःखले बसेका छन् नेपाली । कतिले भोकभोकै दिन बिताएका छन् भने कति बस्ने ठाउँ नभएर सडकमै दिन बिताउन बाध्य छन् । यस्ता मानिसले त्यत्रो भाडा तिरेर कसरी आउने ? सरकारमा अलिकति पनि समवेदना छैन ?’

पैसा तिरेरै भए पनि नेपाल फर्कन पाइने भइयो भनेर खुसीले गद्गद् भएका नेपालीहरुको खुसी धेरै समय टिक्नै पाएन । एक त भाडादर अर्को, नेपाल सरकारको कार्यशैली अनि दुई देशबीच समन्वयको कमी ।

अनितालाई आफ्नै राज्य सरकारसँग दुःख लागेको छ । किन यति अवहेलना आफ्नै नागरिकप्रति ? के हामीलाई आफ्नो जन्मभूमि फर्कन पनि यतिका संघर्ष गर्नुपर्ने हो ? स्वदेशमा रोजगारी नहुँदा र भए पनि बिहान–बेलुका खान पनि मुस्किल हुँदा बाध्यताले अर्काको भूमिका पसिना बगाउन बाध्य आफ्नै नागरिकप्रति किन यति गैरजिम्मेवार ? यस्तै यस्तै अनेकन प्रश्न अनुत्तरित छन् अनिताजस्तै लाखौं नेपालीको मनमा ।

उद्धार उडानमा राजनीति, अन्ततः रद्द

बारम्बार नेपाली दूतावासमा रोइकराई गरेर स्वदेश फर्कने स्थिति आएकोमा खुसी थिए खाडीका नेपाली । तर त्यो खुसी लामो समय टिकेन । सरकारले तोकेको उद्धार उडान रद्द नै भयो । जून १६ देखि २४ सम्म दुबई लगायतका देशबाट नेपालीको उद्धार गरिने भनिएपछि तयारी गरेर बसेका उनीहरु उडान एकपछि अर्को रद्द भएको खबरले हैरान भएका छन् । कति नेपालीले एयरपोर्टसम्मै पुगेपछि उडान रद्द भएको खबर पाए, कति बाटोबाट फर्किए भने कति तयारी गर्दै गरेको झोला बिसाएर बसे । 

अनिता पनि जून १६ मै स्वदेश फर्कन पाइने आशमा तयारी गरेर बसिन् तर उडान रद्द भएको खबर आयो । अब त घर फर्कन पाइने भइयो र आफ्नो सन्तानलाई शान्तिले जन्माउन पाउने भइयो भन्ने उनको सपनामा पनि ब्रेक लाग्यो ।

यूएई दूतावासको पछिल्लो तथ्यांकअनुसार कुल कामदारको १० प्रतिशत नेपाली स्वदेश फर्कन चाहन्छन् । हालसम्म दूतावासमा नेपाल फर्कन चाहने नेपालीको संख्या ३० हजारको हाराहारीमा छ र यो संख्या अझै बढ्ने देखिन्छ ।

यूएईको दुबईबाट नेपाल एयरलाइन्सले जुन १६ र १८मा अनि आबुधावीबाट हिमालयन एयरलाइन्सले उद्धार चार्टर्ड उडानभर्ने गरी उडान तालिका नै सार्वजनिक भएको थियो तर अन्तिम अवस्थामा आएर प्राविधिक कारण भन्दै उडान रद्द भयो ।

उद्धार चार्टर्ड उडानहरु रद्द भएसँगै यूएईमा टिकट लिएर बसेका नेपालीहरुमा पुनः अर्को तनाब थपियो । जसको भोलिपल्ट सर्वोच्च अदालतको आदेशले पुनः उनीहरुमा आशा भरेको छ ।

सर्वोच्चको आदेशसँगै खुसीको सञ्चार

आफ्नो जन्मभूमि जान पनि यति सकस भोग्नु पर्ला भनेर कहिल्यै कल्पनासम्म पनि नगरेकी अनिताजस्तै थुप्रै नेपाली चेलीहरु र दाजुभाईहरुको उद्धार राज्यको आफ्नै खर्चमा गर्नुपर्ने सर्वोच्च अदालतको आदेश आएसँगै फेरि एकपटक खुसीको सञ्चार भएको छ विदेशमा रोजगारी गुमाएका नेपालीमा । महामारीको चपेटामा परेका नेपाली पैसा तिरेरै भए पनि आफ्नै घर फर्कन तयार हुँदा सर्वोच्च अदालतको फैसलाले नयाँ आशा पलाएको बताइरहेका छन् ।

सर्वोच्चको आदेशसँगै आफ्नो देशमा न्याय मरेको रैनछ, अब देश फर्कन पाइने भइयो भनेर फेरि खुसी भएका नेपालीहरु सरकारको निर्णय कुरेर बसेका छन् ।

अब छिट्टै अनिताजस्तै गर्भवती÷सुत्केरी अनि रोजगारबिहीन थुप्रै नेपाली आफ्नो भूमिमा फर्कने छन् । तर अनिताजस्तै अन्य नेपालीमा फेरि केही झमेला आइलाग्ने हो कि भन्ने त्रास भने कायमै देखिन्छ । ‘फेरि आशा त पलाएको छ तर सरकारले अदालतको आदेशअनुसार गरेन भने के गर्ने ? अनुत्तरित प्रश्नको पोको फुकाउँछिन् अनिता ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टुना भट्ट
टुना भट्ट

टुना भट्ट रातोपाटी अनलाइन टिभीकी  संयोजक तथा समाचार प्रस्तोता हुन् ।

लेखकबाट थप