बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाले अरु मृत्युका घटना ओझेलमा : किशोरीको हत्या कि आत्महत्या ?

बिहीबार, २९ जेठ २०७७, १८ : ३६
बिहीबार, २९ जेठ २०७७

गुल्मी । मंगलबार गुल्मीको वलिथुम वोटेमाझी गाउँका एक जना पुरुषको शव  पोष्टमार्टम गर्न सदरमुकाम तम्घास लगियो । जिपमाथी शव देख्नासाथ मानिसहरु भन्न थाले– थिए कोरोना लागेर कोही मरेछ कि क्याहो?  यसरी अरु विमार वा कारणले मान्छे मृत्यु भएपनि  चर्चा कोरोनाकै छ ।  विरामी परेपनि कतै करोना त लागेन ? भनेर आशंका कोरोनामाथि नै जान्छ ।

घटनाबारे प्रहरीसँग बुझ्दा आखिर त्यो शव गुल्मीदरवार गाउँपालिका वडानम्बर १ , वलिथुम वोटेमाझी गाउँका ४६ वर्षीय सम्शेरबहादुर वोटे माझीको रहेछ । उनको शव जेठ २६  गते बडिगाडखोलामा माछा मार्न जाँदा बगेर मृत्यु भएपछि पोष्टमार्टमका लागि सदरमुकामा ल्याइएको थाहा भयो । 
कोरोनाको संक्रमण अघिसम्म त्यस्ता समाचार सञ्चारकर्मीहरुले खोजीखोजी  लेख्थे । तर कोरोना कहरका कारण बोटोको मृत्युको समाचार स्थानीय सञ्चार माध्यमको समेत प्राथामिकतामा परेन ।

तीन दिनअघि  गुल्मीकै ईस्मा गाउँपालिका वडानम्वर ५ ईस्मारजस्थल सालविसौनाकी १७ वर्षीया पुष्पा केसीको घाँस काट्ने क्रममा भिरबाट लडेर ज्यान गयो ।  आनन्दपुर मावि कक्षा ९ छात्रा थिइन् उनी । त्यो दुखद समाचारले पनि सञ्चारमाध्यममा स्थान पाएन ।

छिमेकी अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्वर ९ की वडा सदस्य फुलमति परियारको  जेठ २५ गतेका दिन काफलको रुखबाट लडेर ज्यान गयो । अर्घाखाँचीमा उनीसहित २४ घण्टाको अन्तरालमा तीन जनाको ज्यान गयो । तर जति कोरोनाको समाचारले सञ्चार माध्यममा प्राथामिकता पाए त्यति तिनले पाएनन् ।

भवितव्य भनिएका मृत्यु, आत्महत्या, बलात्कार र अन्य अपराधिक घटनामा लकडाउन अघिसम्म दलका नेता, सञ्चार माध्यम र अन्य  सरोकारवालाको चासो हुन्थ्यो । जसका कारण आत्माहत्या भनिएका र डाक्टरले समेत आत्माहत्या भनिएका घटना अनुसन्धानपछि हत्या गरिएको पुष्टि हुनपुग्थ्यो ।

तर अहिले समय बदलिएको छ । लकडाउनपछि अन्य घट्नमा सरोकारवालाको  मतलव नै छैन । प्रहरीले जे मुचुल्का उठायो वा जे भन्यो त्यहीँ भई रहेको छ ।  जसका कारण गुल्मीमा यो अवधिमा १३ वर्षीया बालिका बलात्कार उद्योगको मुद्दा हातपात र अभद्र व्यवहारतर्फ मोडिन पुग्यो ।

पछि पीडित बालिका र उनको परिवारले सञ्चारमाध्यम र  अधिकारकर्मी गुहारेपछि बलात्कार उद्योगमै मुद्दा बदलियो  । त्यसपछि आरोपित युवा प्रहरी हिरासतमा पुगे । कोरोनाकहर नभएको भए किशोरीको आत्माहत्या काण्डमा मुछिएका युवा  आत्महत्या दुरुत्साहन मुद्धामा तानिने थिए । तर त्यसतर्फ प्रहरीले चासो नदिएको मृतकका परिवारजनको गुनासो छ ।

जेठ ४ मा गुल्मीदरवार गाउँपालिकाको खज्र्याङ्घ किनारकी १८ बर्षीया  गोमा श्रेष्ठ घर नजिकैको रुखमा झुण्डिएको अवस्थामा फेला परिन् । उनले लेखेको भनिएको सुसाइट नोट र उनीसँग प्रेम सम्वन्ध थियो भनिएको युवक र ती किशोरी  मृत फेला पर्नुको अघिल्लो दिनको फेसबुक स्टाटस हेर्ने हो भने प्रेम सम्वन्धमै दरार आएर उनले आत्माहत्या गरेको बुझ्न सकिन्छ ।

आत्माहत्या गर्नुको कारण के हो त ? ती युवकसँगको सम्वन्ध के थियो ? यसबारे ती युवालाई बोलाएर सोधपुछ गर्नुपर्ने कि नपर्ने ? उनीहरु दुबै जनाको कलरेकर्ड छानविन गर्न पर्ने कि नपर्ने ? यो सवाल मृतककी आमाले उठाउँदै सञ्चार माध्म गुहारेकी छन् ।

गुल्मीकै हकमा लकडाउन यता आत्माहत्याको  संख्या ह्वात्तै बढेको छ । लकडाउन अघिको  पछिल्लो एक महिना आत्माहत्याको संख्या ४  थियो । लकडाउन सुरु भएको  चैत्र ११ गते देखि २० दिनमै  ४ जनाले आत्माहत्या गरे । चार जनामध्ये एक जना महिला थिइन् । बैशाख महिनामा ३ पुरुष , ६ जना महिला सहित ९ जनाले आत्माहत्या गरे ।

पछिल्लो जेठ १  गते देखि २५ गते सम्म ३ महिला र ७ पुरुष सहित १० जनाले आत्माहत्या गरेको जिल्ला प्रहरी कार्याल गुल्मीका सुचना अधिकृत प्रहरी निरीक्षक राजकुमार रावलले जानकारी दिए ।

उनका अनुसार यस अवधीमा एक जवरजस्ती करणी सहित ३ वटा बलात्कार  घटना भएका छन् ।  जेठ ४ गते दिउँसो चारपाला तल  करिव ३ बजेको समयमा झुण्डिएको अवस्थामा मृत फेला परेकी १८ वर्षीया गोमा श्रेष्ठकाबारेमा चासो दिने, बोलीदिने  कोही मान्छे नभएका करण छोरीको मृत्युको छानविन हुन नसकेको बैदेशिक रोजगारमा कुवेत पुगेकी मृतककी आमा राधाले बताइन् ।

चोटमाथि चोट

‘मेरो श्रीमानको घरमा मृत्यु भएको एक महिना भयो । लकडाउनका कारण श्रीमानको मृत्यु हुँदा पनि घर आउन सकिन रोएर बसेकी थिएँ’–कुवेदबाट राधा श्रेष्ठले रुँदै भनिन् ‘आँशु ओभाउन नपाउँदै फेरी छोरीको मृत्युको खबरले भावविह्ल भएकी छु । ’

उनले पीडा सुनाउँदै भनिन् ‘श्रीमानलाई क्यान्सर बिमार थियो । उहाँको उपचार गर्दागर्दा ऋण लाग्यो थप उपचार गर्ने खर्च जुटाउन म कुवेत आएकी हुँ । घर गएर यहाँ आएको साढे तीन वर्ष भयो त्यसअघि दुई वर्ष यहि बसेर गएकी थिएँ ।’

‘एक छोरा र एउटी छोरी थिइ । उसैले घर चलाउँथी अर्को छोरा अलि सानै छ । मे के गरुँ ? छोरीको मृत्यु शंका लाग्ने गरि भएको  छ । मेरा न घरतर्फ न माईती र्फ बोलीेदिने कोही मान्छे छन्’, पीडा सुनाउने कोही नभएपछि सञ्चार माध्यम गुहारेको उनको भनाइ छ । उनका पहिलो श्रीमान  अर्घाखाँची चिदिकाका थिए । 

द्धन्द्धकालमा श्रृगामा  सेना र माओवादी बीचको भिडन्तका क्रममा कुन पक्षले हत्या गरेर फाली दियो थाह पत्तो भएन उनलाई पुर्वपतिको वियोगको पीडा पनि सुनाइन् ।

उनकी छोरीको मृत्यु घटनाबारे अनुसन्धानका लागि चोसो देखाइदिन जिल्ला प्रहरी कार्यालयको ध्यानाकृष्ट गराउने क्रममा कार्यालयका सुचना अधिकृत प्रहरी निरीक्षक राजकुमार रावलले उनको आफन्तजनसँग त्यस्तो खालको जाहेरी नपरेको बताए ।

‘जाहेरी जस्तो आएको छ त्यही अनुसार अनुसन्धान गरिएको छ । तर कुनै युवकसँग प्रेम सम्वन्ध रहेको भन्नेबारे जाहेरीमा उल्लेख छैन,’  रावलले भने, ‘तैपनि त्यो कोणबाट पनि अनुसन्धान गर्न सकिन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप