शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रयोगशालाकर्मीको अनुभव : कोरोनाले ल्याएको त्यो कहालीलाग्दो मध्यरात

शुक्रबार, ३० जेठ २०७७, १० : ४४
शुक्रबार, ३० जेठ २०७७

-सुनिता न्यौपाने 

बुझ्न खोज्नेलाई बुझाउन नसकिने र बुझ्नेले अझ बुझ पचाउने यो पेसा अनौठो छ । आजकाल धेरै मानिसलाई कोरोनाले गर्दा प्रयोगशाला भन्ने शब्द पनि थाहा भयो । प्रयोगशाला र प्रयोगशालाकर्मी के हो र को हुन् भन्ने धेरैले अहिले आएर महसुस गरे । त्यसैले होला कोरोना पत्ता लगाउने त प्रयोगशाला पो रहेछ भन्ने सबै जनमानसमा चेतना भयो । मलाई गर्व लाग्छ, म एक प्रयागशालाकर्मी हुँ र कोरोना पत्ता लगाउन सक्छु । 

प्रयोगशाला यस्तो ठाउँ हो, जहाँ पोजेटिभ रिजल्ट होइन नेगेटिभ रिजल्ट आइदियोस भनी कामना गरिन्छ । चाहेँ त्यो मलेरिया, डेङ्गु या सार्स, कोभ–२ । मानिसको सोच र काम पोजेटिभ हुनुपर्दछ भन्ने गरिन्छ तर प्रयोगशालाभित्र छिर्दा आज मेरो हातबाट हुने परीक्षणहरु नेगेटिभ आइदियोस् र बिरामीलाई रिपोर्ट ठीक छ भनी पठाउन पाउँ भन्ने लाग्छ । तर दिन सधैँ एउटै कहाँ हुने रहेछ र सोचे जस्तो कहाँ हुँदो रहेछर । मलाई झस्काउँछ त्यो रात सम्झँदा अनि त्यो कहाली लाग्दो रुवाइ । 

कोरोनाले देशको हरेक कुना कन्दरा छोइसकेको यो अप्ठ्यारो परिस्थितिमा पनि चौबीस घण्टे अनकल ड्युटीमा मेरो कुनै दिन पनि अस्पतालमा अनुपस्थिति गराइन् । 

चाहे त्यो मध्यरात होस् या कुनै घामपानी र वर्षा । मानिस मरणशील प्राणी हो । एक दिन यो संसार छोडेर जाने सांसरिक नियम हुन् । तर आफूले जन्माएको सन्तानको धेरै समय अनुभव गर्न नपाई छोडेर जानु चाहिँ के विडम्बना हो ? जति बच्चा गर्भमा हुन्छ उसको जन्मको पर्खाई त्यति नै आतुर हुन्छ । खै कहाँबाट सुरु गरुँ मेरो पेसाको व्याख्या र मेरो विवशता । 

फोनको घण्टीले अस्पतालको प्रसूति वार्डमा अर्जेन्ट टेस्टका लागि खबर आयो । यो सेवा गर्ने अवसरलाई शिरोधार्य गर्दै मेरो हिँडाइको शक्तिलाई वायुको गतिमा लग्नलाई मध्यरातले रोकेन । मनमा कुनै भय, त्रास भन्ने अलिकति पनि उब्जिएन । कोरोनाका लागि आरडीटी परीक्षण गर्न गाउन लगाई तयार भएँ, पोजेटिभ नआइदियोस् भन्ने कामना गरेँ । तर यो पटक भगवान मसँग किन दुःखी हुनु भएछ र मेरो कामना पूरा भएन । यता डाक्टर, नर्सलगायत कार्यालय सहयोगीको टिम बिरामीको वरिपरि थिएँ, मैले कोरोना आरडीटी परीक्षणको नतिजा पोजेटिभ आएको मेडिकल सुपरिटेन्डेन्टलाई जानकारी गराए । 

केही समयपछि डाक्टरहरुको टोलीले बिरामीलाई गाह्रो भएको सङ्केत गर्न थाले । उक्त क्षण मेरो मन भारी भयो र यस रात आकाशमा कालो बादल पो मडारिने हो कि भन्ने मनमा खेल्न थाल्यो । त्यसपछिको केही समयमै ती महिलाले स्वास्थ्यकर्मीको अथक प्रयासपछि पनि संसार छाडिन भन्ने खबर आयो । बाहिरी ढोकाबाट शिशुको रुवाइको आवाजले मलाई तान्यो । उसलाई पुलुक्क हेरेँ अनि आफैलाई प्रश्न गरेँ । मेरो यो कस्तो पेसा हो, जहाँ मनलाई पत्थर बनाउनु पर्ने ? चाहेर पनि शिशुलाई आमा भएतिर लैजान सक्दैन थिएँ । 

कोरोना टेस्टका लागि पीसीआर टेस्ट पठाउने निर्णय गरियो र म पीपीई सेट लगाएर उनै मृत महिलाको नजिक पुगेँ । मन रोएको थियो तर पनि मेरो जिम्मेवारी ठूलो भएको हुनाले भावुक भएर बस्ने अवस्था थिएन् । नजिक गएर उनको अनुहार हेरेँ अझैँ जीवित पो छन् कि भनेर तर उनी अचल थिइन् । स्वाब कलेक्सन पश्चात नमुना परीक्षणका लागि पठाउन तयार गरेँ । रातको बाह्र बज्दै थियो अनि सबैको  मुहारमा मलिनता बढ्दै थियो । 

यो कस्तो समय आयो । मृत्युमा कोही आफन्त, मलामी कोही छैनन् । जिउँदो हुँदा जन्ति अनि मर्दा मलामी भनिने  दाजुभाइ तथा समाज कोही रहेन अब । मरेपछि आफ्नो नाता सम्झी अरू कोहीले जलाई दिन्छन् ‘हे कोरोना तिमी हामीबाट टाढा जाऊँ र कहिले नआऊ तिमीले सबैलाई टुटायौ, रुवायौ र लुटायौ ।’ 

प्रयोशालाको परीक्षण गर्ने क्षमता वृद्धि भएको भए, मृत्युको भय कोरोनाको कारण यति धेरै हुँदैनथ्यो  । अहिले पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने र यसबाट हुने नोक्सानी कम गर्नुपर्ने आवश्यकता देशमा देखिएको छ । जिल्ला अस्पतालहरुमा पीसीआर मेसिन  आजको मितिसम्म पनि छैन, जब कि दिनमै हामी प्रयोगशालाकर्मीले हजारौँ कुरा पत्ता लगाउन सक्छौैँ । यस विषयमा सरकारको ध्यान जानुपर्ने हो । चाँडोभन्दा चाँडो कोरोना जाँचको गति बढाउन र सावधानीका उपाय अपनाउने हो भने भने कोही आफन्त, साथीभाइ बच्चा, बूढाबूढी, वृद्धा गुमाउनुपर्ने थिएन् ।

(लेखक कोभिड १९ फोकल पर्सन तथा भक्तपुर अस्पताल, मेडिकल ल्याब्रोटरी टेक्नोलोजिस्ट हुन् ।) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा