शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउन, महिला र पितृसत्तात्मक सोच

शुक्रबार, ३० जेठ २०७७, ११ : १०
शुक्रबार, ३० जेठ २०७७

-सम्झना श्रेष्ठ

कोभिड–१९ का कारण देश अहिले लकडाउनमा छ । हामी सबै आफ्नो घरभित्र लक भएका छौँ । लकडाउनको करिब ८० दिन भइसकेको छ ।  अहिले आफ्नो व्यस्त जीवनको तालिकाबाट केही फुर्सद पाएका छौँ । यो फुर्सदको समय सामाजिक सञ्जालमा लगाइरहेको देख्न सकिन्छ । रचनात्मक काममा आफूलाई व्यस्त राख्न सकियो भने फुर्सदका यी दिनलाई उपलब्धिमूलक पनि बनाउन सकिन्छ । 

यद्यपि महिलाका यी फुर्सदका दिन कसरी बितिरहेका होलान् ? के साँच्चै पुरुषलाई जस्तै महिलालाई पनि फुर्सद मिलेको होला ? आफ्ना लागि समय दिन पाएका छन् कि छैनन् ? आफूले चाहेका र मन पर्ने काम गर्न पाएका होलान् वा नहोलान ? फिल्म हेर्न र सामाजिक सञ्जाल चलाउन कतिको फुर्सद मिल्दो हो ? 

केही समय पहिले एकजना नाम चलेकै महिला, जो आफ्नै व्यवसायमा सक्रिय र समाजमा स्थापित हुन्, उनले साँझ ६ बजेतिर एउटा फेसबुक स्टाटस राख्दै भनेकी थिइन्, ‘पत्याउनु हुन्न ! घरको काम बिहान १० बजेदेखि सुरु गरेको भर्खरै सकियो ! बल्ल फेसबुक हेर्दैै । ‘मलाई चाहिँ लाग्यो,’ फेसबुक हेर्दाहेर्दै यसो केही लेखिदिउन त भनेर रमाइलोका लागि लेखेकी होलान । फेरी सोचे, ओहो...... घरका काम त सबै महिलाले गर्नुपर्ने हाम्रो सामाजिक संस्कार छ, त्यसबाट उनी कसरी भिन्न हुन्थिन होलार... ? होइन होला जिस्केको । उनको स्टाटसबाट स्पष्ट हुन्थ्यो, काम गर्दागर्दा बल्ल पसिना ओभाएको । 

लकडाउन लम्बिँदै गइरहेको परिप्रक्षेमा महिलामाथि कामको बोझ थपिएको भन्ने गुनासा दिनानुदिन बढिरहेको बेला आफू स्वयम्लाई हेर्दा पनि त्यो सही सावित हुन्छ । म कहिलेकाहीँ घरका काममा यसरी व्यस्त हुन्छु कि एकछिन टुसुक्क बस्न पाइँदैन । कोठामा बस्ने त दिदीभाइ मात्र हो, तथापि कति भएको काम ! जति गरे नि कहिले नसकिने । काम गर्दा दिन बितेको नि थाहा हुँदैन । अनि सम्झिन्छु, झन् धेरै परिवार हुनेहरुको अवस्था कस्तो होला ? फेरि घरका कामजती हामी महिलाको आँखाले मात्र देख्ने !

फुर्सद हुँदा एकछिन आनन्दले बसौँ भने पनि काम सम्झिएर मन पोल्ने । काम नसकेसम्म त साँचिकै भन्दा एक खालको हुट्हुटी नै हुन्छ । बरु खाने कामपछि गर्दा खासै त्यस्तो हुटहुटी हुँदैन तर काम चाँहि पहिला सक्नैपर्ने । आखिर घरका सारा काम गर्ने बानी जो हामी महिलालाई परेको छ, त्यो त पितृसत्तात्मक सामाजिक संस्कार र संरचनाको उपज पो रहेछ । घरका काम महिलाले गर्ने हो भन्ने छाप बच्चाबेलामै परिसकेको हुन्छ । मेरो घरमा खासै त्यस्तो लैङ्गिक विभेद त थिएन । यद्यपि यो समाजमा छोरी भएर जन्मिएका कारण सानोबेलादेखि नै घर लिपपोत गर्ने, डोकोमा गाग्री बोकेर धारा–पँधेरामा पानी लिन जाने, खाना बनाउने, घरसरसफाइ आदि काम गर्दै आए । जुन काम मसँग मात्र दुई वर्षको अन्तर रहेको भाइले सायद गर्नु परेन । जानीनजानी खाना बनाउँदा भात पकाउँदा पानी अड्कल्न, भाँडा माझ्दा जुठो राम्ररी पखाल्न, कुचो लगाउँदा कुनाकाप्चा सिनिक्क बडार्न बुबा–ममीले सिकाउनु हुन्थ्यो । उतिबेला त यो सबै घरको काम हो, गर्नुपर्छ भन्ने लाग्थ्यो र लुरुलुरु गरियो तर आज आएर बल्ल थाहा भयो यो नै महिलामाथि प्रारम्भिक विभेद रहेछ । 

यो मेरो अनुभवत कम्तीमा १५ वर्ष अगाडिको हो, जसतबेला म पाँच कक्षातिर पढ्थे होला । तर आज महिला अधिकार र समानताको कुरा संविधानमै लेखिसकेको अवस्थामा पनि महिला र पुरुषमा चुलाचौकाको काममा साझेदारी हुन सकिरहेको छैन । यसको मतलब शतप्रतिशत नै पुरुष चुलाचौकाको कामबाट बाहिर नहोलान तर केही छैनन् भने त्यो अपवाद मात्र हो । महिलाले मात्र घरको काम गर्ने परम्परा कसरी सुरु भयो ? यसको खास कारण के हो ? विश्व चर्चित लेखक, सिमोन द बोउवारले ‘द सेकेन्ड सेक्स’ नामक पुस्तकमा लेख्छिन्, ‘वास्तवमा अधिक शारीरिक शक्ति लाग्ने काम पुरुषले र कम शारीरिक शक्ति लाग्ने काम महिलाले गर्दथे । यस्तो हुनुमा महिलाको प्रजनन् क्षमताले काम गरेको थियो । किनकि महिलाले बच्चा पाउने भएकाले ऊ शारीरिक रूपमा कडा श्रम गर्ने काममा स्वाभाविक रूपले कमजोर हुने नै भई । बच्चा पाउने र तिनलाई हुर्काउनु पर्ने बाध्यताका कारण महिलाले घरको काम र पुरुष बाहिर श्रमको काममा केन्द्रित हुन थाले । यही सेरोफेरोमा कठिन काम गर्नका लागि धेरै परिश्रमको आवश्यकता पर्ने भएपछि पुरुषले अरूलाई आफ्नो शक्तिद्वारा दास बनाउन सुरु ग¥यो ।’

उनी थप लेख्छिन्, ‘व्यक्तिगत सम्पत्तिको लोभले पुरुषमा स्वामित्वको भावना विकसित भयो । ऊ जमिनको मालिक थियो, ऊ दासहरुको मालिक त छँदै थियो र अब बन्यो स्त्रीहरुको मालिक पनि । यहीँबाट महिलाको दासताको कहानी सुरु हुन्छ । जुन परिस्थितिले घरेलु कामकाज सम्हाल्नुको कारणबाट महिलालाई परिवारमा सर्वोच्च सत्ताको सिंहासनमा राखेको थियो । त्यही नै अब महिलाको दासताको आधार बन्यो । पुरुषलाई उसमाथिको स्वामित्व प्राप्त भयो । पुरुषको उत्पादक श्रमको तुलनामा घरेलु कामहरुको विशेष महत्त्व रहेन । अब उत्पादक श्रम नै सबै कुरा बन्यो किनभने त्यसैको विनिमयबाट अर्थको प्राप्ति हुन्थ्यो । घरको कामलाई अब आर्थिक समाजमा केवल एक सहायकको नगण्य भूमिका मान्न थालियो । यही नै हामी देख्छौँ कि व्यक्तिगत सम्पत्तिका साथ पितृसत्तात्मक परिवारको उदय भयो । यस प्रकारका परिवारमा महिलाको एक अधीनस्थ स्थिति नै सम्भव थियो ।‘

यही सिलसिलामा पितृसत्ताले महिलालाई घरभित्रका काममा सीमित गरायो । त्यसरी सुरु भएको महिलाको स्थिति आजका दिनसम्म आइपुग्दा सारमा त धेरथोर परिवर्तन भएको छ तर रूपमा भने जस्ताको त्यस्तै नै छ । २१औँ शताब्दीसम्म आइपुग्दा पनि परिस्थितिमा उल्लेख्य बदलाव नआउनु दुःखद् कुरा हो । अपवादबाहेक आज पनि अधिकांश महिलाको जीवन केवल परिवारको भान्से र पहरेदार जस्तो भएको छ । उसको सारा जीवन घरको चुलोचौकाभित्रै सीमित छ । रातदिन नभनी त्यही घरका काममा महिलाले आफ्नो जीवन समाप्त गर्न बाध्य छे । महिलाका लागि पुरुष सरह बाहिरी काममा जाने वातारण अझै बनेको छैन । केही बाहिरी काम (अफिस) जाने महिलालाई उल्टै कामको दोहोरो बोझ छ, अफिस र घरको कामको ।

यद्यपि महिलाले चुलोचौकाको काममा घरका पुरुषको साथ पाउँदैनन् । यसको मतलब, आज पनि पुरानो सोच र परम्पराले छोडेको छैन भने नै हो । जति पनि महिला अगाडि बढ्न चाहन्छन् उनीहरुको बाधक भनेको रुढिवादी सामाजिक संस्कार नै हो । महिला घरायसी काममा यसरी अल्झिएका हुन्छन् कि त्यसबाट चाहेर पनि निस्कन सक्ने अवस्था छैन । जसले गर्दा उहीहरु आफ्नो इच्छा, चाहना र क्षमता प्रस्फुटन गर्नबाट वञ्चित छन् । पितृसत्तात्मक समाजले छोरा मान्छेलाई छुट्टै ग्रहबाट आएको मान्छे जस्तो ठान्यो । उसलाई त्यहीअनुसार आफ्नो जीवन बाँच्न सिकायो । उसका कुनै सीमा हुँदैनन्, जे गर्न पनि छुट छ । समाजले छोरालाई छोरा बन्ने अनुकूल वातावरण बच्चैदेखि निर्माण गरिदिने र त्यहीअनुसार अवसर प्राप्त गर्दछन् । राम्रो जागिर, आकर्षक तलब, स्वतन्त्रता एवम् सुविधाको औधी अवसर छ तर छोरीका लागि ठीक विपरीत । पुरुषसरह काम गर्ने पर्याप्त क्षमता र उत्तिकै जिम्मेवारी बहन गर्ने महिला नै किन नहोस्, उसको क्षमतालाई पुरुषको भन्दा कम आँक्ने र पारिश्रमिक समेत सामान नपाउने अवस्था छ । नेपाल श्रमशक्ति सर्वेक्षण, २०७४÷७५ का अनुसार औसत मासिक आम्दानी रु. १७,८०९ रहेकोमा पुरुषको औसत मासिक आम्दानी रु. १९,४६४ र महिलाको औसत मासिक आम्दानी रु. १३,६३० रहेको छ । यो भनेको पुरुषको तुलनामा औसत मासिक रु. ५,८३४ अर्थात्, ३० प्रतिशत कम हो । उच्च तहको प्रबन्धक जस्तो पदमा पुरुष ८६.८ प्रतिशत र महिला जम्मा १३.२ प्रतिशत मात्र रहेका छन् ।

पितृसत्ताका बाबजुद पनि कतिपय पुरुष महिलाको मर्म बुझ्ने खालका नभएको भने होइनन् । यसको एउटा ज्वलन्त उदाहरण हुन् नेपालको राजनीतिक इतिहासका शिखर पुरुष गणेशमान सिंह । केही दिनअघि मात्र उनकी बुहारी सिर्जना सिंहले सामाजिक सञ्जाल र अनलाइन मिडियालाई बताए अनुसार गणेशमान सिंह हरेक दिन बिहान स्टोभ पुछ्दै चिया बनाउने, फुर्सदमा घाम ताप्न बस्दा चामल केलाइदिने, आफ्नो लुगा आफै धुने र घरका कुनै पनि काम गर्न अफ्ठ्यरो मान्दैनथे अरे । भन्नलाई त काम गर्दा कसरत हुन्छ भने पनि खासमा उनको उद्देश्य घरका महिलालाई सजिलो होस् भन्ने हुन्थ्यो अरे । राजनीतिक भाषणमा मात्र नभएर उहाँ व्यवहारमै महिला बराबर घरको काम गर्नु हुन्र्थे अरे । गणेशमान सिंहबाट आजका पुरुषले केही सिक्ने कि ? महिला समानता र सामाजिक रूपान्तरणका लागि गणेशमान सिंह जस्तै मानव सोच भएका पुरुष हरेक घरमा आवश्यक छ ।

हुन त मेरैमा पनि बुवाले प्रायः घरको सबै काम गर्नुभएको देख्दै हुर्किएँ । ममी केही कामले बाहिर जानुहुँदा पनि बुवा आफैले हामीलाई खाना बनाएर खुवाउनुहुन्थ्यो । सक्ने भएपछि मैले सहयोग गर्थें । आज पनि दशैँ, तिहार, सङ्क्रान्ति जस्ता चाडपर्वमा बुवाले सेल बनाउनु हुन्छ । त्यही कुरा मेरो साथीभाइ र आफन्तलाई सुनाउँदा छक्क पर्छन् ! भन्छन्, ‘छोरा मान्छेले पनि सेल बनाउँछन् र ? हाम्रोमा त ममीले बनाउनु हुन्छ, बुवाले बनाउनु भको त थाहै छैन !’ उनीहरुको भनाइबाट यस्तो प्रतित हुन्छ, ‘यस्ता काम त आमाहरु अर्थात् महिलाको हो ।’ यसबाट पनि प्रस्ट हुन्छ कि पितृसत्ता हामीभित्र कसरी गडेर बसेको छ भन्ने ।

आफ्नै गतिमा सामाजिक परिवर्तनत क्रमिक रूपमा होला र धेरथोर भइ पनि रहेको छ । तर भोलि हुने परिवर्तन आजै गर्नका लागि महिलाको सचेत र सशक्त पहल टड्कारो बनेको छ । यो भनेको महिलाका लागि एक दिन बढी फाइदा हो । यसले महिलाको जीवनमा ठूलो महत्त्व राख्न सक्छ । हुन त आज हुर्किएका छोराछोरी पढ्न र जागिरका लागि घर छाडेर देश–विदेश जाने चलन बढ्दो छ, जसले गर्दा घरमा उमेरले डाँडो काट्दै गरेका बाबु आमा मात्र हुने अवस्था पैदा गरेको छ । बूढाबूढीलाई दुःख–कष्ट त अवश्य हुन्छ तर यसको सकारात्मक पाटो भनेको कहिले भान्सामा नजाने छोरा मान्छे पनि खाना बनाउने, भाँडा माझ्ने, आफ्नो काम आफै गर्न थालेका छन् । बाध्यता नै सही तर यसले समाज रूपान्तरणका लागि अर्थपूर्ण भूमिका खेलेको छ । विभिन्न अध्ययनले पुष्टि गरिसकेको छ कि घरभित्रका काम गरेर पनि हाम्रो शरीरलाई फिट र स्वस्थ राख्न सकिन्छ । अध्ययनले मात्र हैन आजसम्मको हाम्रो भोगाइले पनि यही भन्छ । शरीर स्वस्थ राख्नकै लागि फिट्नेस सेन्टर धाइराख्नु पर्दैन, जसबाट पैसा र समयको मात्र बचत हुँदैन, यसले सदियौंदेखि दबाइएको महिलाको मनोविज्ञान माथि उठाउने काम गर्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा