मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

बाली लगाउने बेला मलको अभाव, कृषकले युरिया मात्रै खोज्दा झनै समस्या

सोमबार, ०१ असार २०७७, ०९ : ४०
सोमबार, ०१ असार २०७७

काठमाडौँ । धानबाली लगाउने बेला सुरु भएसँगै बजारमा मलको अभाव देखिन थालेको छ । नेपालको मुख्य बालीको रूपमा रहेको धानको रोपाइँ गर्ने सिजनमा अघिल्ला वर्षहरु जस्तै यो वर्ष पनि कृषकले मल नपाउने अवस्था आको हो । अहिले कृषि सामग्री केन्द्र र साल्ट ट्रेडिङका बिक्री केन्द्रबाट किसान र कृषि सहकारी र समूहहरुले माग गरिएको भन्दा निकै कम मात्रै मल प्राप्त गरिरहेका छन् । भनेजति मल नपाउँदा कृषक निराश भएका छन् । कृषि सहकारीहरुले पनि आफ्ना सदस्यलाई रित्तो हात फर्काउन बाध्य भएका छन् ।

सीमित कोटा, लकडाउनले समस्या

बाली लगाउने सिजनमा मल अभाव हुने यहाँको समस्या अहिलेको मात्रै होइन, यो विगतदेखिकै परम्परा हो । तर कृषि विकास मन्त्रालयले यो वर्ष अघिल्ला वर्षको जस्तो अभाव नहुनेगरी थप मल आयातको व्यवस्था गरेको थियो । आपूर्तिमा देखिएको समस्याका कारण यो वर्ष पनि विगतकै पुनरावृत्ति भएको हो ।

नेपालको माटो र अहिले लगाइएको बालीअनुसार नेपालमा करिब साडे ७ लाख मेट्रिकटन रासायनिक मलको आवश्यकता पर्ने अनुमान गरिएको छ । तर यस्तो आवश्यकता वार्षिक रूपमा बढ्दै गएको छ । कृषि सामग्री केन्द्रका प्रबन्ध निर्देशक नेत्र भण्डारी भन्छन्, ‘अहिले सबै कृषकले आफ्नो खेतीको शैली बदल्न थाल्नुभएको छ । स्थानीय बीउ लगाउनेले उन्नत जातको बीउ लगाउन थाल्नुभएको छ । उन्नत बीउ लगाउनेले हाइब्रिडमा ध्यान दिन थाल्नुभएको छ, यसले गर्दा माग बढ्दै गएको छ ।’

नेपालमा उक्त मात्रामा मलको माग भए पनि यो वर्ष ३ लाख २५ हजार मेट्रिकटनका लागि अनुदानको कोटा तोकिएको थियो । घनश्याम भुसाल कृषिमन्त्री भएर आएपछि १ लाख २१ हजार ५०० मेट्रिकटन मलका लागि थप अनुदानको व्यवस्था मिलाएका थिए । त्योसहित करिब साढे ४ लाख मेट्रिकटन मल ल्याउने व्यवस्था गरिएको थियो ।

उक्त कोटा थप भएपछि यो वर्ष मलको अभाव सुन्न नपर्ने अनुमान कृषिमन्त्री भुसालको थियो । तर कोरोना भाइरसको महामारीसँगै सप्लाई चेन प्रभावित हुँदा यो वर्ष पनि मलमा राहतको सास फेर्नसक्ने अवस्था आएन ।

यो वर्ष करिब दुई महिनासम्म कोलकत्ता बन्दरगाहमा मल थन्किएर बस्यो । कामदारहरु नपाउँदा त्यो मललाई नेपाल ल्याउन नसकिएको हो । सोही कारण करिब २५ हजार मेट्रिकटन डीएपी मल कलकत्ता बन्दरगाहमा थन्किएर बसेको थियो । त्यस्तै युरिया मल टेन्डर आह्वान भएर पनि चीन र ओमनका सम्बन्धित फ्याक्ट्रीमै रोकिएर बसेका थिए ।

तर अहिले कोलकत्तामा रहेको सामान विस्तारै आउन थालेको छ । कृषि सामग्री केन्द्रको २ हजार ५ सय मेट्रिकटन डीएपी मल वीरगञ्ज आइसकेको छ भने साल्ट ट्रेडिङको २ हजार ५ सय टन अहिले बाटोमा रहेको बताइन्छ । तर अहिले पनि कोलकत्ता बन्दरगाहमा कामदारको अभाव रहेकाले भनेजति सबै मल एकैपटक आउन सम्भव नभएको साल्ट ट्रेडिङका बिक्री प्रमुख पङ्कज जोशी बताउँछन् । कोलकत्ताबाट मल नेपाल आउन थालेसँगै फ्याक्ट्रीबाट सामान हिँड्ने क्रमसमेत सुरु भएको उनको भनाइ छ । तर धान रोपाइँको बेला कृषकले भने अभाव खेपिरहेका छन् । 

युरिया खोज्दा झनै समस्या

बजारमा मलको अभावभन्दा पनि ‘युरिया’को अभाव रहेको बिक्रेताहरू बताउँछन् । युरियालाई मात्रै मल मान्ने र त्यही किन्ने प्रवृत्तिले मल नै नपाएको गुनासो सुन्ने गरिएको उनीहरुको भनाइ छ ।

कृषि सामग्री कम्पनीका सूचना अधिकारी विष्णु पौडेल मलको अभाव भएको कुरा सत्य भए पनि बाहिर चर्चा भएजस्तो बजारमा मल पाउनै नसक्ने अवस्था भने नरहेको दाबी छ । आफूहरुले लकडाउनको समयमा पनि बिक्रीवितरण नरोकेकाले मात्रै अहिले कम मौज्दात रहेको उनको भनाइ छ । तर अहिले युरिया मल भने पर्याप्त नभएको उनको स्वीकारोक्ति छ । 

‘अहिले युरिया मल अभाव भएको सत्य हो । डीएपी अहिले पनि बेचिरहेकै छौँ । तर सस्तो हुने भएकाले सबैले युरिया मल नै खोज्नुहुन्छ । अहिले युरिया मल हाल्ने बेला पनि होइन । धान लगाउने बेलामा डीएपी मल नै प्रयोग गर्ने हो, त्यो आइरहेको छ,’ उनले भने ।

अहिले कृषि सामग्री केन्द्रसँग युरिया ४ हजार मेट्रिकटन र डीएपी २९ सय मेट्रिटन मात्रै बाँकी छ । साल्ट ट्रेडिङसँग भने ३ हजार मेट्रिकटन युरिया र ८ हजार मेट्रिकटन डीएपी मलको मौज्दात रहेको बताइएको छ । यो कोलकत्ता भन्सारमा रहेको र अहिले आउँदै गरेको बाहेकको मौज्दात हो ।

कोलकत्ताबाट आउन सुरु भएको २५ हजार मेट्रिकटनमध्ये सबै मल डीएपी नै हो । तर यो युरियाभन्दा धेरै महँगो हुन्छ । सरकारले युरियाको मूल्य प्रतिकेजी १४ रूपैयाँ तोकेको छ । डीएपी भने प्रतिकेजी ४३ रूपैयाँ पर्छ । सोही कारण किसानले डीएपी मल प्रयोग गर्न नचाहिरहेका हुन् ।

धान रोप्ने बेलामा युरियाभन्दा डीएपी मल प्रयोग गर्न कृषिविद्हरु सुझाव दिन्छन् । धानको फूल खेल्ने बेला भएपछि मात्रै युरिया मलको प्रयोग गरिन्छ । यसका लागि भदौतिर मल चाहिने उनीहरुको भनाइ छ ।

कृषि सामग्रीका प्रबन्ध निर्देशक भण्डारी पनि आपूर्ति प्रणाली सहज बन्दै गए ‘टप ट्रेसिङ’को बेला युरिया मल आइपुग्ने बताउँछन् । ‘यो बारेमा मन्त्रालयले पनि भन्दैछ, हामी पनि किसानहरुलाई आग्रह गर्छौं, अहिलेलाई भएको मललाई प्रयोग गर्दै जानुस्, विस्तारै मल आउँछ’ भण्डारीले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप