शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा कोरोना नियन्त्रणका लागि स्थानीय सरकारले भूमिका बढाउनुपर्छः डब्लुएचओ

शुक्रबार, ३० जेठ २०७७, १४ : २४
शुक्रबार, ३० जेठ २०७७

काठमाडौं । विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा.जोस भ्याण्डिलेरले स्थानीय सरकारलाई कोरोना संक्रमण नियन्त्रणमा भूमिका र सक्रियता बढाउन सुझाव दिएका छन् । डा.भ्याण्डिलेरले स्थानीय सरकारले आफ्नो भूमिका र सक्रियता बढाएमा नेपालमा छिट्ै नै कोरोना संक्रमणको जोखिम घटाउन सकिने समेत दाबी गरे । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारका पदाधिकारीका लागि गरेको अनलाईन प्रशिक्षण कार्यक्रममा संघ र प्रदेशको तुलनामा स्थानीय सरकारहरुले कोरोना केसको पहिचान र व्यवस्थित क्वारेन्टिन बनाउने विषयमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताएका हुन् । आफ्नो क्षेत्रका प्रत्येक व्यक्तिलाई व्यक्तिगत स्वास्थ्य हेरचाह र सचेतना दिने विषयमा पनि उनीहरुको भूमिकाले उल्लेख्य सहयोग पुर्याउने बताए ।

उनले भने- ‘नेपालको कोरोना केही बाहेक समुदायमा फैलिएको अवस्था छैन । समुदायमा जान नदिन महत्वपूर्ण भूमिका स्थानीय सरकारका जनप्रतिनिधिको बढी हुन्छ । अहिले तत्कालको लागि नेपाल बाहिरबाट आउने नेपालीहरुलाई क्वारेन्टिनमा राख्ने  र स्वास्थ्य परामर्श दिनु नै मुख्य रहेको छ । सानो सानो कामका लागि पनि स्थानीय सरकारले परिवारभित्र पुगेर काम गर्न सक्ने भएकाले उनीहरुको भूमिका ठूलो हुन्छ । त्यसका लागि समुदायसँगको सम्बन्ध गाढा बनाउनुपर्ने हुन्छ । साथै समुदायको स्वास्थ्य सेवा वाहेक अत्यावश्यक सेवामा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने हुन्छ ।’

कोरोना संक्रमण नियन्त्रणमा गरिएको अन्तराष्ट्रिय अभ्यासको बारेमा जानकारी गराउँदै उनले सामाजिक र भौतिक दुरी कायम राख्दै मास्क, स्यानिटाईजर प्रयोग गर्नुको साथै साबुन पानीले हात धुनुपर्ने लगायतका स्वास्थ्य सचेतना फैलाउनुपर्नेमा जोड दिए । उनले नेपालमा समुदायमा गरिने परीक्षण किट अभाव देखिएको, नेपालमा कूल जनसंख्याको १ प्रतिशतमा मात्रै परीक्षण भएको र प्रति हजार शून्य दशमलब १५ मा मात्रै संक्रमण भएको बताए । सिन्चुवान विश्वविद्यालयका प्रोफेसर डा. टियान विङवीले चीनले जोखिम न्यूनिकरणका लागि गरेको राम्रा अभ्यासबारे जानकारी गराएका थिए । उनले संक्रमण न्यूनिकरण तथा रोकथामका लागि जोखिम नक्सांकन गरी उच्च र निम्न जोखिमको वर्गिकरण गरी परीक्षण बढाउनुको साथै समुदायमा संक्रमण फैलन नदिने तर्फ कार्यक्रमहरु केन्द्रीत गर्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा स्थानीय सरकारका पदाधिकारीहरुले कोभिड नियन्त्रणका लागि संघ र प्रदेश सरकारबाट आवश्यक स्वास्थ्य सामाग्री तथा बजेट व्यवस्था नगर्दा संक्रमण नियन्त्रणका लागि गर्नुपर्ने तयारीहरु हुन नसकेको गुनासो गरेका थिए । कार्यक्रममा संकटमा जनस्वास्थ्यका चुनौति र स्थानीय सरकारका प्राथमिकता बारे प्रकाश पारिएको थियो । कार्यक्रममा स्थानीय सरकारका पदाधिकारी तथा त्यहा कार्यरत कर्मचारीहरुले जुममार्फत सहभागिता जनाएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप