मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकी महिलाले पाकिस्तानका पूर्व प्रधानमन्त्री र पूर्व गृहमन्त्रीमाथि लगाइन् यौन उत्पीडन–बलात्कारको आरोप

शुक्रबार, ३० जेठ २०७७, ०८ : ३०
शुक्रबार, ३० जेठ २०७७

पाकिस्तानको राजनीतिक सर्कलमा यतिबेला एउटा ठूलो बबन्डर उठिरहेको छ । यो राजनीतिक आँधीको पछाडि छिन् पाकिस्तानमा बस्ने एक अमेरिकी ब्लगर । जसको नाम हो सिन्थिया डी. रिची । सिंथियाले पाकिस्तानको विपक्षी दल पाकिस्तान पिपल्स पार्टीका थुप्रै नेतामाथि यौन उत्पीडन र बलात्कारको आरोप लगाएकी छिन् ।

पाँच जूनमा सिंथियाले आफ्नो फेसबुक अकाउन्टमा लाइभ भिडियोमार्फत् पाकिस्तान पिपल्स पार्टीको सरकारमा गृहमन्त्री रहेका रहमान मलिकले सन् २०११ मा उनको बलात्कार गरेको आरोप  लगाइन् । साथै, सिंथियाले पाकिस्तान पिपल्स पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री यूसुफ रजा गिलानीमाथि पनि गम्भीर आरोप लगाइन् ।

सिंथियाले आफू इस्लामाबादमा ऐवान–ए–सदर वा पाकिस्तानको राष्ट्रपति निवासमा गिलानीलाई भेट्दा गिलानीले आफूमाथि जबर्जस्ती गर्ने कोसिस गरेको दाबी गरिन् ।

सिंथियाले पूर्व स्वास्थ्यमन्त्री शहाबुद्दीनमाथि पनि आफूमाथि जबर्जस्ती गरेको आरोप लगाएकी थिइन् । शहाबद्दीन पनि पाकिस्तान पिपल्स पार्टीसँग सम्बन्धित छन् ।

आफ्नो भिडियोमा सिंथियाले आफूमाथि भएको जबर्जस्ती र यौन हिंसाबारे विस्तृतका साथ पनि बताउन सक्ने भन्दै यी कुरा अहिले सार्वजनिक नगरेको बताएकी छिन्  । उनको भिडियो नाबालिगहरुले पनि हेर्न सक्ने भन्दै आफूले यसबारे विस्तृतमा जानकारी नदिएको उनले बताइन् । तर उनले निष्पक्ष र खोजी पत्रकारसँग यी जानकारीबारे थप विस्तृत जानकारी साझा गर्न आफू पूर्ण रुपमा तयार भएको उनले जानकारी दिएकी छिन् ।

सिंथियाले आफ्नो फेसबुक अकाउन्टको एउटा पोस्टमा लेखेकी थिइन्, ‘यो घटना पाकिस्तानको राजधानी इस्लामाबादको मिनिस्ट्रियल एनक्लेवामा रहेको आन्तरिक वा गृहमन्त्री निवासमा भएको थियो । यो घटना सन् २०११ को हो । त्यति नै बेला ओसामा बिन लादेनलाई अमेरिकी कमान्डोले पाकिस्तानको एबटाबादमा मारेका थिए । मलाई लाग्यो कि वजीर–ए–दाखिला (गृहमन्त्री) रहमान मलिकसँग मेरो भेट सायद मेरो भिसाबारे थियो । तर मलाई फूल र पेय पदार्थ खान दिइयो जसमा नशालु पदार्थ मिसाइएको थियो । म चुप लागेँ किनभने पाकिस्तान पिपल्स पार्टीको सरकारमा आखिर को व्यक्ति हुन सक्ला जो उनको गृहमन्त्रीविरुद्ध मेरो मद्दत गर्न सक्ला ? हालै, उनले मेरो परिवारलाई निशाना बनाए । मैले त्यो सहन सकिनँ ।’

Posted by Cynthia Dawn Ritchie on Friday, 5 June 2020

‘हो, सन् २०११ मा नै मैले आफूमाथि भएको यो घटनाबारे अमेरिकी दूतावासका एक व्यक्तिलाई बताएको थिएँ । त्यतिबेला स्थिती अत्यधिक नाजुक थियो । अमेरिका र पाकिस्तानबीचको पेचिलो सम्बन्धका कारण मेरो ऊजुरीमाथि अमेरिकी दूतावासका ती अधिकारीले खासै कुनै रुची देखाएनन् । पाकिस्तानमा मेरो भेट एक शानदार व्यक्तिसँग भयो । अब उनीसँग मेरो इन्गेजमेन्ट पनि भइसकेको छ । मेरा प्रेमीले नै मेरो हौसला बढाए, उनले नै ममाथि भएको उत्पीडनबारे सबैलाई जानकारी दिन उत्प्रेरणा दिए । ’

‘यस्ता थुप्रै कुराहरु छन्, जुन मलाई भन्न मन लागेको छ । तर मलाई आराम गर्नका लागि केहि समय चाहिएको छ । म आफ्ना प्रेमीसँग एक्लै बस्न चाहन्छु । म थाकिसकेकी छु । मैले पाकिस्तान पिपल्स पार्टीको नेतृत्व र बिलावल भुट्टो जरदारीलाई आफ्नो पार्टीका मानिसहरुलाई म र मेरो परिवारलाई एक्लै छोडिदिन निर्देशन दिन आग्रह गरेकी छु ।’

‘अर्को हप्तादेखि म कानूनको सामना गर्न र कुनै पनि अनुसन्धानकर्तासँग भेट्नका लागि तयार हुनेछु । अहिले म सबैलाई यो आग्रह गर्न चाहन्छु कि मेरो निजताको सम्मान गरिदिनुहोस् र मलाई एक्लै छोडिदिनुहोस् ।’

अमेरिकी ब्लगर सिंथिया रिचीको यो आरोपको निशानामा आएका नेताहरु र पाकिस्तान पिपल्स पार्टीले यसबारे तिखो प्रतिक्रिया दिएका छन् । यी नेताहरुले सिंथियाको सबै आरोप आधारहीन बताउँदै खारेज गरिदिएका छन् । यसका साथै उनीहरुले सिंथियाको उद्देश्यमाथि पनि प्रश्न उठाइरहेका छन् ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप