बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

युवाहरुको स्वस्फुर्त प्रदर्शन र ब्राण्डेड राजनीतिको अधोपतन

सोमबार, ०१ असार २०७७, ०९ : ३३
सोमबार, ०१ असार २०७७

कोरोना संक्रमण बढ्दै गएको अवस्थामा सरकारी अकर्मन्यता र भ्रष्टाचारको विरोध गर्दै युवाहरुको स्वस्फुर्त प्रदर्शन देशव्यापी बन्दै गएको छ । सामाजिक सञ्जालमार्फत जोडिएका युवाहरुले मूलतः कोरोना संक्रमण व्यवस्थापनमा सरकारको गैरजिम्मेवार क्रियाकलाप र अपारदर्शी खर्चका सम्बन्धमा विरोध जनाउँदै आएका छन् । युवाहरुले पूर्णरुपमा पिसिआर गर्नुपर्ने, आरटिडी बन्द गर्नुपर्ने, कोरोना नियन्त्रणका लागि भएको खर्चको विवरण सार्वजनिक गर्नुपर्ने, व्यवस्थित क्वारेन्टाइन बनाउनुपर्ने लगायतका माग राख्दै प्रदर्शन गरेका छन् ।

कुनै पनि राजनीतिक दलसँग आवद्ध नरहेको युवाहरुले फेसबुकमार्फत भएको सूचना आदान–प्रदानकै भरमा प्रदर्शन देशव्यापी हुनुले सामाजिक सञ्जाल कति बलियो र प्रभावकारी हुँदैछ भन्ने समेत प्रष्टाएको छ ।

झोले मुन्द्रे राजनीतिको अधोपतन

  नेपालको राजनीतिमा मूलतः निर्दलीय पन्चायती कालमा मन्डलेको र २०४६ को परिवर्तनपश्चात झोले मुन्द्रेहरुको बोलवाला रहेको र तिनको गुण्डागिरीले प्रश्रय पाएको थियो । २०६२–०६३ को जनआन्दोलनपश्चात त्यही प्रव्रित्ति चरम बिन्दुमा पुगेको पाइन्छ ।

राजनीतिक पद प्राप्त गर्न होस् वा नियुक्ति लिन अथवा ठेक्कापट्टा हात पार्न किन नहोस् त्यस्ता गैर सामाजिक तत्वहरुले राजनीतिक पक्षपोषण पाएका छन् र तिनकै आवरणमा देशमा अराजकता र बेथितिलाई संस्थागत गराईरहेका छन् ।

सत्ता शक्ति, पद र लाभका लागि खासगरि मूलधारका भनि चिनिने राजनीतिक दल, तिनका भातृ संगठन, उच्चपदस्थ कर्मचारी, केही व्यापारी र उद्योगपतिसमेतले गैर सामाजिक चरित्रका उदण्ड जमातलाई प्रयोग गरेर आफ्नो स्वार्थपूर्ति गर्दै आएका छन् । यस्ता असामाजिक झुण्डहरुलाई डन, दादा, युवा नेतासमेतका आलंकारिक सम्मान दिएर प्रयोग गर्ने गरिएकाले समाजमा असुरक्षा र त्रासको वातावरण सिर्जना भएको छ । यस्ता समूहमा प्रायः युवा वर्ग नै रहने गरेको देखिन्छ ।

तर, हालै शुरु भएको स्वस्फूर्त विरोध प्रदर्शनले एक नयाँ संस्कृतिको शुरुवात गराएको छ । अहिलेको प्रदर्शनमा कुनै राजनीतिक दलको छायाँ परेको देखिदैन ।

मूलधारका भनिने पूराना राजनैतिक दलहरुले ब्राण्डेड (छापे) राजनीतिको आडमा दिग्भ्रमित पारेर युवा शक्तिलाई आफ्ना स्वार्थसिद्धिको औजारका रुपमा शोषण गर्दै आएको लामो कडिलाई अहिलेको विरोध प्रदर्शनले ठूलो झड्का दिएको  छ ।

हेक्का राख्नुपर्ने कुरा के हो भने अहिलेको स्वस्फूर्त  विरोध प्रदर्शनमा ९५ प्रतिशतभन्दा बढी युवाहरु ३० वर्षमुनिका देखिन्छन् । यी युवाहरुले विस २०६२–०६३ को जनआन्दोलनमा समेत भाग लिएका थिएनन् । तर, अहिले किन स्वंय जुर्मुराए त भन्दा उनीहरुले नै भनेझैं ‘अति भो’ (भलयगनज ष्क भलयगनज० ले नै संगठित भएको देखिन्छ । आमरुपमा प्रदर्शन शान्त, सौम्य र धेरै हदसम्म भौतिक दूरीको नियम पालना गर्दै गरिएको कुरा स्वागतयोग्य छ ।

जनता नै सर्वोपरि

प्रजातन्त्रमा जनता सर्वोपरि हुन्छन्, जनताको विद्रोह गर्ने अधिकार शाश्वत हो । तर, शान्तिपूर्ण विरोध नै सर्वस्वीकार्य मानिन्छ । तथापि विरोधका सबै ढोका बन्द गरिएको अवस्थामा भने विद्रोह हिसात्मक पनि हुन सक्छ । अहिलेको शान्तिपूर्ण विरोध प्रदर्शन सकारात्मक मात्रै होइन, प्रजातान्त्रीकरणको दिशामा एक कोशेढुंगाको रुपमा स्थापित हुन सक्नेछ । तर संसारभरिकै, त्यसमा पनि नेपालमा घुसपैठ र षडयन्त्रले धेरै राम्रा उद्देश्य लिएका समूह तथा व्यक्तिहरु झूठो आरोप र लोभको कोपभाजनमा पर्ने गरेको बिगतबाट पाठ सिकेर समाज र देशमा सकारात्मक परिवर्तन गर्न लागिपरेकाहरु जोगिन सकेनन् भने अहिलेको यो उत्साह, जोश र अग्रगामी प्रयासमा तुषारापात हुन सक्ने छ ।

विश्व परिदृश्य

हालै केही समययता अमेरिका र यूरोपका केही देशमा पनि सरकार विरोधी प्रदर्शन भैरहेका छन् । आम रुपमा प्रजातान्त्रिक देश भनेर चिनिने देशहरु त्यसमा पनि अमेरिका जस्तो विकसित प्रजातन्त्रमा भएको प्रदर्शनमा देखिएको लुटपाट, आक्रमण र विरोधको तौर तरिकाले ती देशको उन्नत भनिएको प्रजातन्त्रमा भ्वाङ पारिदिएको  छ । अवान्छित विरोध प्रदर्शनले ती देशको प्रजातान्त्रिक जग नै हल्लाइदिने हो कि भन्ने आशंका बढेको  छ ।

यसै मेसोमा नेपालको विरोध प्रदर्शन भने आफैंमा उत्कृष्ट र जायज बाटोमा उन्मुख हुनुले नेपाली युवाहरुसँग भरोसा गर्न सकिने आशा जगाएको  छ । प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै भएकाले संविधानमा जे जस्तो व्यवस्था उन्मुख भनिएको भएपनि त्यसको सार प्रजातान्त्रिक परिपाटी नै हो,  प्रजातन्त्रमा जनआवाज उर्जा हो, पथपदर्शक हो र नियन्त्रक पनि ।

अहिलेको विरोध प्रदर्शनले युवाहरुलाई राजनीति भनौ या देशनीतिको मूलधारमा ल्याएको छ । यो सहभागिताले ब्राण्डेड राजनीतिको सानो घेरामा नरहि विशाल आयतन लिन सक्ने हो भने अहिलेको बुढो, स्वार्थी र अक्षम हुँदै गएको पुस्ता विस्थापित भई नयाँ पुस्ताले नेतृत्व गर्नेछ ।

आशा गरौं, यही स्पिरिटमा प्रवर्द्धित हुँदै गएमा झोले, मुन्द्रेवाला ब्राण्डेड राजनीतिको पतन सुरु भई साँचो अर्थमा जनताका लागि, जनताबाटै स्वस्फूर्त रुपमा सञ्चालित हुने प्रजातान्त्रिक व्यवस्थाको बलियो जग बस्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डिल्लीरमण ढकाल
डिल्लीरमण ढकाल
लेखकबाट थप