शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

युएईबाट पीडितहरुको गुनासो : महँगो हवाई टिकट लिने पैसा छैन, कसरी फर्कने स्वदेश ?

बिहीबार, २९ जेठ २०७७, १९ : ११
बिहीबार, २९ जेठ २०७७

युएई । झापाका सुरेश नेपाली १८ महिना देखि दुवईको एक इण्डियन रेस्टुरेन्टमा काम गर्थे । उनलाई लकडाउन सुरु हुनु २ महिना पहिले देखि कम्पनीले तलब दिएको थिएन।जब कोरोनाका कारण लकडाउन सुरु भयो उनको रेस्टुरेन्ट बन्द भयो । मालिक फरार भए।बस्दै आएको कोठा पनि पैसा नदिएर निकाली दियो।अहिले सडकको बास भएको छ ।

यस्तै ताप्लेजुङका प्रबिन राईको समस्या अलिक फरक छ । गाँउकै एक जना दलालले नेपालबाट दुवई सेक्युरेटीमा काम लगाईदिन्छु भनेर ४ महिना अधि भिजिट भिसामा युएई पठाए । युएईको अजमानमा एक जना बंगाली नागरिक उनलाई एयरपोर्टमा लिन गए । १ हजार डलर बुझाए । उनी लकडाउनमा फसे। उनीसँग अहिले काम र दाम दुबै छैन। उनले भने, सहयोगी दाताहरुसँग खाद्यान्न मागेर खाँदैछु। ५ सय डलरको टिकट काटेर म कसरी घर फर्कौं ? बरु यतै मर्छु।

गोरखा नगरपालिका लक्ष्मी बजारका कलिम मियाको नाम युएईबाट गत शुक्रवार स्वदेश फर्कर्ने गोरखा जिल्लाका नागरिकको सूचीमा थियो। जिल्ला प्रशासन कार्यलय गोरखाले जारी गरेको सूचीमा कलिमको पनि नाम थियो । तर उनी युएईमा नै थिए।

युएईको सारजहामा बसेर घर पुगेको सुचना हेर्दै गर्दा एकछिन त कलिमको दिमाग घुम्यो।युएईमा घर फर्कने आशैआशमा निराश भएको उनलाई जहाजले नभए पनि सरकारको सूचीमै भए पनि घर पुगेको आभास भयो।

उनको जस्तै समस्यामा रहेका अरु ३२ जना नेपाली पनि युएईमा नै अलपत्र छन्।

बिगत ९ महिनादेखि समस्यामा परेका कलिम जस्तै ३२ जना पिडित नेपालीहरु महिनौंदेखि उद्धारको पर्खाइ बसेका छन्। उनीहरुलाई नेपाली दुतावास आबुधावीको समन्वयमा गैर आवासीय नेपाली संघ एनआरएनए युएईले खाध्यान्न र बस्ने ब्याबस्था गर्दै आएको छ।

इराक र कुवेत पठाइदिन्छौं भन्दै, धादिङका मन्जु घले तामाङ, दाङकी बिमला दमैं र सिन्दुपाल्चोककी सुक्रानी तामाङलाई युएईको अलऐनमा प्रतिब्याक्ति १५ हजार दिराम अर्थात ४ लाख ५० हजार रुपैयामा बेचे।

दलालहरु फरार भए, उनिहरुलाई कोठामा थुनियो,खान दिईएन,मानसिक र शारीरिक यातना दिए । अन्ततः उनीहरु भागे, उनिहरु अहिले गैर आवासीय नेपाली संघ एनआरएनए क्षेत्रीय समिति अलऐनको संरक्षणमा छन्।

दमकको पुजा धिमाल २१ हप्ते गर्भवती महिला छिन्।गत बिहिवार एयर अरेबियाका लागि टिकट बेच्ने एजेन्टको फोन आयो । शुक्रबार बिहान ६ः३० बजे उडान रहेको भन्दै तुरुन्तै अनलाइन टिकट लिन एजेन्टले भने।

अनलाइन पेमेन्ट वा अल अन्सारी एक्सचेन्जमा गएर पैसा जम्मा गर्न भनियो। उनीसँग टिकट लिने पैसा थिएन।उ नको शुक्रवारको फ्लाइट छुट्यो उनले बताइन् । उनले भने, आउदो १६ जुनमा फ्लाइट छ। टिकट काटेरै भएपनि जान्छु भनेर सोचेको तर टिकटको पैसा ५ सय दिराम भनेको सुने ५ सय डलर रहेछ । अब म कसरी नेपाल फर्किनु ?

यता आबुधावीमा गोरखाकी सलिना कुमाललाई दूतावासले कल गर्दै मेडिकल गरि तयारी हुन बतायो। उनी २८ हप्ते गर्भवती छिन्। उनले भनिन,हवाई टिकट आफैले लिनु पर्ने तर दूतावासको अर्को सुचना नआएसम्म टिकट नलिन बतायो।

यी माथिका केही प्रतिनिधि पात्र मात्रै हुन् । नेपाली दुतावासको युएईको तथ्याङ्कमा युएईमा २ लाख ७५ हजार नेपाली कामदार रहेका छन् । पछिल्लो समय कोरोना भाइरसका कारण हजारौं नेपाली कामदारहरुको जागिर गुमेको छ। दुतावासको तथ्याङ्क हेर्दा कुल कामदार मध्य १० प्रतिशत नेपाली नेपाल फर्कन चाहन्छन्।हाल सम्म दुतावासमा नेपाल फर्कन चाहने नेपालीको संख्या ३० हजारको हाराहारीमा छ। यो संख्या अझै बढ्ने देखिन्छ। 


अहिले वैदेशिक रोजगारीमा रहेका हजारौं नेपाली स्वदेश फर्कने दिन कुरिरहेका छन्। सरकारले स्वदेश फर्कने नेपालीले हवाइ टिकट र यातायात खर्च आफैंले तिर्नुपर्ने भनेको छ। समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने भनिएपनि पीडितले चर्को शुल्क तिर्नुपर्ने देखिएको छ।सरकारले सार्वजनिक गरेको चार्टर्ड उडानको भाडादर हेर्ने हो भने नियमित उडानको भन्दा चार गुणासम्म महँगो छ।

सरकारले मलेसिया र खाडीमा ६० हजारदेखि ९२ हजारसम्म भाडादर तोकिएको छ। नेपालीहरूलाई काठमाडौंसम्म ल्याउन नेपाल एयरलाइन्स र हिमालयन एयरलान्सलाई चार्टर फ्लाइटको जिम्मा दिइएको छ । 

जस अनर्गत युएईबाट जुन १६/१८ नेपाल एयरलाइन्स दुबई र २०/२३ मा आबुधावीबाट हिमालयन एयरलाइन्स उड्ने निश्चित भएको छ । नेपाल फर्कन ५०० अमेरिकी डलर अर्थात करिव ६० हजार रुपैया तिर्नु पर्ने सरकारी मापदण्ड तोकिएको छ।

तर माथिको उदारहण जस्तै कयौं कामदार नेपालीहरु युएईमा अलपत्र परेका छन् । उनीहरु सहयोगी दाताहरुसँग चन्दा लिएर खाँदै आइरहेका छन् । अझै भिजिट भिसामा आएका नेपालीहरु नेपाल फर्कन हवाइ टिकट लिन सक्दैनन्। 

सिन्धुलीका उमा माझी भन्छिन, गएको अप्रिल ७ मा बार्षिक छुट्टी लिएर घर जान १५ सय ५० दिर्हाममा दुई तर्फी टिकट लिए।लकडाउनले जान सकिन । यतै छु,अहिले ५ सय डलर भन्छ, म त दोधारमा छु।युएईमा उमा जस्ता धेरै पिडितहरु टिकट लिएर बसेका अहिले एता न उता भएका छन्।

गैर आवासीय नेपाली संघ एनआरएनए युएईको अध्यक्ष प्रकास कोइराला भन्छन्,युएईमा अलपत्र परेका नेपालीहरु ५ सय डलर तिरेर नेपाल फर्कन सक्दैनन्, यो बेला एयरलाइन्सहरुले नाफा कमाउने बेला हैन,सरकारले  एयरलाइन्ससँग समन्वय गरेर पिडितको तत्काल उद्दार गरियोस् । 

उपाध्यक्ष एव्ं क्युआरएफ टिम नेपालका संयोजक पासाङ शेर्पाले कुल संख्याको १० प्रतिशत युएईमा अत्यान्तै पिडित नेपाली छन् । श्रम सझौता अनुसार समन्धित कम्पनीले स्वदेश फर्कदा टिकट दिनुपर्ने सरकारको प्राबधानमा रहेपनि अधिकासं कम्पनीहरु बन्द भएकाले पिडितले राहत नपाउने बताए।

युएईस्थित नेपाली दुतावासले कोभिड - १९ को महामारीले सिर्जित परिस्थितिका कारण युएईबाट नेपाल जान नपाएका नेपाली नागरिकहरुलाई प्राथमिकताको आधारमा निकट भबिष्य मै चार्टर उडान मार्फत नेपाल फर्काउने अभियान अन्तर्गत आज ४ महिना भन्दा बढि समय भएका गर्भवती महिला, कोरोना बाहेक गम्भीर प्रकारका बिरामी (क्यान्सर, मिर्गौला रोगी डाइलोसिस गरिरहेका,अल्सर, मुटु रोगी) आमा बुवा, छोराछोरी, श्रीमान श्रीमती गुमाएका नागरिकको हकमा आफुसँग भएको प्रमाणपत्र वा कागजात दुतावासको अफिसियल फेसबुक म्यासेन्जरमा पठाउन अनुरोध गरेको छ।

यता खाडी तथा मलेसियाका केहि नेपाली दुतावासहरुले  भाडादर तोकेर नै सूचना निकाल्न थालेका छन् । तर रोजगारी गुमाएर महिनौंदेखि बेरोजगार बनेका,विभिन्न समस्यमा फसेका नेपालीले रोजगारदाताबाट टिकट नपाएमा चार्टर्ड जहाजको रकम कसरी तिर्लान भन्ने प्रश्न पेचिलो बनेको छ।

सरकारले अलपत्र श्रमिकहरुलाई उद्धार गरेको हो या व्यापार गरेको हो भन्नेखालका चौतर्फी गुनासो छ।यता वैदेशिक रोजगार ऐन २०६४ को दफा ३३ (ख) मा महामारीका कारण कामदार फिर्ता गर्दा लाग्ने सम्पूर्ण खर्च वैदेशिक रोजगार बोर्डको कल्याणकारी कोषमा रहेको रकम प्रयोग गर्नुपर्ने उल्लेख छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बिनोद श्रेष्ठ
बिनोद श्रेष्ठ
लेखकबाट थप