बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा लकडाउन सहज बन्दै, ४२ हजारको मृत्यु

मङ्गलबार, ०२ असार २०७७, २३ : १८
मङ्गलबार, ०२ असार २०७७

लन्डन । बेलायतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ हजारको हाराहारीमा पुगेको छ । गएको २४ घन्टाभित्र बेलायतमा थप २ सय ३३ जनाको कोरोना भाइरसका कारण निधन भएको मंगलबारको दैनिक ब्रिफिंगमार्फत प्रधानमन्त्री बोरिस जोन्सनले जानकारी दिएका छन्  । यसैगरी गएको २४ घन्टामा थप १ हजार २ सय ७९ जानामा कोरोना पोजिटिभ देखिएको छ । हालसम्म बेलायतमा कोरोनाबाट २ लाख ९८ हजार १ सय ३६ जना संक्रमित भएका छन् । विगत केहि दिनयता मृतकको संख्यामा लगातार  गिरावट आएको भएपनि आज मृतक संख्यामा वृद्धि भएको छ ।

सोमबार सार्वजनिक तथ्याँकअनुसार गत मार्च २३ बाट सुरु भएको लकडाउन पछिकै सबैभन्दा कम ३५ जनाको मात्र मृत्यु भएको थियो । हालसम्म बेलायतमा ६९ लाख ८१ हजार ४ सय ३९ जनामा कोरोनाको परीक्षण गरिसकिएको छ । गएको २४ घन्टामा १ लाख १३ हजार १ सय ७ जनामा कोरोना परीक्षण गरिएको छ ।

कोरोना नियन्त्रणको लागि ‘डेक्सामेथासोन’ प्रभावकारी बन्ने

कोरोना भाइरस संक्रमणका बिरामीहरुलाई बचाउन मद्दत पुर्याउने सस्तो र सर्वसुलभ ‘डेक्सामेथासोन’ नामको औषधि प्रभावकारी हुने भएपछि बेलायतमा खुसियाली छाएको छ । यो औषधिले भेन्टिलेटरमा रहेका कोरोनाका संक्रमितलाई मृत्युको जोखिमबाट एक तिहाईले कम गर्न सकिने बताइएको छ । त्यस्तै यो औषधिले अक्सिजनको सहायता लिइरहेका संक्रमितहरुमा मृत्युको जोखिम २० प्रतिशतले कम गर्ने विश्वास छ ।

अक्सफोर्ड युनिभर्सिटीको टीमसहितको संलग्नतामा कोरोना संक्रमितको उपचारको लागि ‘डेक्सामेथासोन’को परीक्षण गरिएको थियो । परीक्षणका क्रममा विभिन्न अस्पतालमा उपचाररत २ हजार संक्रमितलाई यो औषधि दिइएको थियो । बेलायतमा महामारी शुरु हुनुअघि नै यो औषधि पत्ता लागेको भए करिब ५ हजार मानिसहरुलाई मृत्यको मुखबाट जोगाउन सकिने अनुसन्धानकर्ताहरुले बताएका छन् ।

लकडाउन खुलेपछि हाइस्ट्रिटका पसलहरुमा मानिसहरुको भीड

झन्डै तीन महिनासम्म लकडाउनको पीडा भोगिरहेका बेलायतबासीका लागि सोमबारदेखि लकडाउन केहि खुकुलो भएपछि यहाँका हाइस्ट्रिटका पसलहरुमा निकै ठूलो भीड लागेको थियो । सरकारद्वारा निर्धारित सामाजिक दुरी लगायतका मापदण्डलाई पालना गर्दै लत्ताकपडा, पुस्तक, कार, साइकल, फर्निचर, खेलकुद तथा बिजुलीका पसल, फोटोग्राफी स्टुडियो, टेलरिङ सप, इन्डोर मार्केट लगायतका पसलहरु खोल्न पाउने सरकारले निर्णय गरेको थियो ।

कपडाका पसलहरु प्राइमार्क, टीकेम्याक्स, मार्क्स एन्ड स्पेनसर, आर्गोस्, टपसप, स्पोर्ट्स डाइरेक्ट, जेडी जस्ता पसलहरुमा मानिसको घुइँचो लागेको थियो । लकडाउनलाई सहज पार्दै लैजाने क्रममा आगामी जुलाईको पहिलो हप्ताबाट रेस्टुरेन्ट, पब, क्याफे, हेयर ड्रेसर, सिनेमालगायतका व्यवसायहरु खोल्ने योजना रहेको प्रधानमन्त्री जोन्सनले जानकारी दिए । युरोपका केहि भागहरुमा पनि लकडाउनलाई बिस्तारै सहज पारिँदै लागिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप