मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

‘प्रेमिकाको नग्न तस्बिर पठाएर २ दर्जन पुरुषसँग पैसा मागे’

युवतीको नग्न तस्बिर पठाएर ठगी गर्ने गिरोह सक्रिय : प्रहरी
बिहीबार, २९ जेठ २०७७, २२ : ५२
बिहीबार, २९ जेठ २०७७

काठमाडौँ बसेर अध्ययन गर्दै आएकी इलामकी २१ वर्षीया रोजिना (नाम परिवर्तन) यतिबेला गाउँमै छिन् । लकडाउनको कारण रोजिनाको आफ्नो प्रेमीसँग भेट हुन सम्भव छैन । रोजिनाको प्रेमी चाहिँ काठमाडौँमै बस्छन् ।

काठमाडौँमा रहँदा उनी र उनका प्रेमी प्रायः डेटिङ जान्थे । एकान्तमा बसेर भावना साटासाट गर्दा उनलाई पनि रमाइलै लाग्थ्यो । एक दिन उनका प्रेमीले काठमाडौँस्थित गौशालामा रहेको आफ्नो कोठामा जान प्रस्ताव गरे । उनले सहजै स्वीकार गरिन् ।

सुनसान कोठामा फकाईफुलाई प्रेमीले रोजिनासँग शारीरिक सम्बन्ध राखे । त्यतिमात्र नभइ रोजिनाको नाङ्गो तस्बिरहरु पनि खिच्न भ्याए । रोजिनाको उक्त नग्न फोटो विदेशमा रहेका नेपालीहरु समक्ष पुगेको पाइएको छ ।

‘नग्न फोटो’ प्रेमीले नै पठाएका थिए

लकडाउनको कारण प्रेमिका गाउँमा रहेको मौकामा ‘रोजिना’ नामको फेसबुक आईडी खोले । त्यही फेसबुकमार्फत् उनी अर्थात रोजिनाको कथित प्रेमीले स्वदेश तथा विदेशमा रहेका नेपाली केटाहरुसँग म्यासेन्जरमा च्याट गर्थे ।

रोजिना नामको फेसबुकबाट विदेशमा रहेका जो कोही केटाहरुसँग भावुक कुराहरु हुन्थ्यो । तर, के थाहा विदेशमा रहेका केटाहरुलाई त्यो ‘रोजिना’ नामको फेसबुक आईडी नक्कली हो भनेर । 

आफ्नो प्रेमिकालाई कोठामा लिएर गएको बेला खिचेको त्यही ‘नग्न फोटो’ विदेशमा रहेका नेपालीलाई उनले पठाउथे उता विदेशमा केटाहरु पनि केटी नै हो भन्ठानेर मख्ख पर्दै गफिन्थे ।

नाङ्गो फोटो पठाउनुको पनि कारण थियो, ‘विदेशमा रहेका नेपालीसँग पैसा असुल्नु ।’ विदेशमा रहेका धेरैले रोजिनाको ‘नग्न फोटो’ हेरेबापत पैसा पनि पठाइदिन्थे । पोज–पोजको फोटो पठाउन समेत भन्थे । उनले पनि प्रेमिका (रोजिना) को नाङ्गो फोटोहरु पठाइदिन्थे । पैसा असुलिरहन्थे ।

यता, आफ्नो ‘न्युड फोटो’ विदशेमा रहेको पुरुषहरुसमक्ष पुगेको छ भन्ने कुरा गाउँमा रहेकी रोजिनालाई के थाहा ? तर पनि प्रहरीकोमा पुगेपछि मात्रै रोजिनाले घटनाबारे जानकारी पाइन् ।

साइबर क्राइमको धम्कीपछि खुल्यो पोल

एकदिन मलेसियामा रहेका एक युवकलाई सोही आईडी (रोजिना)बाट रिक्वेष्ट जान्छ । प्रोफाइल चेक गर्दा केटीकै लागेर एसेप्ट हुन्छ । तत्कालै ‘हेल्लो’ भन्दै रोजिनाले म्यासेज गर्छिन् । केटीको म्यासेज देख्नासाथ ‘हाई’ भन्दै उताबाट रिप्लाई आउँछ ।

उनीहरु कुराकानीकै क्रममा नजिक हुन्छन् । उनीहरुबीच प्रेमी–प्रेमिकाले गर्ने जस्तै कुराकानीहरु पनि हुन थाल्छ । रोजिनाले भावुक खालको कुरा गर्थिन् । एकदिन ती युवकले ‘फोटो’ पठाउन भन्छन् ।

तर, रोजिनाले तत्कालै ‘नग्न फोटो’ पठाइदिन्छिन् । त्यतिबेला ती युवकले ‘न्युड फोटो’ नभई सामान्य फोटो पठाउन भनेका थिए । तर, रोजिनाले ‘नग्न फोटो’ पठाएपछि ती युवकले अरु पनि पठाउन आग्रह गर्छन् । रोजिनाले थप चार–पाँच वटा ‘न्युड फोटो’हरु पठाउँछिन् । ती न्युड फोटो फेसबुकको प्रोफाइलमा राखिएको केटीको नै थियो । युवक झनै विश्वस्त हुन्छन्, यो केटी नै हो ।

उनीहरुको दिनहुँ च्याटमा कुराकानी हुन्थ्यो । तर, भिडियो कल र अडियो भने कहिले पनि हुँदैनथ्यो । युवकले भिडियो कल गर्न आग्रह गरेपनि रोजिनाले परिवार सँगै छु बोल्न नमिल्ने भन्दै टार्दै आउँथिन् ।

‘नग्न फोटो’ पठाएकी रोजिनाले केही दिनपछि ती युवकसँग पैसा सापट माग्छिन् । ती युवकले अहिले आफ्नो तलब नआएको र पछि पठाइदिन्छु भन्दै आश्वस्त पार्न खोज्छन् । लास्टै गाह्रो भएको भन्दै रोजिनाले फेरि दुःख पोख्छिन् ।

अहिले कतैबाट म्यानेज गर भन्दै रोजिनालाई सम्झाउन खोज्छन् ती युवक । पैसा नआउने भएपछि रोजिनाले ‘साइबर क्राइम’ को मुद्दा हाल्दिम भन्दै युवकलाई डर देखाउँछिन् । ७० हजार नेपाली रुपैयाँ माग्छिन् ।

अनि ती युवकलाई शंका लाग्छ । त्यो रोजिना नामको फेसबुक आईडी नक्कली हुनसक्छ । तत्कालै ती युवकले घटनाबारे नेपालमा रहेका आफ्नो दाईलाई जानकारी गराउँछन् ।

यसरी पक्राउ परे अभियुक्त एकराम राई

गत हप्ता महानगरीय अपराध महाशाखा टेकुमा ती युवकको दाई घटनाको विवरण लिएर पुग्छन् । तत्कालै रोजिना नामको फेसबुक आईडीबारे प्रहरीले अनुसन्धान थाल्छ ।

‘रोजिना’ नामको फेसबुक कहाँबाट चलेको छ भन्ने महाशाखाको टोलीले पत्ता लगाउँछ । र, ती युवकलाई प्रहरीले ७० हजार नेपाली रुपैयाँ आईएमईमार्फत रोजिनालाई पठाइदिन भन्छ ।

रोजिनाले भने आफ्नो नाममा नभएर अर्का कै नाममा पैसा पठाउन भन्छ । मलेसियाबाट ती युवकले रोजिनाले भनेको व्यक्तिको नाममा नै पैसा पठाइदिन्छन् ।

पैसा झिक्न गएको मौकामा ती व्यक्ति अपराध महाशाखाको फन्दामा पर्छन् । ती व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा रोजिना नामको केटी ती युवकको प्रेमिका रहेको खुल्छ ।

प्रेमिकाको नाममा नक्कली आईडी खोलेर विदेशमा रहेका २ दर्जन पुरुषहरुलाई ‘नग्न फोटो’ पठाएर पैसा मागेको अभियुक्तले स्वीकार गर्छन् । र, ती अभियुक्त अर्थात् कथित प्रेमीचाहिँ खोटाङ घर भएका एकराम राई हुन्, जो यतिबेला प्रहरीको नियन्त्रणमा छन् । 

‘फेसबुक च्याटमा कुराकानी हुँदा फोटो पठाऊ भन्थे,’ एकरामले भनेका छन्, ‘मैले पनि केही पनि नसोची फोटो पठाइरहेँ । पैसा कमाउनको लागि गलत बाटो रोजेँ कि भन्ने पनि सोच्ने गर्थेँ, तै पनि सही बाटो रोज्न सकिनँ ।’

एकरामका अनुसार हालसम्म विदेशमा रहेका २ दर्जनभन्दा बढी पुरुषहरुलाई प्रेमिकाको ‘नग्न फोटो’ पठाएर पैसा मागेका छन् । कति पुरुषले पैसा पनि पठाएका छन् भने कतिले पछि पठाउँछु भनेका थिए ।

घटनाबारे रोजिना अनभिज्ञ थिइन्

विदेशमा रहेका पुरुषलाई आफ्नै नग्न तस्वीर पठाएको कुरा रोजिनालाई थाहा नभएको एकरामले बताएका छन् । महाशाखाका एसएसपी दीपक थापाका अनुसार कथित प्रेमी राईले प्रेमिकाको नग्न तस्वीर पठाएर असुली धन्दा नै चलाएका थिए । 

प्रेमिका गाउँमा रहेको मौकामा पैसा कमाउने उद्देश्यले यस्तो काम गरेको राईले प्रहरी समक्ष बयान दिएको भन्दै त्यसबारे एकरामकी प्रेमिका रोजिनालाई खबर गरिसकेको एसएसपी थापाले बताए ।

रोजिनाले आफ्नो नाङ्गो फोटो सामाजिक सञ्जालमा भाइरल बनाइदिने प्रेमी एकरामविरुद्ध साइबर अपराधमा मुद्दा दर्ता गर्ने तयारी गरेकी छन् । ‘विश्वास गरेको मान्छेले त यतिसम्म गर्छ भने अरुको के विश्वास ?,’ रोजिना भन्छिन्, ‘घरपरिवारलाई घटनाबारे खबर गरेर प्रहरीमा जाहेरी दिँदैछु ।’

गौशालास्थित एक आईएमईबाट पैसा झिक्ने क्रममा पक्राउ परेका एकराममाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

‘नग्न फोटो’ पठाउने र पैसा असुल्नेको गिरोह नै सक्रिय

काठमाडौँमै बस्दै आएका एक प्रेमी–प्रेमिका मिलेर पनि ‘नग्न फोटो’ पठाउँदै पैसा असुल्ने कार्यमा संलग्न रहेको पाइएको एसएसपी थापाले बताए । उनले भने, ‘उनीहरुले नेपालमै रहेका पुरुषहरुलाई ‘नग्न फोटो’ पठाउने र पैसा असुल्ने गरेका छन् ।’

केटाकेटी मिलेर विदेशमा रहेका पुरुषहरुलाई भन्दा पनि नेपालमै रहेका पुरुषहरुलाई ‘नग्न फोटो’ पठाउँदै पैसा बार्गेनिङ गर्नेको गिरोह काठमाडौँमा सक्रिय रहेका पाइएको र त्यसबारे अनुसन्धान भइरहेको एसएसपी थापाले बताए ।

‘फेसबुकको वालमा प्रेमिकाको फोटो राखेर प्रेमी–प्रेमिका नै मिलेर पैसा असुली धन्दा गरिरहेको पनि पाइएको छ । प्रविधिको बढ्दो प्रयोगसँगै नयाँ–नयाँ समस्याहरु सिर्जना हुँदै गएको प्रहरीको अनुसन्धान र प्राप्त भएको उजुरीले देखाउँछ,’ एसएसपी थापाले भने, ‘कथाजस्ता लाग्ने घटना फेसबुक र सामाजिक सञ्जालबाटै हुने गरेको छ ।’

महाशाखाका एसपी होबिन्द्र बोगटी यसको सिकारमा स्कुले उमेरका केटाकेटीदेखि कलेज पढ्ने युवायुवतीसम्म परेको बताउँछन् । लकडाउनको अवधिमा यस्तो घटनाहरु बढ्दो रहको एसपी बोगटी बताउँछन् । ‘घरमै दिनभरी बस्ने र काम नभएको बेला मान्छेलाई के गरौं के गरौं हुन्छ,’ एसपी बोगटीले भने, ‘अन्ततः मान्छे डिप्रेसनमा जाने र दिमागले पुरै नकारात्मक सोच्छ र यस्ता अपराधहरु हुन्छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप